सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जो होचो उसका मुखमा घोचो

धन्य परमेश्वर ! उस जमानामा पनि सर्जरी गर्ने प्रविधि जानेका रहेछन् र हात्तीको टाउको जोडेर बचाएछन् नत्र त गणेशको नाम निशानै नरहने !!

Nepal Telecom ad

यसो क्यालेन्डर हेरेको त आज अन्तर्राष्ट्रिय अपाङ्ग दिवस भनेर लेखेको रहेछ । अनि त मलाई झनक्क झोँक चलिहाल्यो र भन्न मन लाग्यो ‘संसारमा कोही पनि अपाङ्ग छैनन्, छन् भने सबै छन् । तपाईंले अपाङ्ग भन्ने कस्तालाई हो ? शरीरको कुनै अङ्ग गुमेको वा कमजोर भएकालाई हैन ? हो भने अङ्ग देखिने मात्र हुन्नन् नदेखिने अङ्ग मस्तिष्क हो, मन पनि हो । सबैको मन मस्तिष्क शतप्रतिशत ठिक छ भन्ने ग्यारेन्टी दिन सक्ने कोही डाक्टर छैनन् । एउटा न एउटा कमजोरी सबैको हुन्छ चाहे त्यो जुनसुकै अङ्गमा होस् ।

फेरि कुनै अङ्ग गुमेको वा कमजोर भएकोलाई मात्र अपाङ्ग पो कहाँ भन्ने गरिएको छ र ! शरीरमा हुनुपर्ने भन्दा बढ्ता अङ्ग भए भने पनि त अपाङ्गै भन्ने गरिन्छ नि ! कस्तो नमिल्दो कुरा !! त्यस्तालाई थपाङ्ग भन्न किन नसकेका तपाईंहरूले हँ ? घाँटीमा गलगाँड थपिए पनि अपाङ्ग, ढाडमा मासुको डल्लो पलाए पनि अपाङ्ग, प्रत्येक हातखुट्टामा छछओटा औँला पलाएर २४ ओटा औँला भए पनि अपाङ्ग ! सुहाउने कुरो हो र यो ? अङ्ग टुटफुट भएकालाई अपाङ्ग भन्ने हो भने अङ्ग थपिएकालाई थपाङ्ग भन्न किन कन्जुस्याइँ गर्नुहुन्छ ? त्यसैले आज अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मात्र हैन थपाङ्ग दिवस पनि हो ।

हुनुपर्ने जति सबै अङ्ग छन् तर कुनै अङ्गले काम नै गर्दैन भने पनि त अपाङ्गै भनिन्छ । आँखा छन् तर देख्दैनन्; कान छन् तर सुन्दैनन्; मुख, जिभ्रो, घाँटी, स्वरयन्त्र सबै छन् तर बोल्दैनन् अनि अपाङ्ग रे ! उसो भए त कुनै संरचनाका सबै अङ्ग पूरा छन् तर काम गर्दैनन् भने के तिनीहरू अपाङ्ग भएनन् त ? सरकार छ तर फिटिक्कै काम गर्दैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ तर भ्रष्टाचारीलाई पक्रनै सक्दैन । वायुसेवा निगम छ तर जहाज उडाउनै सक्दैन । संसद छ तर एउटा पनि ऐन पास गर्न सक्दैन । शिक्षा मन्त्रालय छ तर कसैलाई नसरापीकन भन्ने हो भने शिक्षाको गुणस्तर बढाउनै सक्दैन । के यी सबै अपाङ्ग होइनन् ? तपाई आफै भन्नुहोस् ।

