बाबुराम न्यौपाने ‘उत्स’दान
“पाखण्डी, ढोंगी लेखक .... पाँच रुपैयाँ दान दिएर आफूलाई भुइँमान्छेको वकालत गर्ने देवदूत ठान्छ ।”

उनी प्रखर साहित्यकार थिए । उनको आर्थिक अवश्था सबल थियो । उनका लेख सिर्जनाले तहल्का मच्चाएका थिए । उनी भुइँ मान्छेका मार्मिक जीवन उधिन्न खप्पिस थिए । उनका सिर्जनाले राष्ट्रिय भूगोल छिचोलेर अन्तर्राष्ट्रिय क्षेत्रमै धाक जमाउँदै थिए ।
एकदिन उनको घरको गेटमा एक बृद्धअवस्थाको भीखारी हात जोडेर केही मागिरहेको थियो ।
साहित्यकार सिर्जनामा तल्लीन थिए ।
“म भोकै छु मालिक, मलाई केही दान दिनु न …।”
माग्नेको यो कारुणिक आवाजले लेखकको ध्यान खिच्यो ।
लेख्दालेख्देैको कलम हातमा लिएरै भिखारीलाई दिन लेखकले सर्टको गोजीबाट पैसा निकाले ।
भिखारीले ट्वाल्ल परेर साहित्यकारको अनुहार नियाल्यो र भन्यो-
“म सित्तैमा भीखमाग्ने भिखारी हुँइन । गरीब र समानताको विषयमा प्रखर रुपमा कलम चलाउने लेखकको व्यवहार बुझ्नुथियो, बुझेँ । म तिम्रो सिर्जनाको एक पाठक हुँ । मैले स्नातक गरेको चार दसक भयो । तिम्रो देखावटी साहित्य तिमीलाई नै उपहार भो । म गएँ…।”
लेखकले माग्नेको आकृति पर क्षितिजमा नडुबेसम्म एकटक हेरिरहे ।
माग्ने मनमनै भुत्भुताउँदै थियो- “पाखण्डी, ढोंगी लेखक …. पाँच रुपैयाँ दान दिएर आफूलाई भुइँमान्छेको वकालत गर्ने देवदूत ठान्छ ।”
दमक, झापा
Subscribe
Login
0 Comments
Oldest







































