साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली : ताजा मन बासी सम्झना

हुन पनि वृद्धवृद्धाहरू पहिला विद्यालय पढ्दाका कुरा गरे द्यिालयकै कुरा, जागिरका कुरा गरे जागिरकै कुरा, व्यापारका कुरा गरे व्यापारकै कुरा, खेतीपातीका कुरा गरे खेतीपातीकै कुरा, राजनीतिका कुरा गरे राजनीतिकै कुरा निकालेर आत्मरतिमा रमाउन थाल्छन् ।

Nepal Telecom ad

वासुदेव गुरागाईं :

बुढ्यौली जीवन भनेको मानिसका लागि परम ईश्वरीय वरदान हो । ईश्वरीय अनुकम्पाविना जो कोही मानिसले आफ्नो जीवनमा बुढ्यौली अवस्था प्राप्त गर्न सक्दैन । खानपान, आहारविहार, सोच, बाँच्ने कला/शैली आदिमा चनाखो बनेकै कारण उनीहरू यो स्थितिसम्म सकुशल आइपुगेका हुन्छन्, जोसँग वर्तमानमा पनि ताजा युवा मन हुन्छ र त्यत्तिकै हुन्छ विगत लामो जिन्दगीका विविध सम्झनाको शृङ्खलावद्ध फेहरिस्त पनि । वृद्धवृद्धाको यस किसिमको सम्झनाको शृङ्खलावद्ध फेहरिस्तलाई यस आलेखमा सकारात्मक भावमै बासी सम्झना भनेर सम्बोधन गर्न खोजिएको छ ।

संसारमा तन बुढिए पनि भित्री मनले म बुढो भएँ भन्ने मान्छे र कुख्यातै भए पनि आफूले आफ्नै प्रशंसा नगर्ने मान्छे भेट्टाउनु मुसाको सिङ फेला पार्नु जत्तिकै कठिन छ । पत्याए पत्याउनुस्, नपत्याए नपत्याउनुस् तर सत्य कुरो यही हो । त्यो तपाईंका हकमा पनि लागु हुन्छ, मेरा हकमा पनि लागु हुन्छ । यो अवस्था अस्ति थियो, हिजो थियो, आज छ र भोलि वा पर्सि र त्यसपछिका दिनमा पनि सजिलैसँग भेटिनेछ । यो मानव समाजका हरवर्ग, हरलिङ्ग, हरपेसा व्यवसाय, हरजातजाति र पठित अपठित सबैमा एकनासले पाइने विशेषता हो । म, ऊ वा उहाँहरू जो कोही पनि यस विशेषताबाट अलग रहनसक्ने स्थिति अहिलेसम्म देखिएको छैन ।

तपाईं अघिल्लो पुस्ता र पछिल्लो पुस्ताका मान्छे बसेका जुनसुकै ठाउँमा जानुस् – मेरा पालामा यस्तो भएको थियो, उस्तो भएको थियो, मैले यसो गरेको थिएँ, उसो गरेको थिएँ, अहिलेकाले त खोई ! भनेर नाक खुम्च्याएको र पछिल्लो पुस्तालाई नहियाएको अवस्था बिरलै पाउनुहुन्छ । कामभन्दा बढी फुर्सदको समय भएर हो वा किन हो यस्ता बखान उच्च वयस्क वा कामविहीन ज्येष्ठ नागरिक जो कोही पनि उपस्थित रहेका ठाउँमा बढी सुन्न/बुझ्न पाइन्छ । यो महिलाको जमघटमा पनि सुन्न पाइन्छ, पुरुषकोमा पनि । महिलाको उपस्थितिमा बढी घर व्यवहारका र बुहारीको बुहार्तनका सन्दर्भमा बढी कुरा आएको सुनिन्छ । यतिखेर हुने यी कुरा बढी गुनासो उन्मुख हुन्छन् । पुरुषकामा यस्ता कुरा बढी पौरखका सन्दर्भमा आउँछन् । कसैले नगरेको काम मैले गर्न सकेँ भनेर अरू उपस्थितका अगाडि छाती फुलाउने सन्दर्भमा यस्ता कुरा बढी आउँछन् । यस्ता कुरा कोही सकारात्मक पनि हुन्छन कोही नकारात्मक पनि । कतिखेर त यिनका यस्ता कुराले सुन्नेको कान टट्ट्याउँछ र कहिले यो बसेका ठाउँबाट मुक्ति मिल्ला भन्ने अवस्थामा पुर्‍याउँछ ।

