साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अंग्रेजीको परीक्षा र मेरो दिमाग

म गोबर गणेश गुमाने लठ्ठूको दिमाग भने डोको न डालाको तर्क र ‘पुङ न पुच्छरको कल्पना बोकेर तीन न तेरको थोत्रो गाडीमा चढेर लण्ठ्याङ मण्ठ्याङ गर्दै मरेको बिरालो काखी च्यापेर ठिमीको उकालो लागे झैँ पृथ्वी राजमार्गको बाटो हिंड्दै थियो ।

Nepal Telecom ad

म उच्चकोटीको उच्च ठाउँको उच्च विद्यालयमा उच्च शिक्षा हासिल गर्न आएको उच्च कोटीको बुद्धि निच्च भए पनि उच्च विद्यार्थीको पगरी पाएको ‘काक चेष्टा वको ध्यानम् श्वान निन्द्रा तथैवच’ भनिए पनि व्यवहारमा ‘च्वाँक चेष्टा सिने ध्यानम् भैँसी निन्द्रा तथैवच’ लागू गरेर आठ बजे सम्म सिरक ओढेर दिमाग लगाउने जेहेन्दार विद्यार्थी । परीक्षााको दिन भएकोले चारै बजे उठेर घोत्लिन थालेको थिएँ ।

न ढाँटी भन्ने हो भने अंग्रेजीको परीक्षा संझने बित्तीकै मलाई जीवनजल चाहिन्छ । हजुरबाले ‘गाइखाने भाषा’ भनेर छि छि र दुर्दुर गरेको,बाले कनि कुथी पढेको अंग्रेजी भाषा छोराको पालामा नभई नहुने भए पछि जसरी पनि त पढनै पर्‍यो ।

नेपालीको न नजाने पनि केही नापिदैन तर अंग्रेजी न जाने त सु सु पनि न आउने भैसक्यो । हाम्री हजुरआमाले त चर्पीलाई ट्वाइलेट भन्न थालिसक्नु भएको छ ! आज भोलिको कुकुर त ‘च्यै’ र ‘धर‘को भाषा नबुझ्ने भैसके ! महल भित्रका पाल्तु मात्र होइन गल्लीका भुस्याहा कुकुरहरु पनि अंग्रेजीमा भुक्न थाले र पो मार्‍यो ! जे होस जसरी भए पनि तिर्की जुट (३३) त ल्याउनै पर्‍यो भन्ने विचारले लागेँ परीक्षा हलतिर ।

प्रश्नपत्र आए पछि आद्योपान्त पढेँ । ‘निरक्षरी सरासर कालो अक्षर भैसी बराबर भने झै तातो भुत्लो पनि बुझ्न सकिएन’ । सकियोस पनि कसरी ? पढाई भैरहेको बेलामा पुछारको बेन्चमा बसेर ट्वाक ट्वाक जिब्रो पडकाउँदै कागजको रकेट बनाएर केटीको पकेट ताकेर हान्ने पनि मै, कागजको पुच्छर बनाएर प्राध्यापकको पछिल्तिर झुण्ड्याउने पनि मै, क्याम्पसमा ताला ठोक्ने र प्रमुखको गाला ठोक्ने पनि मै, आन्दोलनका बेला ढुङ्गा मुढा बर्साएर सरकार तर्साउने पनि मै, भाडाको मोटरसाइकलमा प्रेमीकालाई राखेर सडकमा गुडाउने पनि मै, आफूले गुन्द्रुक र पिना खाएर छोरालाई पढाउन पठाउने अभिभावकको पैसा उडाउने पनि मै, नोकरी गरेर भोकमरी टार्ने पनि मै, बूढी भैसीको ताजा मम खाजा खाएर पेटमा बाजा बजाउँदै फिल्महल चाहार्ने पनि मै, राज मामलो र साहू मामलोको खर्पन झ्याँइकुटी पारेर बोक्ने पनि मै, खोजखाज गरेर पनि पित्रि पितामहलाई तर्पण गरेर तार्ने पनि मै, अनि कसरी बुझने त ? यौटा दिमागमा यत्तिका कुरा कसरी अटाउने ? घ्याम्पो भए त भरिएर पोखिई सक्थयो वा फुटि सक्थ्यो धन्न मेरो दिमाग !

प्रश्नपत्रमा एन्टन चेखबको ‘ग्रीफ’ देखि क्याथरिन म्यान्स्फील्डको ‘दि डोल्स हाउस’ सम्म, ट्यागोर को ‘दि भ्वाइस अफ ह्युम्यानिटि’ देखि जेरम के जेरमको ‘थ्री मेन इन अ बोट’ सम्म, टल्सटायको ‘हाउमच ल्याण्ड डज अ म्यान नीड’ देखि क्यारिन्थेको ‘रि फण्ड’ सम्मका प्रश्नहरु सोधिएका थिए ।

साहित्यमा नोबेल पुरस्कारका दाबेदार विश्वविख्यात साहित्यकारहरुको विचारलाई व्याख्या गर्न मेरो अँध्यारो गल्ली जस्तो खप्परको खाल्डोमा भएको गिदीलाई जिम्मा दिनु भनेको लाटोलाई मञ्चमा गएर भाषण गर भन्नु जस्तै हो भन्ने कुरा प्रश्नकर्ताहरुलाई के थाहा !

