‘संसार’ हेर्न जब नारद ऋषि ओर्लिए
विष्णुलाई जो भएको घटना बताए र आफूले बाह्र वर्ष व्यतित गरेको इतिवृत्त सुनाए ।
नारद ऋषिलाई ‘संसार’ भनेको कस्तो हुन्छ भनेर जान्ने इच्छा भएछ । पटक पटक विष्णुलाई भनेछन्- मलाई संसार भनेको के हो बताइदिनुस् न !
एक दिन विष्णु र नारद मत्र्यलोक घुम्न गएछन् भेष बदलेर । दिउँसो हिँड्दा हिंड्दा विष्णुलाई तिर्खा लागेछ । भनेछन्- “नारद, तिर्खा लाग्यो । नजिकै कुनै घर भए पानी मागेर ल्याऊ न ।” यति भनेर विष्णु चौतारोमा थकाइ मार्न बसेछन । नारद घर खोज्दै अलि पर पुगेछन् । केही बेर हिंडेपछि एउटा घर देखेछन् नारदले । आँगनमा पुगेर आवाज दिएछन् । घरभित्रबाट एउटी सुन्दरी युवती बाहिर निस्किन् । सुन्दरीलाई देखेर नारदले आफू पानी लिन आएको कुरा भुलेछन् र यता उताका कुरा गर्न अलमलिन थालेछन् । युवती पनि नारदसँग मस्किएर कुरा गर्न थालिन् । घरमा युवती बाहेक कोही रहेनछन् । युवतीका बा-आमा अघिल्लो वर्ष मात्र बितेका रहेछन् । एक्ली युवतीप्रति नारदलाई सहानुभूति भयो । कुरा गर्दै गर्दा उनीहरू बिच माया बसेछ । घरजम गर्ने नै निणर्य गरेछन् उनीहरूले । नारद जिम्मेवार पति बनेर घर गृहस्थमा डुबे । समय क्रममा उनीहरूको दुई छोरा पनि जन्म्यो । दिव्य बाह्र वर्ष बित्यो । त्यस ठाउँमा ठूलो बाढी आयो । बाढीले नारद र ती युवतीको गृहस्थलाई पनि असर पार्यो । घर गोठ लड्यो । बस्तुभाउ बगायो । नारद एउटा छोरालाई काँधमा राखेर र एक एक हातले अर्को छोरा र पत्नीलाइ समातेर बाढीबाट बच्न भाग्न थाले ।
जताततै पानी पानी थियो । पानीको बहाव तीव्र थियो । भाग्दा भाग्दै हातमा समातेको जेठो छोरालाई पानीले लफन्यायो । छोरालाई पानीले बगाएको देखेर समात्नलाई झम्टेका के थिए नारद काँधमा बोकेको कान्छो पनि पानीमा खस्यो । दुबै छोरा पानीमा बगेको देखेर पत्नी बिलौना गर्न थालिन् । बिलौना गर्न थाल्दा उनको हात पतिको हातबाट फुत्कियो र उनलाई पनि पानीले बगायो । पत्नी र दुबै छोराहरूलाई पानीले बगाएको देखेर नारद आहत भए ।
“मेरो छोरा”, मेरी पत्नी भन्दै नारद रुँदैरुँदै बहुलाहा जसरी दुगर्न थाले । दगुर्दा दगुर्दै नारद उही चौतारोमा पुगे, जहाँ विष्णु उनलाई पर्खिरहेका थिए तिर्खा लागेर । नारदले कहिले पानी ल्याउला र प्यास मेटुँला भनेर । नारदलाई देखेर विष्णुले भने- “नारद ! एक घडीभन्दा बढी भैसक्यो तिमीलाई पर्खेको । तिमी कहाँ पुगेका ? म यहाँ तिर्खाले आलस तालस भैसकें । विष्णुलाई देखेर नारद झल्याँस्स भए र आफू नारद भएको र पानी लिन भनी गएको कुरा सम्झे । विष्णुलाई जो भएको घटना बताए र आफूले बाह्र वर्ष व्यतित गरेको इतिवृत्त सुनाए ।
नारदको कुरा सुनेर विष्णुले भने- नारद, संसार भनेको यही हो । म असांसारिकको एक घडी बित्दा सांसारिकको बाह्र वर्ष बित्यो । तैपनि तिमी सांसारिकलाई समयको वोध भएन ।
घरकाहरूले दुबई गएको १० वर्ष बित्यो कहिले फर्किने भनेर सोध्छन् । आफूलाई र बल्ल शुरु भएजस्तो लाग्दैछ ।
थप स्पष्टीकरण : राम लाेहनीकाे स्टाटसले दिमागमा खलबली मच्याएकाेले यसकसाे भएकाे हाे भनिकन क्षमायाचना गर्दाभयाँ । बाँकीटाँकी जस अपसजस फित्काैलीकै थाप्लामा हालिदियाँ इति….. ।