पिँडालु पण्डितआयो ! आयो !! आयो !!!
हेर मखमली तिम्लाई हिजोआज के भएको छ मलाई थाहा छैन । तर त्यो झन्डा हल्लार आ’कोचाहिँ पानी जहाज नभएर मन्त्रीज्यूको गाडी हो, मन्त्रीज्यूको ।

आजकल त दिक्कै लाग्न थालिसक्यो । के गर्ने ! के नगर्ने ? न टेलिभिजन खोल्न मन लाग्छ न रेडियो नेपाल । न फेसबुक खोल्न मन लाग्छ न ट्वीटर । न एफएमहरू सुन्न मन लाग्छ न पत्रपत्रिका हेर्न/पढ्न । यसरी पनि कसैको जिन्दगी चल्छ ? त्यत्रा टेलिभिजन छन् । त्यत्रा एफएम छन् । त्यत्रा पत्र पत्रिका छन् । पत्रपत्रिका नै दैनिकदेखि लिएर वार्षिकसम्म कति हुन् कति ! त्यतिले नपुगेर पलपलका अनलाइन खबर छन् । केही कुरा फिटिक्क भुइँमा झर्न पाउँदैन । तर, के गर्ने ? केही हेर्नै मन लाग्दैन । केही छुनै मन लाग्दैन । आफूले खोजेको कुरो केही छैन । त्यसैत्यसै दिक्क लागेर आउँछ । मुलुकमा के अचम्म भएको होला यस्तो ?
एकाबिहानैको बूढीको यस कचकचले रूद्रसिंहको निद्रा भाग्छ । मन नलाग्दा नलाग्दै पनि निद्रालाई बिदा दिन बाध्य हुन्छ ऊ ।
अई, मखमली के भो आज तँलाई ? बिहानबिहानै अर्काको निद्रा खल्बल्याएर ताल न सुर के गनगनाइरहेकी । काम छैन ? आफूलाई ह्याँ कत्रो टेन्सन भइरा’छ । अझ बिहानबिहानै निद्रा खल्बल्या पो कुरा गर्नुहुन्छ । हजुरको त एकछिनको निद्रा खल्बल्ल्या न हो, आफ्नो यहाँ चौबीसै घण्टा निद्रा खल्बलि’सक्यो । के गर्नु के नगर्नु ! निद्रै लाग्न छाडिसक्यो । भोकै लाग्न छाडिसक्यो । प्यासै लाग्न छाडिसक्यो । यस्तो पनि हुँदोर’छ । अचम्मै भो बा ! के भ’को होला ?
हैन ए ! मखमली, के भो भन्न । पहिला त भा’का कुरा पो सुन्नु पर्यो त । अर्कालाई सुनाउँदै नसुनाई के आफैँ मात्र फत्फताइरहेकी ? कि, बूढेसकालमा कसैसँग लभ पर्या’थ्यो र त्यल्ले धोका दे’र यस्तो छट्पटी भा’हो ? मैले पनि यसो सहयोग गर्दे’र हुन्छ भने गर्दिम्ला । होइन भने केको गनगन यो बिहानबिहानै ? यता फर्के’नि त्यही गनगन, उता फर्के’नि त्यही गनगन । एकोहोरो गनगन गर्या छ, गर्या छ । के’भा हो !
लभ त पर्या छ नि । यत्रो वर्ष भो हजुरसँग त्यत्रो लभ पर्या, थाहा छैन ? लभ नपर्या भए यति लामो जिन्दगी यसै हाँसीहाँसी बित्थ्यो । लभ नपर्या भए असिना ओइर्याझैँ यी दायाँबायाँका भन्टाङभुन्टुङ कसरी ओइरिन्थे । हजुर पनि हजुरै हुनुहुन्छ बा । कुरो बुझेर गर्या हो कि नबुझेर । म त अझ निर्धक्कसँग टु साइड लभ होला भन्ठान्या’थेँ, आजका दिनदेखि त्यसमा पनि शङ्कै गर्न पर्ने भो होइन ? कि साँच्चै मेरो तर्फबाट मात्र वान साइड लभ हो त ? हो भने छोराछोरीलाई पनि भन्दिनु पर्यो, तिमीहरूका बाबुको चाल यस्तो छ भनेर । कि कसो ?
