होम सुवेदीहुतीहारा महात्म्य
कुर्सीमुनिबाट पैसाको बिटो हालिदिन्थे अनि नगरेर धर ! गरेन भने उल्टै घुस खायो भनेर मुद्दा हाल्ने डर ! तिमी पनि फाँटवालालाई लगेर पैसाको कुँडो हालिदेऊ ।

(विशुद्धहास्य र व्यङ्ग्य हो भनेर पढ्नुहुनेछ ।)
सातपटक लोकसेवा आयोगको परीक्षामा धेरैपटक उत्तानो परेँे । अब ता उमेर पनि सकिन लाग्यो । यसरी धेरैपटक उत्तानो परेपछि सारै विरक्त लागेर आएको बेला एकपटक ता आत्महत्या गर्ने विचारसम्म नआएको हैन । तर फेरि के काँतर हुनु भन्ने विचार आयो । सिसिफसको कथा पढेकै थियो, यसैले उमेरले भ्याइन्जेल नछाड्ने निधो भयो । के काँतर हुनु भनेर यो आत्महत्याको बाटो सदाका लागि छोडिदिएँ । बरु पार लगाऊ प्रभु भन्दै नानाभाँतीका भगवानलाई भाकल गरेको हुँ, पास भएँ भने यो कुरा चढाउँला र त्यो कुरा चढाउँला भनेँ । कुनै बेला ता सिङ्गै खसी ढलाउँलासम्म पनि नभनेको हैन, तर पनि सुनुवाइ भएन । देउता भन्नु मात्र रहेछन् काम लाग्दा रहेनछन् ।
टाढाको देउताको भाकल गर्नुभन्दा बरु नजिकको भूत काम लाग्छ भन्ने कुराको हेक्का बल्ल आयो र पल्लो टोलका मेरा भरअभरका हितैषी अनुभवले पनि खारिएका र उमेरले पनि अलिकति पाका जुँगेबाको शरणमा गएँ । थुक्क, महापुरुष करेसामा रहेछन् म पनि कताकता भौँतारिएको ! अब जागिर नखाई नहुने अवस्थालाई ध्यानमा राखेर अनुभवी, भुक्तभोगी, भूतपूर्व डिठ्ठा, अनुभवले पाका र जानिफकार, खाइखेली गरेर सेतै भएका जुँगेबासँग पक्कै पनि केही उपायहरू होलान् भनेर यिनै महापुरुषको सङ्गतमा हाजिर भएँ ।
नमस्कार समस्कार सकेपछि उनका साथ मेरो जागिर खान खोज्दा परेको बबन्डर भोगेको हन्डर र दुखेसो पोखेँ ।
“बा, अब मेरो लोकसेवा दिने उमेरको हदम्याद गइसक्यो । आउँदो विज्ञापनमा अब म सामेल हुन नपाउने भएँ । लोकसेवाबाहेक अन्तको जागिरका लागि कता के गर्दा उचित होला भनेर यहाँकोमा आएको केही उपाय गरिदिनु पर्यो !”
“हैन तिमी पनि कुन दुनियाँमा छौ ? उमेरको हद पनि कहिल्यै सकिन्छ ? आँटेँ भने अझ पनि म लोकसेवा पास गर्न सक्छु ।”
“बुझिनँ त यहाँको कुरा । लोकसेवा आयोगले ता उमेरको हद तोकेको छ नि त । पैँतिसभन्दा माथिकाले दर्खास्त दिन पाउँदैनन् । म पैँतिसको भइसकेँ ।”
“कुरा बुझ्ने भए ता पास भइहाल्थ्यौ नि । अब यस्तै बुद्धु रहेछौ र त फयल हुँदा रछौ त ! अब पास हुने भए पहिले नयाँ नागरिकता बनाऊ र उमेर मिलाऊ, बुझेनौ ?”
“लौ त्यो पनि गर्न सकिन्छ र ?”
