साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आयो ! आयो !! आयो !!!

हेर मखमली तिम्लाई हिजोआज के भएको छ मलाई थाहा छैन । तर त्यो झन्डा हल्लार आ’कोचाहिँ पानी जहाज नभएर मन्त्रीज्यूको गाडी हो, मन्त्रीज्यूको ।

Nepal Telecom ad

आजकल त दिक्कै लाग्न थालिसक्यो । के गर्ने ! के नगर्ने ? न टेलिभिजन खोल्न मन लाग्छ न रेडियो नेपाल । न फेसबुक खोल्न मन लाग्छ न ट्वीटर । न एफएमहरू सुन्न मन लाग्छ न पत्रपत्रिका हेर्न/पढ्न । यसरी पनि कसैको जिन्दगी चल्छ ? त्यत्रा टेलिभिजन छन् । त्यत्रा एफएम छन् । त्यत्रा पत्र पत्रिका छन् । पत्रपत्रिका नै दैनिकदेखि लिएर वार्षिकसम्म कति हुन् कति ! त्यतिले नपुगेर पलपलका अनलाइन खबर छन् । केही कुरा फिटिक्क भुइँमा झर्न पाउँदैन । तर, के गर्ने ? केही हेर्नै मन लाग्दैन । केही छुनै मन लाग्दैन । आफूले खोजेको कुरो केही छैन । त्यसैत्यसै दिक्क लागेर आउँछ । मुलुकमा के अचम्म भएको होला यस्तो ?

एकाबिहानैको बूढीको यस कचकचले रूद्रसिंहको निद्रा भाग्छ । मन नलाग्दा नलाग्दै पनि निद्रालाई बिदा दिन बाध्य हुन्छ ऊ ।

अई, मखमली के भो आज तँलाई ? बिहानबिहानै अर्काको निद्रा खल्बल्याएर ताल न सुर के गनगनाइरहेकी । काम छैन ? आफूलाई ह्याँ कत्रो टेन्सन भइरा’छ । अझ बिहानबिहानै निद्रा खल्बल्या पो कुरा गर्नुहुन्छ । हजुरको त एकछिनको निद्रा खल्बल्ल्या न हो, आफ्नो यहाँ चौबीसै घण्टा निद्रा खल्बलि’सक्यो । के गर्नु के नगर्नु ! निद्रै लाग्न छाडिसक्यो । भोकै लाग्न छाडिसक्यो । प्यासै लाग्न छाडिसक्यो । यस्तो पनि हुँदोर’छ । अचम्मै भो बा ! के भ’को होला ?

हैन ए ! मखमली, के भो भन्न । पहिला त भा’का कुरा पो सुन्नु पर्‍यो त । अर्कालाई सुनाउँदै नसुनाई के आफैँ मात्र फत्फताइरहेकी ? कि, बूढेसकालमा कसैसँग लभ पर्‍या’थ्यो र त्यल्ले धोका दे’र यस्तो छट्पटी भा’हो ? मैले पनि यसो सहयोग गर्दे’र हुन्छ भने गर्दिम्ला । होइन भने केको गनगन यो बिहानबिहानै ? यता फर्के’नि त्यही गनगन, उता फर्के’नि त्यही गनगन । एकोहोरो गनगन गर्‍या छ, गर्‍या छ । के’भा हो !

लभ त पर्‍या छ नि । यत्रो वर्ष भो हजुरसँग त्यत्रो लभ पर्‍या, थाहा छैन ? लभ नपर्‍या भए यति लामो जिन्दगी यसै हाँसीहाँसी बित्थ्यो । लभ नपर्‍या भए असिना ओइर्‍याझैँ यी दायाँबायाँका भन्टाङभुन्टुङ कसरी ओइरिन्थे । हजुर पनि हजुरै हुनुहुन्छ बा । कुरो बुझेर गर्‍या हो कि नबुझेर । म त अझ निर्धक्कसँग टु साइड लभ होला भन्ठान्या’थेँ, आजका दिनदेखि त्यसमा पनि शङ्कै गर्न पर्ने भो होइन ? कि साँच्चै मेरो तर्फबाट मात्र वान साइड लभ हो त ? हो भने छोराछोरीलाई पनि भन्दिनु पर्‍यो, तिमीहरूका बाबुको चाल यस्तो छ भनेर । कि कसो ?

