माधव पोखरेल गोज्याङ्ग्रेमच्छरको पुच्छर
अब हेर्नुस् त तल्लाघरे मच्छर र भुसुनाहरूको कर्तुत । मच्छरका पछि भुसुनाहरू पनि हामीलाई अल्मल्याउन खोज्छन् तर उनीहरूको बर्कतले मच्छर जतिको पुच्छर हल्लाउन सकेको देखिँदैन ।

भनौँ के भनौँ, सुनाऊँ के सुनाऊँ, आफैलाई लाज लाग्ने कुरा बुढेस कालमा । बैँसमा हुँदा पनि ढिडो मस्काएझैँ मस्किन जानिएन । बैँसमा घोर्ले घोर्ले पाराको भए पनि त्यो ऐस देखाउन जानिएन । सियो जतिकै सोझो भएकोले बाँस जसरी निहुरिन जानिएन । निहुरमुन्टी न नहुने बानीले गर्दा अहिले आएर ज्ञानी ज्ञ जस्तो बन्नुपरेको छ । अरुभन्दा पनि बैँसमै खस्किएको मान्छे म बुढेस कालमा आएर मन लागी नलागी मच्छरहरूसँग मस्किन बाध्य हुनुपरेको छ । पुतलीहरूसँग खस्किएर मच्छरहरूसँग मस्किनुपर्दा ‘तीन त्रिलोक चौध भुवन’ देख्नुपरेको छ । गर्मीको समय, झुलभित्रको गाँसबास भनौँ थातथलो नै परिवर्तन गरेर मच्छरहरूको राज्यमा पुगेको भान भइरहेको छ ।
हुन त अरुले होइन हामीले नै पालनपोषण गरेर संरक्षण गरेका कारणले होला हामीलाई म्वाइँ खान जुन बेला पनि तयार भएको पाइन्छ । जब घरमा मच्छर भित्रिन्छ तब हामी मच्छरधुप बालेर स्वागत गर्छौं । सङ्गीतको धुन सुनाउँछौँ । गीत सुन्न मन नलाग्दा पनि कानमा आएर गीत सुनाउने र गालामा म्वाइँ खाएर माया गर्ने मच्छरहरूसँग जस्तै खस्किने मान्छे पनि लेकालीहरूले ढिँडो मस्काएझैँ गरी मस्किने गरेको खरो सत्य हो । दरबारमा बस्नेदेखि लिएर घरबार नहुनेसम्म पुगेर म्वाइँ खान अघि सर्ने मच्छरको अधिनायकवाद भनौँ वा साम्राज्यवादी नीति विगतको तुलनामा अस्ताएर सुस्ताउनुको साटो बाटो खोजी खोजी हिँडेको स्पष्ट छ । नेपालमा देश दौडाहामा लागेका मच्छरहरूभन्दा हामीलाई सुकिलामुकिला विदेशबाट आयातित भनौँ वा वैदेशिक घुमन्ते मच्छरहरूबाट बढी चुसिने भयले सताएको छ । घुमन्ते, फिरन्ते, उडन्ते, छेरन्ते, डरन्तेलगायतका विविध खाले मच्छर पाइने हाम्रो मुलुकमा पिरन्ते, भिरन्ते, लडन्ते, षड्न्ते, सडन्ते र हगन्ते मच्छरदेखि जोकोही पनि तीन कोस टाढा बस्ने गरेको पाइन्छ ।
फिस नतिरीकन मिसै नगरी किस खान पल्केका मच्छरका गुरू स्वामी फोहरानन्दजी महाराज र मच्छरका नेता लामखुट्टे मच्छराधीशका कारण पनि मुलुकमा गरिबी घट्न नसकेको घटना पटनाबाट बाहिर आएर हामी परपर हटनासम्म पुगेका छाँै । साँच्चै भन्ने हो भने हामी अहिले मच्छरहरूको भिडमा मच्छरदानीभित्र बसेर मच्छरसँग मित्रता गाँसिरहेका छौँ । पुराना र नयाँ खाले मच्छरको भिडमा हामी हराएका छौँ । पुराना खाले र नयाँ खाले मच्छरले हामीलाई म्वाइँ खाने तरिका फरक फरक छ । पुरानाले सिधै आएर म्वाइँ खाएर माया गर्थे भने नयाँले भजनकीर्तन गाएर लट्ठ पारेर गाला र शरीरका विभिन्न अङ्गमा स्पर्श गरेर कानमा सङ्गीत सुनाउँदै हामीले गरेको स्वागतसत्कारको बदला लिन्छन् । हामीले पल्काएका कारण हामीलाई अहिले आएर मच्छरले हैरान पारेको खरो सत्य छर्लङ्ग छ तर पनि हामी सचेत होइन अचेत नै छौँ । यही अचेतका कारण हामी मच्छरको आहारा भएर सहारा भएका छौँ र उसको जयगान गाउँछौँ ।
