साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जसले मह काढ्छ उसले हात चाट्छ ?

हात मात्र हैन ओँठ पनि चाटे हुन्छ । अझै खुट्टामा चुहेको रहेछ भने खुट्टै चाटे पनि त कसले के भन्छ र !! पैतालामा टाँसिएको भए पैताला नै चाटे पनि भै गो ।

Nepal Telecom ad

खबरदार ! अबदेखि कसैले यो उखान भन्ला । खबरदार ! अबदेखि कसैले यो उखान लेख्ला !! म त्यसको बिरोध गर्ने मात्र हैन सर्वोच्च अदालतमा मुद्दा हाल्नसमेत पछि पर्ने छैन । यति मात्र हो र ! यो उखान कसले चलाउन सुरु गरेको हो त्यसको खोजी गरी ऊ मरेको भए पनि उसका सात पुस्तालाई आजीवन कारावासको सजायँ गराउन लगाउँछु न्यायाधीशलाई । बरु अलिकति हातमा मह लाइदिएर चाट्न पनि दिन पछि पर्ने छैन । देख्दा राम्रो, सुन्दा कणर्प्रिय र खाँदा गुलियो भएर हुन्छ र ? व्यवहारमा कति नमिठो र कति घातक छ भन्ने तपाईँले अहिलेसम्म अड्कल काट्नुभएकै छैन होला । त्यसैले मैले यसो भनिरहँदा तपाईँलाई आन्द्रैदेखि झोँक चलेको हुनुपर्छ । तर नरिसाउनुहोस् कुरा बुझेपछि तपाईँको झोँक चुँडिहाल्छ ।

जसले मह काढ्छ उसले हात चाट्छ रे ! यसलाई किन उखानका रूपमा विकसित गरियो भन्ने अनुमान सबैले लगाउन नसक्लान् पनि । कुनै विषयमा पनि तर्क नगरी सोझै पत्याउने हाम्रो पवृत्ति छ । यसलाई पनि हामीले त्यसै गरी पत्याइदिएका छौँ । उसो भए अचार साँध्नेले हात चाट्दैन ? दही मथ्नेले हात चाट्दैन ? हाम्रो शरीरका कर्मशील अङ्गहरू भनेकै यी दुई हात त हुन् । हातको काम हो कर्म गर्नु । अरु अरु अङ्गका पनि आआफ्नै काम होलान् तर धेरैजसो काम गर्ने हातै हो । त्यसैले त भन्छन् नि ‘यसमा तपाईँको ठूलो हात छ’ भनेर । यद्यपि उसले त्यो काम खुट्टाले गरेको होस् वा ढाडले गरेको होस् । दिमाग लडाएर गरेको भए पनि, बुद्धि बङ्ग्याएर गरेको भए पनि ‘यसमा तपाईँकै हात छ’ भनिदिएपछि गर्ने के ! मह काढ्नेबाहेकका अरु काम गरेर हात चाट्नु नै नपर्ने हो वा के हो मैले त कुरा बुझिन नि । जसले सिँगान फाल्छ उसले हात चाट्छ भने पनि त हुन्छ होला ! अथवा जसले गोबर सोहोर्छ उसले हात चाट्छ भन्न किन नमिलेको ? अनुप्रास मिलेन भनेर ? हुँदैहैन ।

यो उखान अनुप्रास मिलाउनका लागि मात्र भनिएको हैन । भलै सिँगान फाल्ने र गोबर सोहोर्ने काम त फोहोरी भएछन् अचार साँध्ने र दही मथ्ने काम त सफै हुन्, अखाद्य पनि हैनन् तर दही मथ्नेले हात किन चाट्दैन ? मह काढ्नेले मात्र किन चाट्छ ? विचार गर्नुहोस् त ! दही मथ्ने बन्न कति श्रम गर्नुपर्छ । अचार बसीबसी बन्दैन । तर मह काढ्न त्यस्तो परिश्रम गर्नै पर्दैन । बिचरा मौरीहरूको श्रम लुटेर खान पाएपछि को हात नचाटोस् ? हात मात्र हैन ओँठ पनि चाटे हुन्छ । अझै खुट्टामा चुहेको रहेछ भने खुट्टै चाटे पनि त कसले के भन्छ र !! पैतालामा टाँसिएको भए पैताला नै चाटे पनि भै गो । अरुको श्रम शोषण गरेर खान पल्केका शोषकहरूले आफूअनुकुल शोषण गर्न सजिलो होस् भनेर थालिएको कथन हो यो । यसलाई उखानको दर्जा दिनै मिल्दैन, बुझ्नुभो !

