साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्रापित सृष्टिटर

हामी मान्छे पनि होइनौ । देवता ता झन् हुँदै होइनौं । हामी श्रापित ‘सृष्टि़टर’को अन्यतम उत्पादन ’कठपुतली’ ।

Nepal Telecom ad

भगवानले आफ्नो रगत-पसिना फुर्मास गरेर विराट मेशीन बनाएपछि ब्रह्माद्वारा त्यसको विधिवत् उदघाटन साङ्गे भयो भव्यरूपमा । मेशीन उन्मोचन गरेपछि ब्रह्माले को’नि के के मन्त्र फ्लाँकेपछि हर्षका साथ उक्त मेशीनको नाउँ ’सृष्टि़टर’ राखे । पत्रकारहरूले ’सृष्टि़टर’को अर्थ खुलस्त पारिदिने अनुरोध गरेकाले ब्रह्मा मुस्कुराउँदै गम्भीर भावमा बोले- “क्यालकुलेटर, कम्प्यूटर, प्रिण्टर, प्रोजेक्टर, मनिटर आदि डिभाइसजस्तै यो ‘सृष्टि़टर’ पनि डिभाइस हो । जसले सृष्टि़ मात्रै गर्छ ।”

कारखाना वा वर्कशोपको मेशीनमा एकातिरबाट काँचो माल हालेपछि अर्कोतिरबाट तयारी माल निस्केजस्तो वा आँटाको मेशीनमा माथिबाट गहुँ खन्याएपछि तलबाट बुरूरूरू आँटा खसेजस्तो भगवान् निर्मित ‘सृष्टि़टर’बाट पनि आरम्भमा स-साना किसिम-किसिमका टुक्राहरू भटाभट् निस्कन थाले । उपियाँ, उड़ुस, सुलसुले, जुम्रा, मच्छर, झिङा, कमिला, भुसुना, माकुरा, टिकटिके, भालेमुङ्ग्रो, साङ्ले आदि के के हो के के निस्किए… निस्किए ! त्यसको कुनै हिसाबै छैन । एकदिन अचानक ‘सृष्टि़टर’बाट बाँदर फुत्त भूइँमा खस्यो । भगवान आविष्कृत ‘सृष्टि़टर’ मेशीनबाट यसरी चारखुट्टे जन्तु फुत्तै निस्कँदा भगवान् भक्कुमारी खुशी हुँदै मेशीनको बहादुरीप्रति नाक घोक्राउँदै ‘सृष्टि़टर’लाई चार-पाँचपल्ट च्वाँक्क-च्वाँक्क म्वाइँ खाए ।

नरिवलको गेड़ाजस्तो एउटा टाउको, दाँत-आँखा-कानतिर लिक्ठिकै परेको पुच्छर । वाह ! ‘सृष्टि़टर’को करामती देखेर स्वयम् भगवान छक्क मात्र परेनन् पक्क पनि परे । भगवानको उत्साह, जोश दोबर-तेबर बढ़ेर गयो । खुशीको सीमा रहेन । फेरि ‘सृष्टि़टर’ मेशीनलाई च्याप्पै अँगालो हाल्दा ‘सृष्टि़टर’ झाँक्री कामेजस्तो हल्लिन थाल्यो । मेशीन हल्लिँदा फुत्तै दुईखुट्टे जन्तु खस्यो भूइँमा । चारखुट्टे जन्तु भूइँमा फुत्तै खस्दा भगवानलाई पुलुक्क हेरेर ‘सृष्टि़टर’ मुसुक्क हाँसेको थियो भने यो दुईखुट्टे जन्तु भूमिष्ठ हुँदा स्वर्गपुरी थर्किने गरी च्याँर्र…च्याँर्र रून थाल्यो । यसको नाम राखियो ‘मान्छे’ ।
भगवानको ‘सृष्टि़टर’बाट अन्तिमपल्ट दुईखुट्टे जन्तु (मान्छे ?) भूमिष्ठ भएपछि ‘सृष्टि़टर’ करप्ट भयो (भत्कियो) । स्वर्गपुरीका तमाम् इञ्जिनियरहरूले लाख कोशिस गर्दा पनि ‘सृष्टि़टर’लाई जीवनदान दिन सकेनन् । दुःखित भएर भगवानले ‘सृष्टि़टर’लाई नारीको जीवन बिताउने श्राप दिए ।

