सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कुकुरको पुच्छर अठार वर्षपछि पनि बाङ्गाको बाङ्गै !

माननीयहरूको सभामुख भए जस्तै म तपाईं अमाननीयहरूको सभापुच्छर हुँ । त्यसैले यतिका लामो संशोधन प्रस्ताव पेश गरिसकेपछि पक्कै पास गर्नुहुनेछ भन्ने आशा गर्दछु । यसर्थ कुकुरको पुच्छर बाह्र हैन अठार वर्ष ढुङ्ग्रामा राखे पनि बाङ्गाको बाङ्गै हुन्छ भन्ने प्रस्ताव पेश गर्दछु ।

Nepal Telecom ad

यता हेर्‍यो संशोधन उता हेर्‍यो संशोधन । हैन कति छिटोछिटो संशोधन भएका हुन् हाम्रो देशमा ! यो द्रुत गतिको परिवर्तन र संशोधनले नेपाल अब छिटै सिङ्गापुर बन्ला जस्तो पो छ । हिजो एउटा गठबन्धन, आज अर्को ठगबन्धन ! राजनीतिमा असम्भव भन्ने हुँदैन रे ! उसो भए असम्भव केमा हुन्छ त ? हो सुधार र संशोधन हुनैपर्छ । राम्रो बन्नैपर्छ । त्यसैले मैले पनि कुकुरको पुच्छर बाह्र वर्ष ढुङ्ग्रामा राखे पनि बाङ्गाको बाङ्गै भन्ने यो उखानलाई संशोधन गरिदिएँ । राजनीतिमा मात्र हैन भाषा साहित्यमा पनि यो संशोधनवाद लागु हुनुपर्छ भन्ने मेरो माग हो । तपाईंले गरेको सुधारलाई तपाईंका रैतीहरूले मानेका छन् भने मेरो यो सुधारलाई मेरा पाठकवर्गहरूले नमान्ने कुरो हुनै सक्दैन । कुन चाहिँ बुढाले ढुङ्ग्रामा हालेर परीक्षण गरेको थियो र कुकुरको पुच्छरलाई ? कस्तो सिल्ली रहेछ कम से कम बाह्र वर्षसम्म ढुङ्ग्रामा राखेपछि सोझिएन भने अरु समय बढाउनु पर्दैनथ्यो ! अठार वर्षमा पनि नसोझिएको त प्रमाणै दिन सक्छु बुझ्नु भो ?

सिङपुच्छर नछोडिकन भन्ने हो भने पुच्छर मानिसको अदृश्य अङ्ग हो । कस्तो पुङ न पुच्छरको कुरा गर्छ यसले भन्ने लाग्ला तपाईंलाई ! नपत्याए पिठ्युँको फेदमा छाम्नुहोस् त पुच्छरको ठुटो भेटिन्छ । हाम्रा पुर्खाहरूको त अझै पनि छ । हामी चाहिँ आफै झिँगा धपाउन सक्ने भएकाले पुच्छर लोप भएको रे ! त्यो ठुटे पुच्छर नभएर के ? त्योभन्दा लामो लामो पुच्छर मान्छेको छ भनेर मैले ठोकुवा गर्छु । मैले यो कुरा कसैको पुच्छर नलागी गरेको छु क्या ! तपाईंले भन्दैमा टेरपुच्छर लाउनेवाला छैन । पुच्छर लुकाउनु पनि पर्दैन मलाई बुझ्नु भो ? श्रीलङ्काका नेता जस्तो ठाडो पुच्छर लगाउनेवाला त म हैन नि ।

