कृष्ण प्रधानमेरो ऐतिहासिक द्वयचक्रवाहन
मैले आजसम्म मेरो पुरानै द्वयचक्रवाहन देख्दा मप्रति टिठ्याउनुका सँगसँगै काखी बजाउनेहरूप्रति मेरो न ता कुनै पूर्वाग्रह छ न ता कुनै लाज नै ।

मेरो द्वयचक्रवाहन (स्कूटर) को आफ्नो जमानामा जगजगी थियो । चार नम्बर गेयरमा हाँक्दा उबेला बाटा हिँड़्दै गरेका मानिसहरू छक्क र पक्क परी परेर ट्वाल्ट्वाल्ती मलाई नै हेरेको हेऱ्यै हुन्थे । म पनि फुरुक्कै भएर महाराणा प्रतापले उनको चेतकलाई हाँकेजस्तै मेरो द्वयचक्रवाहन हाँक्थेँ । साँच्चै यसको भुट्भुट् आवाजले मलाई हुटहुटी लाएर रिक्सा-अटो-टोटो अनि भीड़को चेप-चेपबाट स्वाट्-स्वाट् घाँटी निकालेर हेर्नेहरूलाई शीरकवचन (हेल्मेट) बाट चियाएर हेरिदिँदा मेरो द्वयचक्रवाहन अलकत्रे सड़कको चिल्लो छातीमा बुर्कुसी मारेर आफ्नै धुममा गुड़िरहेको बसको खिड़्कीसम्म उड़्नु खोजेको अहिल्यैजस्तो लाग्छ । तर मेरो यो द्वयक्रवाहन भर्खरे कलेज सिद्ध्याउने मेरो छोरोभन्दा पनि जेठो हो । मेरो यो द्वयचक्रवाहन पनि कलेज पढ़्ने हुँदो हो ता यसले निर्धक्क स्नातोकोत्तर डिग्री सिद्ध्याउनु मात्र होइन महाविद्यारिधि डिग्रीसमेत हासिल गरिसकेको हुनेथ्यो अवश्यै । अब यस हिसाबमा मेरो द्वयचक्रवाहन उमेर कति भयो सो अनुमान गर्न तपाईलाई अवश्यो पनि गाह्रो पर्दैन ।
एकदिन बाटाको किनारमा द्वयचक्रवाहनमा अड़ेसिएर मुठीभाषमा कसैसित गफ गरिरहेको थिएँ । कसैले साइकल मेरो अगाडि़ ठङ़्ऱ्याएर ’नमस्ते सर !’ भनी अभिवादन गर्दै मेरो द्वयचक्कवाहन सुम्सुम्याउँदा मात्रै मैले ती मेरा पुराना विद्यार्थी दावा हुन् भनी तिनलाई छर्लङ्ङै ठिम्याउन सकेँ । मैले प्रथम द्वयचक्कवाहन किनेर ल्याएको दिन सबैभन्दा भक्कु खुशी हुने र दुइ-दुइवटा लड्डु मेरो मुखमा खाँदिदिने विद्यार्थी तिनै थिए । मुठीभाषमा गफ सिद्ध्याइसकेपछि दावासित निकै लामो कुराकानी भयो । मेरा दुइ छोराहरूलाई सानामा देखेका उनले । ती छोराहरूको कुरा गरे- गुरुआमाको खै गरे । कुरै कुरामा दावाले भनि ता हाले- सर ! तपाईको यो स्कूटर अहिलेको होइन ता गाँठे । आम्मामामा…हामी स्कूल पढ़्दादेखिको सरले चलाउनुभएको… अहिलेसम्म पनि यै चलाउनुभाको सर ? सरको यो स्कूटर अब ऐतिहासिक स्कूटर भइसक्यो । अब ता तपाईलाई दुइ चक्के होइन चार चक्केले पो सुहाउँछ ।
मेरो यो द्वयचक्रवाहनलाई ऐतिहासिक पगरी गुँथाउऩे ती विद्य़ार्थीलाई मैले कुन कारणले पुरानै स्कूटर अद्यावधि गुड़ाएको हुँ सो बारे विस्तृत रुपमा बताएपछि म पनि त्यसै ग्रनुपऱ्यो भन्दै मलाई पुनः नमस्कार गरिवरी आफ्नो बाटो लागे ।
