साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कानका कुरा

मन लाग्यो भने नाक, कान, घाँटीलाई एकै ठाउँ जोड्ने र मन नलाग्दा नाकैसँग जोडिएर बसेको आँखालाई किन अलग गर्ने ? के संसार नै यस्तै सनकमा चलेको त छैन ?

Nepal Telecom ad

कानको कानेगुजी राम्रोसँग निकाल्न नजान्नेले कानका बारेमा मुख खोल्नु सुहाउने कुरा होइन तर पनि प्रजातन्त्रमा धेरै कुराहरू छुट भएकोे र लेख्य अभिव्यक्तिमा पनि अकुंश नलागेको हुनाले कानका विषयमा कलम चलाउनु अनर्थ नहोला भन्ने ठानेको छु । अनर्थ भैहालेछ भने पनि कैयौँ अनर्थमा यो एउटा अनर्थ कसो नपच्ला र ?

कसैको कुरा पटक्कै रुचेन भने एउटा कानले सुनेर अर्को कानबाट उडाइदिने चलन छ नेपालमा । शायद अन्य देशका मानव वस्तीमा पनि यस किसिमको परम्पराले निरन्तरता पाउनु ज्यादै खुसीको कुरा हो । चित्त नपरेको कुरा सुन्दै नसुन्नु या सुनेर पनि टसमस नहुनु मानव स्वभाव मानिन्छ । भनेका बेलामा तैले कानमा तेल हालेको थिइस् भन्दै एकले अर्काको सातोपुत्लो खाने परम्परा पनि हाम्रो समाजमा जिउँदै छ । नराम्रा कुराहरू एक कान दुई कान मैदान हुँदै धुस्नुमा आगो फैलिएझै फैलिने चलनले पनि नेपालमा ख्याति कमाएकै छ । लङ्कामा सुन छ कान मेरो बुच्चै । बस्तु बुढो भए भिर खोज्छ मान्छे बुढो भए निहुँ खोज्छ भन्ने उखानको लक्ष्यार्थ पनि कानसँगै सम्बन्धित छ । मान्छे बुढोभएपछि कान सुन्दैन अनि गर भने मर सुन्छ, आउ भने जाउ सुन्छ । बस भने खस सुन्छ । यता भने तेता सुन्छ । यसो भने उसो सुन्छ त्यसैले निहुँ खोज्छ भनिएको हो । त्यस्तै पशु बुढो भएपछि आँखा देख्दैन अनि हिँड्दै जाँदा भिर या खाल्डामा परेर गुन्टी खेल्छ ।

जुन जोगी आयो कानै चिरिएको भन्नुको तात्पर्य चाहिँ उस्तै स्वभाव उस्तै आनीबानी भन्ने कुरासँग सम्बन्धित छ । कसैले आफ्नो छेउमा आएर कागले कान लग्यो भन्दै चिच्चायो भने कान छाम्ने कि कागको पछि दुगर्ने ? भन्ने उखानको आशय चाहिँ आफै सही आफै ठिक हुनुपर्छ । अरुका कुरा पत्याइहाल्नु हानीकारक हुन्छ है भन्न खोजिएको हो । देख्नेका आँखा फुटे सुन्नेका सही भन्ने उखानले चाहिँ व्यङ्ग्यात्मक भाव बोकेको पाइन्छ । जस्तो देख्नेले भनेको कुरा नपत्याएर सुन्नेले भनेको कुरा पत्याउने ? तसर्थ कानसँग सम्बन्धित अनेकौँ उखान टुक्का लगायत कहानी गीतहरू पनि भाँती भाँतीका सुन्न पाउँदा पनि ज्यानलाई आनन्दानुभूति हुन्छ । किनकि मान्छेको जियाइ पियाइ नै आनन्दका लागि हुने गर्छ । आनन्द हर विषयवस्तुमा प्राप्त गर्ने प्रयत्नमा मान्छेले बहुमूल्य समय र आयु सिनित्त सकिरहेको पत्तै पाउँदैन ।

कानले राम्रोसँग काम गरेन या आवाज ठम्याउन छोड्यो भने विश्वबाट मान्यता प्राप्त विशेषणयुक्त नाम नै बहिरो हो । बहिरो जन्मजात, दुर्घटनाबाट या बृद्धावस्थामा आइलाग्ने कुरा हो । बहिरो हुन रहर गरेर हुँदैन । यो एक प्रकारको प्राकृतिक प्रदत्त कानका भित्री तत्त्व या तन्तुले धर्म निर्वाह गर्न छोड्यो भने आफै आइलाग्छ । नेपाली परम्परा चलनचल्ती जनजिब्रोको कथन अनुसार बहिरो, लाटो, लठेब्रो हुनु पूर्व जन्मको फल मानिन्छ । जुन कानकै खराबीका कारण हात लाग्ने गर्छ ।