बुझे बुझ्नोस् नबुझे नबुझ्नोस् साँचो कुरा भने यही नै हो । उहिलेका कुरा खुइलिए भनेर हामी सबैलाई नयाँ बनाउन खोज्दै छौँ । उहिलेका कुरा सबै खुइलिहाल्दैनन् । कति त झन् जरा गाडेर बाक्ला बाक्ला बोक्रा लागेर अग्राख पल्टिएका पनि छन् । त्यस्तै मध्येको एउटा हो यो उखान । म मात्र हैन मेरा बाजेका बाजेले पुनर्जन्म लिएर आए पनि र सर्वोच्चको बाजे अदालतमा मुद्दा हाले पनि खारेज हुनेवाला छैन यो । ठ्याक्कै राणाकाल आसपासको जिम्मावाली र मुखियाली खालको शासनशैली उदाएको छ लोगनेमा । फेरि यो लोगने भनेको केहो ? कतै स्वास्नी नभएको लोग्ने भनेको त हैन ! यस्तो तर्क पनि आउन सक्छ तपाईको मनमा । कुरा त्यस्तो उपाधि अप्ठेरो छैन है ! लोगने भनेको लोकतान्त्रिक गणतन्त्र नेपाल क्या !! पहिले जहानियाँ राणाशासन थियो, अहिले घरानियाँ छाडाशासन छ । यो छाडाशासन भन्दा त राणाशासन नै ठिक थियो भन्न थाले राणाशासन बेहोरेका तल्लारे माइला बाजेले ।

उहिले उहिले जिम्मावाल र मुखियाहरूले गाउँगाउँ र टोलटोलमा तिरो भरो उठाउने सानातिना मुद्दामामिला मिलाउने गर्थे रे ! मेरी साख्खै हजुरआमाले भन्नुभएको । त्यही नाममा उनीहरूलाई खाना खुवाउने मात्र हैन झारा, बेठी तिर्नु पर्थ्यो रे । यही मह काढ्नेले हात चाट्ने सिद्धान्तलाई त्यतिबेलाका टाउकेहरूले मन्त्र मानेर अलिकति आफैले चाट्थे अलिकति माथिल्लो तहका ठुल्टाउकेहरूलाई चाट्न दिन्थे । यसरी कसैको केही झगडाटन्टा मिलाएबापत वा भलो गरेबापत लिने फाइदालाई लक्ष्यित गरेर यो उखान जन्माइएको हो भन्ने मेरो मोटो बुद्धिले सोचेको छ । बाँकी तपाईँको मसिनो र तिखो बुद्धिले खोज्नुहोला । नत्र दही मथ्नेले हात चाट्नै नहुने हो र ? राम्रा र गतिला काम आफै हत्याउने अनि हात नचाटेर खुट्टा चाट्ने त कुरै भएन । गोबर सोहोर्ने काम त तल्लो दर्जाका रैतीको काम न हो । फेरि गोबर सोहोरेर के हात चाट्नु !

यो आधुनिक जमानामा पनि के उहिले उहिलेका कुरा गर्छ यो भन्ठान्नुभयो होला । स्वभाविकै पनि हो । उहिले पो मुखियाली थियो, अहिले त छैन नि ! भन्न पनि बेर छैन तपाईँले त । ईः छैन ! उहिले ठुल्टाउकेहरूले बोलेर जिम्मावाल र मुखिया तोक्थे अहिले सान्टाउकेहरूले मतपत्रमा छाप ठोकेर तोक्छन् फरक यत्ति हैन त ? नयाँ शैलीको मुखियाली छ अहिले ! मह काढ्ने र हात चाट्ने तरिका पनि नयाँ !! यो युग नै नयाँ, नेपाल नै नयाँ भएर होला क्यारे । मुखियाली र जिम्मावाली लिने बेलामा मैले तलब लिन्नँ भनेर घोषणा गर्ने अनि तलबसलब नलिएको टाउके चाहिँ उडुस जस्तै मोटाउने गरेको सबैले देखेकै छन् । कतै तलब नलिने घोषणा घुसणा मात्र पो थियो कि !!

कतैतिर बाङ्गोटिङ्गो नपारेर र कसैलाई घोचघाच नगरेर भन्ने हो भने यो उखानले सोझै भ्रष्टाचारलाई प्रोत्साहन गर्छ । कानुनी भाषा मैले जान्दिन, नेपाली भाषामा भन्ने हो भने यो उखान भन्नुको अर्थ घुस खान दिनु भन्ने हो । यसर्थ यो उखानलाई बहिष्कार गर्नुपर्ने माग छ मेरो । नत्र कसैले पनि भ्रष्टाचार र घुसखोरीको बिरोध नगरे हुन्छ । संस्कारगत रूपमा घुस खाने चलनको विकास यही उखानले गराएको हो । आफ्नो ज्यानको बाजी राखेर परिश्रम गरी सङ्कलन गरेको मह खान नदिएर मौरीको सत्यनाश पार्ने अनि मह लागेको हात चाट्ने ? कति लाक्षणिक अर्थ छ यसको ! त्यसैले त यो उखानको थालनी गर्ने मान्छेका सात पुस्तासम्मलाई घोक्रेठ्याक लाउनु पर्छ भनेको हुँ मैले ।