‘सृष्टि़टर’ नारीमा परिणत भएपछि मान्छे जन्माउने काममा नर्कतिर लागिन् । ‘सृष्टि़टर’को भार नारी रूपमा वहन गरेपछि ’श्रापित ‘सृष्टि़टर’बाट यस नर्कलोकमा दिन्हौं हजारौंका सङ्ख्यामा मान्छेहरू भूमिष्ठ हुनथाले भटाभट । अहिलेसम्म यसको सङ्ख्या बढ़ेर अरबौं-खरबौंको संघार पनि नाघ्ला नाघ्ला गरिसकेको छ । ती अरबौं-खरबौंको सूचीमा तपाईं र हाम्रो नाम पनि समावेश छ ।

‘सृष्टि़टर’बाट उत्पत्ति भएका यी मान्छे नामको दुईखुट्टे जन्तुभित्रका गियर, ब्रेक सबै बेकामे भइसकेका छन् । तर मान्छे भन्ने जनावरले गर्न नसक्ने केही छैन । दाउ पऱ्यो कि कसैलाई कर्याप्पै पार्न सक्छ, छुरी ऱ्वाम्मै रोप्न सक्छ, कसैको सुन्दर मुहारभरि एक डबका एसिड खन्याइदिन सक्छ । मुखमा सिरानी राखेर श्वास न वास पार्न सक्छ । के सक्दैन मान्छेले ? यसैले मान्छेभित्रको मानवताका गियर, ब्रेक सबका सब फेल ।

उहिले बाजे-बराज्यू भन्थे, “होइन… होइन मान्छेले यस्तो काम गर्न सक्दैन… किनभने मान्छे भनेको मान्छे हो । पशु होइन… संसारका तमाम् प्राणीभन्दा विवेकशील ठहऱ्याइएको प्राणी ।

ऋृषिमुनिहरू दाह्री मुसार्दै गम्भीर मुद्रामा भन्थे, “मान्छेमाथि विश्वास गुमाउनु महापाप हो ।”

हाम्रा बाजे-बराज्यू, ऋृषिमुनिहरूका कुराहरू अचेल काम लाग्दैनन् । ‘श्रापित सृष्टि़टर’बाट उत्पत्ति भएका अचेलका मान्छे भन्ने जन्तुलाई अपुग भन्ने केही छैन । सब छ । पहिलेभन्दा कता हो कता धेर वालछ्याल । तर आत्मीयता, विश्वास, भरोसा जति सबै निमिट्यान्नै भइसकेको छ । स्नेह, कर्तव्य, श्रद्धा-सम्मान भन्ने कुरो ता उहिलेको कुरा खुइलेर गयो भने झैं नै छ ।