कसैको कान श्रवण शक्तिहीन छ भने हात, आँखा, मुखको इशाराले पनि भाषाको काम गरिरहेको हुन्छ । बहिरा स्कुलमा हातकै इशाराले बातचित हुन्छ । मायापिरतीका सवालमा चाहिँ आँखाको इशारालाई उत्तम मानिन्छ । त्यसैले कतिपय चलचित्रमा नायक नायिकाले गीतको तालमा माया बसाउन मुखै फोरेर खुलमखुल्ला आह्वान गरेका हुन्छन् । जस्तै :
इशाराले बोलाउनु पर्दैन । 
माया भए डराउनु पर्दैन ।

साँच्चै मजबुत आङ्गिक स्वाङले कानलाई पनि माथ खुवाउन सक्छ । भगवान्ले सृष्टि गर्दा नै सबै प्राणीलाई दुई थान कानको प्रबन्ध गरिदिएका छन् । जलचर, थलचर, उभयचर र बायुमण्डलमा विचरण गर्ने नानाभाँतीका प्राणीलाई समान किसिमले श्रवण स्वादका खातिर भाषा आदान प्रदानका माध्यमद्वारा आफ्नो अप्ठ्यारो फुकाउन सहज होस् भन्नाका खातिर नै स्वस्थ कानको खाँचो खट्किन्छ । त्यसैले नै दुबै पाटामा टाठाटाठा कानको प्रबन्ध गरिदिएका छन् । आनन्द छ एउटा बिग्रिए अर्काले काम चलाउन सकिन्छ । अधिकांश प्राणीको कानको बासस्थान चाहिँ कन्चट नै मानिन्छ । त्यसैले यस भागलाई कन्पारो पनि भनिन्छ । कानलाई बुद्धिमानीले सारेर न त घुँडामा लान सक्छ न त टाउकामा । भगवान्को देन जुन ठाउँमा छ तटस्थ छ । तै पनि मान्छेले घमण्ड गर्दै भन्ने गर्छ म फलानो अङ्गको विशेषज्ञ, म चिलानु अङ्गको विशेषज्ञ । साँच्चै भन्ने हो भने बन्द अङ्गहरूलाई सही ढङ्गले परिचालन गर्ने गोठालो/हेरालो दक्ष, अर्धदक्ष र महादक्षले नै यस्तो फुइँ लगाइरहेका हुन्छन् । हामी त्यसलाई सहज रूपले पत्याउँछौँ । विशेषज्ञहरू चाहिँ वरको सिन्को परलान सक्दैनन् । यस्तै छ अहिलेको जमाना । धाक भन्दा धक्कु ठूलो गर्ने बेलामा खुट्टा लुलो ।

कानको काम सुन्नु मात्र हो भन्ने जमाना भयो । एक्काइसौँ शताब्दीमा कानको कार्यभार दिन प्रतिदिन बढ्दै गइरहेको छ । मानव भन्दा अरु प्राणीको कान ध्वनि सुन्ने र लामा लामा कान छ भने झिँगा भुसुना धपाउन पनि काम लाग्छ । मान्छेका हकमा कानको काम चस्मा अड्काउने, आवाज सुनेर माया हो कि गाली भाषाको एकिन गर्ने, सुनका गरगहना टप, रिङ, कुण्डल, मारवाडी, आदि शो गर्ने देखि लिएर ब्राह्मणजाति पाइखाना जानु पर्‍यो भने कानमा जनै अड्काएर थुनिएर बसेको विकारलाई पैठारी गर्नु, इयरफोन अड्काएर गीत गजल, भजन, समाचार सुन्ने र अहिले वर्तमान अवस्थामा महामारीबाट बच्न मास्कको उजिण्डो कानमा अड्काउन पनि कान औधी नै काम लागेको छ । तर प्रशंसा र जोगाउने काम चाहिँ नाकको मात्र गरी रहेका छन् । दुनियाँ एकै स्वरमा भनिरहेका हुन्छन् नाक जोगाउँ है नाक । सबैले नाकको धाक लगाउँछन् तर जोगाउनु पर्ने त खास घाँटी हो नि । घाँटी रहे पो नाक, कान रहन्छ । तर घाँटी र कानको धाक कसैले लगाउँदैनन् । खाली एकोहोरो भनिराख्छन् नाक जोगाउँ है नाक ।

कान प्राणी अनुसार फरक फरक किसिमका पनि हुन्छन् । कुनै प्राणीको ध्वनिका माध्यमद्वारा आवाज पत्ता लगाउने क्षमता हुन्छ भने कसैले थर्कन कम्पनको माध्यमद्वारा आवाज पत्ता लगाउँछन् । तालिम प्राप्त कुकुरले गन्धको माध्यमद्वारा अभियुक्तहरू पत्ता लगाउन सक्छ । कानै नभएका सरिसृप, उभयचर, जीवहरू जसले कम्पन थर्कनको माध्यमद्वारा चाल आवाज महसुस गर्छन् । सबैभन्दा ठूलो कान एउटा कान ओछ्याएर अर्को कान ओड्ने प्राणीलाई हात्ती भनिन्छ र कानको प्वाल मात्रै भएका चराचुरुङ्गीहरू हामीले हाम्रै घर आँगनमा देखे भोगेकै छौँ ।