होइन भने के काम नपा’र जिस्क्याइ’रा त बिहानबिहानै । हजुरले ख्याल गर्नु’भा छैन कि क्या हो ? आजकल नेताहरूको भाषणै आउन छाड्यो मिडियाहरूमा । कहीँ कसैले छुस्स केही भाषण गरेकै सुनिन्न । पहिला पहिला यो गर्दिन्छु र ऊ गर्दिन्छु भनेर कानै टट्टाउने गरी कति मिठो बोल्याबोल्यै गर्थे । आजकल त कोही कसैले त्यसरी बोल्या’नि सुनिन्न । कसैले कतै केही लेख्या’नि देखिन्न । एउटा उदेकै भो बा ! यस्तो पनि हुँदो र’छ ।

मखमलीका कुराको भाव बुझेपछि रुद्रसिंह मनमनै आफैँ गफिन थाल्यो । मनमनै हाँस्न पनि
थाल्यो । कामै हुनुपर्छ भन्ने पनि कहाँ हुँदोर’छ र ? विकासको साह्रै अनिकाल परेका बेलामा त मान्छेलाई मिठा मिठा गफै मात्र गर्दिँदा’नि आनन्द आउँदो र’छ । विकासै भएजस्तो हुँदोर’छ । विकासका गफ सुन्दासुन्दा मान्छे टोलमा फोहोर उठाउने ट्रयाक्टर दौडेर घट्याक् ट्याक् ट्याक् ट्याक् गर्दा पनि लौ टोल टोलमै रेल आयो भनेर घरका बार्दली र कौसी कौसीमा निस्कन्थे हेर्नका लागि । तँछाड-मछाड गरेर दौडन्थे गल्लीगल्लीमा कल्ले पहिला रेल देख्ने भनेर । अहिले त ख्वै ! न एउटै ट्रयाक्टर आउँछ न रेल ।

लौ न छिटोछिटो उद्योग मन्त्रालयमा फोन गर्न पर्‍यो भनेर एक दिन त मखमली एक्कासि आत्तिएर कराई । लौ न के भएछ भनेर म पनि त्यत्तिकै आत्तिएँ । बिहानको खाना खाएर ठिक्क अफिस जाने बेला भा’छ । के बित्यास पर्‍यो भनेर मखमलीको अनुहार नियालेँ । आखिर भएको केही रहेनछ । हिजोका भटमास सहितको खानाले पेटमा अलिक असजिलो असजिलो भइराख्या’थ्यो । कहिलेकाहीँको पोषक के पचाउन सकिन्थ्यो र ? पेट गड्याङ्गुडुङ् गड्याङ्गुडुङ् गर्दैथ्यो, कुन सड्को होसै नपाई हुसुस्स ग्यास खुस्केछ । अफिस जानाका हतारले मैले त त्यतातिर ध्यानै दिइन । मखमलीले पनि मबाट त्यस्तो भो भन्ने अलिकति पनि चाल पाइनछ, उसले त खाली सिलिन्डरमा ग्यासको आवाज आएजस्तो गरेर हुसुस्स गरेको आवाज मात्र सुनिछ ।

अनि ऊ किन नआत्तियोस् ! पाइपलाइन नै फिट गर्‍या छैन घरमा ग्यास आइसक्यो । लौ हाम्रा घरमा ग्यास निस्क्यो, अब आगलागी हुने भो भनेर डराएर उद्योग मन्त्रालयमा फोन गर्न हतारिएर मसँग कराएकी रहिछ । मैले वास्तविकता खोलिदिएपछि ऊ ढुक्क भई । नआत्तिओस् पनि किन ? सरकारले घरघरमा ग्यास पुर्‍याइदिने भनेर भट्ट्याएको भट्ट्यायै छ । कतै जनताका लागि मरिमेट्ने सरकारले हतार हतारमा ग्यासको पाइपलाइन नै बिस्तार गर्न बिर्सेर एकैचोटि ग्यास पठाइदियो कि भन्ने उसका मनमा परेछ । हुन पनि बारीका झिँझा र घसेउटो बालेर खाना बनाइर’को धुनमा ग्यासका समाचार सुन्दासुन्दा अहिल्यै आउने हो कि भरे आउने हो भने जस्तो भइसक्या’थ्यो । मान्छेले बजारमा महिनौँ दिन ग्यास नपा’का कुरा सबै भुलिसकेका थिए, घरैमा ग्यास आउने भो भनेर । त्यतिखेर त मखमलीका मात्र के कुरा सयपत्री, लालीगुराँस, जाईजुई, बाह्रमासे सबैका सबै एकोहोरिइसक्याथे नि ।

आयो ! आयो !! आयो !!!

