हरि खनालभुँडी एक्स रे
हिलोको भुँडी हेर्दा अचम्म लाग्यो । उनको भुँडीभित्र इँटा कारखाना, छालाजुत्ता कारखाना, कपडा कारखाना र कागज कारखाना देखियो ।

सरकारी अस्पतालमा हाजिर ठोकेर निजी अस्पतालमा पुग्नु हाम्रो कर्म हो । सरकारी अस्पतालमा स्रोतसाधन भए पनि छैन भन्नु र बेसरी ठूलो रकम लाग्ने जाँचको साधन छैन भनेर निजी अस्पतालमा पठाउनु हाम्रो धर्म हो । यस प्रकारको धर्म गर्दा सेवा कम भए पनि मेवा ज्यादा मिल्छ । सेवा त हाम्रो पेवा नै हो यसमा कसैले औंला ठड्याउनै सक्दैन र मेवाचाहिँ हाम्रो कमिसनको खेल हो र विश्वासको झेल हो । पैसै झार्नु त छ हामी नाक दुखेकालाई चाक दुखेको पनि बनाइदिन्छौं, रुघा लागेकालाई जुका लागेको लेखिदिन्छौं । अल्सर भए क्यान्सर देखाइदिन्छौं । जति ठूलो रोग देखायो उति रकम झर्छ र हाम्रो झोला भर्छ । सबैलाई भन्नुहुन्न तपाइँलाई मात्र खुसुक्क भनूँ है, अचेल नर्मल डेलिभरिलाई पनि हामी जटिल भनिदिन्छौं र समयभन्दा एकमहिना अगावै बोलाएर कैंचीले च्यार्रर पारिदिन्छौं । यस्तो काइदाले हुने फाइदाको वयान गरी साध्यै छैन । हिजो साँझ निकै रमाइलो भयो । एकजना महिला छाती दुख्यो भनेर आएकी थिइन् लिँडेमेसोमा परिछन् पाठेघर झिकेर फालियो । पछि त बबाल पो होलाजस्तो भयो धन्न, पाठेघर र छाती दुख्नेबीचको सम्बन्ध छ भनेर पठाइयो नत्र बबाल । यस्तो बबाल बेलाबखत हुने गर्छ हाम्रो अस्पतालमा कहिले जानेरै कहिले नजानेर ।
अँ कुरा गर्न लागेको आग्राको, सम्झना भएछ गाग्राको जस्तो भयो । म अर्को रमाइलो कुरा सुनाउन लागेको थिएँ आएछ अर्कै । यो पैसा झरल केस जुन सम्झियो त्यही रमाइलो लाग्छ, त्यसैले फुत्तफुत्त अर्कै अर्कै कुराले च्वास्स पार्छ । त्यो पाठेघरवाला महिलाको केस सकिनासाथ पाँचजना जति पुरुषहरू आइपुगे । सबैजना भुँडी छाम्दै आए ।
“लौन डाक्टरसाहेब ! पेट दुख्यो ।”
“सबैजनाको एउटै रोग ?” मैले सोधें । तपाइँलाई पनि अचम्म लाग्यो होला सुन्दै । एकजना टाइसुटमा थिए अर्काचाहिँ दौरा सुरुवालमा । तेस्रोचाहिँ थ्रि पीस, टाइ र टोपीमा थिए । एकजना थिए कुर्ता र धोतीमा । सबैजनाले एकैपटक भुँडी दुख्यो भन्दा पनि हाँसो उठ्यो । हाँसो थाम्नै गाह्रो । बल्लतल्ल हाँसो थामें र लाइनमा बस्न भनें । पाँचैजना झगडा गर्न थाले । लाइनमा को पहिले बस्ने भन्नेमा उनीहरूको मारामार भयो । के गर्ने म त डाक्टर रोगको न हुँ तर कहिलेकाहीँ मानसिक रोगको पनि इलाज गर्नुपर्छ ।
“लौ सबै दक्षिणतर्फ फर्केर बस्नुहोस् ।” मैले के भन्न भ्याएको थिएँ सबै सतर्क । म हाँसे मजैले । कस्तो स्वतन्त्रता ! उनीहरू जिल्लिए ।
“हैन तपाइँलाई हामी दक्षिणतिर फर्की भनेपछि तह लाग्छौं भन्ने कुरा थाहा थियो कि क्या हो ?” एकजनाले मुख फोरे ।
“हो नि त, तपाइँहरू रुघा लाग्दा पनि दक्षिणतिरै जाने मान्छेहरू आज पेट दुख्दा हाम्रो अस्पतालमा आइदिनु भयो यो नै आश्चर्य, त्यसमा पनि दक्षिण भन्नासाथ तपाइँहरूको पेट दुखाइ आधा कम भएजस्तो छ, हो कि होइन ?” मैले सोधें । उनीहरूले टाउको हल्लाए । मसँग हो भनेर टाउको हल्लाए तर आआपूm भने होइन, मैले कहाँ हो भन्याछु भनेर झगडा गर्न थाले ।
“अरे आपलोग क्या कररहे हो ? दक्षिणतरफ देखो ?” मैले आदेश के दिएको थिएँ सबै चुप । सबै चुपचाप मतिर फर्के मानूँ भूत आयो भनेर ठूलाले भनिदिँदा चुप लागेका बालकहरूजस्ता । उनीहरू चुप भएपछि मैले उनीहरूको परीक्षण सुरु गरें । सास फेर्दा पनि नाकले चुइँचुइँ गर्ने एकजना कालो टोपीवालालाई सुताएर स्टेथेस्कोप के लगाएथें पेटमा त अजीव चिज भएको अनुभूति भयो । त्यस्तै भयो बाँकी चारजनाको पनि । हैन के छ यिनीहरूको पेटमा ? म निकै चिन्तित भएँ । मैले उनीहरूलाई भिडियो एक्स रे कोठामा लिएर गएँ ।