‘श्रापित सृष्टि़टर’को प्रडक्ट अचेलका यी केट्केटीहरू आफैले आफैलाई ‘मान्छे’ बनाउने दौड़मा अविराम आफूलाई दुगुऱ्याइरहेका छन् । बढ़्दो उमेर, तात्तातो विशुद्ध सुगर फ्री रगत । पहिलेजस्तो अचेल गुरुहरू छैनन् । गुरुहरू नै नभएपछि गुरु आश्रमको कुरै आएन । तिनका स्थानमा ‘ट्यूटर’ र ‘ट्यूटोरियल’को ढलीमली । क्याटका क्याट नोटको बिटा फ्याँक, हाताहाती डिग्री किन ! ठूलो कम्पनी, गतिलो नोकरी । पालिश गरिएको झर्झराउँदो जीवन । आँखा तिरिमिरी पार्ने खालको ‘ड्रेसप’को, कस्मेटिकको, फाष्ट फुडको, स्टाइलको लिङ्गेपिङमा डोलायमान जीवन । ‘श्रापित सृष्टि़टर’बाट उब्जेका फुचुनाहरूको धाकै ठूलो । कुरै ठूलो । धाक लाउँदै डायलग हाँक्छन्, ‘हाम्रा कुरा उहिलेकाहरूले ठ्याम्मै बुझ्दैनन् । अचेलकाहरूले मात्रै बुझ्छन् । उहिलेकाहरू सबै ब्याकडेटेड् । अचेल हामी गाउँको दोकानमा जाँदैनौं । घरकै छेउको हाटबजारमा पस्दैनौं । सरकारी अस्पतालमा खुट्टै टेक्दैनौं । हाम्रो लागि सपिङ् मल र नर्सिङ होमहरू झरीको च्याउजस्तो जताजतै बनाइदिएको छ । हामी मान्छे पनि होइनौ । देवता ता झन् हुँदै होइनौं । हामी श्रापित ‘सृष्टि़टर’को अन्यतम उत्पादन ’कठपुतली’ ।

यी भूइँफुट्टेहरूको कुरा सुनेर भन्न मन लाग्छ, ‘ए श्रापित ‘सृष्टि़टर’का पेन ड्राइभहरू हो ! तिमीहरू कठपुतली मात्र होइनौ, तिमीहरू झ्याम्पुतलीका रगतका डल्ला हौ बाबु हो ! भित्र राश लागेको ’अहङ्कार’ लोड गरेर बबलगम जस्तो क्याच्याक्… क्याच्याक् चबाउँदै यो कम्पनीदेखि त्यो कम्पनी, यो कल सेण्टरदेखि त्यो कल सेण्टरतिर रल्लिँदा-रल्लिँदै एकदिन ढ्याङ् । अन्त्यमा हाते लागे शून्य ।’

नेट, इण्टरनेट । मोबाइल (मुट्ठीभाष ?) । उदासीन अभिभावकहरूका अत्यन्तै प्यारा लालाबालाहरू ढोका बन्द गरी एउटा कहालिलाग्दो सञ्जालमा दिन्हौं बेह्रिँदैछन् । फेसबुकको च्याटले सोह्र वर्षे बालाको ‘फेस’ दिनदिनै ओइलिसकेको कोपीको पातजस्तो हुँदै गएको बबुरा अभिभावकहरूलाई के थाहा ?

हामीलाई संसार चिनाउने हाम्रा यी लालाबालाहरू हामीभन्दा दोबर तेबर ज्ञानी भइसकेको कुरा नकार्न सकिन्न । हामीभन्दा ओभर बाट्ठो । तर्क गर्नमा खप्पीस । भन्छन्- ‘तिमीहरू भनेको मध्यवित्त । तिमेरको पालाको स्कूलमा, तिमेरकै पालाका गुरुहरूबाट, त्यै पालाकै त्यस्तै खाले पाठ्यपुस्तकहरू पढ़्यौं । गुरुहरूलाई ‘नमस्कार’ भन्दै शिर झुकायौं । हामी हाम्रा टिचरलाई ‘मर्निङ, इभिनिङ, बाई बाई, हल्लो हाय’ भन्छौं । तिमीहरूका निमित्त पिता परमेश्वर… आमा परमेश्वरी । भान्सा घरकी रानी ।

रक्सीको स्वाद चाख्न ता परै जावस् …गन्धसम्म सुँघ्ने आँट ठ्याम्मै गरेनौ । बर्थ डे भनेको कुन चराको नाउँ हो लुतो कनाइ केही गरेनौ । हामी ता बर्थ डे मनाउँछौं तन-मन-धन दिएर । हाम्रो बर्थ डेमा ड्रिङ्क्स भएन भने हाम्रो यो बर्थ डे पार्टी ड्राई हुन्छ ।”