अब त पक्कै बुझ्नुभयो होला पुच्छर के हो भनेर । पुच्छरलाई कुनै जनावर वा चराचुरुङ्गीको पछिल्लो भागबाट निस्केको लाम्चो अङ्ग भन्ने मात्र बुझ्नु सोह्रै आना मूर्ख्याईं हो । म सानै छँदा हजुरआमा कतै जान लागेको बेला मैले दुःख दिएर सँगै हिँड्दा ‘पुच्छर नलाग् !’ भनेर हप्काएको अझै याद छ । त्यसरी अर्काको पछि लाग्न खोज्नुलाई पनि त पुच्छर भनिने रहेछ नि ! कि कसो ? त्यसैले त मान्छेको अदृश्य पुच्छर हुन्छ भनेको हुँ मैले । नपत्याए आफ्नै टुप्पीमुनि रहेको सुरक्षित गिलो अङ्गलाई सोध्नुहोस् तपाईं कसैको पुच्छर हुनुहुन्छ कि हुनुहुन्न ? पक्कै हुनुहुन्छ । तपाईं मात्र हो र म पनि कसैको पुच्छर नलागी बाँच्ने अवस्था छैन । आफू कसैको पुच्छर बन्नु र आफूले पनि कसैलाई पुच्छर बनाइरहनु नै वास्तविक नेपाली पहिचान हो ।

बाङ्गोटिङ्गो तरिकाले नभन्ने हो भने पुच्छर भनेको पछिल्लो भाग हो । त्यसैले त निर्जीवको पनि पुच्छर हुन्छ सजीवको मात्र कहाँ हो र ! यो कुरा त मैले सानैमा साथीहरूसित चङ्गा उडाउँदा थाहा पाएको थिएँ । हामीले चङ्गाको कति लामो पुच्छर बनाएका थियौँ ! चङ्गाको मात्र कहाँ हो र, ढिकीको पनि पुच्छर हुन्छ जसमा खुट्टाले बल लगाएपछि बुरुकबुरुक उफ्रेर कुट्छ । अझ अस्ति आमाले अचार बनाउन काँक्रो कोर्ने बेला कोरेसाको पुच्छरमा समातेर कोर् न भनेको सुन्दा त छक्कै परेँ, बाफ रे ! कोरेसाको पनि पुच्छर ! हैन के केको पुच्छर हुन्छ हँ दुनियाँमा ? सबैको पुच्छर हुँदोरहेछ । पछिल्लो भाग वा पछाडि पारिएको अवस्थालाई पुच्छर नभनेर सिङ भन्ने त कुरै भएन । त्यसैले बारीको पछाडिको भागलाई पुच्छर नभनेर पुछार भनिएको होला भन्ने मेरो सोझो बुझाइ छ किनभने बारीको पुछार चौरी गाईको जस्तो झुप्पा परेको नहुन सक्छ ।

पुच्छरको विशेषताको कुरा गर्ने हो भने अनौठो लाग्न सक्छ । वास्तवमा पुच्छर भनेकै औचित्य नभएको वस्तु हो । त्यसैले पुच्छरधारी कस्तो छ त्यसैमा पुच्छरको विशेषता रहन्छ । पुच्छरधारी गाईभैँसी हो भने उसको पुच्छरको काम झीँगा धपाउनुबाहेक केही छैन । एक पटकको कुरो गर्नैपर्छ । मैले भैँसी दुहुन बसेको बेला गोबर लटपटिएको पुच्छरले मेरो गर्धन पछाडिबाट बेरेर आँखा र नाक दुवैमा गोबर छ्याप्प लगाइदिएको थियो । त्यो बेला झनक्क रिस उठेर लिँडे बनाइदिउँ जस्तो नलागेको पनि कहाँ हो र ! पुच्छरधारी यदि बिरालो हो भने खुसियालीमा डोलाउनु मात्र उसको विशेषता देखिन्छ । यदि पुच्छरधारी कुकुर रहेछ भने त मालिक देखेर हल्लाउनुशिवाय अरु विशेषता म देख्दिन । जाबो मलद्वारसम्म ढाक्न नसक्ने कुकुरको पुच्छरको के काम ! त्यसैले त बाजेहरूले बाँदरको पुच्छर लौरो न हतियार भनेका होलान् नि । हुन त अरु कुन जनावरको पुच्छरले लौरोको काम गर्छ र उनीहरूले बाँदरको पुच्छरलाई नै दोष दिनु परेको हो उनै जानून् ।

