साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मच्छरका सन्तान

परिवर्तनका नाममा यथास्थितिवादलाई अगालेर प्रगतिशीलताको नारा घन्काउन लाज नमान्ने मच्छरहरू यतिबेला सम्पूर्ण प्रगतिवादी, लोकतन्त्रवादी र गणतन्त्रवादीहरूको मन मष्तिष्कबाट दुच्छरासनमा पुगेका छन् ।

Nepal Telecom ad

मच्छरको सन्तानोपादनका समयमा देशमा घर बाहिरका र भित्रका विभिन्न खाले मच्छरहरूको चलखेल बढ्दै गएको छ । आफ्नै सन्तान उपर जाइलाग्ने लामखुट्टे र छोटा खुट्टे मच्छरहरूको जमातले देश ढाकेको छ । मच्छरहरूले सिंगो देश नै तहस नहस पारेको समयमा दसतिर चरेर घरभित्र पसेपछि रोगको प्रकोप बढेको छ । मच्छरका कारण विभिन्न प्रकारका रोगले सदियौँदेखि देशलाई थला पारेको छ । यसरी थला पार्ने रोग मध्ये उक रोग हो गरिबी । मच्छरका सन्तान जहिले पनि मच्छर नै भएर जन्मेका हुन्छन् । उडुस, उपियाँ, झिंगा, कमिला लगायतका किटपतङ भएर जन्मन्छन् । न त अर्को चुसाहा जुका नै भएर जन्मन्छन् । यतिसम्म गर्छन कि मच्छरका सन्तानले झुलभित्र लुक्दा पनि भित्र पसेर कानमा गीत सुनाउँदै गालामा किसखान तँछाड मछाड गर्छन् ।

अस्तिदेखि मच्छरको साम्राज्यले गाँजेको हाम्रो देशमा आज पनि एकनासले गाँजिरहेको छ । मच्छरहरूको चङ्गुलबाट उम्कन हामी नेपालीहरूले कैयौ पटक प्रयास गर्‍यौँ । तर पनि मच्छरहरू नै अघि सरेर समाजका मच्छरहरूलाई पाखा लगाउने निहुँमा आफैँ देशकै नामुद मच्छर भएर हाम्रा अगाडि देखापरेका छन् । यी नामुद मच्छरका कारण देशमा अनिकालको सम्भावना बढेको छ । खानका हन्तकाली रूपका दन्तकाली मच्छरहरूको यो देशमा हालीमुहाली सधैँ रहने हो भने हामी झुलभित्र बस्ने अर्का थरिका मच्छरहरूको औचित्य नै समाप्त भएर जानेछ । झुलभित्र बस्ने अर्काथरिका मच्छरहरू पनि कम छैनन् । आफुले हेप्न सक्नेलाई हेपेर चुस्न पछि पर्दैनन् । सिंहदरबादेखि मुसादरबारसम्म पुगेका खैराती मच्छरहरूको जमातले आफू जन्मने ठाउँ आफैँले मासेर अरुले नदेख्ने ठाउँमा नयाँ मच्छर जन्माउनका लागि कालो जालो सहितको व्यवस्था गरिरहेका छन् ।

नेपालमा बसोबास गर्ने आयातित भारतीय मच्छरको जमातभित्र अर्गानिक नेपाली मच्छरको अस्तित्व नै हराएको छ । समान सामाजिक परिवेशको वातावरण सिर्जना गर्ने नाममा विभेदका स्वरहरू निकालेर आफ्नो कालो जालोयुक्त कर्तुतलाई लुकाएर सुकिलो देखिने घृष्टता गर्न पनि मच्छरहरू पछि पर्दैनन् । भनौँ मच्छरहरू आ आफैँमा चुसाचुस गर्न ज्यादै खप्पिस छन् । अलिकति ठाउँ भेट्यो कि चुसाचुस गरेर आफ्नो वंशिय गुण देखाउँछन् ।

