सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बुढापाकाको खानपान

सबैका हकमा सधैँ लागु नभए पनि यस्ता कुरामा कुनै पनि खाना खानुअघि जो कोहीले पर्याप्त विचार पुर्‍याउनुपर्छ । हिजो अस्तिका दिनमा खाएको थिएँ केही हुन्न भन्ने होइन, त्यही चिज आज खाँदा के हुन्छ भन्ने कुरामा ध्यान दिने हो । सतर्क हुने हो ।

Nepal Telecom ad

वासुदेव गुरागाईं :

मानिसको वृद्धावस्था त्यस्तो अवस्था हो जुन अवस्थामा उसका सबै शारीरिक अवयव शिथिल हुँदै जान्छन् । एकपछि अर्को गरी कमजोर हुँदै जान्छन् । यसमा यो ऊ भन्ने छैन । आँखा, कान, हात, गोडा, दाँत, अग्नि, हिँडाइ, डुलाइ, बोलाइ, लेखाइ, देखाइ, गराइ सबै कमजोर हुन थाल्छन् । अलिक कमजोर नहुने भनेको उसको मन हो भन्ने गर्छन् कतिपय मानिसहरू । तर त्यो पनि युवावस्थामा जस्तो आँटिलो हुँदैन । पाइला पाइलामा डराउनु उसको विशेषता बन्न थाल्छ । कतिपयले म त्यस्तो छैन भन्न खोज्छन्, तर त्यो पनि सत्य होइन । देखिनु एउटा कुरो हो, हुनु अर्को कुरो हो । कतिपय मानिसहरू आफूलाई पूरापूर अनीश्वरवादी हुँ भनेर देखाउन भरमग्दुर प्रयास गर्छन् । बाह्य रूपमा त्यसरी बके पनि ती मान्छेको अन्तरात्माले अन्ततः ईश्वरको अस्तित्व स्वीकार गरिरहेको हुन्छ । यो बुढ्यौलीको विषय पनि त्यस्तै हो । जसले वृद्धावस्थामा पुगेर पनि आफूलाई युवा नै भएको उद्घोष पटक-पटक गरिरहेको हुन्छ, यथार्थमा त्यस्तो मान्छेको आत्माले भित्रभित्रै म बुढो भएँ भनेर हरेस खाइरहेको हुन्छ ।

बुढापाको खानपानका विषयमा चर्चा गर्न लागिएकाले यहाँ अन्य कुराका प्रसङ्गभन्दा पनि उसको अग्निका विषयमा केन्द्रित रहेर कुरा अघि बढाउने प्रयास गरिन्छ । अग्निको कुरा गर्नु भनेको मुख्य रूपले उसको पाचनक्रिया सञ्चालन गर्ने शारीरिक शक्तिका सेरोफेरोमा रहेर गरिने कुराकानी हो । यस्तो कुराकानी उसको खानपानसँग केन्द्रित भएर गरिनुपर्छ । व्यक्तिको खानपान र उसको अग्नि एक अर्काका परिपूरक हुन् । किनकि, अग्नि नभए खाएका कुरा पच्दैन, खानेकुरा पाएन भने अग्निले पचाउँछ नै के ! यसैले यी दुईलाई एक अर्काका परिपूरकका रूपमा प्रस्तुत गर्न खोजिएको हो । यसैले यसरी नै हेरिनुपर्छ यी दुईलाई ।

