बद्रीप्रसाद दाहाल ‘भस्मासुर’तोरीलाहुरे
यी ठन्डाराम भएर हराम हुँदारहेछन् । अर्काको डम्फू बजाउन नपाएपछि लम्फू बनाएर फ्याँकिदारहेछन् ।

एकदिन गफै गफमा फ्याट्ट शब्द उप्कियो तोरीलाहुरे । कार्यालयमा बैठक चल्दैगर्दा एकजना सहकर्मीले प्वाक्क भने त्यो त तोरीलाहुरे हो । कसैप्रतिको उपमा बनेर फुत्त भुँइमा झरेको तोरीलाहुरे सुनेपछि साह्रै सकसक सकसक लाग्यो मलाई । केही लेखूँ लेखूँ जस्तो भयो । नेपाल त फेरि तोरीलाहुरेहरूको उर्वर भूमि भएकाले तोरीलाहुरेहरू जता पनि हुनसक्छन् । गाउँघरतिर भए भट्टी पसलतिर बस्छन् । शहरतिर आए रेष्टुरेन्ट, बार, डान्सतिर पस्छन् । शक्ति केन्द्रमा धाउँछन् । धाकधक्कू, फूर्ति लाउँछन् । आफ्नै विज्ञापन गर्छन् । आफ्नै परिवार, धन सम्पत्तिका्े फुँइकी लाउन नपाए आत्तिएर मर्छन् । हिंग नभए पनि हिंग बाँधेको टालो देखाउँछन् । उस्तै परे नेपाल आफ्नै नाममा लेखाउँछन् । त्यसैले जसरी पनि तोरीलाहुरेहरूको व्याख्यात्मक टिप्पणी नगरी हुँदैन भन्ने लागेर शब्दकोश खोज्नतिर लागेँ । शब्दकोशमा जे लेखिए पनि व्यवहारमा स्थापित भइसकेकै हो तोरीलाहुरे । तोरी र लाहुरे जोडिएर यो बनेको हो । नेपाली बृहत् शब्दकोशमा ..भारतीय पल्टनमा नोकरी गरेको नेपाली जवान, रिकुटे, एकप्रकारको बर्खफूल, असल जातको भैँसी, लाहुरी…लाई लाहुरे भनिएको रहेछ । लाहुरेको अगाडि तोरी जोडेपछि तोरीलाहुरेको अर्थ : केही दिनको तडकभडकपछि फेरि ठन्डाराम भएको व्यक्ति, जिउडाल र रवाफमा खाइलाग्दो तर व्यवहारमा विश्वास गर्न नसकिने काम र कुराको ठेगान नभएको मान्छे, विकामे लठ्ठक, लम्फु… हुँदोरहेछ ।
परिभाषा पढेपछि झन् कन्पारो तात्यो मेरो । आँखाको दृष्टि उध्रियो । समाजले पनि तोरीलाहुरेहरूलाई नै दोसल्ला ओडाउँछ, फूलमाला पहिराउँछ, पुरस्कृत गर्छ । जता हेर्छु उतै तोरीलाहुरे नै तोरीलाहुरे । देशभर जताततै तोरीलाहुरेहरूकै जगजजी र विगबिगी । मालपोत जान्छु तोरीलाहुरे । नापी जान्छु तोरीलाहुरे । यतायात कार्यालय जाँदा पनि तोरीलाहुरे । अड्डा अदालत धायो तोरीलाहुरे । जुनसुकै सरकारी कार्यालय गए पनि तोरीलाहुरे । सेवाग्राहीकै कर खान्छन्, घुस, कमिसन असुल्छन् तर ठुला ठुला धक्कु, फुटनी लाउँछन् । सरकारीमा त भए भए निजी कम्पनी, कार्यालयमा पनि तोरीलाहुरेलाई स्याल्युट हार्नुपर्ने, उनीहरूलाई नै महान् मान्नुपर्ने । शिक्षा क्षेत्रमा होस् कि स्वास्थ्य क्षेत्र, शेयर बजारमा होस् कि बिमामा, एनजिओमा जाऔँ कि आइएनजिओमा तोरीलाहुरेबाहेक कुनै चाउरे, दाउरे, न्याउरे भेटिदैँन ।
सबैभन्दा ठुला तोरीलाहुरेहरू त सिंह..सिंहदरबारमा बस्छन्, काठमाडौँको सिंह..सिंहदरबारमा । संघीयता ल्याइएपछि त देशभरका साना साना सिंहदरबारमा पनि तोरीलाहुरेहरूको संगठन बनेको छ । यिनीहरूको संख्या विस्तार भएको छ । मेरो आजसम्मको अनुभवमा सबैभन्दा महान् तोरीलाहुरेहरू राजनीति गर्नेहरू नै हुन् । जहाँ पनि जता पनि यिनै तोरीलाहुरेहरूकै बोलबाला छ, चल्छ । विदेशका विकास, न्याय र जनताका सुखसयलका गफ हाँकेर बस्छन् । गफै गफले चिउरा भिजाउँछन् । मुलुकलाई सिंगापुर बनाउँछु भन्छन् । डिंगापुर पनि बनाउन सक्या होइन । भन्या के के हो, कति कति हो, गर्या केही होइन । हेर्दाहेर्दै तोरीलाहुरेहरू हाम्रै आँखामा पिसाब