होइन भने के काम नपा’र जिस्क्याइ’रा त बिहानबिहानै । हजुरले ख्याल गर्नु’भा छैन कि क्या हो ? आजकल नेताहरूको भाषणै आउन छाड्यो मिडियाहरूमा । कहीँ कसैले छुस्स केही भाषण गरेकै सुनिन्न । पहिला पहिला यो गर्दिन्छु र ऊ गर्दिन्छु भनेर कानै टट्टाउने गरी कति मिठो बोल्याबोल्यै गर्थे । आजकल त कोही कसैले त्यसरी बोल्या’नि सुनिन्न । कसैले कतै केही लेख्या’नि देखिन्न । एउटा उदेकै भो बा ! यस्तो पनि हुँदो र’छ ।
मखमलीका कुराको भाव बुझेपछि रुद्रसिंह मनमनै आफैँ गफिन थाल्यो । मनमनै हाँस्न पनि
थाल्यो । कामै हुनुपर्छ भन्ने पनि कहाँ हुँदोर’छ र ? विकासको साह्रै अनिकाल परेका बेलामा त मान्छेलाई मिठा मिठा गफै मात्र गर्दिँदा’नि आनन्द आउँदो र’छ । विकासै भएजस्तो हुँदोर’छ । विकासका गफ सुन्दासुन्दा मान्छे टोलमा फोहोर उठाउने ट्रयाक्टर दौडेर घट्याक् ट्याक् ट्याक् ट्याक् गर्दा पनि लौ टोल टोलमै रेल आयो भनेर घरका बार्दली र कौसी कौसीमा निस्कन्थे हेर्नका लागि । तँछाड-मछाड गरेर दौडन्थे गल्लीगल्लीमा कल्ले पहिला रेल देख्ने भनेर । अहिले त ख्वै ! न एउटै ट्रयाक्टर आउँछ न रेल ।
लौ न छिटोछिटो उद्योग मन्त्रालयमा फोन गर्न पर्यो भनेर एक दिन त मखमली एक्कासि आत्तिएर कराई । लौ न के भएछ भनेर म पनि त्यत्तिकै आत्तिएँ । बिहानको खाना खाएर ठिक्क अफिस जाने बेला भा’छ । के बित्यास पर्यो भनेर मखमलीको अनुहार नियालेँ । आखिर भएको केही रहेनछ । हिजोका भटमास सहितको खानाले पेटमा अलिक असजिलो असजिलो भइराख्या’थ्यो । कहिलेकाहीँको पोषक के पचाउन सकिन्थ्यो र ? पेट गड्याङ्गुडुङ् गड्याङ्गुडुङ् गर्दैथ्यो, कुन सड्को होसै नपाई हुसुस्स ग्यास खुस्केछ । अफिस जानाका हतारले मैले त त्यतातिर ध्यानै दिइन । मखमलीले पनि मबाट त्यस्तो भो भन्ने अलिकति पनि चाल पाइनछ, उसले त खाली सिलिन्डरमा ग्यासको आवाज आएजस्तो गरेर हुसुस्स गरेको आवाज मात्र सुनिछ ।
अनि ऊ किन नआत्तियोस् ! पाइपलाइन नै फिट गर्या छैन घरमा ग्यास आइसक्यो । लौ हाम्रा घरमा ग्यास निस्क्यो, अब आगलागी हुने भो भनेर डराएर उद्योग मन्त्रालयमा फोन गर्न हतारिएर मसँग कराएकी रहिछ । मैले वास्तविकता खोलिदिएपछि ऊ ढुक्क भई । नआत्तिओस् पनि किन ? सरकारले घरघरमा ग्यास पुर्याइदिने भनेर भट्ट्याएको भट्ट्यायै छ । कतै जनताका लागि मरिमेट्ने सरकारले हतार हतारमा ग्यासको पाइपलाइन नै बिस्तार गर्न बिर्सेर एकैचोटि ग्यास पठाइदियो कि भन्ने उसका मनमा परेछ । हुन पनि बारीका झिँझा र घसेउटो बालेर खाना बनाइर’को धुनमा ग्यासका समाचार सुन्दासुन्दा अहिल्यै आउने हो कि भरे आउने हो भने जस्तो भइसक्या’थ्यो । मान्छेले बजारमा महिनौँ दिन ग्यास नपा’का कुरा सबै भुलिसकेका थिए, घरैमा ग्यास आउने भो भनेर । त्यतिखेर त मखमलीका मात्र के कुरा सयपत्री, लालीगुराँस, जाईजुई, बाह्रमासे सबैका सबै एकोहोरिइसक्याथे नि ।
आयो ! आयो !! आयो !!!