अपाङ्गता हुनु अपराध हैन तर यहाँ अपराध जत्तिकै गराइएको छ । पूर्व जुनीको पाप भन्नेहरू त कति छन् कति ! अझ हाँसोको पात्र पनि अपाङ्गता भएको व्यक्तिलाई नै गराइएको हुन्छ । साङ्ग भनिएकाहरूले अपाङ्गतालाई जोडेर उखानसमेत निर्माण गरेका छन्- ‘कानाको देशमा आँखा चिम्लनु लङ्गडाको देशमा खुट्टा खोच्याउनु’, ‘लाटाको देशमा गाँडा तन्नेरी’, ‘के खोज्छस् काना आँखो’, ‘लाटाले केरा हेरे जस्तो’, ‘अन्धाले हात्ती छामे जस्तो’, ‘जो होचो उसका मुखमा घोचो ।’ हैन होचाकै मुखमा घोचो किन हाल्नु परेको हो कुन्नि तपाईंहरूलाई ! आफ्नै खुट्टाले हिँड्न नसकेर गाडी चढ्नेहरूले धेरै फुर्ति नगरे हुन्छ । के थाहा सडक दुर्घटनामा परेर भोलि ठहरै भए त सक्किई गो, करङ मस्केर हल न चल हुनु पर्‍यो भने, दुवै खुट्टा चटनी बनेर फ्याँक्नु पर्‍यो भने … अपाङ्ग होइन थपाङ्ग बन्न के बेर नक्कली खुट्टा थपेर ।

अङ्ग घटेर गएकालाई अपाङ्ग भन्दा मेरो आपत्ति होइन तर अङ्ग थपिएर बढी भएकालाई पनि अपाङ्ग नै भन्दा झोँक चलेको हो क्या ! उसो हो भने त तपाईं हामीले पूजा गर्ने गरेका सबै भगवानहरू अपाङ्ग हुन् । कस्तो अचम्म भगवानहरूलाई अपाङ्ग भए पनि पूजा गर्ने ! मान्छेलाई भने हेला !! यो हुनै सक्दैन ।

राम, कृष्ण, बुद्ध, ख्रिस्ट, मुहम्मद जस्ता पात्रहरू भगवान होइनन् । यी त अवतार मात्र हुन् । यस्ता अवतारी पुरुषको कुरा नगरौँ । साँच्चिकै भगवानलाई हेर्ने हो भने को अपाङ्ग छैनन् र ! अधिकांश भगवान वा ईश्वर भनिएकाहरू अपाङ्गै छन् ।

सर्वप्रथम सृष्टिकर्ता ब्रम्हाबाटै थालौँ न । उनका चारओटा टाउका छन् । अगाडि, पछाडि, दायाँ, बायाँ जता पनि मुख भएकालाई अपाङ्ग भन्ने कि थपाङ्ग ? जिम्मा तपाईंकै भो । कसैको हात कुमबाटै गुम्यो भने तपाई अपाङ्ग भनिहाल्नुहुन्छ, तर काखीबाट दुई/दुईओटा हात पलाएर चारओटा हात भएका भगवान श्री विष्णुलाई तपाईं सबलाङ्ग ठान्नुहुन्छ भने ठिकै छ, म त मान्नेवाला छैन ।

कुरा ब्रम्हा र विष्णुको मात्र हैन् शिवको पनि हो । उनको निधारमा आँखो छ । दुईओटा आँखा भएर पनि देख्न नसक्नेलाई तपाईं अपाङ्ग भनिहाल्नुहुन्छ तर तिनतिनओटा आँखा भएका महादेवलाई भन्न सक्नुहुन्न । अझ महादेव त मानसिक अपाङ्ग पनि छन् । विष, भाङ, धतुरो खाएर खरानी घसेर, लाजै नमानी बाघको छाला र सर्पको माला लगाउने पनि कतै साङ्ग हुन्छ ? ससुराले नै त्यो बहुलाहा हो भनेर त्यत्रो पूजा गर्दासमेत निम्तो बोलाउन नचाहेको व्यक्ति पनि कहिँ साङ्ग हुन सक्छ । आफूहरू अपाङ्ग भए पनि श्रीमतीहरू भने राम्रा राम्रा छानेर लब गरेका ! सतीदेवीको प्रेममा परेर पागल भएका हुन् कि शिव । नत्र त मरेकीलाई पिठ्युँमा बोकेर किन संसार डुल्नुपथ्र्यो ? ब्रम्हा, विष्णु, महेश्वर तिनै देउता अपाङ्ग हुन् । यति मात्र कहाँ हो र ! अठार हात भएकी देवीलाई थपाङ्ग नभनेर के भन्ने ? छओटा मुख भएका कुमारलाई अपाङ्ग किन नभन्ने ? मान्छेको शरीर र हात्तीको टाउको भएका भुँडिवाला गणेशलाई अपाङ्ग नभनेर के भन्ने । धन्य परमेश्वर ! उस जमानामा पनि सर्जरी गर्ने प्रविधि जानेका रहेछन् र हात्तीको टाउको जोडेर बचाएछन् नत्र त गणेशको नाम निशानै नरहने !!

