साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विकासे जालो

विकासे जालोभित्र जेलिन खोज्ने तर बाहिर निस्कन नचाहनेले जेलिएको ठाउँबाट नै अर्को जाल बुनेर आहतमाथि आहत थपेर राहतको जालो फिजाएका छन् ।

Nepal Telecom ad

नेपालमा विकासे जालो यत्रतत्र सर्वत्र फैलिएको छ । माकुराको जालोझैँ फैलिएको यो जालो कालो छ । यो कालो जालो सालोको सालोसम्म पुगेको छ । बालुवाको घर बनाउने यो विकासे जालोका बारेमा कालो माकुरोले समेत अध्ययन अनुसन्धान गरेर प्रतिवेदन आफैँ समक्ष पेश गरेको व्यहोरा गोरो माकुरोले स्याहा सदर गरेको कुरा विभिन्न कुरौटेहरूले जनाएका छन् ।

देशको प्रत्येक तहमा पुगेको यो विकासे जालो यतिबेला जथाभावी रूपले फालाफालको अवस्थामा पुगेर देशको अवस्था नै ‘ल्हासामा सुन छ कान मेरो बुच्चै’ को अवस्थामा पुगेको छ । यस्तो अवस्थाको विकासमा लागि परेका देशका काला सेता हरिया पहेला माकुराले यो असारको समयमा कसार बटारेर विकासकै विवाह गर्न लागि परेको तथ्य सत्य भएको छ । विकासमा घिरौला र माकुराको जालोले छेलोखेलो पारेको नेपालमा असारे विकासको जालो त अझ जोडतोडले जेलिएको छ । यो जालो मध्ये घिरौलाको जालोको कुरा गर्नु पर्दा पहिले गुदीले भरिए पनि पछि भने गुदी सुकेर जालोमात्र रहन्छ । शुरुमा गुदी देखिन्छ र खान पाइन्छ । पछि गुदी मासिएर जालो हुन्छ र खाँदा जिब्रोमा बिझाउँछ, दाँतमा अड्किन्छ र खानै सकिन्न । अहिले हाम्रालागि विकास त्यस्तै भएको छ ।

पाँच वर्षे राजनीतिक खेतीले फिजाएको यो जालो मनभित्रको कालो भएर देखिएको छ । बाहिरको गोरो स्वरूपको भित्री कालो जालोको बयान गरेर साध्य नै छैन । आराध्यदेव पशुपतिनाथ समेत यो जालो देखेर रिसाएका छन् । तर्सिएका छन् । जालो भित्र पनि अर्को जालो कसिएर नेपाली राजनीतिलाई बेरेको छ । जसका कारण कालो राजनीतिक गर्मी बढेर जालोले सर्वत्र स्थान पाएको छ । सेतो राजनीतिक नेतृत्वको काला मनका जाली कार्यकर्ता हातमा थाली लिएर हिडेपछि नेतृत्वको मन पनि फेरिदो रहेछ भन्ने कुराको अन्धमुष्टी भएको छ ।

मौरीको घार बनेर जारसँग मितेरी साइनो गाँसेर हातेमालो गर्नु पर्नेमा माकुराको जालो बनेर त्यही जालोमा सबैलाई फसाउँन उद्यत भएका अधर्मीहरू लाज सरम पचाएर बालुवाको हलुवा बिक्री गर्न अघि सरेका छन् । बालुवाको हलुवा खान तम्सिने हामी उल्लुराम भनौँ वा हुस्सुराम के भनौँ जाल बुन्ने कालसँग अङ्कमाल गर्न पुगेका हुन्छौँ । यो नै हाम्रो उच्च नैतिकता बनेको छ । यही नैतिकता प्रदर्शन गर्न सकेकोले हामी कालो राजनीतिमा विज्ञ ठहरिएका हौँ । विकासमा जाल बुनेर रैतीकालागि महाकाल बनेका छौँ । यो नै अहिलेको राजनीतिले गरेको महायोगदान हो भन्न म लाज मान्दिन । विश्व राजनीतिमा नेपालले गरेका यति महत्वपूणर् काम अरु कसैले गर्न सक्दैनन् र अहिलेसम्म गरेका पनि छैनन् । भनौँ नेपालले अरु देशलाई जाल बुन्ने राजनीतिमा अघि बढ्न दिएको छैन ।