एक्कासि उफ्रिन थालिन् मखमली । ट्राफिकले गाडी पास गराउने बेला भइसक्यो उनी भने जेब्रा क्रसमै उभिएर हात ठड्याइ-ठड्याइ कराउन थालिन् । अगाडि बढ भनेको पनि नसुनेर एकनास कराएकी छिन्, कराएकी छिन् । ट्राफिक सिटी फुकेको फुक्यै छ । हिँड्दै नहिँडी बिच बाटोमा पार्किङ गरेर उभिएको भनेर जरिवानाको रसिद काट्ने बेला भइसक्यो उनको उफ्राइ सकिन्न ।

आयो ! आयो !! आयो !!!

उनको एकनासको कराइ सुनेर रिसको पारो थाम्न नसकेर घिच्याउँदै लगेँ पारिपट्टि । उनी पनि कहाँ कम थिइन् र ? घिच्याउँदा घिच्याउँदै पनि औँलो तेस्र्याएर मलाई अर्कातिर हेर्न बाध्य पारिन् र भनिन्- ‘उः देख्नु भएन त्याँ ।’ आफूले देखेको छैन, उनी देखेको देख्यै छिन् ।

ख्वै ! के देख्नु भएन भनेको ? मैले त त्यस्तो अचम्मको केही देखेकै छैन । कमकी त उनी पनि कहाँ थिइन् र ? न्वारानदेखिको बल निकालेर झर्किन् र भनिन्- ‘उः त्याँ देख्नु भएन पानी जहाज ? नेपाली झन्डा हल्लार आइरा’को । आँखा पनि कस्ता हुन् ? बिच सडकमा झन्डा हल्लार आ’को त्यत्रो जहाज पनि नदेख्ने ?’

म मरिमरि हाँस्न थालेँ । उनी मसँग खनिएको खनियै छिन् । कुरा सबै भ्याएर कुट्न मात्र बाँकी राखेकी छिन् । एकछिनको हाँसो थामेर म मखमलीलाई सम्झाउन थालेँ । हेर मखमली तिम्लाई हिजोआज के भएको छ मलाई थाहा छैन । तर त्यो झन्डा हल्लार आ’कोचाहिँ पानी जहाज नभएर मन्त्रीज्यूको गाडी हो, मन्त्रीज्यूको । अघि हामी घरबाट निस्कदा त्यत्रो पानी बर्सेको बिस्र्यौ ? त्यही पानी जमेका सडकमा मन्त्रीको गाडी कुद्दा झन्डा हल्लार पानी जहाज आएको जस्तो लाग्या तिम्लाई । हिँड अगाडि, ताल न सुरको कुरा गर्‍यो त्यसै त्यसै अर्कालाई अल्मल्यायो । कहिले रेल आयो भन्या’छ । कहिले ग्यास आयो भन्या’छ । कहिले पानी जहाज आयो भन्या’छ कहिले के ? आउन त आउँछ नि एक दिन । तर, तिम्ले भन्या’स्तो एकोहोरो करार ‘आयो ! आयो !! आयो !!!’ भन्दैमा सबै चिज एकैचोटि आइपुग्ने हो र ? टाइम लाग्छ नि त्यल्लाई नि । तिम्ले बुझेकी नै छैनौ मान्छेको बोली भन्या करेन्ट जस्तो हुन्छ, काम भन्या वारेन्ट जस्तो हुन्छ मर्ने बेलासम्म पनि कसैले नभेट्टाउने ।

अब भने मखमलीको निरन्तरको गनगनको रहस्य खुल्यो । उनको कान पाँच तारे होटलको कुकको जिभ्रो बिग्य्रा’स्तो बिग्रिसक्या र’छ सरकारको पलपलका मिठा आश्वासनले । अनि उनी जहाँ जतिखेर पनि त्यस्तै भाषण मात्र खोज्दिरहिछन् कहाँबाट पाउनु र चित्त बुझ्नु ?

मान्छेको स्वभाव पनि अनौठै हुँदोर’छ बा ! यतिविधि सम्झाउँदा पनि उनी मौका परे अझै आयो ! आयो !! आयो !!! भनेर कराउन बेर छैन । यतिविधि सम्झाउँदा पनि के गर्नु त कराए कराइरहन्छे ?

‘युवामञ्च’, २०७३ फागुनबाट जस्ताको तस्तै

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जुँगा निर्मूल अभियान

जुँगा निर्मूल अभियान

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
निरन्तरताको क्रमभङ्ग

निरन्तरताको क्रमभङ्ग

पिँडालु पण्डित
खासखुस

खासखुस

पिँडालु पण्डित
पुर्पुरो

पुर्पुरो

पिँडालु पण्डित
सिल्किनेहरूको नाउँमा

सिल्किनेहरूको नाउँमा

शिवप्रसाद जैशी
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
नबास्ने भाले

नबास्ने भाले

रामप्रसाद अर्याल ‘अविराम’
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
0
Would love your thoughts, please comment.x
()
x