भगवानहरू अपाङ्ग भए पनि पुजित हुने तर मानवहरू अपाङ्ग भए भने अपहेलित हुने प्रवृत्ति छ । यसलाई हटाउन नसक्ने हो भने तपाईं हामी सबै मानसिक अपाङ्ग नै हौँ । अरुलाई होइन, आफ्नो अपाङ्गतालाई पनि स्वीकार्नुहोस् । विश्व हल्लाउन सक्ने ठुला वैज्ञानिक पनि अपाङ्ग थिए भन्ने त जान्नुभएकै छ क्यारे । विलियम हकिङको सिद्धान्त पनि मान्दिन भन्नुहुन्छ भने त मेरो केही लाग्दैन । हेलेन केलर छँदै थिइनन् भने पनि भो । होमर अन्धा हुन् तिनको ग्रन्थ किन पढ्नु ? नेपालकै पनि पारिजात र झमक घिमिरेका पुस्तकहरू फालिदिए भैगो । अपाङ्गहरूले पनि संसार हल्लाएका छन्, प्रतिष्ठा कमाएका छन् । बरु अलिअलि गौरव पो गर्ने हो कि !

ठुलाबडाहरू अपाङ्ग भए पनि इज्जत हुने र सानातिनाहरू अपाङ्ग रहेछन् भने अपमानित हुने हाम्रो सामाजिक बनोट छ । हेर्नुहोस् न ! हाम्रा भूतपूर्व प्रधानमन्त्री सुशिल कोइरालालाई कसैले अपाङ्ग भन्न चाहन्नन् । अझ वर्तमान प्रधानमन्त्री शेरबहादुरजी पनि त अपाङ्गै छन् नि ! जिभ्रो छोटो भएकाले बोली बुझिँदै बुझिन्न । कैयौँ कमेडियनहरूले बोलीको नक्कल गर्दा उनलाई नै पात्र बनाउँछन् । उनकै इज्जत भनिनसक्नुको छ, मानमनितो गनिनसक्नुको छ । प्रधानमन्त्री भएर मात्र हो, नत्र तपाईंहामी जस्तै जनसाधारण भएका भए पहिलो दर्जाको रातो अपाङ्ग परिचयपत्र बनाएर अपाङ्ग भत्ता खान पनि मरिहत्ते गर्थे होला !!

यहाँ त ‘जो होचो उसका मुखमा घोचो’ पो भइरहेको छ । अनि अन्तर्राष्ट्रिय अपाङ्ग दिवस भन्दै ढ्वाङ फुकेर र स्वाङ पारेर हुन्छ पो के ?

०००
२०७९ मंसिर १७ गते
अन्तर्राष्ट्रिय अपाङ्ग दिवस
कालीगण्डकी ५, फोक्सिङ, गुल्मी

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हैन र यो ?

हैन र यो ?

काशीनाथ मिश्रित
वरिष्ठ जुवाडे

वरिष्ठ जुवाडे

काशीनाथ मिश्रित
खेल्छन् होली

खेल्छन् होली

काशीनाथ मिश्रित
देश बन्ला खरानी !

देश बन्ला खरानी !

काशीनाथ मिश्रित
मात्र बेरियो गठबन्धन

मात्र बेरियो गठबन्धन

काशीनाथ मिश्रित
भिटामिन एम

भिटामिन एम

काशीनाथ मिश्रित
नुनको बाङ्गो

नुनको बाङ्गो

काशीनाथ मिश्रित
भाइ फुटे गँवार लुटे

भाइ फुटे गँवार लुटे

काशीनाथ मिश्रित
नुनकाे बाङ्गाे

नुनकाे बाङ्गाे

काशीनाथ मिश्रित
जसले मह काढ्छ उसले हात चाट्छ ?

जसले मह काढ्छ उसले...

काशीनाथ मिश्रित