कान जस्को जस्तोसुकै होस् आकार प्रकार लम्बाइ चौडाइ र घनत्व सानो होस् या ठूलो त्यससँग भन्दा पनि त्यसले आवाज सुनेर धर्म निर्वाह गरेको छ कि छैन, त्यो महŒवपूणर् कुरा हो । कान नसुन्नेलाई डाक्टरले सुन्ने बनाउन सक्दैनन् । यन्त्र उपकरणको सहारा लिएर सुन्नलाई सहज मात्रै बनाउँछन् । डाक्टर भनाउँदाले सक्ने भनेको छिनेकालाई जोड्ने या तोड्ने र निदायकालाई जगाउने र भगाउने काम मात्र गर्छ । स्वयं डाक्टरबाट न कुनै अङ्ग बन्छ न इन्द्रिय नै । यी डाक्टरहरू मात्र मानव जीवनका टेका हुन् । ढल्न लाग्दा लता लहरा वनस्पतिदेखि मानव चोलालाई पनि टेको अनिवार्य र अपरिहार्य मानिन्छ ।

अहिलेको विश्व हरेक तन, मन र धन दिएर मानवीय जीवनमा आइपर्ने सारो गारो अप्ठ्यारो फुकाउने ध्याउन्नमा त्यस्तै जनशक्ति उत्पादन गर्न, मल, जल र जन सहित लागि परेको छ । त्यसैको प्रतिफल स्वरूप अस्पतालमा इएनटिका डाक्टरहरू उपकार, उपचार हेतु सिङ पुच्छर दरो पारेर धर्म निर्वाह गरिरहेका हुन्छन् । नाक, कान र घाँटीमा कुनै पनि समस्या पर्‍यो भने यिनै अनुभवी डाक्टरको दक्षिणाद्वारा पूजा, आरधना, उपासना गर्नाले इन्द्रियमा आइलागेका जलनबाट पार पाउने चलन पुरानै हो । लोक कल्याण हेतु जे जति प्रयास भएका छन् ती सन्तोषजनक छन् तथापि असन्तोषी मन ढुक्कसँग बस्न भने मान्दैन । कानको कुरामा घाँटी र नाकलाई किन जोडेको भन्न पनि सक्नुहुन्छ । नाक, कान र घाँटीको खाँटी डाक्टर उपाधि लिएर बसेका अत्यन्त दक्ष जनशक्तिले नै नाक, कान घाँटी एउटै हो भन्छन् भने हामी अविवेकीले पो किन दुईटा या तीनवटा भन्नु पर्‍यो ?

ठिकै छ अबदेखि कसैले बोलेको सुनिएन भने घाँटी खोलेर सुन भन्दा पनि भयो । त्यस्तै नाक थापेर सुन भन्दा पनि हुन्छ । जब पण्डितले नै नाक, कान घाँटी एउटै हो भन्छन् भने घाँटीबाट तरल पदार्थ बगेर जचाउन आएको भन्दा पनि भयो । त्यस्तै कानबाट धेरै सिँगान बगेर जँचाउन आएको भन्दा पनि त हुन्छ होला ? त्यस्तै नाकबाट खाना निल्न गारो भएर जँचाउन आएको भन्दा के हुन्छ ? डाक्टर उपाधिधारीले नै नाक, कान, घाँटी एउटै हो भनेर चोकमा नाङ्लो थापेर व्यापार गर्छन् भने हामी बुद्धुराम जनताले यी तीन अङ्गलाई किन अलग देख्ने ? होइन यी साँच्चै अलग अङ्ग हुन् भने विशेषज्ञता हासिल पनि अलग अलग किसिमले नै गर्नुपर्‍यो । मन लाग्यो भने नाक, कान, घाँटीलाई एकै ठाउँ जोड्ने र मन नलाग्दा नाकैसँग जोडिएर बसेको आँखालाई किन अलग गर्ने ? के संसार नै यस्तै सनकमा चलेको त छैन ? जसरी आँखाका लागि आँखा अस्पताल सिङ्गै खोलिन्छ त्यस्तै नाक अस्पताल पनि अलग्गै हुनुपर्छ ।

एवंरीतले कान अस्पताल, घाँटी अस्पताल र सम्बन्धित विशेषज्ञ विज्ञ पनि अङ्ग अनुसार अलग अलग नै हुनुपर्छ । अन्यथा यी अङ्ग सदा अन्यायमा पर्ने प्रायः निश्चित छ । विचार मन्थन होस् विद्वान् अब अक्कलले कोल्टो फेर्दा नै बुद्धिमानी ठहर्ला कि कसो हौ ?

०००
फूलबार, पोखरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
सरकाे र घरकाे कुटाइका कुरा

सरकाे र घरकाे कुटाइका...

शेषराज भट्टराई
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x