पहिलोको भुँडी हेर्दा अचम्म लाग्यो । उनको भुँडीभित्र इँटा कारखाना, छालाजुत्ता कारखाना, कपडा कारखाना र कागज कारखाना देखियो । केहीबेरपछि त सिङ्गै नदी बगेको समेत देखियो, साझा बसका ताँती पनि उनैको पेटमा थियो । शाही नेपाल वायु सेवा निगमको जहाज उतै पखेंटा फिजाइरहेको थियो । घात र अन्तरघातका शुली पेटभित्रै थियो । आश्चर्यको कुरा त यो छ उनी आफैं बोले- “डाक्टर साहेब ! त्यो इँटा कारखाना अझै पचेको रहेनछ, त्यो कागज अझै गलेको रहेनछ । मान्छे त मासु खाने नै हुँ त्यति जाबो छालाजुत्ता कारखाना पनि पचेको रहेनछ । कहिलेकाहीँ त्यो नदी पनि रिसाएर हामीभित्रै बग्छ भन्या ।”
“हैन एक्स रे हेर्ने म, देख्ने तपाइँ ? कसरी भयो महाशय ?”
“यो मेरो पुरानो रोग हो । यो ठूलो रोग पनि हो । अझ कहिलेकाहीँ गृह समालेको बेलामा समातेर चट पार्न लागेका मान्छेहरू पनि पेटमा तेर्सिन आइपुग्छन् । कहिलेकाहीँ नोटको बिटो पनि आइपुग्छ ।” उनैले भने ।
“पर्खनुस्, म हेर्दै छु, त्यो पनि देखिन सक्छ ।”
“डाक्टरसाहेब ! त्यो नोटको बिटोचाहिँ झिकेर तपाइँ राख्नुहोस् न । मलाई के काम अब ? हेर्नुस् न मैले पनि आपैंm ल्याएको होइन त्यो पुख्र्यौली सरेको । तपाइँहरू नोटै लागि मरिहत्ते गर्नुहुन्छ, झिकेर राख्नुहोस् न ।” उनले उल्टै सल्लाह दिए । सुरुसुरुमा त बूढाले कुरो ठीकै गरेजस्तो लागेको थियो तर पछि पूख्र्यौली भनेपछि म झस्किएँ र नाइँ भनिदिएँ । हेर्दै जाँदा बुढाको पेटमा सबै कुरा देखियो । रगत जाँच गराउँदा राजनीति टाट र जनता नेगेटिभ देखियो । मैले तुरुन्तै दक्षिण हानिन रेफर गरिदिएँ ।
पालो आयो टाइसुटवालाको । उनीभित्र गाडीको लाइन देखियो । बन्दुक बोकेर लडेका असङ्ख्य मान्छेहरू देखिए ।
“त्यो गाडी र लडेका मान्छेको लाइन त सबैलाई थाहा छ तपाइँले भनेर पनि फरक परेन तर कतै नोटका बिटा देखिए र चुरोटका ठुटा भेटिए भने चाहिँ नभन्नुहोला । ”उनले कानमा फुसफुसाए ।
“लौ हजुर तपाइँको पेटमा तपाइँले भनेका कुराबाहेक अरू पनि छन् । मान्छेका सपनाहरूको पहाड छ र धोकाधडीको सागर छ । तपाइँको रोगको त यहाँ प्राथमिक उपचारमात्र सम्भव छ, तपाइँले कम्तीमा दुईवटा अस्पतालमा जानै पर्छ एउटा दक्षिणी अस्पताल अर्को उत्तरी अस्पताल । मैले भनिदिएँ उनी मुसुक्क हाँसे ।
कम से कम तपाइँले नाम लिइदिनुभयो केही हल्का भइहाल्यो । उता त जानु नै छ । यी सबै एकैचोटी जान खोज्छन् पालो नआउञ्जेल त दुखाइ कम गर्नु पर्यो नि ।” उनी मुसुमुसु हाँसे । केहीबेर अघि ऐया भनिरहेका उनी शान्त देखिए । उनको रगतको रिपोर्ट आयो हिंसा पोजेटिभ, सिद्धान्त स्खलन ।
म धोतीकुर्तावाला विरामीको एक्सरे गर्न थालें । उनको पेट झनै विचित्रको थियो । आयल निगम त्यहीँ, उद्योग वाणिज्य त्यहीँ, आपूर्ति पनि त्यहीँ, कहिलै सफा नभएको उनको पेटमा प्लेनका पखेटासमेत देखिन थाले ।
“किन चकित हुनुभएको ? पेट एक प्रदेश हो मेरो । एक प्रदेशमा धेरै कुरा हुनसक्छन् बरु मलाई दुखाइ कम गराइहाल्नुहोस् ।” उनले यसो भने र मुखबाट पिच्च रातो थुके । उनलाई ती चिज देखिएकामा कुनै फिक्री थिएन । उनी भन्दै थिए- “डाक्टर साहेब ! मेरो भुँडीमा तिनीहरूको भन्दा कम्ता चिज त देखिएन होला नि ?”