‘डिँगो पनि खौलो नपरी चेत्दैन’ भन्ने एउटा प्रसिद्ध नेपाली उखान छ । मान्छेका खानपानका कुरा पनि त्यस्तै हुन् । जतिन्जेलसम्म खाएका कुराले बेफाइदा गर्दैन त्यतिन्जेलसम्म ऊ निर्धक्कसँग त्यस्ता चिजवस्तु उपभोग गरिरहन्छ । कतिपय मानिसहरू आफूले खाए/पिएका चिजवस्तुले आपूmलाई बेफाइदा गरिरहेको छ भन्ने जान्दाजान्दै पनि त्यही चिजवस्तु अरूका आँखा छलेर वा नछलीकनै पनि नियमित रूपमा उपभोग गरिरहेका हुन्छन् । त्यसरी खाने मान्छेलाई मान्छे मात्र नभनेर घामड उपाधि दिनु उपयुक्त हुन्छ । त्यस्ता मान्छेलाई उसलाई बेफाइदा गर्ने चिजवस्तु नखा भन्नु भालुलाई पुराण सुनाउनु जत्तिकै हो । किनकि, उसका लागि यस्तो भनाइ र सुनाइको कुनै अर्थ हुँदैन । त्यसैले त बुढापाकाहरू भन्ने गर्छन् – ‘भिरबाट लडेका वस्तुलाई ‘राम’ ‘राम’ भन्न सकिन्छ, काँध थाप्न सकिन्न । यति भनेपछि भन्न खोजिएका कुराको तात्पर्य स्पष्ट हुन्छ ।

खानपान व्यक्तिको शारीरिक अवस्था र उसमा विद्यमान अग्निको सक्षमतासँग गाँसिएको हुन्छ । कोही मानिसहरू भन्ने गर्छन् – मलाई कफी पियो भने पटक्कै निद्रा लाग्दैन । फेरि कोही त्यस्ता मानिस पनि भेटिन्छन्, जो एक कप तात्तातो कफी नपिईकन उसलाई निद्रै लाग्दैन । कोही चिया पिउँदा मेरो त पेट नै ढुस्स हुन्छ भनिरहेका हुन्छन् भने कोही त्यस्तो हुनै सक्दैन, त्यो तपाईंमा परेको मनोवैज्ञानिक असर मात्र हो । चियाप्रतिको पूर्वाग्रह मात्र हो भनिरहेका हुन्छन् । यथार्थमा यहाँ यो वा त्यो दुवै तर्क वा भनाइ निर्विवाद रूपमा सत्य होइनन् । कारण – एउटालाई फाइदा गर्ने चिजवस्तुले अर्कोलाई बेफाइदा गर्न सक्छ । फेरि अर्कोलाई बेफाइदा गर्ने चिजवस्तुले ऊभन्दा अर्कोलाई फाइदा गर्न पनि सक्छ । एकै किसिमको रोगका लागि चिकित्सकले सिफारिस गरिदिएको औषधि खाँदा एउटाको रोग निको हुन्छ भने अर्कोलाई त्यही औषधि एलर्जी हुनसक्छ । यस्तो अवस्थामा रोग निको हुनु त कता-कता उस्तै परे विरामीको ज्यानै समेत पनि जानसक्छ । यो भनेको मानिसको शारीरिक अवस्था, उसको शरीरको संरचना, उसमा विद्यमान अनेक किसिमका तत्वको अवस्थाको कारण हो ।

जो कसैले उसको बाल्यकाल वा युवावस्थामा खाएका चिजवस्तु उसैका लागि प्रौढावस्थामा अनुकूल वा हितकर नहुनसक्छ । प्रौढावस्थामा खाएका चिजवस्तु वृद्धावस्थाका लागि अहितकारी हुनसक्छ । यो जो कसैले पनि भोगेको, अनुभूत गरेको विषय हो । अनेकौँ परीक्षणबाट पुष्टि भएको कुरा हो । एकै किसिमको खानेकुरा स्वस्थ मानिसले खाँदा एउटा परिणाम दिन्छ भने अस्वस्थ मानिसले खाँदा अर्को परिणाम दिन्छ । परिणाम एउटाका लागि सकारात्मक हुन्छ भने अर्काका लागि त्यत्तिकै नकारात्मक पनि । त्यही खानेकुरामा भएको पोषक तत्व मानिसको उमेरको एउटा अवस्थामा पर्याप्त हुन्छ भने अर्को अवस्थामा त्यत्ति नै अपर्याप्त पनि हुनसक्छ । त्यसमाथि मानिसको वृद्धावस्थामा उसले चालै नपाउने गरी बिस्तार-बिस्तार कुनै न कुनै रोगले च्याप्दै ल्याइरहेको हुनसक्छ । यस्तो अवस्थामा जिभ्रोको कार्यकर्ता बनेर उसले भने बमोजिमको खानपानमा निरन्तरता दिने हो भने त्यस्ता व्यक्तिको के अवस्था हुन्छ भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

