साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ऐना अघिल्तिर उभिँदा…..

जिउँदो कुचो अक्क न बक्क भएर निनिर्मेष ट्वाल्ट्वाल्ती हेरिबस्छ । साठी वर्षको सम्पूर्ण ऐश्वर्य कहाँ मिल्काएर अपराधी बालकजस्तो मेरो छेउमा उभिरहेको छ । म अत्यन्तै दुःखित भएर कराई पठाउँछु- गधा! बोल्नु सक्दैनस् ?

Nepal Telecom ad

कुनै एकजना बुजुर्गले भनेका थिए, मानिस वृद्ध नभई सुन्दर वा राम्रे हँदैनन् । ऐना सामु उभियो कि छ्याङ्ङै भइहाल्छ, सेण्ट पर्सेण्ट सत्य। साँच्चै ऐनाको अघिल्तिर उभिएँ म । तरङ्ङै तर्सिएँ नारायण! स्वतः प्रश्न निस्कियो- को हो हँ यो जन्तु ? कुचोको क्षुद्र संस्करण कि आदि मानवको जेरक्स! हेर…हेर कपालको अवस्था !

हो ता नि ! ऐनाले ढाँट्दैन । जे भन्यो ठिकै भन्यो…सोह्रै आना सत्य। हेरेँ आफूलाई । छक्क परेँ…कहाँ गए मेरा छन्दाइलो यौवन । भित्तामा झुण्डिएको छ झर्झराउँदो यौवनकालको प्रतिकृति (फ्रेम) कुखुरै छात्तीको नजिकै टाँसिएकी छे युवती अर्धाङ्गिनी नामको अर्की जन्तु । बिहे भएको केही दिनपछि शहरको नामी स्टुडियोमा गएर खिँचेको स्टिल फोटो । अहो ! साइकलको ट्यूब लिक भएजस्तो यौवन पनि लिक भएर फ्यास्सै भइसकेको बल्ल पो थाहा पाएँ ।

संसारको थर्ड डिग्रीमा गालाहरु खोपिल्टा परिसकेछन् । घिच्रा बकुला हेरेर हेर्नै नहेर्नुपर्ने । अर्धाङ्गिनीको सलवार र लेगिङ्सले दुईवटै हात उज्याएर खेताबारीमाझ उभिए बुख्याँचा (काकझुत्रे) भन्दा कम्ति नदेखिने अवस्था भइसकेछ । कठै! यौवनकालमा गीत गाउँथेँ घोक्रो फुटिञ्जेल- “तिमी र म जीवनसागरमा छाल भएर उर्लौं ।” यो वृद्ध उमेरको गीत यस्तो छ- “आशा-आशा निराशा, तुम्बी झोली रुखमा टाँसी देखो भाइ तमासा ।” दुई आँखामा ट्वाल्ट्वाल्ती हेरेर भन्नु मन लाग्छ आफैलाई- तँ को होस् ? मरेको मागुर माछाजस्तो.. आँखा मात्रै खुल्ला प्राण छैन मोरा । कामना, वासना कहाँ गएँ ? कहाँ गए लोभहरू ? निष्पट्टै अँध्यारो । घाइते, काँतर जनावरका आँखाहरू।

साँच्चै ऐनाभित्रका मानिसलाई यस्तो लाग्छ, दीन-हीन, एकजना मरञ्च्याँसे भिखारी मेरो छेउमै उभिएर मलाई भिखको निम्ति उजूर गरिरहेछ । मलाई मेरा कचकचे, शङ्कालु, डङ्कालु ससुरा ठिङ्गै उभिएकाजस्तो लाग्यो । सोध्नु मन लागेको थियो, के भयो ससुरा महोदयलाई ? कसैले ठटाए कि भक्कु गाली गरे ? आउनोस् ससुरा हजूर हजूरलाई राम्ररी स्याम्पु र साबुन दलेर बुलुबुलु गरिदिउँ कि ? साह्रै टिठलाग्दो तपाईको लुइँतामे अवस्था देखेर ।

