सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बुढ्यौलीमा हिँडाइडुलाई

हिँडाइडुलाईका पक्षमा कोही अल्छिएका हुनुहुन्छ भने त्यस्ता महानुभावलाई थोरै भए पनि घच्घच्याउन खोजिएको हो । हिँड्ने कामबाट पछि नहट्नुस् । डुल्ने कामबाट पछि नहट्नुस् । पछि हट्नै पर्दा आफूमा विद्यमान कुनै कुलत छन् भने त्यसबाट पछि हट्नुस् ।

Nepal Telecom ad

वासुदेव गुरागाईं :

समाज चहार्नुपर्छ धेरै कुरा थाहा लाग्छ । दिमाग उर्वर हुन्छ । सोच फराकिन्छ । नयाँ अवसरहरू प्राप्त हुनसक्छन् । मित्रता बढ्छ । नयाँ-नयाँ मानिससँग भेटघाट हुन्छ र नयाँ सम्बन्ध पनि स्थापित हुँदै जान्छ । यस्तो अवसर प्राप्त हुँदा कसैबाट केही लिन सकिन्छ भने कसैलाई केही दिन पनि सकिन्छ । एकै ठाउँमा राखिरहिएको गाडी वा धातुका अन्य सामान खिया लागेर वा कुनै न कुनै रूपमा थोत्रिन्छन्, चलाइरहेका सधैँ चालु अवस्थामा देखिन्छन् । मान्छेको हिँडाइडुलाईलाई पनि थन्क्याउनु हुन्न । त्यसैले हिँडाइको गतिलाई पछाडि धकेल्ने होइन, सकेसम्म अगाडि लम्क्याउनुपर्छ ।

समाजभित्र पसेपछि, सडकमाथि डुलेपछि अनेक कुरा थाहा लाग्छ । कतिपय वृद्धहरू भनिरहेका हुन्छन् – आफू त बुढो भइयो, खोइ ! कता जानू ? म त घरमै बसिरहन्छु । कता गएर के नै हुन्छ र ?

यसरी नै समाजका वृद्धाहरू भनिरहेका हुन्छन् – बूढी मान्छे घरकै धन्दाले भ्याइनभ्याइ हुन्छ, बाहिरफेर निस्कनै पाउँदिनँ । कहिले नातिनातिना भन्यो, कहिले के भन्यो सधैँ घरको घरमै हुन्छु म त । सधैँ कोठाको कोठै ।
आम नेपाली समाजमा बुढ्यौली जीवन व्यतीत गरिरहेका प्रायः सबै महिलापुरुष वृद्धवृद्धाका मुखमा झुन्डिने शब्द हुन् यी ।
अहिलेसम्मको नेपाली समाजलाई केस्राकेस्रामा केलाउँदा सशक्त उमेरका पुरुषहरू प्रायः आफ्नो जीवनको उर्वर समय घर बाहिरै बिताउँछन् । स्वदेशी तथा विदेशी ज्याला, मजदुरी, व्यापार, जागिर, राजनीति जे भने पनि व्यस्तताको स्वरूप र प्रकृतिमा फरक होला, होइन भने सबैको अवस्था र हैसियत सामान्यतः यस्तै हो । अनि, बुढो भएपछि घर फर्क्याे र बुढी पिरेर बस्यो । बुढी नभए नातिनातिना खेलाएर, विद्यालय लाने ल्याउने गरेर, हातको मोबाइल, टिभी वा अरू यस्तै साधनमा आफूलाई अल्मल्याउँछन् यस्ता बुढाहरू ।

पुरुषका तुलनामा अपवाद बाहेक महिलाहरूको स्थिति अलिक भिन्न छ । भिन्न स्थितिका यस्ता महिला पछिल्लो समय समावेशिता वा अरू कुनै नाममा फाट्टफुट्ट घरबाट बाहिर निस्कन थालेका छन् । सँघारभित्रको सांसारिक सीमाभन्दा बाहिरिएर समाज, राष्ट्र हुँदै विश्वव्यापी हुन थालेको छ । यसलाई सकारात्मक रूपमा लिइनुपर्छ । यसदेखि बाहेकका आम महिलाको स्थिति पुरातनवादी नै छ । घर, चोटाकोठा, बरन्डा, कौसी, आँगन/कोठा/पिँढी बढारकुँढार, पूजाआजा, धोइपखालीदेखि भातभान्सासम्ममा उनीहरूको आधी समय व्यतीत हुन्छ । त्यसदेखि बाहेक सहरी क्षेत्रमा वा अलिक सम्पन्न वर्गमा विविध किसिमका मनोरञ्जन आदिमा उनीहरूको समय व्यतीत हुन्छ । ग्रामीण भेगको कुरा गर्ने हो भने घाँस, दाउरा, वस्तुभाउ, कुटो, कोदालो, गोठालो यस्तैमा उनीहरूको दैनिकी दौडिरहेको हुन्छ । शारीरिक योगाभ्यासका हिसाबले महिलाको यो पछिल्लो स्थिति नियाल्दा अलिक कष्टपूणर् जस्तो लागे पनि सहरिया महिलाको भन्दा यस स्थितिलाई रामाो मान्न सकिन्छ ।