म फनफनी लागेको बाख्राले जस्तो पिर्लिक्क आँखा पल्टाउँदै खलखली पसिना काढिरहेको थिएँ । साथीहरु कोही कलम टोकेर टोलाइरहेका थिए, कोही नजिकका साथीलाई बिस्तारै बोलाइरहेका थिए, कोही खल्तीमा चिट छामिरहेका थिए कोही डरले थरथर कामीरहेका थिए । चोर्नु पनि त यौटा कला हो नि ! आफूलाई त्यै पनि आउँदैन के गर्नु ? मलाई रिफन्ड एकाङ्कीको पात्र ‘वासरकोफ’ ले झैँ प्रधानाध्यापकसँग गएर सारा लागेका अध्ययन शुल्कहरु साँबा ब्याज सहित फिर्ता माग्ने झोँक पनि नचलेको हैन । तर वासरकोफले जस्तै घोक्रेठ्याक खाएर फर्कनु पर्‍यो भने के गर्ने भन्ने सोचेर चूप लागेँ । बढेर ठूलो हुने जमानामा पढेर को ठूलो भएको छ र ! प्रवेशीका परीक्षामा तीन चोटी फेल भएर बसेको साथी बैदारबाट बढुवा हुँदै हाकिमको हाराहारीमा पुगिसक्यो । आफू कागताली परेर भने प्रमाणपत्र पास गरेको मान्छे तिहुन खान पनि नपुग्ने पिउनको जागिर उँघेर बस्नु परेको छ । भेद पढ्न नसके पछि वेद पढेर के लछारपाटो लाग्दो रहे छ र !

दायाँ बायाँका साथीहरु सय किलो मिटर प्रति घन्टको दरले कलम दौडाइ रहेका थिए । किनकि आधा समयले सुईकुच्चा ठोकि सकेको थियो । तर म गोबर गणेश गुमाने लठ्ठूको दिमाग भने डोको न डालाको तर्क र ‘पुङ न पुच्छरको कल्पना बोकेर तीन न तेरको थोत्रो गाडीमा चढेर लण्ठ्याङ मण्ठ्याङ गर्दै मरेको बिरालो काखी च्यापेर ठिमीको उकालो लागे झैँ पृथ्वी राजमार्गको बाटो हिंड्दै थियो । यस्तैहो भने जोगीमारको भीरबाट त्रिशुलीमा फाल्हाल्न के बेर ? तर भीरबाट लडेको गाईलाई ‘राम राम‘ भन्छन् सबैले काँध थाप्न को जाने ?

योग्यताको भन्दा प्रमाणपत्रको कदर गरिने भएकोले सबै साथीहरु टुप्पी कसेर लागिपरेका थिए । प्रश्नपत्रको टाउकोमा विद्यार्थीहरुले मौलिक उत्तर दिनु पर्छ भन्ने कुरा लेखिएको थियो । तर मौलिक शिक्षा पाएको भए पो मौलिक उत्तर दिनु । अर्काको जूठो, बासी र जडाउरी शिक्षा दिएर मौलिक उत्तर खोज्नु भनेको खोलामा डढेलो लगाएर माछा पोलेर खान्छु भन्नु जस्तै होइनर ? माछा नपाए भ्यागूता भए पनि चल्ने हाम्रो गौरवमय परंपरा भएकोले अमौलिक भए पनि लेखे पछि पास हुने त छदै छ । त्यसैले गाइड गेसपेपर आदिको सारेर भए पनि कापी भर्ने निणर्य लिएर शौचालयतिर लागेँ । एक छिन पछि राहत पाएको अनुभव गर्दै भैरव दाइको चोरी ‘चकारी नगरी चतुर्‍याइँ हुन्न‘ भन्ने सूत्र प्रयोग गरेर कापी भरेँ । यौटा कुरा के ठोकुवा गरेर भन्न सक्छु भने फेल भइन भने अवश्य म पास हुन्छु !

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नियत नफेरिएकाहरू

नियत नफेरिएकाहरू

केशव दुवाडी
लोकतन्त्र पुराण

लोकतन्त्र पुराण

केशव दुवाडी
झोला र झोले !

झोला र झोले !

केशव दुवाडी
नजाउँ कोरिया !!

नजाउँ कोरिया !!

केशव दुवाडी
धन त जसरी पनि कमाउनु पर्छ

धन त जसरी पनि...

केशव दुवाडी
फुर्सद खै ?

फुर्सद खै ?

केशव दुवाडी
0
Would love your thoughts, please comment.x
()
x