मच्छर मत्थर हुने स्थितिको वातावरण अझै बन्न सकेको देखिँदैन । हाम्रो कोठाचोटामा हुलका हुल मूल भएर हामीलाई त्रिशूल तेस्र्याउन आइरहेकै छन् । हामी जहाँसुकै जाऊँ त्यही हामीलाई आफ्नो सङ्गीत सुनाउँदै भरङ्गित बनाउन लागिपरेका छन् मच्छरहरू । थात न थलोका यी मच्छरहरू सुभलोभन्दा पनि कुभलो चिताएर हामीलाई बिताएर जान्छन् । हुन त समाज न हो सबै खालेको उपस्थिति हुन्छ । भालेपोथीको गन्थनमन्थन हुन्छ । सायद उनीहरूको सल्लाह हुन सक्छ । सल्लाहले पोथी खटिन्छिन् गीतसङ्गीत सुनाउन र हाम्रो रगत चुसेर सन्तानको जीविकोपार्जनका लागि । हाम्रो स्वागतसत्कारले पल्किएको, हाम्रै रगतपसिना चुस्न सल्किएको, सधैँ हामीतिरै ढल्किएको तर समाजबाट मिल्किएको मच्छरको पुच्छर भएका छौँ हामी । किनभने जता जता मच्छर जान्छ उतै उतै उसको पुच्छर समातेर उसबाट वैतरणी तर्न खोज्छौँ तर हाम्रो प्रयासभन्दा उसैको प्रयासले हामी पराजित हुन्छौँ । उसको हर्कतले हामीलाई सदाका लागि ओछ्यानमा सुताउँछ । तर हाम्रो बर्कतले अहिलेसम्म केही भएको छैन । कति शक्तिशाली रहेछ मच्छर, यस्तो शक्तिशाली जीवसँग हामीले खस्केर पनि मस्किन पाउनु भनेको लघु जीवनयापनको प्रमाण हो ।
समाजमा धेरै प्रकारका मच्छरहरू पाइन्छन् । गर्मीका समयमा मात्र होइन हिउँदवर्षा सबै समयमा गाउँघरमा यिनीहरूको वर्चस्व हुन्छ । जिन्दावाद र मुर्दावादको नारा लाउँदै जहाँसुकै जुन बेला पनि सल्बलाउने मच्छरहरू चाडपर्व मेलापात जतासुकै पनि पुग्छन् । उनीहरूको मौसम हुन्छ त्यो मौसम र समयमा हामी डसिन्छौँ मज्जाले ताली बजाउँदै । हाम्रो ताली मच्छरका लागि गाली हो र जीवन ढाली हो । नालीदेखि बालीको थालीसम्म, ग्वालीदेखि घरसम्म, रछ्यानदेखि ओछ्यानसम्म पुगेर हामीलाई फकाउने यी मच्छरले हाम्रो रगतपसिना चुसेर विदेशी बैङ्कमा जोहो गरेका छन् । तर पनि हामी उसैको पुच्छर भएर मच्छर मच्छर भन्दै पछि लागेका छौँ । पूजाको थालीदेखि भुजाको थालीसम्म पुग्ने हाम्रा देशका मच्छरहरू वास्तवमा हाम्रै पालनपोषणले हामीउपर सुमधुर सङ्गीतका साथ शोषणको उद्घोषण गरिरहेका छन् ।
सङ्गीतमय बोलीमा मिठासको रस घोली हामीलाई मोहनी तन्त्रले मन्त्रमुग्ध बनाएको छ । विदेशीका घर घर चहारेर आहारा बटुल्ने, स्वदेशीका घरमा मौका छोपेर कोपर्ने नौलो चलन चलाउन खप्पिस यी मच्छरहरू पुच्छर हल्लाउँदै बैँसको घोर्लेपन देखाउँछन् बुढेस कालमा पनि । अनुशासन छैन मच्छरहरूमा । शासनका नाममा कुशासनदेखि घुशासनसम्म पुगेका छन् । आफूले बनाएको नियमकानुनका ठेली सुनका पोकासँग साटेर अरुलाई धोका दिएका छन् । आफ्नो जयगान गाउन लगाउने यी मच्छरहरूले हामीलाई लैनो गाई सम्झेका छन् । त्यसैले त हामीलाई चुस्न पल्केका छन् । हाम्रै फोहोरी अनुशासन प्रवृतिले जन्मेका यी मच्छरहरू फस्टाउनमा हाम्रै हात पनि छ । यो मुलुकमा मच्छरको शासनको अन्त्यका लागि यसको वंशजको खोजी गर्नुपर्ने हुन्छ । कुन वंशको मच्छर हो, कहाँबाट