यहाँ नेपाली समाजका महिलापुरुषको दैनिकीको वर्णणभन्दा पनि बुढ्यौली वयमा तिनको हिँडाइडुलाईका विषयमा विशेष चर्चा गर्न खोजिएको छ । हिँडाइडुलाईको आवश्यकता र त्यसको महत्वका विषयमा यस्ता वयका मानिसको ध्यानाकर्षण गर्ने प्रयास गर्न खोजिएको छ । यी अक्षर कतिका आँखामा पर्लान् नपर्लान् त्यो आफ्नो ठाउँमा छ, तर यसमा जसजसका आँखा पर्छन् तिनले यसलाई सहज र सकारात्मक रूपमा लिनेछन् भन्ने विश्वास गर्न सकिन्छ । कतिपय अरुका कुरा सुन्न नचाहने व्यक्ति वा वर्गका दृष्टिमा यो अनावश्यक गन्थन पनि ठहरिन सक्छ । तर, एकै जनाले मात्र पनि यसलाई मनन गरेर त्यसलाई अङ्गीकार गर्ने र आफूले अनुभूत गरेका कुरा अरुमा सम्प्रेषण गरिदिने हो भने त्यस्तो सन्देश समाज र वृद्धवृद्धा वयका जोसुकै महिला वा पुरुषका लागि उनीहरूका स्वास्थ्यका हिसाबले महत्वपूर्ण सकारात्मक सन्देश हुनसक्ने कुरामा द्विविधा छैन ।

नेपाली समाजका आम वृद्धवृद्धाका अवस्था र भनाइका विषयमा सुरुका अनुच्छेदतिर साङ्केतिक रूपमा थोरै भए पनि कोट्ट्याउने काम भइसकेको छ । त्यस्तो अवस्था र वयका मानिसलाई के कुरो थाहा हुनुपर्छ भने हिँडाइडुलाईले बुढ्यौली उमेरको उनीहरूको स्वास्थ्यमा अवश्य नै सकारात्मक परिवर्तन ल्याउँछ, लैङ्गिक हिसाबले चाहे ती महिला होउन्, वा पुरुष होउन्, वा अन्य जोसुकै ।

बिहान खाना खाइसकेपछि सुत्नुहुन्न भन्ने भनाइ स्वास्थ्य शिक्षासँग सम्बन्धित धेरै महानुभावबाट पहिलादेखि सबैले सुनिँदै आइएको हो । कतिपयले बेलुका पनि खाना खाइसकेपछि पचास फट्का मात्र भए पनि हिँड्नुपर्छ भन्ने सल्लाह दिन्छन् । बेलुका पनि खाना खाइसक्ने बित्तिकै सुत्नुहुन्न भन्ने सल्लाह स्वास्थ्य क्षेत्रमा नै संलग्न धेरैको परामर्श हुन्छ । खाना खाएपछि अढाइ/तीन घण्टा सुत्नुहुन्न भन्ने पनि धेरैको सुझाव र सल्लाह पाइन्छ । यस्तो अवस्थामा उपलब्ध हुने समय हिँडाइमा व्यतीत गर्न सक्यो भने त्यो स्वास्थ्यका दृष्टिले अत्यन्त सुखद पक्ष ठहरिन सक्छ । जोसुकैले जेसुकै भने पनि बेलुका नौ दश बजेतिर खाना खाएर झ्याप्प सुत्ने बानी स्वास्थ्यका दृष्टिकोणले कसैका पनि हितमा हुन्न ।

कतिपय मानिसहरू हिँड्ने भन्नेबित्तिकै घर वा निवासभन्दा धेरै टाढाको यात्रालाई सम्झन्छन् । त्यस्तो हिँडाइ मात्र हिँडाइ होइन । हामी बुढापाकाको कुरा गरिरहेका छौँ यतिखेर । हामी ज्येष्ठ नागरिक र त्यसमा पनि उपल्लो वयका सम्मानित वरिष्ठ ज्येष्ठ नागरिकका विषयमा कुरा गरिरहेका छौँ । हिँडाइले बुढापाकाको स्वास्थ्यमा पुर्‍याउन सक्ने सकारात्मक प्रभाव र त्यसको आवश्यकताका विषयमा कुरा गरिरहेका छौँ । सबै वृद्धवृद्धा विनासहायता वा लौरो वा अन्य सहयोगीको सहायतामा नै भए पनि टाढा-टाढाको यात्रामा जान सत्तैmनन् । शारीरिक असक्षमता मात्र नभएर रोगजन्य अन्य कारणले पनि यसमा अवरोध ल्याउँछ । त्यसैले यस किसिमको टाढा-टाढाको यात्रा विविध कारणले उनीहरूका पक्षमा नहुन सक्छ ।

