साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मच्छरको पुच्छर

अब हेर्नुस् त तल्लाघरे मच्छर र भुसुनाहरूको कर्तुत । मच्छरका पछि भुसुनाहरू पनि हामीलाई अल्मल्याउन खोज्छन् तर उनीहरूको बर्कतले मच्छर जतिको पुच्छर हल्लाउन सकेको देखिँदैन ।

Nepal Telecom ad

भनौँ के भनौँ, सुनाऊँ के सुनाऊँ, आफैलाई लाज लाग्ने कुरा बुढेस कालमा । बैँसमा हुँदा पनि ढिडो मस्काएझैँ मस्किन जानिएन । बैँसमा घोर्ले घोर्ले पाराको भए पनि त्यो ऐस देखाउन जानिएन । सियो जतिकै सोझो भएकोले बाँस जसरी निहुरिन जानिएन । निहुरमुन्टी न नहुने बानीले गर्दा अहिले आएर ज्ञानी ज्ञ जस्तो बन्नुपरेको छ । अरुभन्दा पनि बैँसमै खस्किएको मान्छे म बुढेस कालमा आएर मन लागी नलागी मच्छरहरूसँग मस्किन बाध्य हुनुपरेको छ । पुतलीहरूसँग खस्किएर मच्छरहरूसँग मस्किनुपर्दा ‘तीन त्रिलोक चौध भुवन’ देख्नुपरेको छ । गर्मीको समय, झुलभित्रको गाँसबास भनौँ थातथलो नै परिवर्तन गरेर मच्छरहरूको राज्यमा पुगेको भान भइरहेको छ ।

हुन त अरुले होइन हामीले नै पालनपोषण गरेर संरक्षण गरेका कारणले होला हामीलाई म्वाइँ खान जुन बेला पनि तयार भएको पाइन्छ । जब घरमा मच्छर भित्रिन्छ तब हामी मच्छरधुप बालेर स्वागत गर्छौं । सङ्गीतको धुन सुनाउँछौँ । गीत सुन्न मन नलाग्दा पनि कानमा आएर गीत सुनाउने र गालामा म्वाइँ खाएर माया गर्ने मच्छरहरूसँग जस्तै खस्किने मान्छे पनि लेकालीहरूले ढिँडो मस्काएझैँ गरी मस्किने गरेको खरो सत्य हो । दरबारमा बस्नेदेखि लिएर घरबार नहुनेसम्म पुगेर म्वाइँ खान अघि सर्ने मच्छरको अधिनायकवाद भनौँ वा साम्राज्यवादी नीति विगतको तुलनामा अस्ताएर सुस्ताउनुको साटो बाटो खोजी खोजी हिँडेको स्पष्ट छ । नेपालमा देश दौडाहामा लागेका मच्छरहरूभन्दा हामीलाई सुकिलामुकिला विदेशबाट आयातित भनौँ वा वैदेशिक घुमन्ते मच्छरहरूबाट बढी चुसिने भयले सताएको छ । घुमन्ते, फिरन्ते, उडन्ते, छेरन्ते, डरन्तेलगायतका विविध खाले मच्छर पाइने हाम्रो मुलुकमा पिरन्ते, भिरन्ते, लडन्ते, षड्न्ते, सडन्ते र हगन्ते मच्छरदेखि जोकोही पनि तीन कोस टाढा बस्ने गरेको पाइन्छ ।

फिस नतिरीकन मिसै नगरी किस खान पल्केका मच्छरका गुरू स्वामी फोहरानन्दजी महाराज र मच्छरका नेता लामखुट्टे मच्छराधीशका कारण पनि मुलुकमा गरिबी घट्न नसकेको घटना पटनाबाट बाहिर आएर हामी परपर हटनासम्म पुगेका छाँै । साँच्चै भन्ने हो भने हामी अहिले मच्छरहरूको भिडमा मच्छरदानीभित्र बसेर मच्छरसँग मित्रता गाँसिरहेका छौँ । पुराना र नयाँ खाले मच्छरको भिडमा हामी हराएका छौँ । पुराना खाले र नयाँ खाले मच्छरले हामीलाई म्वाइँ खाने तरिका फरक फरक छ । पुरानाले सिधै आएर म्वाइँ खाएर माया गर्थे भने नयाँले भजनकीर्तन गाएर लट्ठ पारेर गाला र शरीरका विभिन्न अङ्गमा स्पर्श गरेर कानमा सङ्गीत सुनाउँदै हामीले गरेको स्वागतसत्कारको बदला लिन्छन् । हामीले पल्काएका कारण हामीलाई अहिले आएर मच्छरले हैरान पारेको खरो सत्य छर्लङ्ग छ तर पनि हामी सचेत होइन अचेत नै छौँ । यही अचेतका कारण हामी मच्छरको आहारा भएर सहारा भएका छौँ र उसको जयगान गाउँछौँ ।