“किन नसक्नु ? तिमी ता हुतीहारा नै रछौ । यस्ता हुतीहाराले पनि गरिखान्छन् त यो देशमा ! जान्नुपर्छ काइदा ! काइदा पुर्यायो भने फाइदै फाइदा छ ! पैसा भएपछि यहाँका हन्तकालीले जे पनि गरिदिन्छन्, आमासम्म बेच्न सक्ने दर्व्यपिचासले के गर्दैन हँ ? मैले नै कति गरेको हुँ पदमा छँदा ! कुर्सीमुनिबाट पैसाको बिटो हालिदिन्थे अनि नगरेर धर ! गरेन भने उल्टै घुस खायो भनेर मुद्दा हाल्ने डर ! तिमी पनि फाँटवालालाई लगेर पैसाको कुँडो हालिदेऊ । कुकुरले गुहु खाएजस्तो हन्तकालीले पैसा खान्छ र तिमीले जे सूचना दिन्छौ त्यही अनुसारको नागरिकता बनाइदिन्छ । त्यति मात्र हैन मरेका मान्छेलाई बाँचेको र बाँचेकालाई मरेकोसम्म पनि बनाइदिन्छ । चाहने हो भने तिमी तिम्रा बाबु भन्दा जेठो र तिम्रा छोरा भन्दा कान्छो पनि हुन सक्छौ नागरिकताबाट । अनि पुरानो सबै रेकर्ड उडाएर नयाँ बनाइदिन्छ त्यस हन्तकालीले । एउटा गोप्य कुरा छ । कतै नभन्ने हो ? कतै नभन्ने भए सुनाउँछु ।”
“कहाँ भन्थेँ नि निःशङ्क हुनुहोस् न ।”
“मेरै जेठो छोरो अलिक लन्ठु छ, केही गर्न नसक्ने लठुवा लठेब्रो । ऊ अहिले भर्खर पचासकै मात्र हुँदैछ, तर पैसा हालेपछि हन्तकालीले सत्तरी वर्षको बनाइदियो र अहिले वृद्धभत्ता खाइरहेको छ । म भन्दा एक वर्ष जेठो बनाइदियो । काइदा छ । यो जुक्ती गर तिमी पनि, पछि ता परिहालेछौ अझ पनि पछि परौला ।”
‘बाह, काइदा ता यो पो रहेछ !’ मैले सोचेँ ।
अदालतको डिठ्ठोबाट रिटायर भएका मेरा हितैषी जुँगेबा निकै नै अनुभवी भएकाले सायद होला नै भनेर ढुक्क परेँ । “यसका लागि ता अहिलेका हन्तकालीलाई अलिक बढी नै पैसा चाहिएला, हाम्रा बेलामा अलिक सस्तै थियो । पारितिरकालाई नागरिकता बेचेको जति यताकाबाट पाइन्नथ्यो । उताको ता भारु आउँथ्यो । खैर यो कुरा छाड ।”
“अनि यो सबै केही नगरी कतै जागिर खान सकिन्न ? छैन तपाईंसँग कुनै अर्को नयाँ उपाय” भनेर फेरि सोधेको मात्र के थिएँ भन्न थाले झन् जडी कुरा ।
“त्यस्तो ठाउँ पनि छ । कतै नबिकेका रहलपहल, बूढाखाडा, सडलपडल र उमेरको हद नलाग्ने कातीहरूले जागिर खाने ठाउँ पनि छ नि । खान्छौ त त्यस्तो ठाउँमा ?”
“खान्छु नि । जसरी पनि खान्छु ।”
“उसो भए पहिले काउरेस वा कमलिस पार्टीको सदस्यता लिनू । अनि विध्यार्थीहरूलाई ठग्ने विश्वविध्यालयमा जागिर खान तयार पर्नू । पर्छौ त तयार ?”
‘विद्यार्थी र विश्वविद्यालय भन्नू न बा’ भनेर आग्रह गरेको त बाले उखर्माउलो भएर जङ्गिए— “के भुत्राको मलाई पढाउँछौ । मैले तिम्रो विश्वविद्यालयको कुरा गरेकै हैन । विध्यालयको कुरा गरेको । विध्यार्थीको कुरा गरेको । त्यही विश्व विध्यालयमा पढाउने र त्यसैका उच्च पदमा रहेका गाँडु लन्ठुले विध्यार्थी भन्छ भने मैले विद्यार्थी भन्नुपर्छ । विध्यार्थी भन्छु, विध्युत भन्छु, विध्यादात्री, विध्यादेवी भन्छु,, विध्यालय भन्छु,, एन भन्छु, लु के गर्छौ ! बड जान्ने भएको ! यसैले त लोकसेवा पास नगरेको रहेछ त ! यस्ता मुलाले भुत्रो पास गर्थे लोकसेवा ! अब बुझियो नि ! बढ शुद्ध लेख्नु पर्ने र पढ्नु पर्ने पँणित ! अबदेखि सुद्द लेख्नू, बुद्द लेख्नू, धन्ध लेख्नू, एन लेख्नू, बिध्या लेख्नू, बुझ्यौ ?”
“क्षमा पाऊँ बा, मैले जानिनँछु ! अब बुझेँ अब बाकै शिक्षाअनुसारको बाटो समाउँछु” भनेपछि बूढा अलिक मथ्थर भएर सोधे, “ढुङ्गामुढा गरेको, टायर बालेको, नाराबाजी गरेर उरालेको, राँके जुलुसमा हिँडेको, मान्छेका घरका सिसा फोरेको, गाडी डढाएको, निर्दोष मान्छेलाई कुटेको इतिहास छ कि छैन ?”