मैले कुनै एक प्रसङ्गमा एक जना वरिष्ठ ज्येष्ठ नागरिक भेटेको थिएँ । कुरै कुरामा उनी भन्दै थिए- सुख खोज्दै काठमाडौँ आइयो । पहाडमा बस्दाखेरि खेत, बारी, वस्तुभाउ, घाँस, पराल, दाउरा, मिल, घट्ट गर्दागर्दै दिन बितेको थाहा हुँदैनथ्यो । काठमाडौं आएपछि बस्ने र खानेबाहेक अरू केही काम भएन । जति गर्नु दुःख छोरा बुहारीले गर्थे । छोराबुहारी घर नभएका अवस्थामा यसो चिया पिउन मन लाग्यो भने काम गर्ने मान्छे राखेको थियो, भन्दा भइहाल्थ्यो । त्यतिविधि पढ्नेलेख्ने काम उहिले त गरिएन भने अहिले घाट जाने बेलामा के नपुग्दो थियो र गर्नू ? सुख काट्न आएको मान्छे यस्तो अवस्थामा काम खोज्न जाने कुरुो पनि भएन । दिन कटाउन औधी गाह्रो पर्न थाल्यो । बुझ्दै जाँदा घरबाट पाँच सात मिनेट जतिको दूरीमा घरमा काम नभएका वृद्धवृद्धा बसेर गफ गर्ने एउटा थलो रहेछ । मन्दिर परिसरमा रहेको यो थलो मेरा लागि पनि फलदायी होला भनेर समयान्तरमा त्यहीँ आउने जाने गर्न थालेँ । ठाउँ त्यस्तै रहेछ । त्यहाँ सेवाबाट अवकाश पाएका सचिवहरू, सेनाका उच्च पदस्थ व्यक्तिहरू र अरू त्यस्तै मानिसहरू आउँदा रहेछन् समय कटाउन ।

सहरमा आएपछि पो को ? के ? कस्तो मान्छे भन्ने भयो त, गाउँमा छँदा त म पनि काजी नै हुँ । धाक रवाफ काजी खान्दानकै थियो । वरपरका सबैले मान्थे । फलानु काजी भनेपछि हिङ नभए पनि हिङ पोको पारेको टालो सम्झिन्थे । बेला त्यस्तै थियो । सहरमा आएपछि केही न केहीको पाखे । दायाँबायाँ केही नजान्ने, केही थाहा नपाएको बुढो !

दिन कटाउन आउनेहरूसँग हिमचिम बढ्दै गयो । चिनापर्ची बाक्लिँदै गयो । हाई, हेल्लो चल्न थाल्यो । ए, अब त दिन काट्न सजिलो हुने भो भनेको त त्यहाँ आउने जति सबै आआफ्ना विगत ओकलिरहन्थे दिनका दिन । मैले यति कमाएँ, उति कमाएँदेखि मैले यसो गरेँ, उसो गरेँसम्मका कुराले नियमितता पाउन थाल्यो । कि अर्काका कुरा काट्ने, कि आफ्ना विगत फलाक्ने । आज भन्यो भोलि भन्यो तिनका कुरा सुन्दासुन्दा दिक्क लाग्न थाल्यो । जहिले पनि फुर्तीफार्तीक्रै कुरा । पैसाकै कुरा । वर्के पनि फुर्तीफार्ती, फर्के पनि फुर्तीफार्ती । वर्के पनि पैसा, फर्के पनि पैसा । म आजित भएँ । अनि म यिनका मनलाई अब धर्मकर्मतिर डोर्‍याउँछु भनेर भगवान्केन्द्रित भजन, गीत, कविता लेख्न थालेँ । तिनलाई सुनाउन थालेँ । हार्मोनियम बजाउन सिकेँ । हार्मोनियमको सङ्गीत मिसाएर पनि भजन गाउन थालेँ । तिनका त्यस्ता पट्ट्यारलाग्दा कुरा सुन्न नपरेको भए म आज यो अवस्थामा आइपुग्ने थिइनँ । कमसेकम सर्जक भन्ने एउटा उपाधि त जुटाएँ नि !

पछि राम भजन, कृष्ण भजन, शिव भजन, दुर्गा भजन, नारायण भजन आदिका ठेली नै तयार भए । यिनीहरूसँगको यति लामो समयदेखिको चिनजान छँदैछ । मन पराएकै छन् । यी त ठुला मान्छे, यिनले पनि अलिअलि सघाउलान्, यिनका अरू मान्छेले पनि सघाउलान् भन्ने सोचेर किताबै तयार गरेँ भजनलगायतका आफ्ना रचनाको । किताब निकालिसकेपछि पो थाहा भयो – यी पेन्सनवालाहरू त मुखका मात्र चिप्ला रहेछन्, सहयोगका नाममा सुको झार्दा रहेनछन् । गजक्क परेर हाँसेका भरमा टारिदिँदा रहेछन् । यसै क्रममा कतिले त लाजै नमानी हत्केलो उत्तानो पार्न पनि भ्याए । अनि, पहिल्याएँ यिनको मनोदशा । यिनको हैसियत । यिनको विगत ।