म हृदयबाट स्वीकार्छु, मेरो यो द्वयचक्रवाहन पुरानो मात्र होइन ऐतिहासिक पनि भइसकेको छ । शाहजहाँले उनको मुटुको धुकधुकी मुमताजको स्मृतिमा ताजमहल निर्माण गर्न लगाए । आफ्नो रगत पसिना, बल-बुता, सिप-बुद्धि जत्ति सबै सिरीखुरी फुर्मास गरेर संसारको सप्तम आश्चर्यको पगरी गुँथाउन सफल एवम् सक्षम् हुने कारीगढ़ ईशा खाँको हातसमेत ठुन्क्याइदिए शहाजहाँले । तिनी ईशा कँ-को कारीगढ़िताले आज ताजमहल इतिहसमा अमर छ र यो एतिहासिक भएको छ । तर मैले चाहिँ मेरो कुनै पूर्व प्रेमिकाका स्मरणमा मैले आजसम्म पनि पुरानै द्वयचक्कवाहन गुढ़ाएको होइन । अनि मेरो यो द्वयचक्रवाहनलाई ऐतिहासिकताको पगरी गुँथाएर कसैको हात ठुन्क्याउने पनि मेरो कुनै इच्छा वा चाहना छैन ।
मैले द्वयचक्रवाहन किनेदेखि आजसम्म त्यहीमाथि बसेर हाँकेको देख्दा मेरा मित्रहरूको अनुहारको भूगोलमा फिकापनको अक्षरेखा कोरिएको अनुभव गर्छु म । मलाई मेरो पुरानै द्वयचक्रवाहनमाथि देखेर मेरा छिन्द्रान्वेषीहरूका अनुहारको भूगोलमा हर्षका रेखाहरू तैँछाड़्-मैँछाड़् गरेको देख्नु मात्र होइन उनीहरूले “यो नाथुले फुटानी ता बहुत लाउँछ तर नाथेले अहिलेसम्म पुरानै मोडलको द्वयचक्रवाहन फेरेर नयाँ मोडलको किन्न सकेन । …स्स्स्साला… यी हामीलाई हेर्नू ता हामीले ता अहिलेसम्म चार-पाँचवटा द्वयचक्रवाहन फेरिसकेका छौं’’ भन्ने कुरा मनमनै भेका म छर्लङ्ङै बुझ्दछु । जमानामा किनेको पुरानो द्वयचक्रवाहनमाथि मलाई देख्दा उनीहरूले अन्तःस्करणबाट काखी बजाएका, खुच्चिङ मच्याउनुका साथै आफूलाई स्टाण्डर्ड ठानेका कुरा बुझ्न पनि मलाई गाह्रो पर्दैन । मैले आजसम्म मेरो पुरानै द्वयचक्रवाहन देख्दा मप्रति टिठ्याउनुका सँगसँगै काखी बजाउनेहरूप्रति मेरो न ता कुनै पूर्वाग्रह छ न ता कुनै लाज नै ।
मुसलधारे पानी पर्दैत्यो । म मेरो पुरानै द्वयचक्रवाहनमा आउँदै थिए कतैबाट । बरसाती थिएन आफूसित । एउटा पुलमुनि ओत लागे । अन्य मोटरबाइकवालहरू पनि मसितै ओत लागेका थिए । छाता नबोकी हिँड़्नेहरू पनि ओत लागेका थिए । अलिक परतिर चार-पाँचजना भुरा खातेहरू राम्रा-राम्रा आधुनिक बाइकहरू हेर्दै घुटुक्-घुटुक् थुक निल्दै एकार्कामा गफ गरेका सुनेँ – आहा…हेर् न…त्यो रातो बाइक क्या दामी छ..हेरन केटो हो ।
अर्को बोलेको सुनेँ -त्यो रातोभन्दा पनि कालो बाइक हेरन । चक्का हेर ता…आम्बो कत्रो छ…यस्तो बाइक पो कुदाउनु मज्जा आउँछ । मेरो ऐतिहासिक द्वचक्रवाहनलाई ईङ्गित गर्दै अर्को एकजना बोलेको सुनेँ- मलाई उ…त्यो स्कूटर पो मनपऱ्यो । एक्स्ट्रा टायर पनि छ ।
ती भुराहरूमध्ये उमेरमा सबैभन्दा कान्छो देखिने भुरा खातेको भनाइ मेरो कानमा आएर थुरियो- छ्या…त्यो बूढ़ो स्कूटरको कुरा गरेको तैँले ? त्यो ता म त्यसै दियो भने पनि लाँदिनँ । यो बूढ़ो स्कूटर ता रद्दी मालमा लिँदैन अब । हेरन कस्तो थोत्रे भइसकेको छ ।
