डा. टीकाराम पोखरेलगुरु
घोक्रेठ्याक लगाइएका पागलहरूका प्रश्न गुरु, शिष्य र बाँकी दर्शकका कानमा गुञ्जिरहे । तर विवेक बन्धक भएका विद्वत् गुरु र शिष्यहरूसँग पागलहरूको प्रश्नको उत्तर भने थिएन ।
गुरु पूर्णिमाको दिन । गुरुहरूलाई भोजन, सम्मान र गुरुको गुणगान गाउने कार्यक्रम अयोजना गरिएको थियो । गुरु, शिष्य र केही दर्शक जम्मा भएका थिए । गुरुको महिमा सुरु भयो ।
उदघोषकले बोल्न सुरु गर्यो- “गुरु भनेका हाम्रो जीवनको अँध्यारो हटाउने हुन् । ‘गु’ को अर्थ हुन्छ अज्ञान वा अँध्यारो र ‘रु’ को अर्थ हुन्छ हटाउनु । गुरुले नै हाम्रो अज्ञानतालाई हटाएर हाम्रो जीवनलाई अँध्यारोबाट उज्यालोतर्फ पुर्याएका हुन् । गुरु नभएको भए आज हामी पनि अन्धकारमा हुन्थ्यौँ । आज हामी जहाँ छौँ त्यो गुरुकै कारण छौँ । गुरुसँग अथाह ज्ञान छ । संसारमा जति पनि ठूलाठूला डाक्टर, इन्जिनियर, पाइलट, व्यापारी, वुद्धिजीवी, दार्शनिक, कलाकार, साहित्यकार भएका छन् ती सबै गुरुकै कारण भएका छन् । त्यसैले आज हामी यहाँ गुरुको सम्मानका लागि उपस्थित भएका छौँ ।”
ताली बज्यो । गुरुहरूको अनुहारमा मन्द मुस्कान देखियो ।
कार्यक्रम सञ्चालकले एकपछि अर्को गर्दै वक्ताहरूलाई गुरुमहिमा गाउन बोलाइरहेका थिए । वक्ताको वाणी चलिरहेको थियो । दर्शकदीर्घाबाट एक जना फाटेको लुगा लगाएको मान्छे जुरुक्क उठेर बोल्न थाल्यो ः
“आयोजक महोदय, मैले पनि गुरुसँग नै शिक्षा लिएको हुँ । एउटै गुरुले पढाएको मसँगैको साथी इन्जिनियर भयो । उसको जीवन त उज्यालो भयो । तर त्यही गुरुले पढाएको म चाहिँ मजदूर नै छु । गुरुले हाम्रो जीवन उज्यालो बनाउने भए मेरो जीवन किन उज्यालो भएन । कि गुरु पक्षपाती हुनुहुन्छ ?”
अर्को बोल्यो- “मसँगै पढेको साथी शहरको ठूलो अस्पतालमा नाम चलेको डाक्टर छ । म चाहिँ कसरी त्यही अस्पतालको परिचर हुन पुगेँ उदघोषक महोदय ? कि एउटै गुरुले कसैलाई माथि लान्छन्, कसैलाई तल झार्छन् ?”
तेस्रो युवा बोल्यो- “गुरुका कारण नै सबै हुने भए संसारका खराब मान्छेका गुरु पनि खराबै थिए कि ? खराब खराब पढ्ने र पढाउने छुट्टै विश्वविद्यालय र त्यहाँ छुट्टै गुरुहरूको व्यवस्था गरिएको हुन्छ ?”
कुरा सुनिरहेको एक अधवैँशे बोल्न अगाडि सर्यो- “सुकरातका गुरु को थिए ? यदि सुकरातका पनि गुरु अरु कोही थिए भने ती गुरुका गुरु चाहिँ को थिए ? आइन्सटाइन, न्यूटन, चार्ल्स डार्विन, कार्ल माक्र्स र फ्रायडका गुरु को को थिए ? किन दुनियाँले ती महान शिष्यका गुरुहरूको नाम जान्दैन ? गान्धी र मदर टेरेसाहरू कुन गुरुका उपज हुन् ? हिटलर, मुसुलोनी र विन लादेनहरूलाई कुन गुरुले नरसंहारको शिक्षा दिएका हुन् ? यी सबका गुरु थिए भने पक्कै आआफ्ना शिष्य भन्दा काबिल थिए होलान् ?”
उत्तर कोहीसँग थिएन । सभा सुनसान थियो ।
अनुभवले खारिएको एक वृद्ध दर्शक दीर्घाबाट आएका कुरा ध्यानपूर्वक सुनिरहेका थिए । उनी अगाडि गएर बोल्न थाले- “हरेक मान्छेको सच्चा गुरु आफू स्वयम् हो । को मान्छे के बन्ने ऊ स्वयमका कारण मात्र बन्न सक्छ । त्यसैले पूजा गर्छौै आफैँलाई गर, घृणा गर्ने भए पनि आफैँलाई गर । प्रशंसा गछौँ वा गाली त्यो स्वयमलाई गर । तिम्रो जीवनको सफलता र असफलता तिमीसँगै छ । त्यसैले तिम्रो प्रतिस्पर्धा तिमी आफैँसँग गर । किन कि तिम्रो गुरु, चेला, प्रतिपर्धी, भाग्य जे हौ सबै तिमी स्वयम् नै हौ ।”
वृद्धको कुरा आयोजकलाई त्यति जँचेन । कार्यक्रमको सभाध्यक्षले सभासनबाट जुरुक्क उठेर आदेश दियो- “गुरु पूणर्िमाको यस पावन अवसरमा गुरुविरुद्ध विष वमन गर्ने यस्ता पागलहरूलाई घोक्रेठ्याक लगाएर तुरुन्तै यस सभाबाट बाहिर निकालिहाल ।”
दुई जना आज्ञाकारी शिष्य सभाध्यक्षको आदेश तामेल गर्न दौडिए । गुरु विरुद्ध आगो ओकल्नेलाई घोक्रेठ्याक लगाइहाले ।
गुरु पूर्णिमाको कार्यक्रम निरन्तर चलिरह्यो ।
घोक्रेठ्याक लगाइएका पागलहरूका प्रश्न गुरु, शिष्य र बाँकी दर्शकका कानमा गुञ्जिरहे । तर विवेक बन्धक भएका विद्वत् गुरु र शिष्यहरूसँग पागलहरूको प्रश्नको उत्तर भने थिएन ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest









