पुच्छरको कामै छैन भन्ने हो भने हनुमानको पुच्छरले लङ्का जलाएको कथा तिनै बाजेहरूले सुनाउँछन् । हनुमान पनि त बाँदरै हुन् । उनी रामका भक्त भएकाले रावणको देशमा गएर विनाश गरे तर यहाँका हनुमानहरू भने हरामका भक्त हुनाले आफ्नै देश ध्वंस गर्लान् जस्तो छ । विशेष परिस्थितिमा विशेष काम गरे पनि पुच्छरको खास काम पुच्छरधारीको झीँगा धपाउनु र मलद्वार ढाक्नु मात्र हो । कुकुरको पुच्छरले त न झिँगा धपाउँछ न मलद्वार ढाक्छ ! त्यसैले बुढाहरूले घुम्रिएको पुच्छरलाई सोझ्याएर कम से कम त्यो ढाकिदिए पनि हुन्थ्यो भनेर सोझ्याउन खोजेका होलान् । कुकुरको पुच्छर सोझिएको भए बिचरा अहिलेका भुस्याहा कुकुरहरूले यसरी लाज मान्नुपर्ने थिएन । बिचरा ! आजकल कुकुरहरू चौपट्टै लजाउन थालेका छन् । त्यसैले कात्तिक लागेपछि सहरतिरका कुकुरहरू पनि गाउँघरतिर आउन थालेका छन् रे ! गाउँमा त जसले जसलाई जतिबेर अड्काए पनि भो नि ! सुशिक्षित सहरमा बसेर मनपरी गर्न नपाउने भएपछि गाउँतिर लाग्नुको विकल्प नै भएन । सबै कुकुरहरूको विदेश जाने हैसियत पनि छैन । मलाई तल्लारे माइलाले भनेकाले थाहा पाएको हुँ नत्र कहाँ जान्नु मैले यस्तो कुरो !!

हाम्रो पुच्छर प्रयोगमा नआएकाले लोप भएको हो भन्ने सम्झँदा मलाई सारै डर लाग्न थालेको छ । टुप्पीमुनिको गिलो अङ्ग नै गिलिक गिलिक गर्न थालिसक्यो । कतै निकट भविष्यमा हाम्रा खुट्टाहरू पनि लोप हुने त हैनन् ! पुच्छर लोप भएको हालको पुच्छरे मान्छे राम्रै देखिए पनि खुट्टै लोप भए भने कस्तो बिरूपको देखिएला ? सोच्नुहोस् त ! प्रयोगमा नआएकाले लोप भएकै हो भने अब खुट्टा लोप हुन धेरै समय छैन । यो कुरा मैले किन गर्न खोजेको हुँ भने आजकल मान्छेहरू हिँड्न छोडेका छन् । हिँड्न छोडेपछि खुट्टाको प्रयोग हुने कुरो भएन । बाबुको बारी बेचेर भए पनि साहूको थैलो थुपारेर भए पनि पैदल हिँड्दैनन् मान्छेहरू । सक्नेले बाइक किन्लान् नसक्नेले बेकारको भए पनि कार त किन्छन् किन्छन् । भन्नुहोस् त खुट्टा लोप हुन्छन् कि हुन्नन् ? दिमाग त भित्री अङ्ग भो लोप भए पनि रूप बिग्रने कुरो भएन तर खुट्टै लोप भए भने त … ! फेरि दिमाग लोप हुने कुरा झिक्यो भनेर तर्सनु होला नि । यो त वैज्ञानिकहरूले भनिसकेका छन्, हुन्छ हुन्छ । आर्टिफिसियल इन्टेलिजेन्स बनाएपछि अर्जिनल इन्टेलिजेन्सको के काम हुन्छ र ! सोझै दिमाग लोप हुनेवाला छ । हे भगवान खुट्टाभन्दा चाँडै दिमाग चाहिँ लोप नगराइदिए है !

म माननीय वर्गको मान्छे हुन्थेँ भने तपाईंले मलाई प्रतिगामीको बिल्ला भिराइदिनुहुन्थ्यो । तर म अमाननीय वर्गको परेँ त्यसैले प्रतिगामी नभने पनि पश्चगामी भन्नुहोला भन्ने डर चाहिँ छ । तपाईंले पश्चगामी भने पनि भन्नुहोस् तर मेरो अर्जिनल इन्टेलिजेन्सले देखेको कुरा गरेरै छाड्छु । मेरो बिचारमा अब हाम्रो पनि साँच्चिकै पुच्छर पलाउनु पर्छ हाम्रा पुर्खा बाँदरहरूको जस्तो । हटिसकेको पुच्छर फेरि पलाउनुपर्ने माग गर्नु मेरो मूर्ख्याइँ हैन । पुच्छरे प्रवृत्ति नछोड्नु भन्दा त पुच्छरै भएको राम्रो हो । जबसम्म हामी पुच्छर बनाउन र पुच्छर बन्न छोड्दैनौँ तबसम्म तपाईं जतिसुकै अग्रगामी देखिए पनि केही लछारपाटो लाग्नेवाला छैन ।