म दङ्ग परेर यी काजीका कुरा सुन्दै थिएँ । पछि उनले भनेका कुरा यसो मनन गर्दा त उनी पनि अरुलाई पखालेर आफ्नै बखान पो गरिरहेका रहेछन् । अनि सोचेँ – तिमी पनि उही ड्याङका मुला पो रहेछौ ।

प्रसङ्गले अलिकति ठाउँ छोडे जस्तो देखिए पनि कुरो बटारिएको छैन । मानसिक वा शारीरिक रूपमा अशक्त बनेर अरु केही काम गर्न नसकेका वृद्धवृद्धाको मन ताजै हुन्छ, उनीहरूको सम्झना मात्र बासी हुने हो । ताजा मन हुँदा पनि अपवाद बाहेकको अवस्थामा बाहेक विभिन्न कारणले नयाँ कुरा केही गर्न सक्तैनन् । कतै कुनै कसैको सल्लाहकार वा अरू त्यस्तै केही काममा अलमलिन पाउँदा पनि उनीहरू उही आफ्नै एकादेशका बासी सम्झना ओकल्न थाल्छन् । सुन्नेलाई दिक्क पार्न थाल्छन् । एकादेशका ती कुरालाई सकारात्मक रूपमा लिएर उपयोग गर्न सके राम्रै हो, होइन भने साथमा रहेका युवाजनले बुढाहरू यस्तै हुन् भन्नुबाहेक अरू केही उपलब्दि हुँदैन ।

यस्ता कुरा घर व्यवहारका प्रसङ्गमा पनि आउँछन् । शिक्षक विद्यार्थीका प्रसङ्गमा पनि आउँछन् । नयाँ पुराना कर्मचारी वा अरू जो कोहीका प्रसङ्गमा पनि आउँछन् । चाहे त्यो निजामती क्षेत्रको होस्, चाहे फौजी क्षेत्रका् । चाहे शिक्षण क्षेत्रको होस्, चाहे अन्य व्यावसायिक क्षेत्रको । मैले यसो गरेँ, मैले उसो गरेँ जस्ता गाथा गाउने काम सबैभन्दा बढी राजनीतिककर्मीमा पाइँदो रहेछ । दलीय नेतृत्व वा यस्तै उच्च पदस्थ व्यक्तित्वमा पाइँदो रहेछ । उनीहरू आफू बाहेक अरूलाई केही गन्दै गन्दा रहेनछन् । अर्काको धोइपखाली गरेरै उनीहरू आपूmलाई आवश्यक पर्ने ऊर्जा सङ्कलनमा लागिरहँदारहेछन् ।

यहाँ जो जसलाई प्रसङ्गवश उभ्याइए वा जे गरे पनि कुरो वृद्धवृद्धाको अवस्थाको चित्रणको हो । ताजा मन र बासी सम्झनाको गफगाफ हो । जुनसुकै तहका वृद्धवृद्धाले कुनै पनि हालतमा आफूलाई बुढो भएको नठान्ने अवस्थाको चित्रण हो । उनीहरूमा विराजित मनले उनीहरूलाई कहिल्यै बुढो हुन नदिने, तर बासी सम्झनाले भने सदैव डेरा गरिरहने अवस्थाको वणर्न हो । यहाँ यो वा ऊ भनेर कसैलाई घोचपेच वा शाब्दिक लछारपछार गर्न खोजिएको होइन । धरातलीय यथार्थतामा आधारित भएर बुढ्यौली मानसिकताको सामान्य सङ्केत मात्र गर्न खोजिएको हो । हुन पनि वृद्धवृद्धाहरू पहिला विद्यालय पढ्दाका कुरा गरे द्यिालयकै कुरा, जागिरका कुरा गरे जागिरकै कुरा, व्यापारका कुरा गरे व्यापारकै कुरा, खेतीपातीका कुरा गरे खेतीपातीकै कुरा, राजनीतिका कुरा गरे राजनीतिकै कुरा निकालेर आत्मरतिमा रमाउन थाल्छन् । दायाँ बायाँ नहेरी एक सुरले चड्की चड्की गफिन थाल्छन् । यो विशेषता आफ्ना कुरा कसलाई सुनाऊँ भनेर मौका पर्खिबसेका समग्र वृद्धवद्धाकै विशेषता हो । त्यसैले समग्रमा भन्नुपर्दा वृद्धवृद्धा भनेका बासी सम्झनाका घर हुन्, जसको तन बुढिए पनि मन भने सदासर्वदा ताजै हुन्छ, चनाखै हुन्छ । यही ताजा मनकै कारण उनीहरू अझैँ दीर्घ जीवनको यात्रामा अघि बढ्न सक्षम बनिरहेका हुन्छन् ।

०००
नुवाकोट, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x