समाजमा मैले यस्ता मानिसहरू पनि भेटेको छु, जसलाई अब यो चिज खान हुँदैन, त्यो चिज खान हुँदैन भनेर सुझायो भने ऊ उल्टै उसमाथि वचनले जाइलाग्छ र भन्छ – मलाई अहिलेसम्म केही भएकै छैन । भएपछि त भइगो नि, सिद्धिइगो नि । अनि त्यस्ता घामडलाई म भन्ने गर्छु – ‘मलाई अहिलेसम्म बाघले खाएको छैन’ भनेजस्तै भयो तपाईंका कुरा । बाघले खाएपछि त खाइगो नि ! खाइसकेपछिको अवस्थामा तपाईंलाई बाघले खाएको कुरा तपाईं आफैँ मलाई बताउनै सक्नुहुन्न । त्यसैले तपाईंको स्वास्थ्य अवस्थालाई नियालेर सचेतसम्म गराएको हुँ मैले तपाईंलाई । मेरो सुझाव मान्ने नमान्ने निणर्यको अधिकार तपाईंमै निहित छ ।’

एक पटक मैले पाँच जना मानिस एकसाथ भेटेँ । ती पाँचमध्ये चार जना औषधि सेवन गरिरहेका मुटुका रोगी थिए भने एक जना निकै लामो समयदेखि दमले दुःख दिइरहेका व्यक्ति । चिकित्सकले चिल्लोचाप्लो, रातो मासु, मदिराजन्य वस्तु आदि नखान सल्लाह दिएका थिए ती सबैलाई । तर ती पाँच जनाका अगाडि झन्डै चारै किलो खसीको फ्राइ गरिएको ह्याकुला, भुटन आदि मांसजन्य परिकार थियो । साथमा विदेशबाट आयातित रङ्गीन झोलका भरिभराउ बोतल । ती सबै मेरा नजिककैका चिनजानका मान्छे थिए । मैले देख्नेबित्तिकै आप्पै जनित जिभ्रो टोकेँ । के ताल हो भनेजस्तो भाव प्रकट गरेँ । उनीहरूको त्यहाँको बसाइ लामै भइसकेको रहेछ । त्यसमध्येका एकले जिभ्रो लट्पट्याउँदै बाँचुन्जेल खाने हो भनेर जिउ हल्लायो । अरूले जेसुकै होस् भन्दै ‘हो’ मा ‘हो’ मिलाए । उनीहरूका दशैवटै गोलभेँडा बिर्साउने आँखा मतिर गुडे । मेरो बोल्ने ठाउँ रहेन ।