एक्कासि उफ्रिन थालिन् मखमली । ट्राफिकले गाडी पास गराउने बेला भइसक्यो उनी भने जेब्रा क्रसमै उभिएर हात ठड्याइ-ठड्याइ कराउन थालिन् । अगाडि बढ भनेको पनि नसुनेर एकनास कराएकी छिन्, कराएकी छिन् । ट्राफिक सिटी फुकेको फुक्यै छ । हिँड्दै नहिँडी बिच बाटोमा पार्किङ गरेर उभिएको भनेर जरिवानाको रसिद काट्ने बेला भइसक्यो उनको उफ्राइ सकिन्न ।
आयो ! आयो !! आयो !!!
उनको एकनासको कराइ सुनेर रिसको पारो थाम्न नसकेर घिच्याउँदै लगेँ पारिपट्टि । उनी पनि कहाँ कम थिइन् र ? घिच्याउँदा घिच्याउँदै पनि औँलो तेस्र्याएर मलाई अर्कातिर हेर्न बाध्य पारिन् र भनिन्- ‘उः देख्नु भएन त्याँ ।’ आफूले देखेको छैन, उनी देखेको देख्यै छिन् ।
ख्वै ! के देख्नु भएन भनेको ? मैले त त्यस्तो अचम्मको केही देखेकै छैन । कमकी त उनी पनि कहाँ थिइन् र ? न्वारानदेखिको बल निकालेर झर्किन् र भनिन्- ‘उः त्याँ देख्नु भएन पानी जहाज ? नेपाली झन्डा हल्लार आइरा’को । आँखा पनि कस्ता हुन् ? बिच सडकमा झन्डा हल्लार आ’को त्यत्रो जहाज पनि नदेख्ने ?’
म मरिमरि हाँस्न थालेँ । उनी मसँग खनिएको खनियै छिन् । कुरा सबै भ्याएर कुट्न मात्र बाँकी राखेकी छिन् । एकछिनको हाँसो थामेर म मखमलीलाई सम्झाउन थालेँ । हेर मखमली तिम्लाई हिजोआज के भएको छ मलाई थाहा छैन । तर त्यो झन्डा हल्लार आ’कोचाहिँ पानी जहाज नभएर मन्त्रीज्यूको गाडी हो, मन्त्रीज्यूको । अघि हामी घरबाट निस्कदा त्यत्रो पानी बर्सेको बिस्र्यौ ? त्यही पानी जमेका सडकमा मन्त्रीको गाडी कुद्दा झन्डा हल्लार पानी जहाज आएको जस्तो लाग्या तिम्लाई । हिँड अगाडि, ताल न सुरको कुरा गर्यो त्यसै त्यसै अर्कालाई अल्मल्यायो । कहिले रेल आयो भन्या’छ । कहिले ग्यास आयो भन्या’छ । कहिले पानी जहाज आयो भन्या’छ कहिले के ? आउन त आउँछ नि एक दिन । तर, तिम्ले भन्या’स्तो एकोहोरो करार ‘आयो ! आयो !! आयो !!!’ भन्दैमा सबै चिज एकैचोटि आइपुग्ने हो र ? टाइम लाग्छ नि त्यल्लाई नि । तिम्ले बुझेकी नै छैनौ मान्छेको बोली भन्या करेन्ट जस्तो हुन्छ, काम भन्या वारेन्ट जस्तो हुन्छ मर्ने बेलासम्म पनि कसैले नभेट्टाउने ।
अब भने मखमलीको निरन्तरको गनगनको रहस्य खुल्यो । उनको कान पाँच तारे होटलको कुकको जिभ्रो बिग्य्रा’स्तो बिग्रिसक्या र’छ सरकारको पलपलका मिठा आश्वासनले । अनि उनी जहाँ जतिखेर पनि त्यस्तै भाषण मात्र खोज्दिरहिछन् कहाँबाट पाउनु र चित्त बुझ्नु ?
मान्छेको स्वभाव पनि अनौठै हुँदोर’छ बा ! यतिविधि सम्झाउँदा पनि उनी मौका परे अझै आयो ! आयो !! आयो !!! भनेर कराउन बेर छैन । यतिविधि सम्झाउँदा पनि के गर्नु त कराए कराइरहन्छे ?
‘युवामञ्च’, २०७३ फागुनबाट जस्ताको तस्तै
Subscribe
Login
0 Comments
Oldest







































