कृष्ण प्रधानऐना अघिल्तिर उभिँदा…..
जिउँदो कुचो अक्क न बक्क भएर निनिर्मेष ट्वाल्ट्वाल्ती हेरिबस्छ । साठी वर्षको सम्पूर्ण ऐश्वर्य कहाँ मिल्काएर अपराधी बालकजस्तो मेरो छेउमा उभिरहेको छ । म अत्यन्तै दुःखित भएर कराई पठाउँछु- गधा! बोल्नु सक्दैनस् ?

कुनै एकजना बुजुर्गले भनेका थिए, मानिस वृद्ध नभई सुन्दर वा राम्रे हँदैनन् । ऐना सामु उभियो कि छ्याङ्ङै भइहाल्छ, सेण्ट पर्सेण्ट सत्य। साँच्चै ऐनाको अघिल्तिर उभिएँ म । तरङ्ङै तर्सिएँ नारायण! स्वतः प्रश्न निस्कियो- को हो हँ यो जन्तु ? कुचोको क्षुद्र संस्करण कि आदि मानवको जेरक्स! हेर…हेर कपालको अवस्था !
हो ता नि ! ऐनाले ढाँट्दैन । जे भन्यो ठिकै भन्यो…सोह्रै आना सत्य। हेरेँ आफूलाई । छक्क परेँ…कहाँ गए मेरा छन्दाइलो यौवन । भित्तामा झुण्डिएको छ झर्झराउँदो यौवनकालको प्रतिकृति (फ्रेम) कुखुरै छात्तीको नजिकै टाँसिएकी छे युवती अर्धाङ्गिनी नामको अर्की जन्तु । बिहे भएको केही दिनपछि शहरको नामी स्टुडियोमा गएर खिँचेको स्टिल फोटो । अहो ! साइकलको ट्यूब लिक भएजस्तो यौवन पनि लिक भएर फ्यास्सै भइसकेको बल्ल पो थाहा पाएँ ।
संसारको थर्ड डिग्रीमा गालाहरु खोपिल्टा परिसकेछन् । घिच्रा बकुला हेरेर हेर्नै नहेर्नुपर्ने । अर्धाङ्गिनीको सलवार र लेगिङ्सले दुईवटै हात उज्याएर खेताबारीमाझ उभिए बुख्याँचा (काकझुत्रे) भन्दा कम्ति नदेखिने अवस्था भइसकेछ । कठै! यौवनकालमा गीत गाउँथेँ घोक्रो फुटिञ्जेल- “तिमी र म जीवनसागरमा छाल भएर उर्लौं ।” यो वृद्ध उमेरको गीत यस्तो छ- “आशा-आशा निराशा, तुम्बी झोली रुखमा टाँसी देखो भाइ तमासा ।” दुई आँखामा ट्वाल्ट्वाल्ती हेरेर भन्नु मन लाग्छ आफैलाई- तँ को होस् ? मरेको मागुर माछाजस्तो.. आँखा मात्रै खुल्ला प्राण छैन मोरा । कामना, वासना कहाँ गएँ ? कहाँ गए लोभहरू ? निष्पट्टै अँध्यारो । घाइते, काँतर जनावरका आँखाहरू।
साँच्चै ऐनाभित्रका मानिसलाई यस्तो लाग्छ, दीन-हीन, एकजना मरञ्च्याँसे भिखारी मेरो छेउमै उभिएर मलाई भिखको निम्ति उजूर गरिरहेछ । मलाई मेरा कचकचे, शङ्कालु, डङ्कालु ससुरा ठिङ्गै उभिएकाजस्तो लाग्यो । सोध्नु मन लागेको थियो, के भयो ससुरा महोदयलाई ? कसैले ठटाए कि भक्कु गाली गरे ? आउनोस् ससुरा हजूर हजूरलाई राम्ररी स्याम्पु र साबुन दलेर बुलुबुलु गरिदिउँ कि ? साह्रै टिठलाग्दो तपाईको लुइँतामे अवस्था देखेर ।
मसित जेजति पनि छन् ती सबै यिनै जनावरलाई दान दिनु मन लाग्यो । कति दिनदेखि टाढ़ाबाट हिँड़्दै-हिँड़्दै आएका हुन् विचारा । कति अपमान सहेका । धूर्तरुपले ठगेका छन्, साथाहरूले हेपेका छन् । भाग्यसित जूवा खेल्दा आफैलाई हराएका छन् । पराजित भइसकेको एकजना मान्छे । जीवनभरि के गर्नुभयो ? बेस्सरी हपार्छु । ऐनाभित्रको मान्छे केही बोल्दैन । निश्चूप । दुईवटा टायरजस्ता ओंठहरू मात्रै हल्लिन्छन् । अनुहार अझै टिठलाग्दो हुन्छ । अझै राम्रो किन लेख-पढ़् गर्न सकेनौ ? साहित्य-संस्कृति भनेपछि हुरुक्कै र भुतुक्कै मरिमेट्ने कसले भन्यो तिमीलाई ?