यस्ता बुढ्यौली वयका ज्येष्ठ नागरिकको हिँडाइका लागि घरका कौसी, आँगन वा घर नजिकको सडक वा गल्ली नै पर्याप्त हुन्छ । नियमित रूपमा अक्सिजन लिनुपर्ने, कुनै न कुनै किसिमको शारीरिक अपाङ्गता भएका, शारीरिक रूपमा अरूको सहायताविना उठबस गर्नै नसक्ने व्यक्ति आदिका हकमा बाहेक अन्यका लागि घर वा निवास आसपासका माथि प्रस्तावित क्षेत्र यस किसिमको हिँडाइका लागि पर्याप्त हुन्छ । उनीहरूले कौसीमा पटक-पटक ओहोरदोहोर गरे भयो, घर नजिकको सुरक्षित सडकको छोटो दूरीमा पटक-पटक ओहोरदोहोर गरे भयो, गल्ली छ भने त्यसैमा ओहोरदोहोर गरे भयो, अलिक सम्पन्न व्यक्ति छन् भने बगैँचामा वा आफ्नो घर कम्पाउन्डका अन्य कुनै स्थानमा ओहोरदोहोर गर्दा भयो । जे गरे पनि शारीरिक रूपमा आफूलाई तन्दुरुस्त राख्न यति हिँडाइ जो कोहीका लागि अत्यावश्यक नै छ, त्यसमाथि बुढापाकाका हकमा त यो अपरिहार्य नै छ ।

जसरी कुनै व्यक्तिले आफ्नो जीवनकालमा नियमित रूपमा खाँदै खाएको वस्तु केही दिन छोड्दा शरीरले त्यस्तो वस्तुको खोजी वा चाह गर्छ, त्यस्तै सधैँभरि हिँडडुल गरिरहेको मान्छेको शरीरले त्यस्तो अभ्यास अवश्य नै खोजिरहेको हुन्छ । हिँडाइले शरीरका सबै अङ्गप्रत्यङ्गको सञ्चालनमा सघाइरहेको हुन्छ । हिँडाइडुलाईले शरीरका कुनै पनि अवयवमा खिया लाग्न दिँदैन । यसरी हिँड्दाको फाइदा थप के पनि हुनसक्छ भने त्यसरी हिँड्दा हिँडाइक्रममा कतिपय मानिस भेटिन्छन् । तिनीहरूसँग कुरा हुन्छ । विचारको आदानप्रदान हुन्छ । एक अर्काको घर परिवारको स्वास्थ्य स्थिति वा अन्य विषयमा जानकारी हासिल हुन्छ । आफ्नो घर परिवारमा मात्र बस्दा त्यहीँको सेरोफेरोमा मात्र केन्द्रित भएको वा अर्को शब्दमा भन्दा सीमित घेरामा मात्र साँघुरिएको मन वा सोच फराकिलो हुन्छ । यसका लागि मार्ग प्रशस्त हुन्छ । हिँडाइले जिउ हलुङ्ग्याउँछ । क्षणिक रूपमै भए पनि मानसिक स्फूर्ति पैदा हुन्छ । हिँडाइबाट प्राप्त हुने यस्ता परिणामले एकातिर उनीहरूको स्वास्थ्य स्थितिमा सकारात्मक प्रभाव छोड्छ भने अर्कातिर खाएको पचाउने, थोरै भए पनि जिउमा थकान पैदा उत्पन्न हुने भएकाले रातीको निद्रा गाढा हुने स्थिति हुन्छ । गाढा निद्राले वृद्धवृद्धा मात्र नभएर जो कोही व्यक्तिलाई पनि पूर्ण आरामको अनुभूति हुन्छ । यो मानवीय स्वास्थ्यका हिसाबले अत्यन्त आवश्यक र महत्वपूर्ण हुन्छ ।

