चट्याङ मास्टरज्याकी
अहिले बिदा पाऊँ त हजुर ? ज्याकी ! टाटा ज्याकी ! वाइवाई सी यू ! ज्याकीसँग मेरो अलिअलि अंग्रेजी चल्छ क्या हजुर । हि हि हि हि ! दर्शन हजुर !!

म त छक्कै परे हजुर । कस्तो व्यालेन्स मिलाएर टोक्न सकेको लौ हेरिबक्स्योस त । यो पिंडौलाको तल पनि चार दाँत, माथि पनि ठ्याक्कै चारै दाँत । हरफ मिलाएको अक्षर जस्तो छ । अलिकति पनि तलमाथि छैन । फेरि, आठै दाँत निकै गहिरो गरेर कसरी गाड्न सकेको होला । हेरिबक्सियोस्न, आठवटा प्वालबाट बराबर रगत बगेको । कुनैबाट कम कुनैबाट बेसी छैन । यत्तिको ब्यालेन्स मिलाएर टोक्नसक्ने कुकुर नेपाल अधिराज्यमै छैन हजुर । म त ठोकेरै भन्न सक्छु ।
ज्याकीलाई कसले कुकुर भन्ने ? अस्ति अफिसमा ज्याकीको कुरा चल्दा सुब्बा सापले वहाँलाई भनेको सुनेपछि हजुर मैले त आफ्नो रिसै थाम्न सकिनँ । आज ज्याकीलाई कुकुर भन्नेले भोलि हजुर, मलाई पनि होच्याएर बोल्न के बेर मैले त्यो मुख्यालाई मुड्की नै उज्याइसकेको थिएँ, अरूले छेकेर मात्रै । ज्याकीलाई कुकुर भनेको, हेपेको म सहन सक्छु त हजुर ? त्यो पनि त्यो सुब्बोले ।
यी ल हेरिबक्स्योस् त ! ठ्याक्क पिडौलाको डल्लो मसलमा मात्रै दाँत गाडेको छ र नलीहाडमा त अलिकति पनि छोएकै छैन । लुगा बाहिरबाट टोक्दा पनि लुगाभित्रको हाड-मासु ठयाक्कै छुटयाएर मासुमासुमा मात्रै टोक्न कम वृद्धि र विवेक चाहिन्छ ? जतिसुकै तालिम पाए पनि मान्छेले समेत सक्दैन । त्यो यै ज्याकीलाई कुकुर भन्ने सुब्बाले पनि सक्दैन ।
मलाई दुख्यो होला भन्ने नठानिबक्सियोस् हजुर । म केटाकेटीदेखि नै रोगी । अलिकति घाउ भयो कि रगत बगिहाल्छ । रगत रोक्नै सक्दिनँ । मलाई दुखेको छैन । बरु के के भए जस्तो रमाइलो लागिरहेछ । ज्याकीले पनि त आफ्नो ड्यूटी नै पूरा गरेको हो नि । जम्काभेट भइहाल्यो । उनलाई पनि आफ्नै मान्छे ठानेर जिस्किन मन लाग्यो होला । नत्र ल मर्जी होस् त हजुर, अरुलाई भए ज्याकीले दाँत मात्र गाडेर छोड्थे होलान् त ? कसको तागत ज्याकीको अगाडि पर्न ? धन्य म थिएँ र पो ! पीर नगरिबक्सियोस् हजुर । म घर पुग्नेबित्तिकै जहानलाई यहाँ पठाइदिन्छु सर्फ लगाएर भुई पुछ्न । विछट्ट छरिती न जाँगरिली छ । आँगनमा छरिएका यति रगतका टाटा त उसले दुई तीन घण्टामै सिनित्तै पार्छे ।
के गर्नु हजुर, अलि रोगी परियो र पो नत्र म मेरो रगत यसरी बग्न र छरिन नै दिने थिइनँ । म जहानलाई अहिले नै लिएर आउँथे हजुर, तर त्यही त हो नि अफिस फेरि ढीलो पुगिएला । अफिसमा सबैले मलाई हजुरको मान्छे भन्छन्, मै अफिस ढीलो पुगेँ भने फेरि हजुरको पनि कुरा काट्न थाल्छन् । अलिकति अफिस ढीलो गएर.अफिसबाट भागेर म हजुरको इज्जतमा धक्का लाग्न दिन्न नि हजुर । अँ साँच्चि मलाई यसो टोके जस्तो गर्दा ज्याकीलाई त केही भएको छैन हजुर ? नत्र म ज्याकीलाई अस्पताल लगूँ कि ?
त्यो सचिव छ नि हजुर, उसले पनि एउटा कुकुर पालिटोपलेको रहेछ । कहाँ हजुरको ज्याकी, कहाँ त्यसको कुकुर । मलाई त मान्छे र उसको कुकुरमा केही फरकै लाग्दैन । कि पालेपछि हजुरको ज्याकी जस्तो होस् । के नसुहाउँदो स्वाङ गरेको हो कुन्नि !
आज सबेरै मलाई त लच्छिन लाग्यो हजुर । अरुको घरमा भए म भित्रैबाट गेट नखोलीकन कहिल्यै भित्र पस्दिनथेँ । यो हजुरको निवास त मलाई आफ्नै आमाको काख जस्तो लाग्छ । ज्याकीले पनि आफ्नै सम्झिएर झ्याम्मै झम्टिइहाले । खेलवाडमा अलिकति घाउ-ताउ त लाग्छ । बिसेक हुन्छ । यस्तै हो । खास बिन्ती चढाउनुपर्ने कुरो त केही थिएन हजुर । यसो पशुपतिनाथको दर्शन गर्नुअगाडि आज हजुरको दर्शन गर्न छिरेको थिएँ । अब पशुपति नगएर फर्कन्छु र अफिस पुग्छु हजुर । मेरो लायक केही सेवा छ भने आज्ञा होस् ।
तर हजुर, मेरो जहान आएर आँगन सफा गरिसकेपछि घरको अरु काममा पनि लगाइबक्से हुन्छ हजुर ।
अहिले बिदा पाऊँ त हजुर ? ज्याकी ! टाटा ज्याकी ! वाइवाई सी यू ! ज्याकीसँग मेरो अलिअलि अंग्रेजी चल्छ क्या हजुर । हि हि हि हि ! दर्शन हजुर !!
०००
‘हिमालय टाइम्स’, साउन २७, २०५६
Subscribe
Login
0 Comments
Oldest








