मसित जेजति पनि छन् ती सबै यिनै जनावरलाई दान दिनु मन लाग्यो । कति दिनदेखि टाढ़ाबाट हिँड़्दै-हिँड़्दै आएका हुन् विचारा । कति अपमान सहेका । धूर्तरुपले ठगेका छन्, साथाहरूले हेपेका छन् । भाग्यसित जूवा खेल्दा आफैलाई हराएका छन् । पराजित भइसकेको एकजना मान्छे । जीवनभरि के गर्नुभयो ? बेस्सरी हपार्छु । ऐनाभित्रको मान्छे केही बोल्दैन । निश्चूप । दुईवटा टायरजस्ता ओंठहरू मात्रै हल्लिन्छन् । अनुहार अझै टिठलाग्दो हुन्छ । अझै राम्रो किन लेख-पढ़् गर्न सकेनौ ? साहित्य-संस्कृति भनेपछि हुरुक्कै र भुतुक्कै मरिमेट्ने कसले भन्यो तिमीलाई ?

कसैले भनेका सम्झना भयो, प्रीति गाँस्नु ? थाहा थिएन, बिहे गरे गृहस्थी जीवनको गह्रौं भार सम्हाल्नुपर्छ भनेर? गृहस्थी जावनको गह्रौं भार सम्हाल्नु हो भने अनि जीवनको जहाज संसारसागरमा चलाउनु हो भने भक्कु पैसा कमाउनुपर्छ । दासत्व गर्नुपर्छ । कुचो, स्याण्डलको आघात सहनुपर्छ । भित्र-भित्रै ’लभ’ मर्दै जान्छ । आदर्शवादी जीवनको सरलता क्रमशः खुम्चिएर हिंस्रक रुप लिनु थाल्छ । द्विपद मान्छे अघिल्तिर घोप्टो पर्दै क्रमशः चारखुट्टै जनावरमा परिणत हुनथाल्छ । मानिसको अनि़्तम क्षण कति डरलाग्दो हुन्छ भन्ने कुरा तिमीलाई थाहा छैन ?

जिउँदो कुचो अक्क न बक्क भएर निनिर्मेष ट्वाल्ट्वाल्ती हेरिबस्छ । साठी वर्षको सम्पूर्ण ऐश्वर्य कहाँ मिल्काएर अपराधी बालकजस्तो मेरो छेउमा उभिरहेको छ । म अत्यन्तै दुःखित भएर कराई पठाउँछु- गधा! बोल्नु सक्दैनस् ?
जब उच्चाकाङ्क्षाभित्र साङ्लोले बाँधिएकोजस्तो छटपटिन्छ, तब यस्तो लाग्थ्यो, किन यो गरिऩँ, किन त्यो गरिनँ । अहिले छ्याङ्ङै बुझ्दैछु, जो सगरमाथा उक्लिन्छ ऊ सगरमाथा उक्लिन्छै-उक्लिन्छ । जसले बजारमा सधैँ मासु किन्छ, किन्छै-किन्छ । सगरमाथा उक्लिने मैले प्रयास गरेको भएँ बेस क्याम्पमै ठहरै हुन्थेँ । कलेज पढ़्दा देवकोटा हुने इच्छा लागेको थियो । तीन पृष्ठ पढेपछि मनभित्रको अर्को मनले भन्यो- अब कोशिष नगर् हेपाटाइटिस हुन्छ ।

जीवनको गोरेटो पहिल्याएर त्यसको सार बल्ल पो बुझेँ- जे हुनुथ्यो मलाई त्यही नै भयो । फर्सी छानुमाथि, सखरखण्ड भूइँमनि । करेला तितो, तित्तिरी अमिलो । दुःख मन नगर् । जीवनको पार्सललाई इण्ट्याक्ट, मृत्युको सङ्घारमा पुऱ्याइदेऊ । बस् ।

०००
सिलिगुड़ी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x