एकजना बाहेक त्यहाँ ओत लाग्ने बसेका अऩ्य सबै खातेहरूले मेरो ऐतिहासिक द्वयचक्रवाहनलाई ‘बूढ़ो स्कूटर’-को पगरी गुँथाउन कुनै कञ्जुसी नगरेका मैले छ्याङ्ङै बुझेँ टाढ़ैबाट । यी भुराहरूको मनका कुरा सुनेपछि मैले मनमनै भनेँ, हो…बाबु हो ! तिमीहरूले ठिकै भन्यौ । तिमीहरूको कुरा हृदयभित्रबाट स्वीकार्छु । हो, पक्कै मेरो यो द्वयचक्रवाहन साँच्चै बूढ़ो मात्र होइन थोत्रे पनि भएको छ…अस्वीकार गर्दिनँ कदाचित् म । मेरा दुइ कलकलाउँदा तिमीहरूजस्तो भुरा दुइ छोराहरू पनि मलाई बारम्बार भन्ने गर्छन्- “बुवा ! यो स्कूटर बेचेर नयाँ बाइक किन्नुहोस् न प्लिज । अब तपाईको यो स्कूटर ब्याक डेटेड भइसक्यो ।” ए भुराहरू हो ? तिमीहरूलाई मनै नपरेको, थोत्रे न थोत्रे लागेको मेरो यो द्वयचक्रवाहन तिमीहरूको दृष्टिमा बूढ़ो भएको होला तर यसले मलाई एउटा पट्ठो घोड़ालेभन्दा धेर सहयोग गरेको छ । यो किनेदेखि यता यसले मलाई आराम, मान, काम र दाम जुराउनमा छिनु र मार्तोलको काम गरेको छ । भैसीलाई भैँसीको सिङ कहिल्यै ठ्याम्मै गह्रौं हुँदैन भने मलाई पनि मेरो यो जमानामा किनेको द्वयचक्रवाहन कहिल्यै थोत्रे हुँदैन, ठ्याम्मै बूढ़ो हुँदैन न कि मलाई भारीमाथि सुपारी नै भएको छ । मेरा दुइ भुरा छोराहरूले एकदेखि डेढ़ लाखसम्म रुपियाँको बाइक किनीमाग्छन् । त्यत्रो मोटो रकमको बाइक किन्न नसक्ने हुतिहारा बुवा पनि म होइन । तर मेरो पुरानो द्वयचक्रवाहनबाहेक बाइक भन्ने कुरा ता किन्ने पक्षमा म ठ्याम्मै छैन । म छोराहरूलाई भन्छु, हाँक्नु छ भने मेरो यही पुरानो द्वयचक्रवाहन हाँक्….। तर कुनै अवस्थामा म तिमीहरूको निम्ति नै बाइक किन्ने पक्षमा ठ्याम्मै छैन ।
हेनतेन नभनी लाजै पचाएर भन्नु हो भने अनि सबैभन्दा ठुङमार्दो कुरो, मेरो यो ऐतिहासिक द्वयचक्रवाहनलाई मेरो दुवै छोराहरूले हाँक्नु ता के छुनसम्म पनि छोएका छैनन् । किनभने उनीहरूको दृष्टिमा बूढ़ो देखिने यो द्वयचक्रवाहन लिएर कतै घुम्न जाँदा तिनीहरूको साथीहरू गिल्ला गर्छन् ’रे । खिसी गर्छन् ’रे । अनि तिनको बिकी भन्ने एकजना साथीले ता भनी पनि हालेछन् – आच्ची…तेरा ड्याडले यस्तो थर्ड क्लासको ब्याक डेटेड स्कूटर चलाउँछन् ? यो ता ओभर पुरानो भइसक्यो । नयाँ हाम्रो जस्तो डेढ़-दुइ लाखको बाइक किनिदिनू भन् न तेरा ड्याडलाई । यी हामीलाई हेर् ता…हाम्रा ड्याडले हामीले जस्तो मोडलको बाइक भन्यौ त्यस्तै किनिदिएका छन् ।
