जे. सागरकसले कब्जा गर्यो !
देशको नक्शा नाप्छ अनि छोरो प्रश्न गर्छ ! साँघुरिंदै गा'छ झन्झन् कसले कब्जा गर्यो ?

जे. सागर :
आफ्नै जस्तो लाग्दैन मन कसले कब्जा गर्यो !
मेरो मुटु मेरो धड्कन कसले कब्जा गर्यो !!
पर्खालसम्म पुग्नुहुन्छ अनि रुनुहुन्छ !
भन्नु’स न बा हाम्रो आँगन कसले कब्जा गर्यो ?
छोरीलाई फोन गर्छु हाइ ड्याडी भन्छे !
दर्शन ढोगको शिष्ट चलन कसले कब्जा गर्यो ?
देशको नक्शा नाप्छ अनि छोरो प्रश्न गर्छ !
साँघुरिंदै गा’छ झन्झन् कसले कब्जा गर्यो ?
आकाशतिरै हुन्छन् आँखा वृद्ध बा आमाका !
फर्किएन सन्तान यौवन कसले कब्जा गर्यो ?
ब्युँझिएर जसै छामें पानी पानी थिएँ !
सपनामा मेरो वदन कसले कब्जा गर्यो ?
हर प्रहरमा सुनामीको रौद्र रुप देख्छु !
‘सागर’को सहिष्णुपन कसले कब्जा गर्यो ?
०००
Subscribe
Login
0 Comments
Oldest








































