साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गन्ध

ठस्स गन्हाउने गन्धले मान्छेको मुड खराब गर्छ । त्यसैले बाठाले उपाय निकालेर सेन्ट उत्पादन गर्‍यो र तत्काललाई दुर्गन्ध पनि टर्‍यो ।

Nepal Telecom ad

गन्ध ठूला ठालुको त हुन्छ हुन्छ मुला र आलुको पनि हुन्छ । बाँदर, ढेंडु, स्याल र भालुको पनि हुन्छ । अक्षता अबिर केशरीले बेसरी पुजेपछि गन्ध शालीग्रामको पनि हुन्छ । पुज्दै ढोग्दै पुज्दै ढोग्दै गरेपछि हर शालीग्राम पशुपति जस्तै प्रसिद्ध हुन्छन् र महकाउँछन् । त्यसो त गन्ध हर प्राणीमा निहित हुन्छ । गन्ध सालीको मात्र होइन सालाको पनि हुन्छ । गन्ध घण्टको रालाको र छालाको पनि हुन्छ । गन्ध गोरा अनि कालाको पनि हुन्छ । गन्ध सुनका बालाको, टालेका टालाको र मान्छेका चालामालाको पनि हुन्छ । सरदर सालाखालामा गन्ध हरवस्तुको अस्तुमा हुन्छ । गन्ध हिउँमा, मान्छेका जिउमा र नौनी घिउमा पनि हुन्छ ।

गन्ध जिउँदो चल्दोबल्दोमा मात्र होइन मरेकामा पनि हुन्छ । जिउँदोको गन्धलाई मान्छेले टेर्दैनन् तर मरेकाको गन्धसँग मान्छे औधी नै डराउँछ । जेहोस् गन्ध कोठाकोठा, चोटाचोटा लोटालोटामा पनि हुन्छ । गन्ध मेलफिमेल हुँदैन नपुसंक र नजाति हुन्छ । यो एकदेशको मात्रै एकलौटी हुँदैन । सबै देशको सार्वजनिक हुन्छ । फलफूलको भए वरिपरि र मान्छेको भए डाँडापारी पनि फैलिएको हुन्छ । त्यसैले त पौरखी पाखुरा सर्वत्र महकाइ रहेका हुन्छन् । जसरी बोटविरुवा फलफूलले गन्ध सुगन्ध आफै उत्सर्जन गर्छन् त्यसैगरी पौरखी जाँगरिला मानवले पनि आफ्नो बासना सुगन्ध आफैले उत्सर्जन गरेर बिसर्जन गर्न सक्नुपर्छ । असल आत्मा, मनमुटु भएकाहरूले सुगन्ध र सत्गुण ग्रहण गर्छन् । उत्तम कर्मले उत्तमगति प्राप्त गर्न असल आत्मासँग लुटुपुटु हुँदै आफ्नो सौन्दर्य पराग छोड्न सक्नुपर्छ । हरेक तह र तप्काका गन्धधारी र गन्ध पारखीहरूले अनुशरण र आत्मसात् गर्नसके मात्र सार्थक जुनी हत्याउन सकिने कुरा पत्याउन गारो नपर्ला ।

गन्ध पत्ता लगाउने सबैभन्दा निम्सरो प्राणी हो मान्छे । यसले आफ्नै गन्ध पनि छुट्याउन सक्दैन । आमा बुबा लोग्ने स्वास्नी छोराछोरी, साथी कसैको गन्ध पनि एकिन रूपले ठम्याउन सक्दैन । गन्ध ठम्याउन सक्ने थियो भने आफ्ना मान्छे सन्तान दरसन्तान हराउँदा, बेपत्ता हुँदा वा भिडभाडमा गन्ध सुँगेर नै पत्ता लगाउन सक्ने थियो । किन कुकुरको शरण पथ्र्यो र ? मान्छेले गन्ध थाहा पाउँछ तर कुकुरले जस्तो ठ्याक्क ठम्याउन सक्दैन । तैपनि मान्छेले आफूलाई उधुम बुद्धिमानी ठानी रहेको हुन्छ । हो हुन त मान्छेले बुद्धि विवेककै कारण पृथ्वी छोडेर आकाशतिर हानिएको छ । पातालतिर तानिएको छ । तन्किन मिलेसम्म तन्किएको छ र खुम्चिन मिलेसम्म खुम्चिएको पनि छ । ज्ञानका र ध्यानका मामलामा अब्बल भए पनि गन्ध सुँगाइका विषयमा कुकुरभन्दा कैयौ गुणा पछाडि छ मान्छे ।

