माधव पोखरेल गोज्याङ्ग्रेमच्छरका सन्तान
परिवर्तनका नाममा यथास्थितिवादलाई अगालेर प्रगतिशीलताको नारा घन्काउन लाज नमान्ने मच्छरहरू यतिबेला सम्पूर्ण प्रगतिवादी, लोकतन्त्रवादी र गणतन्त्रवादीहरूको मन मष्तिष्कबाट दुच्छरासनमा पुगेका छन् ।

मच्छरको सन्तानोपादनका समयमा देशमा घर बाहिरका र भित्रका विभिन्न खाले मच्छरहरूको चलखेल बढ्दै गएको छ । आफ्नै सन्तान उपर जाइलाग्ने लामखुट्टे र छोटा खुट्टे मच्छरहरूको जमातले देश ढाकेको छ । मच्छरहरूले सिंगो देश नै तहस नहस पारेको समयमा दसतिर चरेर घरभित्र पसेपछि रोगको प्रकोप बढेको छ । मच्छरका कारण विभिन्न प्रकारका रोगले सदियौँदेखि देशलाई थला पारेको छ । यसरी थला पार्ने रोग मध्ये उक रोग हो गरिबी । मच्छरका सन्तान जहिले पनि मच्छर नै भएर जन्मेका हुन्छन् । उडुस, उपियाँ, झिंगा, कमिला लगायतका किटपतङ भएर जन्मन्छन् । न त अर्को चुसाहा जुका नै भएर जन्मन्छन् । यतिसम्म गर्छन कि मच्छरका सन्तानले झुलभित्र लुक्दा पनि भित्र पसेर कानमा गीत सुनाउँदै गालामा किसखान तँछाड मछाड गर्छन् ।
अस्तिदेखि मच्छरको साम्राज्यले गाँजेको हाम्रो देशमा आज पनि एकनासले गाँजिरहेको छ । मच्छरहरूको चङ्गुलबाट उम्कन हामी नेपालीहरूले कैयौ पटक प्रयास गर्यौँ । तर पनि मच्छरहरू नै अघि सरेर समाजका मच्छरहरूलाई पाखा लगाउने निहुँमा आफैँ देशकै नामुद मच्छर भएर हाम्रा अगाडि देखापरेका छन् । यी नामुद मच्छरका कारण देशमा अनिकालको सम्भावना बढेको छ । खानका हन्तकाली रूपका दन्तकाली मच्छरहरूको यो देशमा हालीमुहाली सधैँ रहने हो भने हामी झुलभित्र बस्ने अर्का थरिका मच्छरहरूको औचित्य नै समाप्त भएर जानेछ । झुलभित्र बस्ने अर्काथरिका मच्छरहरू पनि कम छैनन् । आफुले हेप्न सक्नेलाई हेपेर चुस्न पछि पर्दैनन् । सिंहदरबादेखि मुसादरबारसम्म पुगेका खैराती मच्छरहरूको जमातले आफू जन्मने ठाउँ आफैँले मासेर अरुले नदेख्ने ठाउँमा नयाँ मच्छर जन्माउनका लागि कालो जालो सहितको व्यवस्था गरिरहेका छन् ।
नेपालमा बसोबास गर्ने आयातित भारतीय मच्छरको जमातभित्र अर्गानिक नेपाली मच्छरको अस्तित्व नै हराएको छ । समान सामाजिक परिवेशको वातावरण सिर्जना गर्ने नाममा विभेदका स्वरहरू निकालेर आफ्नो कालो जालोयुक्त कर्तुतलाई लुकाएर सुकिलो देखिने घृष्टता गर्न पनि मच्छरहरू पछि पर्दैनन् । भनौँ मच्छरहरू आ आफैँमा चुसाचुस गर्न ज्यादै खप्पिस छन् । अलिकति ठाउँ भेट्यो कि चुसाचुस गरेर आफ्नो वंशिय गुण देखाउँछन् ।
सफा सुग्घर ठाउँलाई फोहरमा परिणत गरेर त्यही फोहरको राजनीति गर्न सिपालु मच्छरहरू समाजमा अत्यन्त दुच्छर बनेर ‘बाँदरको पुच्छर लौरो न हतियार’ बनेर जोकरको रूपमा देखा परेका छन् । जनै पूणर्िमाको भोलिपल्ट मनाइने गाईजात्रा बिर्साउने मच्छरका पुच्छरहरू नेपाली राजनीतिमा दुच्छर बनेर गाउँ घुम्न थालेका छन् । समाज परिवर्तनका बाधक बनेका मच्छरहरू सिंगाने भेडो झैँ बनेर एकोहोरो रूपले शासन गरिरहेका छन् । अर्कोतिर यी मच्छरहरू यतिबेला देशमा पञ्चभलाद्मी बनेर संयुक्त शासनमा आसन जमाएर राशन थुपार्न मस्त र व्यस्त छन् । हामीलाई चुसेर आफ्नो दुनो सोझ्याउन खप्पिस मच्छरहरूले दुच्छर बनेर हाम्रो माग कुल्चेका छन् ।
