देवीप्रसाद मिश्रबुढ्यौली काव्य (शृङ्खला-३७)
कोठो त्यो परिपूर्ण पार्छु गहुँले जाँतो छ आफ्नै घर । पिँध्ने गर्छु शनैः शनैः रहरले आलस्य फाल्दै पर ? मेरो नाति फुरुक्क हुन्छ घरमा रोटी बनाईदिँदा छोराले पनि मान्छ यो हितकरी खाना सदा सर्वदा ॥

देवीप्रसाद मिश्र :
आमाले सुखदुःख कारकपला भोग्दै भएका जति ।
हुर्काइन् कृषिकर्ममा रत भई सन्तान आफ्ना कति ॥
फालिन् वर्ष वसन्त आत्मबलले लड्दै पचासी पर।
कुट्दै छिन् गहुँ आजसम्म दिलमा, कत्रो ठुलो जाँगर ॥२०८ ॥
केही छैन विडम्बना हृदयमा हो सृष्टि मेरो सब
जेजस्तो अघिको छ कार्यसँगमा छुट्दैन यो सम्भव ।
छन् सन्तान विदेशमा कति जना सामीप्यमा छन् कति ।
भन्छिन् व्यस्त शरीर राख्नु छ सदा गर्दै सकेको जति ॥२०९॥
सारा यी मुटुका अशेष जति छन् राम्रो समालून् पथ ।
आजैबाट म रोक्न सक्दिन कतै यो जिन्दगीको रथ ॥
पेशा हो अघिको रमाउँछु यतै, चाल्दै सदा पाखुरा ।
मान्छन् खान पुडी मिठास घरका सम्पूर्ण मेरा भुरा ॥२१०॥
कोठो त्यो परिपूर्ण पार्छु गहुँले जाँतो छ आफ्नै घर ।
पिँध्ने गर्छु शनैः शनैः रहरले आलस्य फाल्दै पर ?
मेरो नाति फुरुक्क हुन्छ घरमा रोटी बनाईदिँदा
छोराले पनि मान्छ यो हितकरी खाना सदा सर्वदा ॥२११॥
धेरै दुःख भयो सकिन्न यसरी भन्छिन् बुहारी तर ।
केही कामविना बसेर घरमा आनन्द के मिल्छ र ?॥
यस्तै कार्य गरी कयौँ अघि बिते हाम्रा पुरानाजन ।
आमाका जति बात छन् हितकरी सम्पूर्ण दिग्दर्शन ॥२१२॥
(क्रमशः)
०००
२०८०/६/१६
Subscribe
Login
0 Comments
Oldest






