“उ बेला ता गरियो होला अलेलि तर अहिले भने छाडिएको छ !”
“ए त्यसो हो भने हुन सक्छ । इतिहास ता राम्रै रछ । जागिर खाने नै भए अब तिमीले पहिले अरु सब कुरा छाडेर प्याच्डी किनेर ल्याऊ, कि किनिसक्या छ ?”
उहाँले प्याच्डी भनेको पटक्कै बुझिनँ । तर लक्षणले बल्लबल्ल पिएच डी भनेको रहेछ भन्ने थाहा पाएँ । अनि गरिएको र किनेको पनि छैन, यो कता किन्ने चिज हो र भनेर तर्क गरेको ता बाबैले मलाई झन्डै झापु हाने । हुनता उनी गएर बुझेका हैन रहेछन् तैपनि छिमेकी देशका नागरिकहरूका केही एजेन्टहरूले नेपालका ठाउँठाउँबाट ‘गारन्टीके साथ दिया जाता है’ भनेर भित्रभित्रै बेच्ने गरेको कुरा गरे । उनकै टोलमा डेरा गरी बस्ने एक भवानन्द नाम गरेको डेरावालले बिए र एमएसम्मका ता बेच्छ तर तिमीलाई त्यसको काम नहुने हुनाले र उसले प्याच्डी कताबाट किन्न पाइन्छ त्यसको सुइँको दिन्छ र उसैबाट सूचना लिएर प्याच्डी किन भन्ने जस्ता कुराका गरे । अलिक बढी घाँस दियौ भने उसैले बन्दोबस्त पनि गर्न सक्ला पनि भने । साथै त्यसरी प्याच्डी किनेकाहरू अहिले निकै माथिल्लो पदमा बसेको कुरा पनि सुनाए ।
अन्तमा बाले अझ आश्वासन दिँदै भने— “प्याच्डी किनेर लेऊ । विश्वविध्यालयमा हुल्ने जिम्मा मेरो भो । तेहाँ खुट्टा हाल्नासाथ बडो बाठो भएर विध्यार्थीलाई पढाउन थालौला नि फेरि । खुट्टा हालेको भोलिपल्टैदेखि हडताल गर्न थाल्नुपर्छ, प्रमोसन चाहियो भन्ने, पेन्सन चाहियो भन्ने, अहिले नै स्थायी गरिदिनुर्यो भन्ने, तलब बढाइदिनु पर्यो भन्ने, नगरे तालाबन्दी गर्ने अफिससफिस । यति भएपछि काम चल्छ । यी कुरा भुल्यौ भने फेरि पनि लन्ठुका लन्ठु ! लु पहिले प्याच्डी किनी हातमा पर्मान लिएर मेरामा आऊ । अनि मैले देखाएको बाटो हिँडौला । त्यो काम गर्यौ भने पाडा बनाउने जिम्मा मेरो । लु अहिले जाऊ ।”
अनुभवी भनेको अनुभवी नै हो । बाले यस्तो तत्वज्ञान गर्नुभएको रहेछ । यो तत्वज्ञान मलाई पनि प्राप्त भयो । आफूले भने पुस्तक र नैतिकताको शिक्षा पढेर जीवनको उर्वर काल बिताइएछ । समयमै किनमेलको बाटोतिर लागेको भए कहाँबाट कहाँ पुगिने रहेछ भनेर पछुताउ भो । अब धुइँपत्ताल गरेर भए पनि प्याच्डी नकिनी नहुने निश्कर्षमा पुगेँ । बल्ल मेरो होस खुल्यो र बाले भनेको प्याच्डी किन्ने ठाउँको खोजीमा लागेको छु । हेरौँ प्याच्डी किनेर जागिर खाएर पाडा हुनु परेको छ । मुले देउताहरूको अब भाकलसाकल अहिलेका लागि गरिएन पो । बरु प्याच्डीको दोकान थापेर बसेको भवानन्दकोमा जानुपर्यो सकेसम्मको राम्रो विषयको प्याच्डी किन्नुपर्यो ।
मनमा यिनै कुरा सोचेर भवानन्दको डेरा खोज्दै प्याच्डीको दोकानतिर लागेको छु । आजसम्म यस्तो हुतीहारा भएर जीवन काटिएछ ।सारै पछुताउ लागिरहेको छ । बाँकी कुरा अब प्याच्डी पाएपछि यहाँहरूलाई भन्ने नै छु । अहिले बिदा ।
भद्रपुर, झापा
Subscribe
Login
0 Comments
Oldest








































