नन्दलाल आचार्यसरकारको सय दिन : आरोपको अचार, सुशासनको हुङ्कार !
ममाथि भरोसा राख्नुहोस्, यो देश बदलिनेछ, र त्यो पनि हाम्रै पालामा ! हँसाउनेहरू हाँस्दै गरुन्, देश बनाउनेहरू बनाउँदै जाउन् !

नन्दलाल आचार्य :
आदरणीय देशबासी दिदीबहिनी तथा दाजुभाइहरू,
नमस्कार एवं जय नेपाल, जय सुशासन !
आज मेरो नेतृत्वको सरकारले सिंहदरबारको कुर्सीमा बसेर देशको ऐना हेरेको ठीक १०० दिन पुगेको छ । यो १०० दिनको अवधिमा मैले यति धैरे प्रेम, सद्भाव र त्योभन्दा बढी ‘आरोपका सुन्दर उपहारहरू’ पाएको छु कि मलाई लाग्दैछ– म देशको प्रधानमन्त्री होइन, कुनै अनलाइन ट्रोल पेजको मुख्य एड्मिन हुँ ! हाम्रो देशमा एउटा गजबको संस्कृति छ– बच्चा जन्मिएको छैटौँ दिनमा ‘छैटी’ मनाइन्छ र उसको भाग्य लेखिन्छ । तर सरकारको हकमा भने विपक्षी मित्रहरूले पहिलो दिनमै ‘भाग्य विधाता’ बनेर असफलताको कुण्डली लेखिदिन्छन् । १०० दिन पुग्दा नपुग्दै विपक्षी क्याम्पबाट एउटा यति लामो ‘आरोपपत्र’ बजारमा आएको छ, जसलाई पढ्दा मलाई लाग्यो– कतै म प्रधानमन्त्री नभएर कुनै हलिउड फिल्मको ‘भिलेन’ त भइनँ ? आउनुहोस्, आज यो ऐतिहासिक १०० दिनको अवसरमा चियाको सुरुर्कीसँगै ती मीठा, टर्रा र अलिकति अमिला आरोपहरूको चिरफार गरौँ, यथार्थको ऐना हेरौँ र आगामी दिनको उज्यालो रणनीतिको गफगाफ गरौँ ।
विपक्षी मित्रहरूले पहिलो कडा प्रहार मेरो शासनशैलीमाथि गर्नुभएछ । कानुनले नचिनेका मान्छेहरूले समानान्तर सत्ता चलाए रे ! म सोध्न चाहन्छु, कानुनले चिनेकाहरूले मात्रै सत्ता चलाउँदा देश कहाँ पुगेको थियो, त्यो त जगजाहेर नै छ । हामीले त केवल काम छिटो होस् भनेर केही ऊर्जावान् हातहरूलाई अघि सारेका हौँ । ट्रेड युनियनमाथिको प्रतिबन्धलाई लोकतान्त्रिक अधिकारको हनन भनिएछ । कार्यकक्षमा बसेर जनताको फाइल अड्काउने अनि ट्रेड युनियनको झण्डा हल्लाएर ‘माग पूरा गर’ भन्दै हाजिर गरेर टाप कस्ने प्रवृत्तिलाई अलिकति साइजमा ल्याउनु के लोकतन्त्रविरोधी काम हो र ? जनताले तिरेको करबाट तलब खानेले पहिले जनताको काम गर्नुपर्छ, झण्डा त शनिबार बिदाको दिन हल्लाउँदा पनि भइहाल्छ नि !