सफा सुग्घर ठाउँलाई फोहरमा परिणत गरेर त्यही फोहरको राजनीति गर्न सिपालु मच्छरहरू समाजमा अत्यन्त दुच्छर बनेर ‘बाँदरको पुच्छर लौरो न हतियार’ बनेर जोकरको रूपमा देखा परेका छन् । जनै पूणर्िमाको भोलिपल्ट मनाइने गाईजात्रा बिर्साउने मच्छरका पुच्छरहरू नेपाली राजनीतिमा दुच्छर बनेर गाउँ घुम्न थालेका छन् । समाज परिवर्तनका बाधक बनेका मच्छरहरू सिंगाने भेडो झैँ बनेर एकोहोरो रूपले शासन गरिरहेका छन् । अर्कोतिर यी मच्छरहरू यतिबेला देशमा पञ्चभलाद्मी बनेर संयुक्त शासनमा आसन जमाएर राशन थुपार्न मस्त र व्यस्त छन् । हामीलाई चुसेर आफ्नो दुनो सोझ्याउन खप्पिस मच्छरहरूले दुच्छर बनेर हाम्रो माग कुल्चेका छन् ।

आफूहरूले जस्तो शिक्षा लिए सन्तानलाई पनि सोही शिक्षा दिएर वंशवृद्धिको अभियानमा लागेका मच्छरहरूले संगीतका भरमा हामीलाई लठ्ठ पारेर झुलभित्र पसेर चुस्नु चुसेका छन् । व्यापारी, जागिरे, नेता, डाक्टर, वकिल सबैले आ आफ्नो हैसियत र बलबुता अनुसार खुला रूपले हामीलाई फकाएर हामीले थाहै नपाउने गरी चुसेका छन् । यिनीहरूले भोलिका दिनमा हाम्रा सन्ततीलाई समेत चुसेर सुकेको पराल जस्तो बनाउने छन् । मच्छरको साम्राज्यमा धमिरा, घुन, उडुस, उपियाँ, लामखुट्टे सबै छन् । चुसाहा प्रवृतिका यी सबै किराले समाजमा घुसपैठ गरेर आफ्नो हैकमलाई सामन्तवादको नमुनाका रूपमा प्रस्तुत गरेका छन् ।

मच्छर हाम्रो घरभित्र मात्र होइन घर बाहिर सात समुन्द्रपार पुगेर पनि आफ्नो चुसाहा प्रवृतिलाई निजि विशेषताका रूपमा प्रस्तुत गर्न पछि पर्दैनन् । आफैँ झुलभित्र लुकेर बस्ने मच्छरहरूलाई अर्को मच्छरले आएर संगीत सुनाउँदै किस खाएर लठ्ठ पार्छ र थाहै नपाई अंश लिएर कुलेलम ठोक्छ । कानमा मन्त्र फुकेर हामीलाई झुकाउन सक्ने हैसियत भएका लामाखुट्टे र छोटाखुट्टे मच्छरले हाम्रो श्रम पसिना रगत मात्र होइन दिमाग समेत चुसेर हामीलाई रस निचोरेको कागती जस्तो बनाएका छन् । तर पनि हामी यिनै मच्छरहरूलाई पूजा गरेर भेटीघाटी चढाउँछौ । जसका कारण मच्छरहरूले हामीलाई चुस्न सहज भएको छ ।

यतिबेला गाउँको वडादेखि नै मच्छरहरू सक्रिय भएर हामीलाई चुसिरहेका छन् । हामीलाई चुस्न हामीले नै मच्छरहरूलाई प्रोत्साहन गरे जस्तो भएको छ । आखिरी कुनै न कुनै मच्छरलाई हामीले हाम्रो वडाको घोडामा सवार गराएकै छौँ । हामीले नै घोडामा चढाएर सवार गराउने अनि हामीलाई नै वडाका घोडाले टापले कुल्चदै हिंड्ने हिजोको रैथाने संस्कृतिलाई दुवो मौलाए झैँ मौलाउने अवसर दिएका छौँ । भनौँ मच्छरको पालन पोषणमा हाम्रो पनि प्रत्यक्ष अप्रत्यक्ष रूपले योगदान छ । आफैले पालेको कुकुरले आफैलाई टोक्छ भन्ने बुढा पुरानाको उखान अहिले आएर यी मच्छरहरूले सबैलाई चरितार्थ पारेर प्रयोगात्मक रूपमा देखाएका छन् ।