आयो, कसरी, कहिले, किन र केका लागि आयो ? भन्ने कुराको नालीबेली वा इतिहास केलाउनुपर्ने हुन्छ । यसको जिम्मा शासनमा आसन जमाउनेले भन्दा शासनको रासन उपभोग गर्न नपाउनेलाई दिनु उपयुक्त हुन्छ । किनभने यो सूत्रको प्रयोग गर्नेहरू भनेकै शासनको रासन उपभोग गर्न नपाउनेहरू हुन् भन्दा बाह्रै आना सत्य ठहरिन्छ । किन कि चार आना त चिया नास्तामै सकिन्छ । आखिरी उनीहरू पनि कुनै न कुनै वाद वा रङको मच्छरको पुच्छर समातेरै बैतरणी तर्न अघि सरेका हुन्छन् ।
मच्छरहरू मत्थर हुने बेला भनेको सुक्खा समय अर्थात् खडेरी परेका बेलामा हो । चिसोका समयमा वा भनौँ जाडोमा पनि मच्छरहरू कहिलेकाहीँ हराएझैँ गर्छन् तर तिनीहरू हराउँदैनन् तपाईंहाम्रै कोठा, चोटा र रछ्यानमा भन्दा ओछ्यानमा लुक्छन् तातोका लागि । रछ्यानमा बढी चिसो हुने र ओछ्यानमा तातोका साथै हामीलाई सङ्गीतमय वातावरणमा म्वाइँ खान पाइने भएकोले पनि हाम्रो ओछ्यानलाई अँगालोमा बाँधेर राखेको हुन्छ मच्छरले र उसका सेना भनौँ वा शिष्य भनाउँदा भुसुनाहरूले । मच्छर वंशको तर मच्छरबाट अंश नपाउने भुसुनाहरू पनि हामीलाई चुस्न कम छैनन् । मच्छरको अघिपछि गर्दै तँछाडमछाड गर्ने भुसुनाहरू मसिना भए पनि काम भने ठुला ठुला गर्छन् । मच्छरलाई सघाउने काम सानो मानिँदैन । आकार सानो भए पनि प्रकार भने धेरै खाले छन् भुसनाका । यी थरी थरीका भुसुनाले हामीलाई कसरी फसल्याङफुस्लुङ पार्छन् भने भनेर साध्य छैन ।
असाध्य चतुरा र बाठा मच्छरका ठिमाहा सन्तानजस्ता भुसुनाहरू आफूलाई भागबहादुरका रुपमा उपल्ल्लो दर्जामा राख्छन् । न ध्वनि न सङ्केत एक्कासि आएर झ्वाम्मिन्छन् हाम्रो शरीरमा । मच्छर र भुसुनाको रामराज्यमा हामी बिचघरे मानवको के लाग्थ्यो र । माथ्लाघरे र तल्लाघरेको त केही लागेको छैन झन् हामी त चेपुवामा परेकाले के लाथ्यो । अरुभन्दा पनि तल्लाघरेले भने आफ्नो स्वार्थका लागि पठाएका मच्छर र भुसुनाले हाम्रो खति गरेका छन् । दिनहुँजसो तलमाथि गरिरहने गरेका कारण हाम्रो आलीकान्लामा बसेर हामीलाई नै डसेर हिँड्छन् । तल्ला घरमा बसेर बेला कुबेला हाम्रो घरमा पसेर उधुम मच्याएका छन् यी मच्छर र भुसुनाले । कहिले आली भत्काउँछन् त कहिले कान्ला ताछ्छन् । डिँगाहरू भने तमासा हेरे बस्छन् र भन्छन् यस विषयमा कुनै जानकारी नै छैन ।
अब हेर्नुस् त तल्लाघरे मच्छर र भुसुनाहरूको कर्तुत । मच्छरका पछि भुसुनाहरू पनि हामीलाई अल्मल्याउन खोज्छन् तर उनीहरूको बर्कतले मच्छर जतिको पुच्छर हल्लाउन सकेको देखिँदैन । भुसुनाहरूले पनि मच्छरकै सिको सिकेका हुन् । गुरु भएपछि चेलाको के दुःख हुन्छ र ? मच्छर मण्डलीबाट जन्मिएका भुसुनाहरू मच्छरको सिकोमा पुच्छर भएर यत्रतत्र सयर गर्न पछि परेका छैनन् सबैलाई चेतना भया । आउँदा दिनमा यी कुशासन र घुशासन जन्माउने मच्छर तथा भुसुनाको जुलुसको क्षय होस् । सबै खाले मच्छर र भुसुनामा क्षयकारी अभिवादन ।
०००
उदयपुर
Subscribe
Login
0 Comments
Oldest







