कलेज भर्ना भएपछि फेरि मेरो जेठो छोरोले आमा चाहिँलाई दुइ-अढ़ाइ लाखको बाइक किनिमागेछ । श्रीमती मलाई अनुरोध गरिन् । मैले टेँढ़पुच्छर लाइऩँ । तर मेरो जेठो छोरोको धोका वा रहर पूरा गर्न नसकेकोमा मलाई भित्र-भित्र एक प्रकारको नमिठो भने लागिरहेकोथ्यो । हो, मेरा जेठो छोरोको बाइक चढ़्ने धोको वा रहर पूरा गर्न नसक्ने म हुतिहारा पिता नै भएँ हुँला । कलकलाउँदो छोरोको धोका पूरा गर्न नसक्ने म नामर्द पितानै सही । तर बाइक नकिनिदिने ढीट पिता भएकोमा म आफूलाई ढुक्क र सञ्चो भने लागिरहेको थियो । छोरो मसित झण्डै एक महिना जति बोलेन । पुरानो बूढ़ो भइसकेको मेरो ऐतिहासिक द्वयचक्रवाहनमै म अडिग भएर अद्यावधि हाँकिरहेको छु ।
आफ्ना सहपाठीहरूमाझ लज्जित हुने डर र त्रासले मेरो बूढ़ो पुरानो ऐतिहासिक द्वयचक्रवाहन मैले बाहेक घरका अन्य कसैले छुँदैनन् पनि हेर्दैनन् पनि । बूढ़ो द्वयचक्रवाहन लिएर सहपाठीहरूसित जानु ता परै जावोस् । मैले छोरोले भनेजस्तो बाइक निकिनिदिएकोमा जेठो छोरो आमाचाहिँ सित फुँइकेर अनि ठुस्केर निस्केको मैले थाहा पाएँ । तर त्यसको फुइँकाइँ र ठुस्क्याइँ मैले थाहा पाएँ । त्यसमा मैले कुनै ध्यानै दिइनँ ।
दस बजीसम्म पनि त्यो घर आइपुगेन । राति साढ़े एघार बजीतिर फोन आयो । अत्तालिँदै बोल्यो त्यो – बुवा ! सायद आज म घर आउँदिनँ होला ।
एक्कासी म गर्जे- किन ? किन आउँदैनस् ?
नम्र स्वरमा त्यो बोल्यो- बुवा…मेरो साथी बिकीले नयाँ बाइक किनेको थियो । त्यसमा अरु पनि दुइजना साथीहरू लिएर त्यो सेभोक घुम्न गएको रहेछ । फर्केर आउँदा एउटा ठूलो टाटाले पछिबाट धक्की दिँदा बिकी स्पट डेथ भएछ । अरु साथीहरू पनि लाष्ट स्टेजमा छन्…नर्सिङ होममा भर्ना गरिएको छ । बिकीको लाश सेभेकको स़ड़कमाझमै लड़िरहेको छ । पुलिस ऩआइञ्जेल लाश ल्याउनु दिँदैन रहेछ । म यहीँ छु । लामो निश्वास लिनुबाहेक अरु बोल्ने मेरो शक्ति थिएऩ ।
म र मेरी श्रीमती बिकीका अभिभावकलाई सान्तवना दिन एकदिन उनको घर पुग्यौं । हामीसित हाम्रा दुइ छोराहरू पनि थिए । बिक्री र मेरो जेठो छोरोको मित्रताको कारणले नै हाम्रो पनि बिकीका अभिभावकसित घनिष्ट मात्र होइन पारिवारिक सम्बन्ध पनि भइसकेको थियो । बिकीका अभिभावकले मलाई ‘सर’ नै भनी सम्बोधन गर्छन् भने श्रीमतीलाई ‘गुरुआमा ।’
हामीलाई देख्ने बित्तिक्कै बिकीकी आमाले श्रीमतीलाई अनि बिकीका बाबाले मलाई छाद हालेर रुन थाले । अझ आमा चाहिँले जेठो छोरोको कपाल मुर्सादै कोहोलो मच्चाएर रुन थालिन् । स्थिति गम्भीर भइसकेको थियो । एकक्षण पछि बिकीकी आमाले मेरो जेठो छोरोलाई आफ्नो बाहुपाश कसी रुँदै भन्न थालिन्- छोरो ! तिम्रा बाबाले तिमीलाई बाइक नकिनिदिनुभएर राम्रै गरेछन् । बिकीको जबरजस्तीले हामीलाई त्यसलाई लाख रुपियाँको बाइक किनिदिने हुँदा हाम्रा छोरालाई हामीले जानी जानी गुमाउनुपऱ्यो । यो दोष हाम्रै हो । बाइकलाई छोरोको ज्यानमारा बनाउऩे हामी नै हौं । यति भनिवरी बिकीकी आमा बेहोश भएर भूइँमा लोटिन् । जेठो छोरोका आँखाभरि आँशु छचल्किसकेको थियो । बिकीका शोकाकुल बिकीका बाबुले मलाई उनको उदगार पोखे- सर ! तपाईले छोराहरूलाई बाइक नकिनिदिएर राम्रो काम गर्नुभयो । हाज जोड़्दै, ग्वाँग्वाँती रुँदै फेरि बोले-तपाईहरूलाई मेरो विन्ती छ…कृपया यी केटाहरूलाई बाइक भुलेर पनि नकिनिदिनुहोला सर । यो बाइक भन्ने कुरो ज्यानमारा हो सर ज्यानमारा ।
