सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

विरेदाइको दाँत

दुई तीनवटी बूढी ल्याउन पाए हुन्थ्यो भन्नुहुन्छ दाँतको हालत यस्तो छ । होइन के भयो ए वीरेदाइ ! तपाइँको दाँतलाई ? कतै हर्षाले त होइन ?

Nepal Telecom ad

गएको पुस महिनाको कुरा हो । महिना निकल्दो भएर हो कि क्या हो जाडो अलि बढी नै थियो । हुन त तराईतिर सित लहरले धेरैको ज्यान पनि लिइसकेको छ । त्यही सित लहर उकालो लागेर हो क्यार जाडो बढेकै छ । हिजो अस्तिको तुलनामा दिन आज अलि घमाइलो छ । विहानै देखि घाम लागेको छ । खाना खाइवरी हामी आँगनमा न्यानो घाम ताप्दै थियाैँ । वीरेदाई अलि लाज मानेझैँ टाढैबाट हाँस्दै हामी छेउ आइपुग्नुभयो । वीरेदाई हँसी मजाक गर्नुपर्ने हँस्यौलो ठट्यौलो मान्छे । उनी नजिक आइपुग्नासाथ घाम तापेर बसिरहेका सँगैका साथीले जिस्काउँदै भने- ‘‘होइन ए वीरे दाई ! क्या हो ? भर्खर बिहे गरेर आएको दुलाहा झैँ मुख छोप्दै मुसुमुसु हाँस्दै आइरहनु भएको छ । फेरि कान्छी त ल्याउनु भएन ? गोड्लान् है गोडलान् भाउजूले । उसै त अगिल्लो दुईवटा दाँत झरिसकेका छन् ।”

‘‘कहाँ बिहे गरेर आउनु ?” जिस्किंदै वीरे दाइले भन्नुभयो -‘‘बिहे गर्न पाए त हुँदो हो नि । के शहर के बन जतासुकै पड्क्या पड्क्यै छन । मर्नै परे‘सी दुईचारवटी बूढीहरू अघिपछि लगाएर मर्नु वेश नि ।”

उनी मरीमरी हाँस्न थाले । उनी हाँस्दा अगिल्लो ओठ ख्वाप्लाक्क भित्र पसे । यो देखेर साथीले फेरि जिस्काउँदै भने- ‘‘होइन हो वीरे दाई, क्या हो ? अगिल्लो दुइवटा दाँत त झरेका थिएथिए फेरि अर्को दाँत पनि झारेर आउनुभयो कि क्या हो । ल है वीरेदाइको चाला गतिलो छैन । यही ताल हो भने त चालिस वर्ष पुग्दा नपुग्दै भएभरको बङ्गारा सबै खुस्कन बेर छैन है वीरे दाई । समयमै होस पुर्‍याउनु होला । दुई तीनवटी बूढी ल्याउन पाए हुन्थ्यो भन्नुहुन्छ दाँतको हालत यस्तो छ । होइन के भयो ए वीरेदाइ ! तपाइँको दाँतलाई ? कतै हर्षाले त होइन ?”

‘‘के को हर्षा हुँदो हो ? हर्षले भन्नु न बरु । हर्ष लागेर ।” वीरेदाइले हाँस्दै भन्नु भयो । ‘‘अनि के” सँगैका साथीले आश्चर्य मान्दै सोधे- ‘‘हर्ष लागेर पनि दाँत यस्तरी झर्छ र ? चाहिने कुरा गरे पो हुन्छ यो वीरे दाइ ।”
‘‘हर्ष लागेर मात्र त किन झथ्र्यो र यो दाँत” वीरे दाइले कुरो खोतल्दै भने- ‘‘अलिअलि हर्ष लागेको अलिअलि खाने पानी र तिनमाने पानी लागेको ।”

‘‘हाऽऽ नचाहिने कुरा ! ठट्टा गर्नु पनि बेला हुन्छ नि । मज्जाले घाम तापेर बसि राख्या बेलाँ आङ्गनै सिरिङ्ग हुने गरी जङ्ग चल्ने कुरा गर्ने ।” साथीले झर्किदै भने । साथीको झर्काईपछि नजिकैको पिँडीमा बस्दै विरेदाइले रामकहानी सुनाउन थाल्नु भयो ।

‘‘साँचो कुरा गर्दा नि यो भाइ त त्यत्तिकै झर्किंदो रहेछ ।” वीरेदाईले कुरोको चुरो समाउँदै भन्न थाल्नु भयो- ‘‘हेर्नुस् भाइ ! यो नशा भन्ने कुराले हर्षमा पनि विस्मातमा पनि दशानै निम्त्याउँदो रहेछ । यो खान हुने चिज रहेनछ । बुझ्नु भो ? पोहोर नयाँ वर्षमा लौ नयाँवर्ष मनाउने भनेर सबै साथीहरूले कर गरे । कान्छीको भट्टी गएर आढारातसम्म तन्न रक्सी धोकियो । रक्सीले फिट्टु भएपछि साथीको मोटरसाइकलले बल्लबल्ल घर छेउ ल्याएर छोडिदियो । मटरसाइकलमा पनि कसरी अडिएर आइएछ थाहा पत्तै भएन । घर आइपुगेको मात्र चाल पाएँ । त्यहीबेला खानेपानीले ढल खनेको थियो । जाँडले फिट्टु हुँदा त सत्तामा बसेका नेताहरूले देशमा जतासुकै विकासै विकास देखेझैँ आगनमै भएको ढल नल पनि सबै सम्मै देखिँदो रहेछ । त्यत्रो गहिरो ढल त सम्मै देख्नेले खाल्टो साल्टोको के कुरा ? त्यो जाबो ढललाई त यस्सै पनि नाघ्न सकिहालिन्छ नि भनेर खुत्तो उचालेको मात्र के थिएँ मज्जैले जाकिएछ । ढलको डीलमा थुपारेको बाध्य ढुङ्गामा मुन्टो जोतिँदा अगाडिको दुइवटा दाँत त त्यहीँ झ्वाम्मै भएछ । भोलिपल्ट बिहानमात्र चाल पाएँ । बिहान नयाँ घामसँगै नयाँ वर्ष त आयो तर बेलुकी झरेका माथिल्ला यी दुई दाँत भने अझै आएको छैन ।”