हजुरआमाले पुच्छर नलाग् भनेर हप्काएदेखि नै मलाई पुच्छर लाग्ने बानी परिसकेको हो । अहिले पनि म कसैको पुच्छर छु । विद्यालय जाँदा पनि मलाई पुच्छरले छोडेन । विद्यार्थी कालमा पछिल्लो बेन्चका साथीहरूले कागजको पुच्छर झुन्ड्याइदिएर हैरान पारेको कसले भुल्न सक्छ र ! हाल शिक्षक कालमा आएर पनि अस्ति भर्खर एउटा विद्यार्थीले ‘सर ! मलाई यसले कागजको पुच्छर लगाइदिन्छ ।‘ भनेर उजुर गर्दा पनि कुनै कार्बाही गर्न मन लागेन । यो पुच्छर झुन्ड्याइदिने काम विद्यार्थीवर्गमा अझै चल्दै रहेछ । वास्तवमा यो त प्रवृत्ति पो रहेछ भन्ने अहिले बुझ्दै छु । मान्छेको सक्कली पुच्छर हुन्थ्यो भने के केटाकेटीहरूले नक्कली पुच्छर लगाइदिने जरुरी पथ्र्यो र, पक्कै पर्दैनथ्यो ।

आफ्नो पुच्छर नभए पनि आफू पुच्छर हुनुमा हामी खुब गर्व गर्छौँ । मैले पहिले नै भनिसके नि म पनि कसैको पुच्छर हुँ भनेर । हो, म भैरव अर्यालको पुच्छर हुँ । यस्तै यस्तै कारणले मलाई उनको पुच्छर बन्न मन लागेको हो । तपाईँहरू पनि कोही मार्क्सको पुच्छर हुनुहुन्छ, कोही माओको । कोही लेनिनको पुच्छर हुनुहोला त कोही लिङ्कनको । कोही न कोहीको तपाईं पुच्छर नभएर बस्नुभएकै छैन । म कसैको पुच्छर लाग्दिन भन्नेहरू पनि पुच्छर बनेको देख्दा त अचम्मै लाग्छ बा ! गान्धीको पुच्छर भए पनि बुद्धको पुच्छर भए पनि वा ख्रिष्टको पुच्छर भए पनि के भो र ! चाहे तपाईं बिपीको पुच्छर हुनुहोस् चाहे सीपीको । नभए केपीकै भए पनि पुच्छर त पुच्छरै हो, शिर त हैन नि । पुच्छरै हुनुमा के गौरव गर्नु ? शिर हुनुमा पो गौरव हुनुपथ्र्यो !

न कुकुरको पुच्छर सोझिन्छ, न मान्छेको । कहिल्यै नसोझिने यो पुच्छरे प्रवृत्ति रहँदासम्म कसैले मै हुँ भनेर धाक नलगाए हुन्छ । पुच्छरधारी बन्न सके पो महानता ! पुच्छरे बनेर पुच्छर निमोठ्नुको के अर्थ ? बाख्राको पुच्छर खाए जस्तो कहिले यसको पुच्छर त कहिले उसको पुच्छर बनेर अझै मेरै गोरुको बाह्रै टक्का ! पुङ न पुच्छरसित सिंगौरी खेल्दैमा कहाँ हुन्छ र ? पुच्छरधारी ठुलो जन्तुले हल्लाउनासाथ हल्लिनुपर्ने भएपछि घोडाको जस्तो झुप्पे पुच्छर भए पो के, सुँगुरको जस्तो खुइते पुच्छर भए पो के ! बरु आफ्नै पुच्छर हुने हो भने आफू अरुको पुच्छर बन्नु पर्दैन्थ्यो कि ! यो छद्म पुच्छरे मान्छे हुनुभन्दा कता कता प्राकृतिक पुच्छर भएको कुकुर हुनु नै ठिक हो भन्ने मेरो ठम्याइ हो ।