हामी घर, डेरा वा अन्य किसिमका स्वनिवासी स्थानका विषयमा मात्र चर्चा गरिरहेका छैनौँ । हाम्रा कतिपय ज्येष्ठ नागरिक बाआमा विभिन्न वृद्धाश्रम, मानव सेवा आश्रम वा अन्य यस्तै सार्वजनिक थलोमा पनि जीवन व्यतीत गरिरहनु भएको छ । उहाँहरूका लागि पनि यथोचित हिँडाइ आवश्यक पर्छ । त्यो पनि माथि उल्लेख गरिएझैँ गरी आफ्नो हिँडाइ वा शारीरिक अभ्यासलाई आफ्ना पक्षमा ल्याउन सकिन्छ । यस किसिमको वातावरण त्यहाँका व्यवस्थापकले मिलाइदिनुपर्छ । वृद्धाश्रम, सेवा आश्रम वा जुनसुकै नाममा सञ्चालित त्यहाँका सञ्चालकले खानपान, सफाइ, औषधोपचार बाहेक उनीहरूलाई आवश्यक हुने यस्ता कुरामा पनि ध्यान दिनुपर्छ । सम्भव भएसम्म आफ्ना जिम्मामा रहेका वा राखिएका ज्येष्ठ नागरिक बा आमालाई हिँडाइडुलाईको अवसरबाट कदापि वञ्चित गरिनुहुन्न ।

यस आलेखमा असहाय, शारीरिक रूपमा साह्रै अशक्त वृद्धवृद्धाका विषयमा मात्र हिँडाइडुलाईको आवश्यकता र महत्वका विषयमा उल्लेख गर्न खोजिएको होइन । यसमा त सक्रिय जीवनबाट पर हटेर अवकाशित जीवन बिताइरहनुभएका जो कोही ज्येष्ठ नागरिकका विषयमा पनि हिँडाइडुलाईको आवश्यकता र महत्वका विषयमा थोरै भए पनि सल्लाह दिन खोजिएको हो । हिँडाइडुलाईका पक्षमा कोही अल्छिएका हुनुहुन्छ भने त्यस्ता महानुभावलाई थोरै भए पनि घच्घच्याउन खोजिएको हो । हिँड्ने कामबाट पछि नहट्नुस् । डुल्ने कामबाट पछि नहट्नुस् । पछि हट्नै पर्दा आफूमा विद्यमान कुनै कुलत छन् भने त्यसबाट पछि हट्नुस् । चाहे त्यो खानपानका विषयमा होस्, चाहे त्यो खेलबाडका विषयमा होस्, चाहे त्यो चारित्रिक पक्षसँग जोडिएको विषयमा होस् । यी कुलतले जुनसुकै उमेर समूहका जो कोहीलाई अधोगतितिर धकेल्छ भने वृद्धवृद्धाका हकमा त यो सोह्रै आना हानिकारक विषय हुन्छ । तसर्थ यी कुलतबाट बचेर आफ्नो उत्तरार्द्ध जीवनलाई सहज र समर्थ तुल्याउन आफ्नो हिँडाइडुलाईलाई कुनै पनि हालतमा निरन्तरता दिइनुपर्छ । उपेक्षा गरिनुहुन्न । हेलचर्क्याइँ गरेर टार्नुहुन्न । प्रत्येक ज्येष्ठ नागरिकले आफ्नो खानपान र सरसफाइमा जसरी नियमित चासो दिएका हुन्छन् त्यत्ति नै चासो हिँडाइडुलाईमा पनि दिन आवश्यक छ । यो परिस्थिति स्वास्थ्यस्थिति अनुकूल हुँदै ख्याल गर्ने विषय हो । परिस्थिति प्रतिकूल भइसकेपछि त ए ! ज्या !! भनेर पछुताउनुबाहेक आफूसँग अरु केही रहन्न । सरोकारवाला सबैलाई बेलैमा चेतना भया ।

०००
नुवाकोट, हाल काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बुढ्यौलीका चार ठोक्तक

बुढ्यौलीका चार ठोक्तक

वासुदेव गुरागाईं
बुढापाकाको खानपान

बुढापाकाको खानपान

वासुदेव गुरागाईं
बुढ्यौलीका छ ठोक्तक

बुढ्यौलीका छ ठोक्तक

वासुदेव गुरागाईं
बुढ्यौली : ताजा मन बासी सम्झना

बुढ्यौली : ताजा मन...

वासुदेव गुरागाईं
पाकाले काँतरपनको पिरलो हटाऔँ !

पाकाले काँतरपनको पिरलो हटाऔँ...

डा. मुकेशकुमार चालिसे
पाकाको एक्लोपन पनि उत्पादनशील !

पाकाको एक्लोपन पनि उत्पादनशील...

डा. मुकेशकुमार चालिसे
सक्रियता

सक्रियता

श्रीधर लामिछाने
पाकाको औडाहा र सुन्निने समस्या !

पाकाको औडाहा र सुन्निने...

डा. मुकेशकुमार चालिसे