मच्छर मत्थर हुने स्थितिको वातावरण अझै बन्न सकेको देखिँदैन । हाम्रो कोठाचोटामा हुलका हुल मूल भएर हामीलाई त्रिशूल तेस्र्याउन आइरहेकै छन् । हामी जहाँसुकै जाऊँ त्यही हामीलाई आफ्नो सङ्गीत सुनाउँदै भरङ्गित बनाउन लागिपरेका छन् मच्छरहरू । थात न थलोका यी मच्छरहरू सुभलोभन्दा पनि कुभलो चिताएर हामीलाई बिताएर जान्छन् । हुन त समाज न हो सबै खालेको उपस्थिति हुन्छ । भालेपोथीको गन्थनमन्थन हुन्छ । सायद उनीहरूको सल्लाह हुन सक्छ । सल्लाहले पोथी खटिन्छिन् गीतसङ्गीत सुनाउन र हाम्रो रगत चुसेर सन्तानको जीविकोपार्जनका लागि । हाम्रो स्वागतसत्कारले पल्किएको, हाम्रै रगतपसिना चुस्न सल्किएको, सधैँ हामीतिरै ढल्किएको तर समाजबाट मिल्किएको मच्छरको पुच्छर भएका छौँ हामी । किनभने जता जता मच्छर जान्छ उतै उतै उसको पुच्छर समातेर उसबाट वैतरणी तर्न खोज्छौँ तर हाम्रो प्रयासभन्दा उसैको प्रयासले हामी पराजित हुन्छौँ । उसको हर्कतले हामीलाई सदाका लागि ओछ्यानमा सुताउँछ । तर हाम्रो बर्कतले अहिलेसम्म केही भएको छैन । कति शक्तिशाली रहेछ मच्छर, यस्तो शक्तिशाली जीवसँग हामीले खस्केर पनि मस्किन पाउनु भनेको लघु जीवनयापनको प्रमाण हो ।

समाजमा धेरै प्रकारका मच्छरहरू पाइन्छन् । गर्मीका समयमा मात्र होइन हिउँदवर्षा सबै समयमा गाउँघरमा यिनीहरूको वर्चस्व हुन्छ । जिन्दावाद र मुर्दावादको नारा लाउँदै जहाँसुकै जुन बेला पनि सल्बलाउने मच्छरहरू चाडपर्व मेलापात जतासुकै पनि पुग्छन् । उनीहरूको मौसम हुन्छ त्यो मौसम र समयमा हामी डसिन्छौँ मज्जाले ताली बजाउँदै । हाम्रो ताली मच्छरका लागि गाली हो र जीवन ढाली हो । नालीदेखि बालीको थालीसम्म, ग्वालीदेखि घरसम्म, रछ्यानदेखि ओछ्यानसम्म पुगेर हामीलाई फकाउने यी मच्छरले हाम्रो रगतपसिना चुसेर विदेशी बैङ्कमा जोहो गरेका छन् । तर पनि हामी उसैको पुच्छर भएर मच्छर मच्छर भन्दै पछि लागेका छौँ । पूजाको थालीदेखि भुजाको थालीसम्म पुग्ने हाम्रा देशका मच्छरहरू वास्तवमा हाम्रै पालनपोषणले हामीउपर सुमधुर सङ्गीतका साथ शोषणको उद्घोषण गरिरहेका छन् ।

सङ्गीतमय बोलीमा मिठासको रस घोली हामीलाई मोहनी तन्त्रले मन्त्रमुग्ध बनाएको छ । विदेशीका घर घर चहारेर आहारा बटुल्ने, स्वदेशीका घरमा मौका छोपेर कोपर्ने नौलो चलन चलाउन खप्पिस यी मच्छरहरू पुच्छर हल्लाउँदै बैँसको घोर्लेपन देखाउँछन् बुढेस कालमा पनि । अनुशासन छैन मच्छरहरूमा । शासनका नाममा कुशासनदेखि घुशासनसम्म पुगेका छन् । आफूले बनाएको नियमकानुनका ठेली सुनका पोकासँग साटेर अरुलाई धोका दिएका छन् । आफ्नो जयगान गाउन लगाउने यी मच्छरहरूले हामीलाई लैनो गाई सम्झेका छन् । त्यसैले त हामीलाई चुस्न पल्केका छन् । हाम्रै फोहोरी अनुशासन प्रवृतिले जन्मेका यी मच्छरहरू फस्टाउनमा हाम्रै हात पनि छ । यो मुलुकमा मच्छरको शासनको अन्त्यका लागि यसको वंशजको खोजी गर्नुपर्ने हुन्छ । कुन वंशको मच्छर हो, कहाँबाट आयो, कसरी, कहिले, किन र केका लागि आयो ? भन्ने कुराको नालीबेली वा इतिहास केलाउनुपर्ने हुन्छ । यसको जिम्मा शासनमा आसन जमाउनेले भन्दा शासनको रासन उपभोग गर्न नपाउनेलाई दिनु उपयुक्त हुन्छ । किनभने यो सूत्रको प्रयोग गर्नेहरू भनेकै शासनको रासन उपभोग गर्न नपाउनेहरू हुन् भन्दा बाह्रै आना सत्य ठहरिन्छ । किन कि चार आना त चिया नास्तामै सकिन्छ । आखिरी उनीहरू पनि कुनै न कुनै वाद वा रङको मच्छरको पुच्छर समातेरै बैतरणी तर्न अघि सरेका हुन्छन् ।