सम्झनुहोस् त तपाईं हामीले कति दुःख गरेर कुकुर पाल्यौँ । घरको रक्षा गर्ला, बाँदर धपाउला, पराई आउँदा भुकेर तर्साउला भनेर हैन र कुकुर पाल्ने ? खोइ त हाम्रा कुकुरहरूले त्यसो गर्दैनन् । दिनदिनै कलो दिए पनि सन्तोष नहुने कुकुर पाल्नु परेर नै हाम्रो दुर्गति भएको हो । स्याल आउँदा पनि पुच्छर हल्लाइदिन्छ, बाँदर आउँदा पनि पुच्छर हल्लाइदिन्छ । स्वामीभक्ति प्रदर्शन गर्नु कुकुरको गुण हो तर जोसित पनि पुच्छर हल्लाएर लुत्रुक्क पर्छ भने यस्तो कुकुर पाल्नुको कामै भएन । आखिर हामीले बाह्र हैन अठार वर्षै ढुङ्ग्रामा राखिसक्यौँ तर पुच्छर सोझिने छाँट छैन । अझ अठासी वर्षमा पनि पुच्छर बाङ्गाको बाङ्गै हुन्छ । अब त पत्याउनु हुन्छ होला नि ! पुच्छर सोझिएछ भने म असफलता व्यहोर्न राजी छु । तपाईंहरूको माग भयो भने यो ‘सभापुच्छर’को पदबाट तुरुन्त राजीनामा पनि गरुँला । त्यसैले अब कुकुर पाल्ने प्रथा बन्द गरौँ । कि आफै कुकुर बनौँ, नत्र कुकुरको जस्तो पुच्छर आफ्नै ढाडको टुप्पोमा पलाओस् भनि प्रभुको तपस्या गरौँ ।

माननीयहरूको सभामुख भए जस्तै म तपाईं अमाननीयहरूको सभापुच्छर हुँ । त्यसैले यतिका लामो संशोधन प्रस्ताव पेश गरिसकेपछि पक्कै पास गर्नुहुनेछ भन्ने आशा गर्दछु । यसर्थ कुकुरको पुच्छर बाह्र हैन अठार वर्ष ढुङ्ग्रामा राखे पनि बाङ्गाको बाङ्गै हुन्छ भन्ने प्रस्ताव पेश गर्दछु । मेरो यो उखानको संशोधन प्रस्ताव पारित गर्ने पक्षका अमाननीय सदस्यज्यूहरूले हुन्छ भन्नुहोला; पारित नगर्ने पक्षका अमाननीय सदस्यज्यूहरूले हुन्न भन्नुहोला ।

०००
असी साल लाग्नुभन्दा तिन दिन पहिले ।
रुरुक्षेत्र ५, गुल्मी ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हैन र यो ?

हैन र यो ?

काशीनाथ मिश्रित
वरिष्ठ जुवाडे

वरिष्ठ जुवाडे

काशीनाथ मिश्रित
खेल्छन् होली

खेल्छन् होली

काशीनाथ मिश्रित
देश बन्ला खरानी !

देश बन्ला खरानी !

काशीनाथ मिश्रित
मात्र बेरियो गठबन्धन

मात्र बेरियो गठबन्धन

काशीनाथ मिश्रित
भिटामिन एम

भिटामिन एम

काशीनाथ मिश्रित
नुनको बाङ्गो

नुनको बाङ्गो

काशीनाथ मिश्रित
जो होचो उसका मुखमा घोचो

जो होचो उसका मुखमा...

काशीनाथ मिश्रित
भाइ फुटे गँवार लुटे

भाइ फुटे गँवार लुटे

काशीनाथ मिश्रित
नुनकाे बाङ्गाे

नुनकाे बाङ्गाे

काशीनाथ मिश्रित
जसले मह काढ्छ उसले हात चाट्छ ?

जसले मह काढ्छ उसले...

काशीनाथ मिश्रित