जवाफ फर्काइ सक्नु छैन । मनमनै भन्न मन लाग्छ, ‘बाफरे बाफ् ! मैल्यै संसार चिनाउनु मलाई नै अर्ती दिने । तिमी असम्पूणर् मान्छे हौ बाबु ! के गर्नु यो धरतीमा भूमिष्ठ भयौ नानु ! तिम्रा भावना, तिम्रा विचार, आदर्श, तिम्रा इष्टदेवता सबै अरुहरूका फसल हुन् ।’

मनको कुरा बुझेर हो कि वा के ले हो को’नि तुरून्तै कटाक्ष निक्षेप भई ता हाल्छ यसरी- ‘पुरानो पापी ! हामी खेलाड़ी हौं । तिमीहरू खाइखेली ख्याक्, हामी पढ़ीलेखी ख्याक् । पाप-पुण्य, खाने कुरा नखाने कुरा, इष्ट देवता, वैरी देवता, पवित्र-अपवित्र केही बुझ्दैनौं (जान्दैनौं) । हामी असम्पूणर् मान्छे होइनौं… हामी अन्तर्राष्ट्रिय मान्छे…. आई मीन इण्टरनेशनल म्यान वी आर । हामी आकाश पथमा विचरण गर्छौं । म्यानेजमेण्टका खगड़ू हामी । कम्प्यूटरको भाषामा बोल्छौं, कम्प्यूटरकै आड़मा जिउँछौं । हामी ‘क्लास’ तिमीहरू ‘मास’ । संसारका सम्पूणर् आयोजन हाम्रै निम्ति मात्रै हो । किनभने हामीसित ‘पर्चेजिङ् पावर’ प्रशस्तै छ । हामी प्रेम गर्दैनौं, सेक्स गर्छौ । दामी-दामी स्ट्याटसले गौरववान्वित छौं हामी । तिमीहरूको भोज, हाम्रो पार्टी । हाम्रो जीवनमा साँझ र गहन रातबाहेक भुकभुके उज्यालो भन्ने छैन । हामी लाटोकोसेरो झैं रातिमात्रै खुल्लमखुल्ला बेफिक्री विचरण गर्छौं । त्यो नै हाम्रो गर्व हो… प्रेष्टिज हो । ‘मास’को निम्ति ‘बिहानको उज्यालो’, ‘क्लास’को निम्ति ‘मायावी रात’ ।

मुख चिलाएर आउँछ, भन्न मन ता लाग्छ नि- ‘देशको बारेमा पनि ता सोंच्नुपर्ने होइन बाबु ?’
कति बाट्ठो ! भूइँमा कुरा खस्न नदिई प्याच्चै बोली पठाउँछ- ‘देशको बारेमा सोंच्ने के काम ? देशले नै सोंच्छ हाम्रा कुराहरू । हामी स्वदेशमा छँदा हामी ‘क्लास’ हुन्छौं जब हामी विदेशको छात्तीमा पाइताला टेक्छौं त्यतिबेला हामी एनआरआई । कहाँ छौं, कस्तो छौं सोबारे केही थाहा छैन । हामी मनका राजा… फगत मनका राजा… श्रापित ‘सृष्टि़टर’का झर्झराउँदा प्रडक्ट ।’

आकाशतिर थुके आफ्नै मुखमा छिटा ।

सिलिगुड़ी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नबोल्ने वरदान

नबोल्ने वरदान

कृष्ण प्रधान
खोचे थाप्नु

खोचे थाप्नु

कृष्ण प्रधान
…छँदैछु नि !

…छँदैछु नि !

कृष्ण प्रधान
माथि…

माथि…

कृष्ण प्रधान
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x