मच्छरहरूको प्रयोगशालाको रूपमा चिनिएको नेपाली भूुमिमा सदियौँदेखि उडुस,उपियाँ, लामखुट्टे, छोटाखुट्टे, चारखुट्टे, दुईखुट्टे सबैखाले मच्छरको समाजमा उपस्थिति हुन्छ र तिनीहपनि प्रयोगशालाकै रूपमा आजसम्म पनि नेपाली भूमिले चर्चा पाएको छ । इतिहासका मच्छरहरूका सन्तान अझै पनि आफ्ना पुर्खाको बिडो थामिरहेका छन् । भनौ इतिहासको अवशेषका रूपमा गाउँ नगरतिर ती मच्छरहरू सल्बलाई रहेका छन् । जसलाई हामी दुच्छर मच्छरका सन्तान भनेर चिन्छौँ ।

भनौँ सम्माननीयदेखि लिएर अपमाननीयसम्म मच्छरै मच्छर छन् । माननीय, हाननीय, खाननीय, घीननीय, चुसनीय मच्छरज्यूहरू देश प्रदेशदेखि घरदेशसम्म मैलिएर फैलिएका छन् । सुकिलिएर फैलने त हैसियतै बनाउन सकेनन् । किनभने मच्छरको जात नै जहिले पनि फोहरमा बसेर रमाउने, कमाउने अनि विपक्षीलाई फसाउने, आफ्नालाई बचाउने स्वभावमा सिंगारिएको हुन्छ ।

परिवर्तनका नाममा यथास्थितिवादलाई अगालेर प्रगतिशीलताको नारा घन्काउन लाज नमान्ने मच्छरहरू यतिबेला सम्पूर्ण प्रगतिवादी, लोकतन्त्रवादी र गणतन्त्रवादीहरूको मन मष्तिष्कबाट दुच्छरासनमा पुगेका छन् ।

अब भोलिका दिनमा मच्छरहरूका विरुद्ध उडुस, उपियाँ, लामखुट्टे, छोटाखुट्टे, जुका लगायतका चुसाहाहरूले नारा जुलुस लगाए भने देशमा अर्का प्रजातीको मच्छरहरूका लागि मेसको व्यवस्था नहोला भन्न सकिन्न । तर म सबै खाले मच्छर अतिवादी, मच्छरको स्वार्थ फोहरमा, फोहर नगरौ सुग्घरी बनौँ । फोहर बढे धनको क्षति सुग्घर भए धन बढ्छ अति भन्छु । किनभने मच्छरहरू भ्रष्टाचारजन्य फोहरी काम गर्छन् । त्यसैले मच्छर ज्यूको पराजय होस् ।

उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
नेपाल कछुवा दल

नेपाल कछुवा दल

माधव पोखरेल गोज्याङ्ग्रे
जालझेल

जालझेल

माधव पोखरेल गोज्याङ्ग्रे
व्यशासन भित्रको कुशासन

व्यशासन भित्रको कुशासन

माधव पोखरेल गोज्याङ्ग्रे
नगरगाउँका सिंहमहाराज

नगरगाउँका सिंहमहाराज

माधव पोखरेल गोज्याङ्ग्रे
मलाई मनपर्ने दलको दाल

मलाई मनपर्ने दलको दाल

रामप्रसाद अर्याल ‘अविराम’
माथिको आदेश

माथिको आदेश

राजेन्द्र पुडासैनी
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x