साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढापाकाको खानपान

सबैका हकमा सधैँ लागु नभए पनि यस्ता कुरामा कुनै पनि खाना खानुअघि जो कोहीले पर्याप्त विचार पुर्‍याउनुपर्छ । हिजो अस्तिका दिनमा खाएको थिएँ केही हुन्न भन्ने होइन, त्यही चिज आज खाँदा के हुन्छ भन्ने कुरामा ध्यान दिने हो । सतर्क हुने हो ।

Nepal Telecom ad

वासुदेव गुरागाईं :

मानिसको वृद्धावस्था त्यस्तो अवस्था हो जुन अवस्थामा उसका सबै शारीरिक अवयव शिथिल हुँदै जान्छन् । एकपछि अर्को गरी कमजोर हुँदै जान्छन् । यसमा यो ऊ भन्ने छैन । आँखा, कान, हात, गोडा, दाँत, अग्नि, हिँडाइ, डुलाइ, बोलाइ, लेखाइ, देखाइ, गराइ सबै कमजोर हुन थाल्छन् । अलिक कमजोर नहुने भनेको उसको मन हो भन्ने गर्छन् कतिपय मानिसहरू । तर त्यो पनि युवावस्थामा जस्तो आँटिलो हुँदैन । पाइला पाइलामा डराउनु उसको विशेषता बन्न थाल्छ । कतिपयले म त्यस्तो छैन भन्न खोज्छन्, तर त्यो पनि सत्य होइन । देखिनु एउटा कुरो हो, हुनु अर्को कुरो हो । कतिपय मानिसहरू आफूलाई पूरापूर अनीश्वरवादी हुँ भनेर देखाउन भरमग्दुर प्रयास गर्छन् । बाह्य रूपमा त्यसरी बके पनि ती मान्छेको अन्तरात्माले अन्ततः ईश्वरको अस्तित्व स्वीकार गरिरहेको हुन्छ । यो बुढ्यौलीको विषय पनि त्यस्तै हो । जसले वृद्धावस्थामा पुगेर पनि आफूलाई युवा नै भएको उद्घोष पटक-पटक गरिरहेको हुन्छ, यथार्थमा त्यस्तो मान्छेको आत्माले भित्रभित्रै म बुढो भएँ भनेर हरेस खाइरहेको हुन्छ ।

बुढापाको खानपानका विषयमा चर्चा गर्न लागिएकाले यहाँ अन्य कुराका प्रसङ्गभन्दा पनि उसको अग्निका विषयमा केन्द्रित रहेर कुरा अघि बढाउने प्रयास गरिन्छ । अग्निको कुरा गर्नु भनेको मुख्य रूपले उसको पाचनक्रिया सञ्चालन गर्ने शारीरिक शक्तिका सेरोफेरोमा रहेर गरिने कुराकानी हो । यस्तो कुराकानी उसको खानपानसँग केन्द्रित भएर गरिनुपर्छ । व्यक्तिको खानपान र उसको अग्नि एक अर्काका परिपूरक हुन् । किनकि, अग्नि नभए खाएका कुरा पच्दैन, खानेकुरा पाएन भने अग्निले पचाउँछ नै के ! यसैले यी दुईलाई एक अर्काका परिपूरकका रूपमा प्रस्तुत गर्न खोजिएको हो । यसैले यसरी नै हेरिनुपर्छ यी दुईलाई ।

‘डिँगो पनि खौलो नपरी चेत्दैन’ भन्ने एउटा प्रसिद्ध नेपाली उखान छ । मान्छेका खानपानका कुरा पनि त्यस्तै हुन् । जतिन्जेलसम्म खाएका कुराले बेफाइदा गर्दैन त्यतिन्जेलसम्म ऊ निर्धक्कसँग त्यस्ता चिजवस्तु उपभोग गरिरहन्छ । कतिपय मानिसहरू आफूले खाए/पिएका चिजवस्तुले आपूmलाई बेफाइदा गरिरहेको छ भन्ने जान्दाजान्दै पनि त्यही चिजवस्तु अरूका आँखा छलेर वा नछलीकनै पनि नियमित रूपमा उपभोग गरिरहेका हुन्छन् । त्यसरी खाने मान्छेलाई मान्छे मात्र नभनेर घामड उपाधि दिनु उपयुक्त हुन्छ । त्यस्ता मान्छेलाई उसलाई बेफाइदा गर्ने चिजवस्तु नखा भन्नु भालुलाई पुराण सुनाउनु जत्तिकै हो । किनकि, उसका लागि यस्तो भनाइ र सुनाइको कुनै अर्थ हुँदैन । त्यसैले त बुढापाकाहरू भन्ने गर्छन् – ‘भिरबाट लडेका वस्तुलाई ‘राम’ ‘राम’ भन्न सकिन्छ, काँध थाप्न सकिन्न । यति भनेपछि भन्न खोजिएका कुराको तात्पर्य स्पष्ट हुन्छ ।