“के कम्ता हुन्थ्यो ? अटेसमटेस छ भित्र । ढुक्क हुनुहोस् ।”
“तब त इज्जत बच्यो ।” उनी जोडले हाँसे । उनको रगतको रिपोर्ट पनि आयो जुन देश नेगेटिभ, खान्की पोजिटिभ लेखिएको थियो ।
टोपीसहितको टाइसुटवाला विरामीको पालो आयो । उनको पेट अझ अर्को किसिमको थियो । पहिलै महाकाली देखिएको उनको पेटभित्र झण्डा पनि नदीको आधाभागमा गाडिएको थियो । नदीको हल्कोले झण्डालाई कहिले दायाँ त कहिले बायाँ पार्न खोज्थ्यो र उनको पेट चसक्क चसक्क गथ्र्यौ । उनका पेटभित्र स्थानीय निकायहरू जम्मैजसो देखिन्थे । उनको भित्र पनि मान्छेका सपनाहरूको पहाड थियो । प्राडोपजेरो बग्रेल्ती देखिए । पुरुष सुत्केरीहरूको सङ्ख्या पनि कम थिएन । झुटको पहाड निकै धारिलो थियो । आश्वासनको वायुको शूलले चस्सचस्स धक्का दिइरहेको थियो ।
“तपाइँले नोटको बिटो त देख्नु भएन होला नि ?”
”किन नदेख्नु हजुर ? तर अरूभन्दा कमै छ ।”
“भयो भयो भन्ने होइन, बरु दुखाइचाहिँ कम गराउनु पर्यो क्या ।”
“हजुरलाई पनि दक्षिणी वायुको पेटीले केहीबेर कसिदिन्छु तत्कालको लागि राहत पाउनु हुनेछ त्यसपछि उतै हानिनुपर्छ बुझ्नुभयो ?”
“हस् ।” उनले टाउको हल्लाए । उनको रगतको रिपोर्ट आयो आधा पोजेटिभ आधा नेगेटिभ । पाँचौ विरामीको एक्स रे सुरु भयो । उनको पेटमा वनजङ्गल थियो । जडीबुटीको चाङ थियो । राजाका भ्रमणताकाका राता कार्पेटका चाङ थिए ।
“हे महाशय ! तपाइँको पेटमा पनि अजब गजब छ । तपाइँको उपचार लाग्छ लाग्दैन थाहा छैन । तत्कालचाहिँ पशुपतिनाथको नाम लिनुहोस् ।” मैले भनें । उनले लामो सास ताने र एकैछिनमा मुसुक्क हाँसे ।
“किन हाँस्नु भयो नि कम भयो ?”
“अवश्य, तपाइँले जानेर पशुपतिको नाम लिनुभयो । मलाई चाहिँ विदेश रिफर नगर्नुस् नि ।”
“मलाई थाहा छ तपाइँलाई विदेश होइन म आर्यघाटमा रिफर गर्छु ।”
“किन आर्यघाट ? म मरेको ठान्नुभयो ?”
“होइन, कहाँ मरेको भनेको छु र मरणासन्न चाहिँ हुनुहुन्छ । त्यसकारण तपाइँ आर्यघाटमा जानुहोस् । पशुपतिनाथको कृपाले तपाइँलाई निको पनि त हुन सक्छ । यसभन्दा अघिमा चारजना सुइफुस भए भने तपाइँको जय !” मैले सल्लाह दिएँ ।
अन्तिम विरामीलाई बाहिर निकालेर हेर्दा त चारजना हिंडिसकेछन् । सुन्दैछु उनीहरू झगडा गर्दै निस्के अरे । झगडाको कारण को पहिला दक्षिण जाने भन्ने रहेछ । मलाई पनि ढुक्क भयो । यहाँ अरू विरामीको खल्ती खलास पार्ने धन्दा छोडेर म त्यस्ता लफडामा किन फस्ने ? साठी लाख तिरेर बनेको डाक्टर हुँ थोडी, बसको कण्डक्टर हुँ म ।
अस्तु ।
धादिङ
Subscribe
Login
0 Comments
Oldest








































