शिव अधिकारी‘इलामे जेठो’ का केही ठोक्तक

सीमा हुन्छ
खबरदार ! छिमेकी हो !, चेप्नुको नि सीमा हुन्छ
सधैं कष्ट कति खेप्नु ?, खेप्नुको नि सीमा हुन्छ
सिरुपाते निकालेर, छ्प्काउनु पर्ला भोलि,
होस गर ! कति हेप्छौ ?, हेप्नुको नि सीमा हुन्छ ।
पाइँदैन
दल बल लगाएर, थिच्न पाइँदैन
बलियाले निर्धालाई, किच्न पाइँदैन
तिम्रो पनि चाहिँदैन, मेरो सिमानामा,
एक बित्ता जमीन पनि, मिच्न पाइँदैन ।
बाँकी होला
पूणर् स्वस्थ भने छैन, केही असर बाँकी होला
कुनै अङ्ग, कुना काप्चा, थोरै कसर बाँकी होला
आफ्नै तन्त्र लगाएर, यो कोरोनाको तुस अब,
सिलो सँगालोमा हजुर ! एकै पसर बाँकी होला ।
बाँकी नै छ
यो कोरोना सँग गर्ने, खास खुस बाँकी नै छ
मेरो शरीरमा उसको, केही तुस बाँकी नै छ
तुस बाँकी रहे जति, पूणर् स्वस्थ पार्नलाई,
उसलाई दिनुपर्ने, जति घुस बाँकी नै छ ।
घर बिगार्छन्
नबिगार्नु पर्ने हो नि, तर बिगार्छन्
मान्नै सकिँदैन उसको, भर बिगार्छन्
जानिदैन कताबाट, के को दाउ हुन्छ ?
छिमेकीले छिमेकीकै, घर बिगार्छन् ।
गएको छ
दल दल बीचको यो चाकाचुली, घुम्दै गएको छ
विकासका सम्भावना पराइले, चुम्दै गएको छ
जानीजानी बेमौसमी आफ्ना आफ्नै, डम्फू ठोकाइले,
‘नयाँ नेपाल’ परै जाओस् भएको नै, गुम्दै गएको छ ।
माई नगरपालिका -१०, लुम्बाक, इलाम
Subscribe
Login
0 Comments
Oldest






