खानपान व्यक्तिको शारीरिक अवस्था र उसमा विद्यमान अग्निको सक्षमतासँग गाँसिएको हुन्छ । कोही मानिसहरू भन्ने गर्छन् – मलाई कफी पियो भने पटक्कै निद्रा लाग्दैन । फेरि कोही त्यस्ता मानिस पनि भेटिन्छन्, जो एक कप तात्तातो कफी नपिईकन उसलाई निद्रै लाग्दैन । कोही चिया पिउँदा मेरो त पेट नै ढुस्स हुन्छ भनिरहेका हुन्छन् भने कोही त्यस्तो हुनै सक्दैन, त्यो तपाईंमा परेको मनोवैज्ञानिक असर मात्र हो । चियाप्रतिको पूर्वाग्रह मात्र हो भनिरहेका हुन्छन् । यथार्थमा यहाँ यो वा त्यो दुवै तर्क वा भनाइ निर्विवाद रूपमा सत्य होइनन् । कारण – एउटालाई फाइदा गर्ने चिजवस्तुले अर्कोलाई बेफाइदा गर्न सक्छ । फेरि अर्कोलाई बेफाइदा गर्ने चिजवस्तुले ऊभन्दा अर्कोलाई फाइदा गर्न पनि सक्छ । एकै किसिमको रोगका लागि चिकित्सकले सिफारिस गरिदिएको औषधि खाँदा एउटाको रोग निको हुन्छ भने अर्कोलाई त्यही औषधि एलर्जी हुनसक्छ । यस्तो अवस्थामा रोग निको हुनु त कता-कता उस्तै परे विरामीको ज्यानै समेत पनि जानसक्छ । यो भनेको मानिसको शारीरिक अवस्था, उसको शरीरको संरचना, उसमा विद्यमान अनेक किसिमका तत्वको अवस्थाको कारण हो ।

जो कसैले उसको बाल्यकाल वा युवावस्थामा खाएका चिजवस्तु उसैका लागि प्रौढावस्थामा अनुकूल वा हितकर नहुनसक्छ । प्रौढावस्थामा खाएका चिजवस्तु वृद्धावस्थाका लागि अहितकारी हुनसक्छ । यो जो कसैले पनि भोगेको, अनुभूत गरेको विषय हो । अनेकौँ परीक्षणबाट पुष्टि भएको कुरा हो । एकै किसिमको खानेकुरा स्वस्थ मानिसले खाँदा एउटा परिणाम दिन्छ भने अस्वस्थ मानिसले खाँदा अर्को परिणाम दिन्छ । परिणाम एउटाका लागि सकारात्मक हुन्छ भने अर्काका लागि त्यत्तिकै नकारात्मक पनि । त्यही खानेकुरामा भएको पोषक तत्व मानिसको उमेरको एउटा अवस्थामा पर्याप्त हुन्छ भने अर्को अवस्थामा त्यत्ति नै अपर्याप्त पनि हुनसक्छ । त्यसमाथि मानिसको वृद्धावस्थामा उसले चालै नपाउने गरी बिस्तार-बिस्तार कुनै न कुनै रोगले च्याप्दै ल्याइरहेको हुनसक्छ । यस्तो अवस्थामा जिभ्रोको कार्यकर्ता बनेर उसले भने बमोजिमको खानपानमा निरन्तरता दिने हो भने त्यस्ता व्यक्तिको के अवस्था हुन्छ भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

समाजमा मैले यस्ता मानिसहरू पनि भेटेको छु, जसलाई अब यो चिज खान हुँदैन, त्यो चिज खान हुँदैन भनेर सुझायो भने ऊ उल्टै उसमाथि वचनले जाइलाग्छ र भन्छ – मलाई अहिलेसम्म केही भएकै छैन । भएपछि त भइगो नि, सिद्धिइगो नि । अनि त्यस्ता घामडलाई म भन्ने गर्छु – ‘मलाई अहिलेसम्म बाघले खाएको छैन’ भनेजस्तै भयो तपाईंका कुरा । बाघले खाएपछि त खाइगो नि ! खाइसकेपछिको अवस्थामा तपाईंलाई बाघले खाएको कुरा तपाईं आफैँ मलाई बताउनै सक्नुहुन्न । त्यसैले तपाईंको स्वास्थ्य अवस्थालाई नियालेर सचेतसम्म गराएको हुँ मैले तपाईंलाई । मेरो सुझाव मान्ने नमान्ने निणर्यको अधिकार तपाईंमै निहित छ ।’