आफूहरूले जस्तो शिक्षा लिए सन्तानलाई पनि सोही शिक्षा दिएर वंशवृद्धिको अभियानमा लागेका मच्छरहरूले संगीतका भरमा हामीलाई लठ्ठ पारेर झुलभित्र पसेर चुस्नु चुसेका छन् । व्यापारी, जागिरे, नेता, डाक्टर, वकिल सबैले आ आफ्नो हैसियत र बलबुता अनुसार खुला रूपले हामीलाई फकाएर हामीले थाहै नपाउने गरी चुसेका छन् । यिनीहरूले भोलिका दिनमा हाम्रा सन्ततीलाई समेत चुसेर सुकेको पराल जस्तो बनाउने छन् । मच्छरको साम्राज्यमा धमिरा, घुन, उडुस, उपियाँ, लामखुट्टे सबै छन् । चुसाहा प्रवृतिका यी सबै किराले समाजमा घुसपैठ गरेर आफ्नो हैकमलाई सामन्तवादको नमुनाका रूपमा प्रस्तुत गरेका छन् ।
मच्छर हाम्रो घरभित्र मात्र होइन घर बाहिर सात समुन्द्रपार पुगेर पनि आफ्नो चुसाहा प्रवृतिलाई निजि विशेषताका रूपमा प्रस्तुत गर्न पछि पर्दैनन् । आफैँ झुलभित्र लुकेर बस्ने मच्छरहरूलाई अर्को मच्छरले आएर संगीत सुनाउँदै किस खाएर लठ्ठ पार्छ र थाहै नपाई अंश लिएर कुलेलम ठोक्छ । कानमा मन्त्र फुकेर हामीलाई झुकाउन सक्ने हैसियत भएका लामाखुट्टे र छोटाखुट्टे मच्छरले हाम्रो श्रम पसिना रगत मात्र होइन दिमाग समेत चुसेर हामीलाई रस निचोरेको कागती जस्तो बनाएका छन् । तर पनि हामी यिनै मच्छरहरूलाई पूजा गरेर भेटीघाटी चढाउँछौ । जसका कारण मच्छरहरूले हामीलाई चुस्न सहज भएको छ ।
यतिबेला गाउँको वडादेखि नै मच्छरहरू सक्रिय भएर हामीलाई चुसिरहेका छन् । हामीलाई चुस्न हामीले नै मच्छरहरूलाई प्रोत्साहन गरे जस्तो भएको छ । आखिरी कुनै न कुनै मच्छरलाई हामीले हाम्रो वडाको घोडामा सवार गराएकै छौँ । हामीले नै घोडामा चढाएर सवार गराउने अनि हामीलाई नै वडाका घोडाले टापले कुल्चदै हिंड्ने हिजोको रैथाने संस्कृतिलाई दुवो मौलाए झैँ मौलाउने अवसर दिएका छौँ । भनौँ मच्छरको पालन पोषणमा हाम्रो पनि प्रत्यक्ष अप्रत्यक्ष रूपले योगदान छ । आफैले पालेको कुकुरले आफैलाई टोक्छ भन्ने बुढा पुरानाको उखान अहिले आएर यी मच्छरहरूले सबैलाई चरितार्थ पारेर प्रयोगात्मक रूपमा देखाएका छन् ।
मच्छरहरूको प्रयोगशालाको रूपमा चिनिएको नेपाली भूुमिमा सदियौँदेखि उडुस,उपियाँ, लामखुट्टे, छोटाखुट्टे, चारखुट्टे, दुईखुट्टे सबैखाले मच्छरको समाजमा उपस्थिति हुन्छ र तिनीहपनि प्रयोगशालाकै रूपमा आजसम्म पनि नेपाली भूमिले चर्चा पाएको छ । इतिहासका मच्छरहरूका सन्तान अझै पनि आफ्ना पुर्खाको बिडो थामिरहेका छन् । भनौ इतिहासको अवशेषका रूपमा गाउँ नगरतिर ती मच्छरहरू सल्बलाई रहेका छन् । जसलाई हामी दुच्छर मच्छरका सन्तान भनेर चिन्छौँ ।
भनौँ सम्माननीयदेखि लिएर अपमाननीयसम्म मच्छरै मच्छर छन् । माननीय, हाननीय, खाननीय, घीननीय, चुसनीय मच्छरज्यूहरू देश प्रदेशदेखि घरदेशसम्म मैलिएर फैलिएका छन् । सुकिलिएर फैलने त हैसियतै बनाउन सकेनन् । किनभने मच्छरको जात नै जहिले पनि फोहरमा बसेर रमाउने, कमाउने अनि विपक्षीलाई फसाउने, आफ्नालाई बचाउने स्वभावमा सिंगारिएको हुन्छ ।
परिवर्तनका नाममा यथास्थितिवादलाई अगालेर प्रगतिशीलताको नारा घन्काउन लाज नमान्ने मच्छरहरू यतिबेला सम्पूर्ण प्रगतिवादी, लोकतन्त्रवादी र गणतन्त्रवादीहरूको मन मष्तिष्कबाट दुच्छरासनमा पुगेका छन् ।
अब भोलिका दिनमा मच्छरहरूका विरुद्ध उडुस, उपियाँ, लामखुट्टे, छोटाखुट्टे, जुका लगायतका चुसाहाहरूले नारा जुलुस लगाए भने देशमा अर्का प्रजातीको मच्छरहरूका लागि मेसको व्यवस्था नहोला भन्न सकिन्न । तर म सबै खाले मच्छर अतिवादी, मच्छरको स्वार्थ फोहरमा, फोहर नगरौ सुग्घरी बनौँ । फोहर बढे धनको क्षति सुग्घर भए धन बढ्छ अति भन्छु । किनभने मच्छरहरू भ्रष्टाचारजन्य फोहरी काम गर्छन् । त्यसैले मच्छर ज्यूको पराजय होस् ।
उदयपुर
Subscribe
Login
0 Comments
Oldest







