फेरिदिन्छन् । यिनका भाषण र प्रशिक्षणले त मुलुकमा सगरमाथा भन्दा उच्च विकास भइसक्यो । नागरिक समृद्ध र सुखी भएर अब मंगल ग्रहको भ्रमण गर्नसक्ने हैसियतमा पुगिसके । कहिले गण्डक बेचेर कहिले टनकपुर त कहिले महाकाली छिमेकीकहाँ नजराना पठाएर आँखामा बादल लगाइदिए । फेरि मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) जस्ताको तस्तै पास गरेर दिनदहाडै ठगेका छन् । बारम्बार ढाँटिरहेका छन् । एउटा तोरीलाहुरे एमसीसी ठिक भन्छ, अर्को तोरीलाहुरे बेठिक भन्छ । एउटा एउटा देशको समर्थक बनेर बोल्छ अर्को अर्को देशको । जताको समर्थन गरे पनि यी तोरीलाहुरेहरूलाई तडकभडक गर्ने पैसो, सुको आउँदोरहेछ । यिनीहरूको राजनीतिक उचाइ यस्तै गरेर बढ्ने रहेछ । स्थायित्व यसरी नै हुने रहेछ । गीता गाउन छाडेपछि सिता आउन छाड्दोरहेछ । रिमोट कन्टोल छुटेपछि भने यी तोरीलाहुरेहरू साँच्चैका तोरीलाहुरे बनेर सडकमा पुग्दारहेछन् । यिनीहरूको जीउडाल सिद्रो झैँ सुक्दोरहेछ । फोक्सो त बेलुनजस्तै फुक्दोरहेछ । यी ठन्डाराम भएर हराम हुँदारहेछन् । अर्काको डम्फू बजाउन नपाएपछि लम्फू बनाएर फ्याँकिदारहेछन् ।
हेर्नोस् त यी सबैभन्दा ठुला तोरीलाहुरेहरूले हेर्दा हेर्दै देश कहाँ पुर्याए ? निर्यात गरेर सधैँ शिर ठाडो पार्ने देशमा खाद्यान्नमा मात्र आयातको रकम हेर्दा फेन्ट भइएला जस्तो हुन्छ । राजनीति कसका हातमा पुग्यो ? माफिया, घुसखोरी, कमिसनतन्त्री, अपराधी, गुण्डाहरूको हातमा । आत्मग्लानी गरी गरी यस्तालाई नेता, मन्त्री, सांसद् मान्नुपर्ने दिन आयो । इमान्दार र तोरीलाहुरे बन्न नसक्नेहरूले राजनीतिबाट हात धुनुपर्ने भयो । अनेक तिकडम गरेर दाम नकमाउने र खुट्टामा नचढाउने मान्छेले वडा सदस्यसम्म जित्न सक्दैन । यति मात्र हो र यही प्रभावले अन्य क्षेत्रका चुनावमा पनि पैसोको खोलो नबगाउने मान्छेले जित्नै सक्दैन । त्यो उपभोक्ता समिति, क्लव, विद्यार्थी, महिला, मजदुर, सहकारी, अझ पढाउने शिक्षक, प्राध्यापकको संगठनको मात्र हो र कर्मचारीकै चुुनावमा पनि दाम नहुने हराम तोरीलाहुरे कर्मचारीले चुनाव जित्नै सक्दैन । यसरी जनसुकै राजनीतिमा तोरीलाहुरे । कोही केन्द्रीय तोरीलाहुरे । कोही प्रादेशिक तोरीलाहुरे । कोही स्थानीय तोरीलाहुरे । पत्रकारिता, स्वास्थ्यकारिता, समाजसेवा, न्यायसेवा, मेवासेवा जहाँसुकै तोरीलाहुरे नै तोरीलाहुरे । पत्रकारिताका तोरीलाहुरेहरूले सही पत्रकारिता नगर्दा राज्यका तीन अंग कार्यपालिका, व्यवस्थापिका र न्यायापालिकाका तोरीलाहुरेहरूले मनलाग्दी गर्न पाएका छन् । शिक्षा र स्वास्थ्य क्षेत्रका तोरीलाहुरेहरू फिको नाममा अनेक शीर्षक बढाएर, देखाएर जनतालाई शोषण गर्न खप्पिस छन् । सबैतिरका तोरीलाहुरेको यस्तै पारा छ । कर्मचारी क्षेत्रका तोरीलाहुरेहरू छन् कागजमा खेल्छन् । निजी क्षेत्रका तोरीलाहुरेहरू कमजोर मनहरूलाई भावनामा झेल्छन् ।
हे हरि.. त्यसैले म यस्ता विभिन्न प्रकारका तोरीलाहुरेहरूसँग टिक्न र बिक्न नसक्ने असक्षम, अयोग्य, अडमिल्दो, निम्छरो तोरीलाहुरे हुँ । मलाई तोरीलाहुरे भएर बस्न, मर्नभन्दा तोरीचाउरे भएरै बस्न, मर्न मन छ । जे छ यसैमा अपार आनन्द छ ।
Subscribe
Login
0 Comments
Oldest






