एक पटक मैले पाँच जना मानिस एकसाथ भेटेँ । ती पाँचमध्ये चार जना औषधि सेवन गरिरहेका मुटुका रोगी थिए भने एक जना निकै लामो समयदेखि दमले दुःख दिइरहेका व्यक्ति । चिकित्सकले चिल्लोचाप्लो, रातो मासु, मदिराजन्य वस्तु आदि नखान सल्लाह दिएका थिए ती सबैलाई । तर ती पाँच जनाका अगाडि झन्डै चारै किलो खसीको फ्राइ गरिएको ह्याकुला, भुटन आदि मांसजन्य परिकार थियो । साथमा विदेशबाट आयातित रङ्गीन झोलका भरिभराउ बोतल । ती सबै मेरा नजिककैका चिनजानका मान्छे थिए । मैले देख्नेबित्तिकै आप्पै जनित जिभ्रो टोकेँ । के ताल हो भनेजस्तो भाव प्रकट गरेँ । उनीहरूको त्यहाँको बसाइ लामै भइसकेको रहेछ । त्यसमध्येका एकले जिभ्रो लट्पट्याउँदै बाँचुन्जेल खाने हो भनेर जिउ हल्लायो । अरूले जेसुकै होस् भन्दै ‘हो’ मा ‘हो’ मिलाए । उनीहरूका दशैवटै गोलभेँडा बिर्साउने आँखा मतिर गुडे । मेरो बोल्ने ठाउँ रहेन ।

कुरा गर्‍यो कुरैको दुःख भनेझैँ छ समाज । राम्रा कुरामा सबैको ओठ लेप्रिन्छ, नराम्रा कुरामा कान ठडिन्छन् । यस्तो अवस्थामा धेरै जान्ने पल्टिएर बकबास गरिरहनुको पनि कुनै अर्थ छैन । तर के कुराचाहिँ भन्नैपर्छ भने जोसुकै पनि मानिस असामान्य अवस्थामा बाहेक अघिपछि आफ्ना लागि आफैँ डाक्टर हो । त्यसमाथि बुढापाहरूका लागि त झनै यस सत्यले काम गर्नैपर्छ । वृद्धावस्थाका मानिसहरूले अरूका हाहा र लहै लहैमा नलागी के खाँदा आफूलाई सञ्चो महसुस हुन्छ र के खाँदा बिसन्चोको अनुभूति हुन्छ त्यो आफैँले छुट्ट्याउनुपर्छ । एक अर्काको स्वास्थ्य अवस्था र शारीरिक गुण एकै किसिमको नहुने भएकाले यस्ता कुरामा वृद्धावस्थाका मानिस आफैँ सतर्क हुनुपर्छ सकेसम्म । हल्का पथ्य चिज खानुपर्छ । बेलुकीको खाना कमभन्दा कम खानु स्वास्थ्यका लागि हितकर मानिन्छ, त्यो पनि हाम्रो संस्कार अनुसारको भात नभएर अन्य चिजवस्तु । वृद्धावस्थाका मानिसले मात्र नभएर भोलिका दिनमा वृद्धावस्था भोग्नुपर्नेले पनि यस किसिमको खानपानमा उत्तिकै ध्यान दिनुपर्छ । खानाको परिमाणमा भन्दा त्यसले दिने पौष्टिक तत्व र गुणात्मकतामा ध्यान दिनुपर्छ । सानो छँदा बुढापाकाहरूले भनेको हामीले सुनेका थियौँ –
अन्ना दशगुणा पिष्टा, पिष्टा दशगुणा पय
पय दशगुणा मांसा, मांसा दशगुणा घृतम् ।
(यसको भाव हुन्छ – पौष्टिकताका हिसाबले सामान्य अन्नभन्दा पिठो दशगुणा बढी हितकर हुन्छ । यसरी नै पिठोभन्दा दुध, दुधभन्दा मासु र मासुभन्दा घिउ दशगुणा बढी हितकर हुन्छ ।)

सबैका हकमा सधैँ लागु नभए पनि यस्ता कुरामा कुनै पनि खाना खानुअघि जो कोहीले पर्याप्त विचार पुर्‍याउनुपर्छ । हिजो अस्तिका दिनमा खाएको थिएँ केही हुन्न भन्ने होइन, त्यही चिज आज खाँदा के हुन्छ भन्ने कुरामा ध्यान दिने हो । सतर्क हुने हो । बुढापाका अवस्थामा सुरुका अनुच्छेदतिर उल्लेख गरिएझैँ जिभ्रोको कार्यकर्ता भएर होइन, आफ्नो स्वास्थ्य स्थितिको आकलन गरेर खानेकुराको उपभोग गर्नु सदैव आफ्नो हितमा हुन्छ । कोही पनि मान्छे अजम्मरी छैन । यसो भन्दैमा कसैले पनि जथाभावी खानपान गर्नुहुन्न । न त त्यस्तो खानपानका लागि परिवारका सदस्यले तिनलाई उत्प्रेरित गर्नुहुन्छ । कदापि हुन्न । यसो गर्दा सुबिस्तासँग बाँच्ने अवसर प्राप्त गर्न सकिन्छ भने मर्नैपर्दा पनि सुबिस्तासँग मर्न पाइन्छ । अहिले यसभन्दा बढी नबोलौँ । बुढापाका स्थितिमा पुगेका सबैमा सदैव सामान्य जीवन बिताउँदै स्वस्थ भएर बाँच्न हृदयतः शुभकामना ।

०००
नुवाकोट, हाल काठमाडौं
२०८०/११/७

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x