डा. छायादत्त न्यौपाने ‘बगर’बेचिइरहेको युवाशक्ति
सकुनि शैलीले देशको हुर्मत लिने र युवाहरू विदेश लखेटेर आफ्नो बाटो खुला राख्ने दाउपेचकै बोलबालाले देश लथालिङ्ग पारिरहेको छ ।
कनसुत्ले खेती गरेर हिँड्ने दिन बाँकी छन् हामीकहाँ ! ठुलै जनबल नभई जनबोली सुनिदैन । कानमा तेल थपिरहने प्रवृत्तिले उचित र आवश्यक माग पूरा गराउन पनि विशाल जनबल देखाएर विरोध शैलीले कम्फारो तात्ने गरी ठोक्नुपर्ने ! सकेसम्म गाली पुराणका धेरै अध्याय खर्चिनुपर्ने बाध्यकारी चलन! अर्कोतिर अरुलाई कुरीकुरी भन्दाभन्दै आफ्नो धोतीले ठाउँ छाडेको पत्तो नपाउने मनहुसहरूको भीड पनि उत्तिकै विष्णुमति किनारका मुलाझैँ मौलाइरहेको बढिरहेको छ ।
सभ्यता कुन चराको नाम ? शिष्ट, शालीन अभिव्यक्ति दिन कहिले सिक्ने ? आफू कुर्सीमा बस्दा भुसुक्क बिर्से हुने गलहत्तिएपछि होस खुल्ने पुरानो शैली बाँकी नै छ । बुढो बरबराउने ढुस्सी परेको शैली जीवितै छ ! यस्तो एकोहोरो मपाईले मलजल पाइरहने कहिलेसम्म ? आफै माला लाउने कतिले हो कहिलेसम्म ? सत्यतथ्यमा विश्वास कहिले गर्ने ? मेरा कुरा मेरो काम, मेरो भाषण सबै ठिक बाँकी सबै बकबक ठान्ने कहिलेसम्म ?
कुर्सी पाएपछि देश जनता, कूटनीति, मर्यादा सबै स्वाहा ! गलहत्तिएपछि छामछुम गर्ने यो कस्तो परिपाटी हो कहिलेसम्म रहिरहने ?
नवपुँजीवादी बेथितिको भेलमा बगेर पर उछिट्टिए पनि मार्क्सवादी दर्शनको भारी बोकेको देखिरहने हसिन सपनाका पारखीहरू स्खलित भएर टुकुचामा मिसिएको हेक्का राख्दैनन् । अब त चेते हुने नि वैज्ञानिक मार्क्सवादमा काती पार्नेको कठालो समातेर पारि पुगिदँन भनेर । विचारले बाँधिनुपर्छ, धमिलो सङ्लिनुपर्छ, तथ्यपूणर् अभिव्यक्तिले शालीन प्रस्तुति पाउनुपर्छ । आफ्ना तर्कले जनमन जित्न सके गाली पुराण च्यापिरहनु्पर्दैन । यो मर्म बरबराउने अवस्थामा पुगेको धङधङीले चाल नपाए पनि बहरका पछिल्ला खुट्टा बिचको फल झर्ला र स्वाद लिउँला भनी पछिपछि लागेको स्यालजसरी आफूलाई युवा भनेर पालो पर्खिरहेकाहरूले त बुझे हुने नि पर्खनुको पनि सीमा हुन्छ भनेर ।
हो, पर्खनुको पनि सीमा हुन्छ ! कहिलेसम्म पर्खिने हो ? कति वर्षसम्म युवा भइरहने हो ? कतिपटक हवस्बहादुर बन्ने हो ? कतै छ लिखितम ? कि सदाबहार युवा हुन पाएँ भनेर फुलेल भइरहेको ? अलिकति दूरदृष्टि, केही भित्री आँट, थोरै त्याग, वैज्ञानिक योजना, साथीहरूसँग पटकपटक विमर्श, सहअस्तित्व लिएर हिँडे गन्तव्य धेरै टाढा छैन भन्ने भाषणमा मात्र हो ? व्यवहारमा खै कहाँ छ ? केवल मनका लड्डु घिउसित खाएर ओछ्यानमा रमाउँदैमा युवा हुनुको कर्तव्य पुग्छ ?
धेरैले सधैंजसो फलाक्ने महावाणी ! हामी जनताको पिरमर्का सहन सक्तनौं । हामी देश र जनताको हितनिम्ति जुनसुकै मूल्य चुकाउन, आफूलाई बलिदान दिन तयार छौ ८ तर बिडम्बना पद-पैसाका लागि सिङ्गै देश भँड्खालोमा हालेर रमाउने जस्तो तुच्छ स्वार्थ लिप्साले रङ्गिएको फोहोरी अनुहार लिएर नेपाल आमालाई गिज्याइरहने ! आखिर कहिलेसम्म ?
राजनीति पेसा होइन सेवा हो भन्ने व्यवहारले तलब,भत्ता ,कमिसन ,घुस प्राप्तिका लागि छलकपट, धुर्त्याइँ,छुल्याइँ, पराइसामु लम्पसार जस्ता निकृष्ट हतकन्डासित रमाउने ? यस्तो कुकर्म गर्न सुहाउँछ कुशल नागरिक तथा असल राजनीतिज्ञलाई ?
सकुनि शैलीमा रमेर देशको स्वाधीनता खाइदिएर जनतालाई झुक्याएर महङ्गीको ढुङ्गाले ढाडमा हिर्काइरहने ? जनताको जीवन कसरी चलिरहेको छ भनेर कुनै राजनीतिकर्मीले चासो दिएको छ ? केवल भर्याङ बनाउने आफू उक्लेपछि छभाँचिदिने ! यही सकुनि शैलीले देशको हुर्मत लिने र युवाहरू विदेश लखेटेर आफ्नो बाटो खुला राख्ने दाउपेचकै बोलबालाले देश लथालिङ्ग पारिरहेको छ ।
यो आक्रोश नभई यथार्थ हो । यसलाई बुझ्रेर युवाले जाँगर देखाउन ढिला भइसकेको छ । जनता जगाउने पुवाले हो, इमानले हो, उत्साहले हो, योजनाले हो, कर्मले हो, दृष्टिकोणले हो । यसर्थ बेला छँदै मेला पस्न नहिचकिचाए हुन्थ्यो युवाशक्तिले ! अस्तु
पर्वत, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































