तिलक लुइटेलबहुमुखी प्रतिभा
बहुमुखी प्रतिभाको पेट त आखिर एउटै थियो । अरू कुरा के भयो भनेर अर्थ्याउनै परेन । एउटै पेट भइकन धेरैवटा मुखका प्रतिभा भएपछि कहिलेकाहीँ यस्तै हुन्छ ।

प्रकृतिको रचना पनि कहिलेकाहीँ विचित्र देखिन्छ । त्यस्तै विडम्बनाले गर्दा उद्दण्डको एउटा पेट र धेरैवटा मुख थिए । जन्मजात भिन्नता भए पनि मानिस भएपछि मानवीय रहर हुनु स्वाभाविकै हो । ऊ घुमफिर गर्न खुबै रुचाउँथ्यो । समुद्रकिनारमा घुम्दै हिँड्दा उसले एउटा फल भेट्यो । जिज्ञासावश उसले फल चाख्यो । साह्रै मिठो रहेछ । तत्कालै जिउमा बलतागत पनि थपिए जस्तै अनुभव भयो । जिउको बल त सबै मुखले अनुभव गरे । फल खाएर उसले भन्यो— आहा, आहा क्या मिठो रहेछ । अघाउन पनि लागियो । अलिकति बाँकी छ यति त श्रीमतीलाई पो लगिदिऊँ कि ?
एउटा मुखले फल खाएर यसो भनेपछि अरु मुखलाई पनि लोभ लाग्यो । उनीहरूले भने—त्यसो हो भने त्यो फल हामी पनि चाखौँ न । सबैले अलिकति जिब्राको स्वाद त लिऊँ । राजनीतिक पार्टीका नेताहरू सत्तासीन र प्रतिपक्षी भएझैँ विवाद बढ्दै गयो । एउटै विषयमा स्वार्थ बाझियो । विवाद बढ्यो फल खाने मुख एकातिर र खान खोज्ने अर्कातिर भएर विवाद गरे ।
खान पाउनेलाई फकाउन कुनै लोलीबोली मिलाएझैँ कोही गर्थे कोही खान नपाउनेका तर्कमा सही थाप्थे । सत्ता गठबन्धन र चुनावी गठनबन्धन जस्तै खिचलो परिरहेकै थियो । खाने मुख भन्छ— हामी सबैको पेट एउटै छ, जसले खाए पनि उसै भुँडीमा पुग्ने त हो । किन अलग खानुपर्यो ?
खान नपाउनेहरू कोही हातमा जुठो फल देखेर फकाउने भए । कोही हामी तेरो पत्ता साफ गर्छौं तँलाई धुलो चटाउँछौँ भन्दै हप्काउने भए । आखिर लगेर उसले बाँकी रहेको फल घरमा श्रीमतीलाई दिइहाल्यो । उसले फल खान पाएर आनन्द अनुभव गरी । मिठो फल खुवाउनेलाई आलिङ्गन र चुम्बन गरेर मिठो कुरा गर्न थाली । खान नपाएकाहरूतिर फर्केर पनि हेरिन । जुठो खान नपाएका सबैले आखिरमा पख्लास् तँलाई भनिहाले ।
खान नपाएका मुखहरू त्यस दिनदेखि दिक्क मान्दै, खिन्न हुँदै र रिसले आगो हुँदै विचार गर्न थाले । अर्को दिन तिनीहरूमध्ये कुनै अलिक धेरै नाइके जस्ता मुखले त्यसरी नै समुद्रका छालमा बगेर आएको अर्को फल भेट्यो । त्यो देखेपछि अरु मुखलाई सुनाउँदै पहिले फल खाएका मुखलाई भन्यो— हेर स्वार्थी, निर्मोही, अधम । मैले यो फल भेटेको छु । तिमीहरू कसैलाई दिन्नँ । म एक्लै खान्छु र मलाई अपमान गरेको बदला लिन्छु ।
यो फल विषालु छ भन्ने प्रायः सबैलाई थाहा थियो । यस पटक पनि मुखहरूको वैचारिक गठबन्धन भयो । कसैका पक्षले भन्यो यो फल कसैले खानु हुँदैन । एउटाले खायो भने सबै मरिन्छ । कुनै पक्षका भन्दै थिए यो फल खानै पर्छ । हाम्रा नेताले भनेपछि विष पनि अमृत नै हुन्छ । अर्काका पक्षले भन्यो— तिमीहरू मूर्ख रहेछौ । अपमानको बदला नलिई छोड्नु हुन्न ।
त्यसो भन्दा भन्दै अपमानको बदला लिनकै लागि उसले त्यो फल खायो । नेताका लठैतहरूले मौकामा भागबन्डा पाएको जस्तै उसका पक्षमा बोल्नेहरू कुनै कुनैले अलिअलि चाख्न पनि पाए । बहुमुखी प्रतिभाको पेट त आखिर एउटै थियो । अरू कुरा के भयो भनेर अर्थ्याउनै परेन । एउटै पेट भइकन धेरैवटा मुखका प्रतिभा भएपछि कहिलेकाहीँ यस्तै हुन्छ ।
०००
कपन, काठमान्डु
Subscribe
Login
0 Comments
Oldest







































