मिलन समीरमुक्तिको प्रतीक्षामा मिलन समीर
आलो रगतको आधिखोला उर्लिएर नदीकिनारका बस्तीहरू एकपछि अर्को गर्दै चिहानमाथि चिहान खनेका छन् मसानघाटमा...

अद्वितीय वैज्ञानिक आविष्कारहरूको
बाइसौ शताब्दीको अत्याधुनिक संघारमा
प्रतिस्थापित विखण्डित विगतको विरासतसँगै
कुप्रो परिसकेको ढाडमाथि अनिश्चित भविष्यको
भालुपहाडे भारी बोकेर मूल्यस्खलित वर्तमान
विचारशून्य छली समयको धूमिल छाया
आँधिखोला किनारको गोरेटो हुँदै हिंडेको
तथाकथित सिद्वार्थ राजमार्ग नामधारी
धुलीमाटे बिजोगी मृत्युमार्गमा रुँदै आएर
भालुपहाडको भयानक विकराल आकारमा
अचानक ठिङ्ग उभिएको छ अद्वितीय रूपमा
आफ्नै बूढोघरको फराकिलो आँगन ढाकेर
भीमकाय विकराल राक्षसको साक्षात स्वरुपमा !
उत्तरआधुनिक जीवन्त मानवीय स्वरुप तर
चरम दानवीय उग्र स्वभावले निम्त्याइरहेको
विषमवाद र विध्वंसकारी आततायी क्रीडासँगै
भयावह सशस्त्र शक्तिपुञ्जहरूको जञ्जिरभित्र
अन्यौलको अस्तव्यस्त प्रदुषित श्वास फेरिरहेको
विछोडको वेदनारुपी प्रचण्ड अग्निज्वालाको बीच
मर्नु न बाँच्नुको दोसाँधमा केवल ज्युँदो लास बनेर
केही नभएको रित्तो, अनि सहाराविहीन भुइँमान्छे
यो मिलन समीर नामधारी उत्तरआधुनिक अभिमन्यु
आफ्नो पराजय सुनिश्चित भइसकेको थाहा भएर पनि
सम्पूणर् रूपमा विजेताको मानसिकता बोकेर दृढतापुर्वक
अन्तिम युद्ध लडिरहेको छ- जीवनयात्राको कुरुक्षेत्रमा !
एक्लै छोडिएको छ उसलाई अन्धकार कालरात्रीको
राँकेभुतले खाजा खाइरहेको मध्यान्तरको कालबेलामा
सिकार भइरहेको छ ऊ पार्थक्य अनि चरम एकाकीपनको !
चारैदिशाबाट घेरिएको छ फेरि उम्किनै नसक्नेगरि
अज्ञात शक्तिहरूद्वारा प्रिय दुश्मन भएर उसको लागि
अप्रिय आत्मघाती मित्रहरूको अनौठो अदृश्य आवरणमा !
थाहा छैन उसलाई प्रिय दुश्मन ठानिरहेका
अप्रिय विश्वासघाती बुङ्गा मित्रहरू को हुन् ?
कहाँ बसेर के गरिरहेका छन् तिनीहरूले ?
प्राचीन शकुनीको पासो थापेर अहिलेसम्म
किन बनाइँदैछ उत्तरआधुनिक अभिमन्यु
र, यसरी हराउन खोजिएको छ उसलाई सधैंका लागि
सम्पूर्ण शक्तिहरू मिलेर आफ्नै जीवनको महाभारतमा ?
चुट्नुसम्म चुटिएको छ उसलाई मात्रै अहिलेसम्म
पिटिएको छ एक्लै पारेर फेरि उठ्नै नसक्नेगरि
लुटिएको छ उसको बाकी जीवनको अस्तित्वलाई
मानवीय संवेदनशीलताले कहिल्यै छाम्न नसक्नेगरि !
एक्लो पारिएको छ र मारिएको छ गला रेटेर
एउटा रहस्यमय एवम अगम्य परिस्थितिको
बाक्लो कालो कम्मलले ढाकिएको औंशीको
निस्तब्ध अन्धकारभित्र एक्लैएक्लै झटारिएर !
चरम प्रतिकुल परिस्थितिको पटाङ्गिनीमा पनि
मुक्तिको प्रतीक्षामा आफ्ना दुवै सजल नयनहरू
मुक्तिको आगमन हुने मुलबाटोतिर बिछ्याइरहेछ !
यहाँ अविरल आँसुका महासागरहरू
खुशीको एउटा अर्को सगरमाथा भत्काउन
आफ्ना निर्दयी नङ्ग्र्राहरू फैलाइरहेका छन्
भीषण आँधिवेहरीसहित सुनामीको छाल भएर !
आलो रगतको आधिखोला उर्लिएर
नदीकिनारका बस्तीहरू एकपछि अर्को गर्दै
चिहानमाथि चिहान खनेका छन् मसानघाटमा
मिर्मिरे बिहानीमा भालेको पहिलो डाकसँगैै
ब्यँुझिएर कहालीलाग्दो दुर्घटित सपनाबाट !
प्रत्येक ज्युँदा मान्छेको हृदयरुपी
मनमन्दिरको पवित्र मझेरीको माझमा
विष्फोट भइरहेको छ भीषण ज्वालामुखी !
यही निर्जन समयचक्रमा एक्लो मिलन समीर
आफ्नो जिन्दगीदेखि सधैंका लागि हारिसकेर
मुक्तिको प्रतीक्षामा बाँचिरहेको छ अहिलेसम्म पनि
गन्तव्यविहीन- सार्थकताहीन जीवनको क्यानभासमा
खोजिरहेको छ वर्षौंदेखि एउटा अद्वितीय अमूर्त आकृति !
उत्तरआधुनिक अभिमन्यु अभागी मिलन समीर
विश्वासघाती बुङ्गा मानवहरूको माझमा उभिएर
हराइसकेको आफ्नो अर्थहीन जीवनको अस्तित्व
र, गुमनाम स्वाभिमानी पहिचान खोजिरहेको छ
ओझेल परेको शीतल छहारी कतै छ कि भनेर
अहिलेसम्म निरन्तर एकोहोरो रूपमा टोलाउदै
जीवनयात्राकै क्रममा छेउ लाग्न खोजिरहेको छ
अरु सबैथोक छोडेर केवल मुक्ति रोजिरहेको छ !
०००
करादीखोला, स्याङ्जा
Subscribe
Login
0 Comments
Oldest






