मच्छरहरू मत्थर हुने बेला भनेको सुक्खा समय अर्थात् खडेरी परेका बेलामा हो । चिसोका समयमा वा भनौँ जाडोमा पनि मच्छरहरू कहिलेकाहीँ हराएझैँ गर्छन् तर तिनीहरू हराउँदैनन् तपाईंहाम्रै कोठा, चोटा र रछ्यानमा भन्दा ओछ्यानमा लुक्छन् तातोका लागि । रछ्यानमा बढी चिसो हुने र ओछ्यानमा तातोका साथै हामीलाई सङ्गीतमय वातावरणमा म्वाइँ खान पाइने भएकोले पनि हाम्रो ओछ्यानलाई अँगालोमा बाँधेर राखेको हुन्छ मच्छरले र उसका सेना भनौँ वा शिष्य भनाउँदा भुसुनाहरूले । मच्छर वंशको तर मच्छरबाट अंश नपाउने भुसुनाहरू पनि हामीलाई चुस्न कम छैनन् । मच्छरको अघिपछि गर्दै तँछाडमछाड गर्ने भुसुनाहरू मसिना भए पनि काम भने ठुला ठुला गर्छन् । मच्छरलाई सघाउने काम सानो मानिँदैन । आकार सानो भए पनि प्रकार भने धेरै खाले छन् भुसनाका । यी थरी थरीका भुसुनाले हामीलाई कसरी फसल्याङफुस्लुङ पार्छन् भने भनेर साध्य छैन ।

असाध्य चतुरा र बाठा मच्छरका ठिमाहा सन्तानजस्ता भुसुनाहरू आफूलाई भागबहादुरका रुपमा उपल्ल्लो दर्जामा राख्छन् । न ध्वनि न सङ्केत एक्कासि आएर झ्वाम्मिन्छन् हाम्रो शरीरमा । मच्छर र भुसुनाको रामराज्यमा हामी बिचघरे मानवको के लाग्थ्यो र । माथ्लाघरे र तल्लाघरेको त केही लागेको छैन झन् हामी त चेपुवामा परेकाले के लाथ्यो । अरुभन्दा पनि तल्लाघरेले भने आफ्नो स्वार्थका लागि पठाएका मच्छर र भुसुनाले हाम्रो खति गरेका छन् । दिनहुँजसो तलमाथि गरिरहने गरेका कारण हाम्रो आलीकान्लामा बसेर हामीलाई नै डसेर हिँड्छन् । तल्ला घरमा बसेर बेला कुबेला हाम्रो घरमा पसेर उधुम मच्याएका छन् यी मच्छर र भुसुनाले । कहिले आली भत्काउँछन् त कहिले कान्ला ताछ्छन् । डिँगाहरू भने तमासा हेरे बस्छन् र भन्छन् यस विषयमा कुनै जानकारी नै छैन ।

अब हेर्नुस् त तल्लाघरे मच्छर र भुसुनाहरूको कर्तुत । मच्छरका पछि भुसुनाहरू पनि हामीलाई अल्मल्याउन खोज्छन् तर उनीहरूको बर्कतले मच्छर जतिको पुच्छर हल्लाउन सकेको देखिँदैन । भुसुनाहरूले पनि मच्छरकै सिको सिकेका हुन् । गुरु भएपछि चेलाको के दुःख हुन्छ र ? मच्छर मण्डलीबाट जन्मिएका भुसुनाहरू मच्छरको सिकोमा पुच्छर भएर यत्रतत्र सयर गर्न पछि परेका छैनन् सबैलाई चेतना भया । आउँदा दिनमा यी कुशासन र घुशासन जन्माउने मच्छर तथा भुसुनाको जुलुसको क्षय होस् । सबै खाले मच्छर र भुसुनामा क्षयकारी अभिवादन ।

०००
उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
नेपाल कछुवा दल

नेपाल कछुवा दल

माधव पोखरेल गोज्याङ्ग्रे
जालझेल

जालझेल

माधव पोखरेल गोज्याङ्ग्रे
व्यशासन भित्रको कुशासन

व्यशासन भित्रको कुशासन

माधव पोखरेल गोज्याङ्ग्रे
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x