मान्छेले सजिलै पत्ता लगाउने गन्ध सीमित छन् त्यसमा ट्वाइलेट छुटेको, मकै भुटेको, वेश्यावृत्ति स्थल, भ्रष्टाचार, ठगीधन्दा बाहेक न कुटेको चाल पाउँछ न लुटेको । सारै भएपछि सडिएको सिनुपनि पत्ता नलगाउने त होइन । श्रीखण्ड, रातकी रानी, भट्टीखानी, गोदावरी, जाहीजुही, सयपत्री, फलफूल, बोटविरुवाका गन्धहरू नाकैमा ठोक्किन आएपछि ग्रहण गर्छ तर एकिन गर्ने कामका लागि चाहिँ मान्छेले कुकुरलाई नै पण्डित मान्नुपर्छ । जाल झेलमा मान्छे अगाडि भए पनि गन्धमा चाहिँ फेल नै हो । त्यसमाथि पनि महिलाको तुलनामा पुरुषको नाक निकै बोधो साबित भएको छ । तै पनि पुरुष नाक उज्याउँदै मजस्तो कोही छैन भन्दा उधेक लागेर आउँछ । के गर्नु सृष्टि चलाउनै पर्‍यो र हिम्मत नहारी गन्धे अनुसन्धानमा अहोरात्र खटिरहेको हुन्छ । त्यसैले नै होला आफूलाई चलाख साबित गर्न छेउमा बसेका मान्छेतिर फर्किएर नाक थुन्दै भन्ने गर्छन् “पाद्यो, डकार्‍यो, मरिन्छ कि के हो छेउमा बसिसक्नै भएन” ।

हरेक पशुले खानु हुने र नहुने गन्धले छिनोफानो गर्छन् । कुकुर त गन्ध ठम्याउनमा विश्वमै राजा नै मानिन्छ । राजाले आफू अत्यन्तै उपयोगी हो भन्ने कुरा चाल पाएर नै तानाशाह शासन लाद्छन् । धन्न कुकुरले आफूमा विश्वले मानेको गन्ध ठम्याउने खुबी छ भन्ने कुरा बुझ्दैन र मान्छेले खटाएर दिएको कुपुकुपु खाएर बसेको छ । थाहा पाउँथ्यो भने कुकुरले खटाएर दिएको मान्छेले खानु पथ्र्यो होला । धन्न गन्ध सुँगेर नै होला । यसले मान्छेलाई संगत गर्न लायक प्राणी ठान्यो र सन्तान दरसन्तान मान्छेकै मजेरीमा पैदा गर्ने गर्छ । कुकुरको गन्ध सुगेर हरेक क्रियाकलाप चाल पाउने कुरासँग मान्छे मन्त्रमुग्ध छ ।

मरेको, मारेको, तारेको, खारेको, झारेको आको, गाको, खाको, लाको, धाको, सबै कुरा गन्धकै अनुमानमा छिनोफानो गर्छ । हरपल नाक नचाइराख्नुको मूल कारण नै त्यही हो । जसले बढी नाक नचाउँछ त्यसले अर्काको गोप्य कुरा पत्ता लगाउँछ भन्नुको मूलार्थ यही रहेछ । मान्छेलाई जस्तै कुकुरलाई पनि विरह लागेर घर छोड्दा ठाउँठाउँमा तुक्र्याउँदै हिँड्नुको कारण चाहिँ गन्ध सुँग्दै घर फिर्न सजिलोका लागि यो प्रविधि अपनाएको हो । हरेक व्यक्तिको छुट्टाछुट्टै गन्ध चाल पाउँछ कुकुरले । नयाँ नौलो गन्ध नाकमा ठोक्किने वित्तिकै कुकुरले भुकेर आफ्नो धर्म निर्वाह गर्छ । आवश्यक परे धारिला दाँत र नङ्ग्राका मद्दतले सजाय पनि दिन्छ । चरा पशु जसले भाषा बुझ्न सक्दैनन् तिनले गन्ध राम्रोसँग बुझ्छन् ।

नाकका माध्यमद्वारा गन्धका मद्दतले प्राणीले कुहेको, सडेको, डढेको पत्ता लगाउँछ । त्यस मामलामा सबैका नाकलाई धेरै धेरै धन्यवाद । अहिले आधुनिक जमानामा मान्छेका शरीरमा मयल हुने नहुने सराबरी हुन्छन् । जाँगरले साथ दिए मयल पखाल्छन् अल्छी लागे त्यो जाबो मयल त हो कति भारी हुन्छ र बोकेरै हिँड्छन् । भैँसीलाई किन सिङको भारी हुन्थ्यो र ? तर पनि त्यस प्रकारको दुर्गन्धले गर्दा दोस्रो पक्ष सुकिला मुकिला नाकधारी नजिकै नपरी छिछि दुरदुर गर्न थाल्छ या त नाकका टोड्का बन्द गर्नु उपयुक्त ठान्छ । त्यसरी छिछिको सामना गर्नुभन्दा त बहत्तर प्रकारको अत्तरको मद्दत लिएर पनि दुर्गन्ध दूर गरिराखेका हुन्छन् । ठस्स गन्हाउने गन्धले मान्छेको मुड खराब गर्छ । त्यसैले बाठाले उपाय निकालेर सेन्ट उत्पादन गर्‍यो र तत्काललाई दुर्गन्ध पनि टर्‍यो ।