कुरा गर्‍यो कुरैको दुःख भनेझैँ छ समाज । राम्रा कुरामा सबैको ओठ लेप्रिन्छ, नराम्रा कुरामा कान ठडिन्छन् । यस्तो अवस्थामा धेरै जान्ने पल्टिएर बकबास गरिरहनुको पनि कुनै अर्थ छैन । तर के कुराचाहिँ भन्नैपर्छ भने जोसुकै पनि मानिस असामान्य अवस्थामा बाहेक अघिपछि आफ्ना लागि आफैँ डाक्टर हो । त्यसमाथि बुढापाहरूका लागि त झनै यस सत्यले काम गर्नैपर्छ । वृद्धावस्थाका मानिसहरूले अरूका हाहा र लहै लहैमा नलागी के खाँदा आफूलाई सञ्चो महसुस हुन्छ र के खाँदा बिसन्चोको अनुभूति हुन्छ त्यो आफैँले छुट्ट्याउनुपर्छ । एक अर्काको स्वास्थ्य अवस्था र शारीरिक गुण एकै किसिमको नहुने भएकाले यस्ता कुरामा वृद्धावस्थाका मानिस आफैँ सतर्क हुनुपर्छ सकेसम्म । हल्का पथ्य चिज खानुपर्छ । बेलुकीको खाना कमभन्दा कम खानु स्वास्थ्यका लागि हितकर मानिन्छ, त्यो पनि हाम्रो संस्कार अनुसारको भात नभएर अन्य चिजवस्तु । वृद्धावस्थाका मानिसले मात्र नभएर भोलिका दिनमा वृद्धावस्था भोग्नुपर्नेले पनि यस किसिमको खानपानमा उत्तिकै ध्यान दिनुपर्छ । खानाको परिमाणमा भन्दा त्यसले दिने पौष्टिक तत्व र गुणात्मकतामा ध्यान दिनुपर्छ । सानो छँदा बुढापाकाहरूले भनेको हामीले सुनेका थियौँ –
अन्ना दशगुणा पिष्टा, पिष्टा दशगुणा पय
पय दशगुणा मांसा, मांसा दशगुणा घृतम् ।
(यसको भाव हुन्छ – पौष्टिकताका हिसाबले सामान्य अन्नभन्दा पिठो दशगुणा बढी हितकर हुन्छ । यसरी नै पिठोभन्दा दुध, दुधभन्दा मासु र मासुभन्दा घिउ दशगुणा बढी हितकर हुन्छ ।)

सबैका हकमा सधैँ लागु नभए पनि यस्ता कुरामा कुनै पनि खाना खानुअघि जो कोहीले पर्याप्त विचार पुर्‍याउनुपर्छ । हिजो अस्तिका दिनमा खाएको थिएँ केही हुन्न भन्ने होइन, त्यही चिज आज खाँदा के हुन्छ भन्ने कुरामा ध्यान दिने हो । सतर्क हुने हो । बुढापाका अवस्थामा सुरुका अनुच्छेदतिर उल्लेख गरिएझैँ जिभ्रोको कार्यकर्ता भएर होइन, आफ्नो स्वास्थ्य स्थितिको आकलन गरेर खानेकुराको उपभोग गर्नु सदैव आफ्नो हितमा हुन्छ । कोही पनि मान्छे अजम्मरी छैन । यसो भन्दैमा कसैले पनि जथाभावी खानपान गर्नुहुन्न । न त त्यस्तो खानपानका लागि परिवारका सदस्यले तिनलाई उत्प्रेरित गर्नुहुन्छ । कदापि हुन्न । यसो गर्दा सुबिस्तासँग बाँच्ने अवसर प्राप्त गर्न सकिन्छ भने मर्नैपर्दा पनि सुबिस्तासँग मर्न पाइन्छ । अहिले यसभन्दा बढी नबोलौँ । बुढापाका स्थितिमा पुगेका सबैमा सदैव सामान्य जीवन बिताउँदै स्वस्थ भएर बाँच्न हृदयतः शुभकामना ।

०००
नुवाकोट, हाल काठमाडौं
२०८०/११/७

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बुढ्यौलीका चार ठोक्तक

बुढ्यौलीका चार ठोक्तक

वासुदेव गुरागाईं
बुढ्यौलीमा हिँडाइडुलाई

बुढ्यौलीमा हिँडाइडुलाई

वासुदेव गुरागाईं
बुढ्यौलीका छ ठोक्तक

बुढ्यौलीका छ ठोक्तक

वासुदेव गुरागाईं
बुढ्यौली : ताजा मन बासी सम्झना

बुढ्यौली : ताजा मन...

वासुदेव गुरागाईं
पाकाले रमाइलो गर्ने पिरलो हटाउने !

पाकाले रमाइलो गर्ने पिरलो...

डा. मुकेशकुमार चालिसे
पाकाले काँतरपनको पिरलो हटाऔँ !

पाकाले काँतरपनको पिरलो हटाऔँ...

डा. मुकेशकुमार चालिसे
पाकाको एक्लोपन पनि उत्पादनशील !

पाकाको एक्लोपन पनि उत्पादनशील...

डा. मुकेशकुमार चालिसे
सक्रियता

सक्रियता

श्रीधर लामिछाने