कसैले भनेका सम्झना भयो, प्रीति गाँस्नु ? थाहा थिएन, बिहे गरे गृहस्थी जीवनको गह्रौं भार सम्हाल्नुपर्छ भनेर? गृहस्थी जावनको गह्रौं भार सम्हाल्नु हो भने अनि जीवनको जहाज संसारसागरमा चलाउनु हो भने भक्कु पैसा कमाउनुपर्छ । दासत्व गर्नुपर्छ । कुचो, स्याण्डलको आघात सहनुपर्छ । भित्र-भित्रै ’लभ’ मर्दै जान्छ । आदर्शवादी जीवनको सरलता क्रमशः खुम्चिएर हिंस्रक रुप लिनु थाल्छ । द्विपद मान्छे अघिल्तिर घोप्टो पर्दै क्रमशः चारखुट्टै जनावरमा परिणत हुनथाल्छ । मानिसको अनि़्तम क्षण कति डरलाग्दो हुन्छ भन्ने कुरा तिमीलाई थाहा छैन ?
जिउँदो कुचो अक्क न बक्क भएर निनिर्मेष ट्वाल्ट्वाल्ती हेरिबस्छ । साठी वर्षको सम्पूर्ण ऐश्वर्य कहाँ मिल्काएर अपराधी बालकजस्तो मेरो छेउमा उभिरहेको छ । म अत्यन्तै दुःखित भएर कराई पठाउँछु- गधा! बोल्नु सक्दैनस् ?
जब उच्चाकाङ्क्षाभित्र साङ्लोले बाँधिएकोजस्तो छटपटिन्छ, तब यस्तो लाग्थ्यो, किन यो गरिऩँ, किन त्यो गरिनँ । अहिले छ्याङ्ङै बुझ्दैछु, जो सगरमाथा उक्लिन्छ ऊ सगरमाथा उक्लिन्छै-उक्लिन्छ । जसले बजारमा सधैँ मासु किन्छ, किन्छै-किन्छ । सगरमाथा उक्लिने मैले प्रयास गरेको भएँ बेस क्याम्पमै ठहरै हुन्थेँ । कलेज पढ़्दा देवकोटा हुने इच्छा लागेको थियो । तीन पृष्ठ पढेपछि मनभित्रको अर्को मनले भन्यो- अब कोशिष नगर् हेपाटाइटिस हुन्छ ।
जीवनको गोरेटो पहिल्याएर त्यसको सार बल्ल पो बुझेँ- जे हुनुथ्यो मलाई त्यही नै भयो । फर्सी छानुमाथि, सखरखण्ड भूइँमनि । करेला तितो, तित्तिरी अमिलो । दुःख मन नगर् । जीवनको पार्सललाई इण्ट्याक्ट, मृत्युको सङ्घारमा पुऱ्याइदेऊ । बस् ।
०००
सिलिगुड़ी (भारत)
Subscribe
Login
0 Comments
Oldest






