गफ्फा चाहिँ असाध्यै आधुनिक पाराको छाँट्ने, व्यवहार भने सतीपुर्खे गर्ने ! संसारले विकासको फड्को कति मारिसक्यो भन्ने अड्कल पनि त राख्नु पर्छ नि । हजुरबाले सरातमा बिरालो बाँध्थे भनेर नातिले पनि त्यसै गरेपछि कसलाई के भन्नु । आजको युगमा मह काढ्नेले हात चाट्नै पर्दैन । हातमा मह लागे पो चाट्नु ! आधुनिक प्रविधिका घारहरूको आविष्कार भैसकेको छ । मह काढ्ने यन्त्रको विकास भैसकेको छ । मौरीका चाकामा हात गाड्नै पर्दैन । गम्रक्याएर मह खान पाइएला भनेर हो यो उखानलाई जोगाइराख्न खोजेको ! पुराना ढर्राका मुढे घारमा पो लुँड्याउन पाइन्थ्यो र ! अब पनि पुरानै चाला दोहोर्याउने हो भने ‘यो एक्काइसौँ शताब्दीमा आएर पनि रुढीवाद, अन्धविश्वास, जातीय छुवाछुत कायमै छ … … ‘भन्दै थोत्रा भाषण नभट्याए हुन्छ ।

यस्तो गुलियो चाट्न पाइने कुरालाई मान्छेले किन छोडोस्? कति पुरानो परम्परालाई त छोडेकोरहेनछ । अस्ति भर्खरको कुरा हो । म त जिल्लै परेँ बा !! अस्ति रातीको कुरा म एक जनाको जन्त गएको थिएँ । बिजुलीको झिलिमिली जताततै थियो । स्वयंवर गर्ने बेलामा त दुईओटा राँका पनि बालेका ! हैन, के परम्परा थामेको हो कुन्नि । उहिले उहिले पो उज्यालोको विकल्प थिएन र राँका बालेर स्वागत गर्नु पर्थ्यो जन्तीलाई । बिजुलीको झल्झल उज्यालोमा राँका बाल्नु चाहिँ कुन आधुनिकता हो मेरो गिदीले भेटेन ।

हेर्नुहोस् है ! मेरो खबरदारी जारी छ । भ्रष्टाचारलाई साहित्यिक मान्यता दिलाउन बनाइएको यो उखानको जरै उखेल्नु पर्छ । सुन्दा मह झैँ गुलियो होला तर विचार गर्नुहोस् त ‘आः, जसले मह काढ्छ उसले हात चाट्छ भन्ने त चलनै छ’ भन्दै जसजसले जेजे लुड्याए पनि वास्ता नगर्ने हो भने हाम्रो के हालत होला ? पहिलो कुरो त मह मदानी बनिसकेकोले मह काढ्नेले हातै चाट्छ भन्ने हुँदैन । दोस्रो कुरा चाहिँ मह काढ्नेले चाट्नै पर्छ भन्ने के छ र ! साबुनले हात धोए भैहाल्छ नि । नत्र अचार साँध्नेले पनि हात चाट्न पाउनु पर्छ; दही मथ्नेले पनि हात चाट्न पाउनु पर्छ । हातले जे जस्ता राम्रा काम गर्छ ती सबै हातहरूको चाटिने अधिकार कसैले रोक्न पाउँदैन । हैन भने म पनि भ्रष्टाचारी, तपाईँ पनि भ्रष्टाचारी ! जसले मह काढ्छ उसले हात चाट्छ भन्नुहुन्छ भने तपाईँ सोह्रै आना भ्रष्टाचारी हो भनेर ठोकुवा गर्छु । यसको थालनीकर्ताको पत्तो नलागे पनि प्रयोगकर्ताहरू त छ्याप्छ्याप्ती भेटिन्छन् । आइन्दा यो उखान भन्ने र लेख्ने दुवैलाई भ्रष्टाचारीको बिल्ला भिराउने अभियानमा छु । आउनुहोस् ! तपाईँ पनि भ्रष्टाचार विरोधी हुनुहुन्छ भने मेरो यो अभियानलाई साथ दिनुहोस् । हैन भने तपाईँ भ्रष्टाचारी मात्र हैन घुसखोरी नै हो ।

बम्घा, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चैते नेता

चैते नेता

काशीनाथ मिश्रित
पर जा तन्त्र

पर जा तन्त्र

काशीनाथ मिश्रित
जनता जनार्दन

जनता जनार्दन

काशीनाथ मिश्रित
कागलाई बेल पाक्यो हर्ष न विस्मात !

कागलाई बेल पाक्यो हर्ष...

काशीनाथ मिश्रित
आगलागी झुपडी डेढ घडी भद्रा

आगलागी झुपडी डेढ घडी...

काशीनाथ मिश्रित
बहुदल पार्टी

बहुदल पार्टी

काशीनाथ मिश्रित
आफै बोक्सी आफै धामी

आफै बोक्सी आफै धामी

काशीनाथ मिश्रित
नुनको बाङ्गो

नुनको बाङ्गो

काशीनाथ मिश्रित
जो होचो उसका मुखमा घोचो

जो होचो उसका मुखमा...

काशीनाथ मिश्रित
भाइ फुटे गँवार लुटे

भाइ फुटे गँवार लुटे

काशीनाथ मिश्रित
0
Would love your thoughts, please comment.x
()
x