मौका पाएर एकदिन छोरोलाई एकै श्वासमा भनेँ- देखिस् भाइ ! यस्तै हुन्छ भनेर मैलै तिमीहरू दुइ दाजु भाइलाई बाइक नकिनिदिएको । तिमीतहरू बाइक किनिदिनू कि किनिदिनू भन्छस् नि । बाइक भेट्टाएर तिमीहरूले पनि आँखा नहेरी हाँक्ने नै हो…अन्त्यमा बिकोको जस्तै गति हुँदैनथ्यो । यसैकारण मैले बाइक नकिनेर पुरानै, थोत्रे, बूढ़ो द्वयचक्रवाहनलाई अहिल्यैसम्म पनि घिसारिरहेको छु ।
मेरो कुरा सुनेर हो वा बिकीलाई सम्झेर हो केही थाहा पाउन नसके पनि जेठो छोरो सामान्य मुस्कुराए पनि सानो छोरो चाहिँ अनुहारको भूगोलमा पैह्रो गएको स्पष्ट देखेँ । मेरो वृतान्त कुरा सुनेपछि मेरा पूरानो विद्यार्थी “हो सर ! तपाईले यो चाहिँ खाँटी कुरा गर्नुभो । हुन पनि हो नि अचेलका केटाहरूले बाइक भेट्यो कि कस्तो डरलाग्दो उड़ाउँछ अनि ।” मैले थपेँ- हेर दावा ! अचानक कुनै दुर्घटनामा परेर ठहरै मरिगयो भने ता ठिकै छ । तेह्र दिनसम्म शोक मनाउँला…पछि पछि विस्तारै यादहरू विस्मृतिको गर्भमा पुरिँदै जाला । तर अधकल्चो भयो भने आजीवन खँजाहा भएर थन्किनु पर्दैन ? अधकल्चो भयो भने आजीवन कसले पाल्छ ? अन्त जिन्दगी बर्बाद हुँदैन र !
दावाले थप्यो- हो नि सर ! हात-खुट्टा केही नचल्ने भयो भने हामी पछि कसले पाल्छ ? दाजु भाइ मिल्ने होइन क्यारे ! लु सर…मलाई पनि मेरो छोरोले बाइक किनिदिनु भनेर धुरुक्कै रुवाइसक्यो । तर हजूरको कुरा सुनेर अब त्यसलाई पनि बाइक नकिदिनुपऱ्यो । मैले भेरी गुड भनेको मात्र के थिएँ । दावा बोलि ता हाल्यो- होइन सर ! मलाई अब यो पुरानो साइकल नै ठिकै छ । आफ्नो पुरानो साइकल देखाउँदै दावा बोल्यो फेरि, काँ सर… मलाई पनि मेरा साथी-भाइहरूले यो पुरानो साइकल चलायो भनेर कुरा गरेका पनि मैले सुनिरहेको छु । मैले उनीहरूले जस्तो बाइक किन्न सकिनँ अरे । अर्काको होहोरीमा लागेर बाइक किनुँला…भरे छन्दखन्दको लाठे छोरोलाई गुमाउनु पर्ला । तपाईले बाइक नकिनी यही बूढ़ो स्कूटर दलेको ता अहिले पो बुझेँ ।
मैले भनेँ, आगो ताप्नु मूढ़ाको कुरा सुन्नु बूढ़ाको ।
दावा मिसिक्क हाँसीराखेर पुरानो थोत्रे साइकल टिपेर नमस्ते गरिवरी मदेखि विदा लियो । एकक्षण भए पनि मेरो बूढ़ो, पुरानो अनि ऐतिहासिक द्वयचक्रवाहन मुसारिरहेँ… मुसारिरहेँ… ।
सिलिगुड़ी, भारत
Subscribe
Login
0 Comments
Oldest








