अझ यो विकासे जालोको असारे भाकाको कुरो गर्ने हो भने ‘तातै खाऔ जल्दी मरुँ’ भन्ने उखानलाई दुःखानमा परिवर्तन गरेको छ । हामी नेपालीको टाउकोमा थोपरिएको ऋणको भारी यही विकासे जालोको परिणाम हो । विकासकालागि यहाँ एकहजार छुट्याइन्छ भने त्यहाँ तीनहजार खर्च देखाइन्छ, गरिन्छ । छुट्याइएको बजेट भन्दा तीनगुणा बढी खर्च गर्न थालेपछि जालोले भार थेग्न नसकेर भताभुङ हुन्छ । त्यही अवस्था छ हामीमा । भनौँ त्यो विकासे जालोले नेता, कार्यकर्ता, ठेकेदार, ठेकेदारका आफन्त सबै पालन पोषण गरेको छ । यो स्वतन्त्र तटस्थ र निष्पक्ष जालो नहुँदो हो त नेपालमा विकास नै शुन्य अवस्थामा पुग्थ्यो होला । जे होस् जालोले झट्केलो विकास भए पनि गर्न सकेकोमा औधि रुन मन लागेको छ । हाँसौ भने त्यो शक्ति दिने देवदेवीहरू आजसम्म उत्पति नै भएको देखिदैन । खुशी हुन पनि सकिएको छैन । किनभने विकासे जालोले खुशीभित्र ढुसी उमारेर दुर्गन्धित बनाएको छ ।

ढुसीको टुसा उमार्न सिपालु यो विकासे जालोको लहरो सिंहदरबारदेखि मुसा दरबारसम्म पुगेको छ । भूमिगत हुन खप्पिस मुसा लहरो चढेर भुइँदेखि सिंहदरबारको टुप्पोसम्म पुग्छ । सिंहदरबारका सिंहहरू भने निरीह प्राणीको शिकार खोज्न सधैँ आफ्नै पारामा दाह्रा तिखारेर बसेका हुन्छन् । यो पनि विकासे जालोको एउटा पाटो हो । कतिपय ठाउँमा त मुसाले यो विकासे जालोको लहरो काटेर हैरान पारेका छन् । मुसाको यो हर्कतका कारण सिंहदरबारका सिंहहरू हैरान भएका छन् । केन्द्रदेखि गाउँसम्मको सिंहदरबारमा सिंह पनि जालो बुन्ने त्यो जालो मुसाले काट्ने र मुसाले फेरि अर्को जालो बुन्ने प्रक्रिया निरन्तर जारी रहन्छ ।

घिरौलाको जालो अर्कोतिर महासमस्या बनेर तेर्सिएको समयमा माकुराको जालोले झन ठूलो जाल हानेर विकास नै निकास हुने गरी अर्को जालो बुनेको कारण नेपालमा विकासको अन्त्य भएको घोषणा हुने तरखरमा देश पुगेको छ । भनौँ यो देशको विकासलाई केही राजनीतिक व्यक्तित्वहरूले माछा मार्ने जालो थापेर जाल भरी माछा पारेर हाइसञ्चोले आराम गरिरहेका छन् । विकासमा जाल थापेर विनासको खेल खेल्ने संस्कार नयाँ होइन पुरानो हो । यो संस्कारभित्र पसेर रमाउनेहरू हिजो जस्तै आज पनि रैतीलाई मनको लड्डु घ्यूसँग खुवाई रहेका छन् ।

यो विकासे जालोभित्र जेलिन खोज्ने तर बाहिर निस्कन नचाहनेले जेलिएको ठाउँबाट नै अर्को जाल बुनेर आहतमाथि आहत थपेर राहतको जालो फिजाएका छन् । जुन राहतको जालो रैतीहरू समक्ष नपुग्दै बिच बाटोबाटै गायव हुन्छ र देशैभरि आहतको जालो ‘हिस्स बूढी हरिया दाँत’ भएर फैलिन्छ ।

उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
भू-शासन

भू-शासन

माधव पोखरेल गोज्याङ्ग्रे
लुट्यो डोजरले

लुट्यो डोजरले

माधव पोखरेल गोज्याङ्ग्रे
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
पाटी पार्टीका कुरा

पाटी पार्टीका कुरा

रामप्रसाद पन्थी
चोरहरु

चोरहरु

कृष्ण उफान
आश्वासन

आश्वासन

सुरेशकुमार पाण्डे
भाषण गर्न सिक्नुस् !

भाषण गर्न सिक्नुस् !

हरिशंकर परसाईं
समकालीन योगको ‘आसन’ र पेटको ‘भाषण’

समकालीन योगको ‘आसन’ र...

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x