बाल, बृद्ध, बलिया, लुला, पशु, चराचुरुङ्गी हरेक प्राणीमा आफ्नो गन्ध निहीत हुन्छ । गन्ध सुग्ने क्षमता प्राणीमा प्रकृति प्रदत्त हुन्छ । गन्ध धेरै प्रकारका भए तापनि सुगन्ध र दुर्गन्ध गरी दुई भागमा विभाजित छ । लाभदायक मीठो सुवासलाई सुगन्ध र हानीकारक गन्धलाई दुर्गन्ध भनिन्छ । आफूमा भएको विवेकलाई दश प्रतिशत मात्रै मान्छेले प्रयोग व्यवहारमा उतार्न सक्छ भने पशुले पुरापुर खर्च गर्ने कुरै भएन तथापि गन्ध एकिन गर्ने अद्भुत क्षमता कुकुरमा मात्रै हुन्छ । त्यसैले हरेक अप्ठ्यारो पर्दा सुरक्षाकर्मीले कुकुरलाई अगाडि सार्न रुचाउँछ । कुकुरकै काम पनि बाघ, भालु, भैसी, हात्ती, गैडाले गथ्र्यो भने विकट ठाउँमा काम लगाउन आपतै पथ्र्यो । कुकुरलाई त दाना दिएपछि काँधमा बोकेर भए पनि काम गर्न लगाइन्छ ।

मान्छेले मान्छेलाई वा पशुलाई नै भए पनि असाध्यै रुचाएपछि गन्धे शरीरलाई पनि वास्तै नगरी अँगालो मार्न पुग्छ । हात, भात दिन र सँगसँगै लम्पसार परेर रात विताइदिन सक्छ । उधुम मन परेपछि कता कुदुम हुन्छ अनि आनन्दसँग एउटै जुवामा नारिएर नरनारीको रथ हाक्न थाल्छन् । जुनी काट्ने कुरा काट्ने डुप्पी काट्ने र तिउन तरकारी काट्ने गर्न थाल्छन् । औधी प्यारो मान्छेले अकस्मात स्वर्गको बाटो समायो भने कुहुन, सड्न, किरा पर्न चिरा पर्न र गन्ध छोड्न थाल्छ । अनि प्यारालाई काखैमा राख्न गारो हुन्छ । काखैमा राखिराख्दा पनि गन्धले उठिबासै लगाउँछ ।

दुर्गन्धले खप्नु खेप्नै नभएपछि मान्छेले प्यारो मान्छेलाई पोल्नु या खाल्डामा हाल्नुमा नै उपयुक्त मान्छ । आम पृथ्वीवासीले हिजो पनि यसै गरेका थिए र आज पनि त्यही फर्मुलाले काम गरिरहेकै छ । अहिले पृथ्वीमा गन्धहीन कोरोना महामारी व्याप्त छ । हामी सबै मास्कको मद्दत दबाइमुलो र भ्याक्सिनको शरण पर्न बाध्य छौँ । आफ्ना हुँदै प्यारा प्राणीले पनि जिब्रो टोकेपछि दुर्गन्धले साम्राज्य कायम गर्ने भएर नै सिनुलाई खेलाउनु भन्दा सेलाउनु उत्तम ठान्छन् । प्राणीमा निहीत नाकेन्द्रियले गन्ध पक्रिन नसकेको भए मान्छे हदै फोहोरी, दुर्गन्धित रोगी, महारोगी, पिण्डरोगी, हुने कुरामा कुनै शंका छैन हैन त ? धन्न गन्ध ठम्याउने नाक छ र भयंकर अनिष्ट र महामारीबाट तर्किन अर्कोतिर फर्किन हरदण्ड दाउ रचिन्छ । बाँच्ने बचाउने प्रयास गरिन्छ र रोगले घोक्रेठ्याक लगाएर ङ्याकिहाल्न सक्दैन ।

फूलबारी, पोखरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
सरकाे र घरकाे कुटाइका कुरा

सरकाे र घरकाे कुटाइका...

शेषराज भट्टराई
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x