वीरेदाईको कुरा सुनेर हामी नहाँसी बस्न सकेनौँ । वीरेदाइले तलको बङ्गाराको दुईवटा झरेको दाँत देखाउँदै भन्नु भयो -‘‘अब यी यो तलको दुइवटा झरेको दाँतको पनि आफ्नै रामकथा छ । पोहर शिवरात्रीमा सबै साथीहरूले रमाइलो गर्ने भने । बेलुकी धुनी लगाएर उखुसुखु पड्काइयो । धुनीसँगसँगै लौ महादेवको प्रसाद खाने भनेर गाँजा खुब तानियो । भाङ् पनि मजाले पिइयो । सुरुसुरुमा त झमझम पारेर रमाइलै भयो । पछि बढी हुँदै गएपछि मन एक तमासको भएर आयो । यस्तो बेला जे गरे पनि, जे सोँचे पनि मन एकोहोरिने रहेछ । खान थालेपछि खाएको खाएै । हाँस्न थालेपछि हाँसेको हाँसै । कोही केही सम्झेर रुन थालेपछि रोएको रोएै । मलाई भने हाँस्ने, रुने, खाने केही भएन । मलाई त जे देखे पनि अजङ्गको लाग्ने । आफ्नै नाक पनि यस्सो छामेर हेर्‍यो अजङ्गको घिरौँला जत्रो लाग्ने ।”

हामीले हाँसो थाम्न सकेनौँ । हाँसोको बीचैमा वीरेदाईले जोशीदै भन्नुभयो- “एउटा कुरा भाइ ! रक्सीले मात्तिएपछि मान्छे सत्ताको आडमा मात्तिएको नेताजस्तो कसैलाई मान्छे नै नगन्ने शुरो हुँदो रहेछ तर भाइ ठीक उल्टो गाँजा लागेपछि मान्छे सत्ताबाट खुस्केको नेता जस्तो जतासुकै समस्यै समस्या देख्ने डरपोक हुने रहेछ । रक्सी लाग्दा पहाड पनि तिल जत्रो देखिने । गाँजाले लाग्दा तिल पनि पहाड जत्रो देखिने । ठ्याक्कै उल्टो ।”

वीरेदाइको उपरोक्त कथन र उदरणबाट हामी सारै प्रभावित भयौँ । हाँसोले मनभित्रैदेखि कुटकुटियाँै । उहाँ भन्दै हुनुहुन्थ्यो- “यसो उसो गर्दा गर्दै रात त वितिसकेको थियो । राति अबेरै भए पनि घर त पुग्नु नै थियो, साथीलाई लिएर घर पुगियो । यो पटक पानीको पाइप लान आगनमा सानोसानो नाली खनेको थियो । यो नालि केटाकेटीले पनि सजिलै नाघ्न सक्थ्यो । गाँजाको सूरमा मलाई त्यही नालि पनि अजङ्गको खाडलजस्तो लाग्यो । त्यो नालि नाघेर घरको पिँडीसम्म पुग्ने आँट नै गर्न सकिन । यस्तैमा साथीले ‘नाघ साले !’ भनेर पछाडबाट ढकेलिदिंदा घुनमुनिएर घरको पिँडीमा मुन्टो जोटिन पुग्यो । मुन्टो के जोतिएको थियो तलको दुइवटा दाँत त झ्वाम्मै ।”

विरेदाइको कुरा सुनेर हामी पेट मिचिमिचि हाँस्न थाल्यौँ । हामी हाँसेकोमा हाँसो मिसाउँदै वीरेदाइले भन्नु भयो- ‘‘हेर भाइ हो ! यो हाँसो को कुरा मात्र होइन सत्य घटना हो । यो नशा भन्ने कुरा हर्ष विस्मात कुनै बेला पनि सेवन गर्न नहुने रहेछ । यो ख्यालख्यालमा पनि खान नहुने रहेछ । भाइ तिमीहरू हाँसी रहेका छौ, नशाले मेरो त दाँत मात्र गयो । मान्छेको आँतै समेत गएको छ ।”

‘‘दाँत गए पनि आँत गए पनि रमाइलो भयो वीरे दाइ ।” मैले आश्वस्त पार्दै भनेँ- “वीरेदाइको यो घटनाले नशा सेवनगर्नेहरूको चेत त खुल्ने भयो ।

‘‘चेत खुले त राम्रै हो नि हाम्रो बिजेत गर्‍यो भनेर झन बिचेत पो हुने हुन कि के थाहा !? जे होस् एकछिनको रमाइलो यस्तै त हो । ल त भाइहरू म हिँडेँ ।”
वीरेदाइ जानु भयो । हामी पनि आ-आफू बसेको कुर्चि पिँडिमा उकालेर दुकान भित्र पस्यौँ ।

पोखरा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad