कृष्ण प्रधानमेरो प्याण्टे भुँड़ी
फेरि टाउकालाई चाहिँ छातीमाथि टाउकाको मुन्तिर भुँड़ीको ठाउँमा ऱाखिदिएको भए ? अनि टाउकालाई चाहिँ छातीमुन्तिर भुँड़ीको ठाउँमा राखिदिएको भए ?

‘भुँड़ी’ नाम शब्द हो । यसको शब्दकोशीय अर्थ हुन्छ, खाएका चीज जम्मै जम्मा हुने र पचाउने शारीरिक अङ्ग पेट, उदर, खाएका चीज रहने भित्री आन्द्रे थैली । संस्कृतमा भुँड़ी शब्दको शब्दगत अर्थ- ‘भ्रुण’ हुन्छ भने बङ्ला र हिन्दीको शब्दगत अर्थ हुन्छ ‘पेट’ ।
मेरो आफ्नै भुँड़ीबारे मेरा प्रिय पाठकगणसमक्ष बखान्ने योजना भएकोले अन्य कसैको भुँड़ीबारे बखान्ने मेरो मनसाय पटक्कै छैन । तर आफ्नो भुँड़ीको कुरा गर्दागर्दै अन्य कसैको भुँड़ीबारे बखान्नु परेछ भने पनि भक्कुमारी बखानिदिउँला । अर्काको भुँड़ीबारे बखान्दा बखान्दा खोइरो पनि खन्नुपर्ला सायद । गड़्यौला खन्दा साँप निस्किन पनि सक्छ वा कान तान्दा टाउको समेत आउन सक्छ ।
ठूलो ऐना अघि उभिएर मेरो आफ्नै भुँड़ीलाई एक तमासले हेर्छु- निर्निमेष । यो मेरो कुखुरे छातीको मुन्तिर गजधम्म बसेको छ । तलबाट दुइ-दुइवटा फिलाले यसलाई अड़्याएर राखेको छ । राख्नेले यो भुँड़ीलाई ठिकै ठाउँमा राखेको रहेछ भनी ढुक्क हुन्छु । अनि सोंच्छु कतै यो भुँड़ीलाई राख्नेले घिच्रामाथि टाउकोको ठाउँमा ठक्लक्कै अड़्याइदिएको भए ? फेरि टाउकालाई चाहिँ छातीमाथि टाउकाको मुन्तिर भुँड़ीको ठाउँमा ऱाखिदिएको भए ? अनि टाउकालाई चाहिँ छातीमुन्तिर भुँड़ीको ठाउँमा राखिदिएको भए ? शरीरको मध्यभागमा टाउको अनि टुप्पोमा भुँड़ी !
साँच्चै तपाईं-मेरो टाउको शरीरको मध्यभागमा भुँड़ीको ठाउँमा भएको भए कस्तो देखिन्थ्यो होला वा के हुन्थ्यो होला ? केही पनि हुन्थेन । तर यति चाहिँ हो, छेँड़ै छेँड़ भएको कि चाहिँ ढकनी भएको लुगा लाउनुपथ्र्यो । किनभने बाटामा हिँड़्दा चिनाजनासित बोल्नुपर्यो; हेर्नु पर्यो । अझ आइमाई मान्छेको भुँड़ी घिच्रामाथि राखिदिएको भए ? घिच्रामाथि बेलायती फर्सी राखिदिएको जस्तो हुन्थेन होला ? यसबारे हेनतेन नबखानेर आफ्नै श्रीमतीको भुँड़ीको कल्पना गर्नोस् एकक्षण भनी तमाम् लोग्ने जातिलाई सविनय आग्रह गर्दछु । साँच्चै मेरो भुँड़ी टाउकोको ठाउँमा राखिदिएको भए के हुन्थ्यो होला नि लै…लै । भनी तमाम् स्त्री जातिहरूले एकपल्ट घोरिएर सोचुन् भन्ने पनि मेरो सादर विन्ती छ ।
यसकारण, म रातदिन के सोंच्छु भने, राख्नेले भुँड़ी ठिक ठाउँमा राखिदिएर बिर्सिनै नसकिने गुण लाएको छ विश्वभरिका तमाम भुँड़ीवालहरूलाई । भालु बाँसको धिरीजस्ता मेरा दुइ-दुइवटा फिलामाथि र मेरो कुखुरे छातीमा मुन्तिर गजधम्म बसेको मेरो भुँड़ीसित म रुपियाँमा सोह्रै आना सन्तुष्ट छु । भुँड़ी शरीरको मध्य प्रदेश हो । शरीरको मध्यभागमा अवस्थित यो भुँड़ी फुटबल मैदानको सेण्टरजस्तो लाग्छ मलाई ।
मैले खाएका तमाम कुराहरू सोझै मेरै भुँड़ीमा थुप्रिन्छन् । काम लाग्ने कुरा जति बस्छ अनि काम नलाग्ने जति अनलोड । भैंसीको सिङ भैंसीलाई कहिल्यै गह्रौं हुँदैन भनेजस्तो मेरो भुँड़ीबारे मेरो कुनै गुनासो र आपत्ति छैन । भुँड़ी जत्रो अनुहार भए पो डर । मेरो अनुहार देखेर कोही तर्सेलान्, कोही घिनाउलान् वा मलाई मनै नपराउलान् भन्ने त्राही त्राही । अनुहार सुन्दर पार्नलाई फेसियल जिन्दावाद । लेडिज ब्यूटी पार्लरमा र जेण्टस पार्लर के को लागि ? कसैको भुँड़ी चाउरी परेको होस् कि कनाउँदा कनाउँदा भालुले कोतरेको जस्तो नै किन नहोस् वा दस ठाउँ मुजा परेको होस् वा चाउरी परेको होस् कि पैह्रो गएको पहाड़जस्तो होस् वा गर्भवती आइमाईहरूले गर्भावस्थाको समयमा आफ्नो भुँड़ी कन्याएपछि भुँड़ीभरि देखा पर्ने स्टे्रच मार्क नै किन नहोस् । केही फरकै पर्दैन । किनभने कसैले कसैको भुँड़ी कोट्याइ कोट्याइ हेर्ने होइन न कि लाएको लुगा तानी तानी कसैको भुँड़ी हेर्ने गर्दछ । यसैकारण, मेरो भुँड़ीप्रति कुनै गुनासो छ न कि विरोध नै । मेरो भुँड़ीप्रति मलाई असाध्यै माया छ, मोह छ ।
कुनै एउटा सरकारी कार्यक्रममा खिँचिएको फोटो फेसबुकमा अपलोड गरेको थिएँ भर्खरै । मेरा फेसबुके बान्धवीहरूले आ-आफ्ना पाराले मन्तव्य वा प्रतिक्रिया पोखेको पाएँ । ती मन्तव्य वा प्रतिक्रियाहरू निम्नानुसार थिए- ‘वाउ… सर नाइस पिक्चर..’ -यस प्रतिक्रिया वा मन्तव्यमा मलाई खुशी पार्न खोजिएको गन्ध ह्वास्स आयो । ‘आब्बो … सर ! भुँड़ी चैं सुहाएन है । सर ! भुँड़ी ता अलिकति घटाउनु नि हौ । के साह्रो माया गर्नुभाको प्याण्टे भुँड़ीलाई ?’- यो प्रतिक्रिया वा मन्तव्यमा तर्क छ; दर्शन छ । तर के गर्नु लागेको भुँड़ी काटेर फ्याँक्नु मिल्दैन । जे होस् यो मन्तव्य वा प्रतिक्रिया सुठी नै मन परेकोले तुरन्तै जवाब पनि लेखिहालेँ फेसबुकको टाइमलाइनमा- ‘के गर्नु (?) फलानु ! मलाई फापेको यही भुँड़ी मात्रै हो… मलाई जीवनमा मेरो भुँड़ी र मेरी बूढ़ी (श्रीमती) ता हो । साथीभाइहरू ता कोही ठ्याम्मै फापेनन् ।
खासै कुरा भन्नु हो भने, मलाई मेरो भुँड़ीबारे त्यस्तो खास कुनै चासो छैन । यो बढ्दा पनि के… घट्ता पनि के ? वा जङ्गली जनावरहरूका भुँड़ीजस्तै स्याप्पै भए पनि के नि ! मलाई राम्ररी थाहा छ भुँड़ी बढ़्नु अवश्य राम्रो होइन । यसभित्र रोग थुप्रिन्छ अनि रोगले सखाप पार्छ । सोबारे पनि मलाई पूणर् ज्ञान छ । तर जति गर्दा पनि भुँड़ी नघटेपछि कसको के लाग्छ र !
अर्की बान्धवी- ‘सर ! भुँड़ीन !!!!!’ ….. अर्की बान्धवी- ‘भुँड़ी चै लागेकै हो तपाईको सर ? न्वारानमा ता बोलाउनुहुन्छ होला नि ! हा…हा…हा…जष्ट कि़डिङ…..सर ।’ तुरन्तै जवाब लेखिहालेँ- ‘तिमारको जस्तो न्वारानमा बोलाउने खालको भुँड़ी होइन क्या मेरो यो भुँड़ी….।’ उत्तर आइ ता हाल्यो- ‘हा…हा…हा….आरिस लाग्यो हजूरलाई ? एनी वे हजूरको भुँड़ी कति घिनलाग्दो देखिन्छ नि अन्त । घटाउनोस् न है सर प्लीज ।’
फेसबुक टाइमलाइनमा आएका अनगिन्ति मन्तव्य वा प्रतिक्रियाहरूमा सबैले मेरो भुँड़ीकै बारेमा उदगार, दुःख मनाउ गरेको पाएँ । यो सबै मन्तव्य वा प्रतिक्रिया पढ़्दा वा बुझ्दा अचेल सबैले मान्छेको केही नहेरे पनि भुँड़ी चाहिँ अवश्यै नै हेर्दारहेछन् भन्ने कुरो मलाई छ्याङ्ङै भयो । खासमा आफ्नो भुँड़ीप्रति कुनै चासो नराख्ने मान्छे म । मेरा तमाम फेसबुके बान्धवीहरूले भुँड़ी घटाउनेबारे दिएका सल्लाह वा सुझाव आत्मसात वा शिरोपर गरेपछि अचेल मलाई मेरो भुँड़ी प्रति निकै चासो बढ़्न थालेको छ । सधैं विशाल ऐना अघिल्तिर उभिएर मेरो भुँड़ी एकपल्ट हेर्ने गर्छु । विशाल गोलाकार भुँड़ी मेरो । मेरो यो विशाल गोलाकार भुँड़ीभित्र थुप्रिएर बसेका अनेकन् रोगहरूले गुँड़ बनाइसकेका छन् । खाँचो छैन । मेरो भुँड़ी रोगको खानी नै सही; वास्ता छैन । तर मेरो यो भुँड़ीप्रति म अत्यन्तै गौरवान्वित छु । किनभने मेरो यो भुँड़ीभित्र बड़े-बड़े महानगरीमा गजधम्म भई बसेका भव्य-भव्य रेष्टुरेण्ट र क्याफेका चौरासी मिठाइला-मिठाइला अनि टेसिला-टेसिला तथा स्वादिला-स्वादिला व्यञ्जनहरूले वास पाइसकेका छन् । ठूल्ठूला भोजहरूले मेरो यो विशाल भुँड़ीमा लिङ्गेपिङ् खेलिरहेका छन् । विशेष गरी, मेरा तमाम फेसबुके बान्घवीहरूका नजरमा घिनलाग्दो देखिने मेरो यो भुँड़ीले गाउँ-घरको अन्त्येष्टि क्रिया, बिहे बटुल, न्वारान, भातखुवाइका पकवानहरू पचाइसकेको छ ।
अर्की बान्धवीको मन्तव्य वा प्रतिक्रिया- ‘आम्बो सर !! तपाईंको भुँड़ी र हाम्रो गाउँका नेता महोदयको भुँड़ी ता एउटै छ ता हन । सिण्टेक्सजस्तो भुँड़ी पालेर सरलाई पनि नेता हुने झोंक चल्यो कि क्या हो ? भुँड़ी घटाउनोस् सर घटाउनोस् । नत्र नेता र तपाईंमाझ केही फरक देखिन्न है सर…देखिन्न ।’
मेरो प्याच्चै जवाफ- ‘मेरो भुँड़ी र तपाईंका गाउँका नेता महोदयको भुँड़ीसित कुनै अवस्थामा पनि तुलना हुनै सक्दैन । मेरो भुँड़ी विशुद्ध भुँड़ी हो भने नेता महोदयको भुँड़ी खाँटी भ्रष्टाचारी भुँड़ी हो । मेरो भुँड़ी तपाईंको घर-आँगनमा ढकमक्क फुलेका सयपत्री हो भने तपाईंका नेताको भुँड़ी चाहिँ मधेसमा किसिम-किसिमका केमिकल मिसाएर जबरजस्ती फुलाउने सिन्थेटिक सयपत्री हो क्या !’
साँच्चै, हाम्रा नेताहरूका भुँड़ीभन्दा मेरो भुँड़ी पनि कम्ति ता छैन भन्ने मेरा फेसबुके वान्धवीहरूको मन्तव्य वा प्रतिक्रिया पढ़ेर मलाई हुनसम्मको गर्व लाग्न थालेको छ । मेरो भुँड़ी पनि विशालकाय अनि नेता महोदयहरूका भुँड़ी पनि विशालकाय । आकार र मोटाइका दृष्टिले हामी दुवैका भुँड़ी एउटै भए पनि दुवै भुँड़ीमाझ आकाशपातलको फरक भिन्नता छ । यी नेताहरूका ठूला विशालकाय भुँड़ीभित्र आजसम्म रम-रक्सी-ह्विस्की, जाँड़ बाहेक रड, सिमेण्ट, क्याटका क्याट नोटका बिटाहरू हुँड़ुलिरहेका हुन्छन् भने मेरो यो सोझो, सिधा, लाटा भुँड़ीभित्र आज रम-रक्सी आदिको एक थोपा परेको छैन न ता जाँड़का छोक्राहरू नै हुसरिएको छ । यी नेताहरूका भुँड़ी खाँटी मतवाली भुँड़ी हो भने म गर्व गरेर भन्छु फर्सीजस्तो मेरो यो भुँड़ी विशुद्ध ब्राह्मण भुँड़ी हो । कुनै अवस्थामा पनि मेरो भुँड़ी मतवाली र राउडिज भुँड़ी हुनै सक्दैन । नेताहरूका भुँड़ीमा अनेकन् तरुणीहरूका झर्झराउँदा कुमारीत्वका कौमार्य पच्नलाई छटपटिरहनुका साथै भ्रष्टाचारहरू तैँछाड़्-मैँछाड़् गरेर सल्बलाइरहेका हुन्छन् । आफ्नो सोर्स र फोर्सको आड़मा कैयन तरुणीहरूका आब्रुसित पौंठाजोरी गरी एबोर्सन गराइएका खातका खात प्रेसक्रिप्सन्स नेताहरूका विशालकाय भुँड़ीभित्र हुसुरिएका हुन्छन् भने विशाल जनसमुदायमा तिनै नेताहरूका मुखारविन्दबाट चेलीबेटी बेच-बिखन गर्ने अनि बलात्कारीहरू विरुद्ध लाखेस् फलाकिरहेका हुन्छन् । नेता महोदयको मुखारविन्दबाट प्रक्षेपण भएको यो लाखेस् सुनेर मधेसतिरका नर्सिङ होमतिर लाजै बेगर एबोर्सन गरेर आउने तरुणीहरूका गगनभेदी थपड़ी सँगसँगै साइसाइ र सुइँसुइँले विशाल जनसमुदायको गर्भ तुहेको अनुभव हुन्छ । सबै नेताहरूका भुँड़ी विशालकाय हुन्छ भन्ने पनि छैन । कति नेताहरूका ता भुँड़ी देखिँदै देखिँदैन पनि । स्याप्पै हुन्छन् जङ्गलको चितुवाको जस्तो ।
यी नेताहरू आफ्नै सहकर्मी नेताहरूका भुँड़ी ठूलो भएको पनि हेर्न चाहँदैनन् न कि आफ्नो भुँड़ी ठूलो बनाउने ताकमा नै हुन्छन् । यिनीहरू भुँड़ी बिगार्न होइन भुँड़ी सपार्नमा अत्यन्तै सिपालु हुन्छन् । यिनीहरू आफ्ना धम्की बलबुताको आड़मा मोटो रकमको छुरी चलाई बग्रेल्तै चिचिला भुँड़ीहरूमा डाकटरी छुरी चलाउन लाएर निर्बोध, निमुखा असहाय बालाहरूका भुँड़ी स्याप्पै पारिदिन्छन् । साँप पनि मर्ने लट्ठी पनि नभाँचिने । तर स्मरण रहोस् …मेरो विशालकाय भुँड़ीमा अद्यावधि छुरी चलेको छैन न ता अरुको भुँड़ीमा छुरा चलाउने मूर्ख प्रयास नै गरेको छु ।
भन्नु उसो होइन, कण्ट्रयाक्टरहरूका भुँड़ी पनि स्यानो ठूलो हुँदैन । यिनीहरूका विशालकाय प्याण्टे भुँड़ी र मेरो विशालकाय भुँड़ीमाझ पनि आकाश र धरतीको फरक र भिन्नता देखिन्छ । यी कण्ट्रयाक्टरहरूका भुँड़ीभित्र रड, सिमेण्ट अनि़ बालुवाका कणहरू रातदिन घोलिइरहेका हुन्छन् भने मेरो यो विशाल प्याण्टे भुँड़ीभित्र ग्रीन टि, रेड टि , ब्ल्याक टि छचल्किरहेका हुन्छन् ।
पुलिसको भुँड़ी देख्नुभएकै छ होला । देख्नुभएको छैन भने तपाईकै शहरका ट्राफिक पोइण्टमा ठिङ्ग उभिएर सिग्नल दिइरहेका ट्राफिक पुलिसको भुँड़ी धित मरिञ्जेल हेर्नोस् । तिनका भुँड़ी उछिट्टिएर गिद्दे पहा़ड़को डीलबाट झर्नै लागेको चट्टानजस्तो देखिन्छ । ओभरटेक, ओभरलोड, रङ साइड आदिले पुलिसको भुँड़ीभित्रको ट्राफिक जाम गरेपछि भुँड़ी नलागेर के लागोस् ता ! अझ उनको पेटी हेर्नुभाको छ हजूर ? काँकरभिट्टा-धरानको लोकल बसमा यात्रुहरू चमेराजस्तो झुण्डिएको झैं देखिन्छ । माथि जौँ भने भुँड़ीले ठेलेर उँधो नै पठाइदिन्छ अनि उँधो जौं भने नो म्यान्स ल्य़ाण़्डमा जाँकिनुपर्छ । एकजना पुलिसले ट्राफिक बिटमा दुइ-दुइ घण्टासम्म तुर्लुङै झुण्डेर बस्नु कम्ति ता गाह्रो पर्दैन । तर अचानोको पीर खुकुरीलाई के थाहा ?
डाक्टरहरुको भुँड़ी लागेको देखिए पनि सिष्टर्सको भुँड़ी लागेको मैले आजसम्म देखेको छैन । लागोस् पनि कसरी विचरा सिष्टर्सको भुँड़ी ! फ्लोरेन्स टाइटिङ्गेलका जेरक्स न ठहरिए । भनाइ नै छ नि, ‘जङ्गलमा विचरण गर्ने जनावरहरू अनि वार्डमा आठ-आठ घण्टा रोगीकै स्याहार सुसारमा अविराम सेवा पुऱ्याउनुका साथै यो बेडदेखि कुनाको बेडसम्म विचरण गरिरहने सिष्टर्सका भुँड़ी कहिल्यै लाग्दैन ।’ कुनै दिन कुनै पनि सिष्टरसित मेरो भेट भइहाल्यो भने पहिल्यै तिनको भुँड़ीलाई ढोग नगरी श्वासै बिसाउँदिनँ भन्ने अठोट गरेको छु । हेरुँ त्यो दिन कहिले आउने हो ? सिष्टर्सका भुँड़ी सिजनल भुँड़ी हुन् । सिजनको बेलामा मात्रै सिष्टर्सका भुँड़ी सिण्टेक्सजस्तो देखिन्छ । नत्र बाह्र मासै स्याप्पैको स्याप्पै ।
डाक्टरहरूका भुँड़ी ? अम्मुई…डाक्टरहरूका भुँड़ीको ता कुरै नगरे हुन्छ । डाक्टरहरूका भुँड़ी भन्नुहुन्छ ? प्रेशर कुकरमा हाले दस सिटीमा पनि नपाक्ने खालका भुँड़ी लिएर च्याम्बर धाउने डाक्टरहरू यतातिरका नर्सिङ होमतिर बग्रेल्तै देख्न पाइन्छ । यिनीहरूको भुँड़ी नलागोस् पनि कसरी ? अपरेशनको समय भइसक्यो… सिष्टर्स जति ओटीमा अपरेशनका सेमे सरजाम ठामठिम पारिसके… डाक्टर आफ्नै च्याम्बरभित्र रोगीहरूका सङ्ख्या गन्नमै मस्त र व्यस्त देखिन्छन् । च्याम्बरमै सिंहभाग समय फुर्मास गर्ने डाक्टरको भुँड़ी सिण्टेक्सजस्तो नभएर कसको होस् ता !
मेरो भुँड़ी विशाल बेलायती फर्सीजस्तो होला; मेरा शुभेच्छुकहरूका साथसाथै मेरो फेसबुके बान्धवीहरूलाई मेरो भुँड़ी ठ्याम्मै मन नपर्दो होला त्यसमा मेरो भन्नु केही छैन । बाघको मुख खाए पनि रातो नखाए पनि रातो भने झैं मेरो भुँड़ीले स्वइच्छाले विशाल आकार लिएको हो । भुक्तभोगीहरूको भनाइ नै छ नि, ‘विशाल भुँड़ी पर्सनालिटीको सङ्केत हो ।’ यो कुराले मलाई सञ्चो हुन्छ । तर फेसबुके बान्धवीहरू मेरो भुँड़ी देखेर बिच्केका, ठुस्केका, मन दुःखाएका देख्दा मनै खल्लो भएको कुरा किन ढाँटुँ ?
नेताहरूका भुँड़ीभित्र ढाँट आश्वासनका ढाँट कुराहरू जुकाजस्तै बटारिरहेका होलान् तर घिनलाग्दो असुहाउँदिला मेरो भुँड़ीभित्र छलकपटले वास बस्ने मौका भने आजसम्म ठ्याम्मै पाएको छैन । सत्ते होला, मेरो भुँड़ी जालझेल, छलकपट, कूटनीति, षड़यन्त्रको बोसोले यति विशाल भएको चाहिँ हुँदै होइन । तर मैले विशालकाय मेरो प्याण्टे भुँड़ी घटाउनै पर्ने भो भन्ने मलाई हुटहुटी लागेको छ अचेल । मेरा तमाम् फेसबुके बान्धव-बान्धवीहरूका इच्छा पूरा गरिदिनलाई पनि विशालकाय प्याण्टे भुँड़ी घटाउने अभम्यासमा लागिपरेको छु । एकजना फेसबुके बान्धवीले ता महिना दिनभित्रमा मैले मेरो प्याण्टे भुँड़ी घटाएर च्याण्टे बनाइनँ भने ब्लकसमेत गरिदिने लाखेस् समेत गरेकी छन् भने धम्की पनि दिएकी छन् ।
हे फेसबुके मेरा देख-अदेख बान्धवीहरू हो ! आदरणीय सिष्टर्सहरूका भुँड़ीहरूलाई साक्षी राखी के वचन दिँदैछु भने, चाहन्छु भने, आउने प्रोफाइल अपडेटमा मलाई जीरो फिगरमा देख्नुहुनेछ… । मलाई कथङ्कल जीरो फिगरमा नदेखिए मेरो यो प्याण्टे भुँड़ी आजीवन फेसबुके वालमा देखिने छैन …..।
एक देखिने छैन…. ।
दुइ देखिने छैन……।
तीन देखिने छैन…. ।
सिलिगुड़ी (भारत)
Subscribe
Login
0 Comments
Oldest








