सबैभन्दा रोमान्टिक आरोप त पूर्वप्रधानमन्त्रीज्यूलाई ‘पूर्वाग्रही ढङ्गले पक्राउ गरेको’ र १३ दिनसम्म कानुनी आधार नदेखाएको भन्ने लागेछ । अहो ! १३ दिनसम्म त मान्छेहरू प्रेमिकासँग रिसाएर बोल्दैनन्, हामी त कानुनी प्रक्रिया पूरा गर्दै थियौँ । कानुनको नजरमा पूर्वप्रधानमन्त्री होस् या वर्तमान, सबै बराबर हुन् । त्यसमा पनि ती प्रमजीको बसाइ त कति आरामदायी थियो होला, उहाँले त्यहाँ पनि नयाँ–नयाँ उखानटुक्काको पाण्डुलिपि तयार पार्नुभयो होला भन्ने मेरो विश्वास छ । यसलाई प्रतिशोध होइन, ‘कानुनी आतिथ्यता’ भनिन्छ मित्रहरू ! अहिले उपप्रधानमन्त्रीमाथिको कुरा पनि त्यस्तै हो, फाइल खोतल्दा नाम निस्कियो त हामीले के गर्ने ? फाइलको केरकार गर्नु प्रतिशोध हो भने, सुशासनको भजन मात्रै गाएर बस्ने त ?
हामीमाथि दोहोरो मापदण्डको आरोप लाग्यो– आफ्नालाई चोख्याउने, अरूलाई ठोक्ने । म प्रष्ट पार्न चाहन्छु, हाम्रो यो सरकारको भान्सामा ‘आफ्नो’ र ‘पराई’ भन्ने दुईवटा चुल्हो छैन । अनुसन्धानका आफ्नै प्रक्रिया हुन्छन् । कतिपयको रोग चाँडो निको हुन्छ, कतिपयको डाइग्नोसिस गर्न समय लाग्छ । सबैभन्दा गम्भीर र अलिकति हाँसउठ्दो आरोप ‘नेपालले भारतको सीमा मिचेको’ भन्ने मेरो कथित गैरजिम्मेवार अभिव्यक्तिलाई लिएर लगाइएछ । राष्ट्रवादी चस्मा लगाउने बित्तिकै संसारका सबै कुरा ऐनाको उल्टो देखिन थाल्छ कि क्या हो ? नेपालको सिमाना मिचिएको कुरा उठाउनु राष्ट्रघात हो कि सिमाना मिचिँदा पनि ‘लम्पसार’ परेर बस्नु राष्ट्रघात हो ? राष्ट्रिय स्वाभिमान मन्तव्यमा होइन, नक्सा र धरातलमा जोगिनुपर्छ । हामी छिमेकीसँग आँखामा आँखा जुधाएर कुरा गर्दैछौँ, तर केही साथीहरूलाई पुलुक–पुलुक हेर्ने पुरानो बानी परेकाले हाम्रो यो सीधा हेराइ अलि अपाच्य भएको हुन सक्छ ।
भ्रष्टाचार नियन्त्रणमा ठोस उपलब्धि देखिएन र ठूला अनियमिततामा प्रभावकारी अनुसन्धान भएन भन्ने गुनासो पनि बडो बजारु शैलीमा आएको छ । अनुसन्धान भनेको जादुको छडी होइन, जसलाई घुमाउने बित्तिकै सबै प्रमाणहरू आफैँ प्रकट हुन् । हामीले फाइलहरू खोतल्न सुरु गरेका मात्र हौँ, र ज–जसको मुटुमा ढ्याङ्ग्रो ठोक्किन थालेको छ, उहाँहरू नै अहिले ठूला स्वरले अनुसन्धान भएन भन्दै कराइरहनुभएको छ । शान्त तलाउमा ढुङ्गा हान्दा तरङ्ग त आउँछ नै, अहिले भ्रष्टाचारीहरूको साम्राज्यमा आएको यो तरङ्ग नै हाम्रो सफलताको पहिलो पाइला हो ।
विपक्षीका पानाहरू पल्टाउँदै जाँदा डिजिटल नेपालका वाचा कागजमै सीमित भएको, पासपोर्ट र लाइसेन्सको लाइन उस्तै रहेको भन्ने आरोप पनि फेला पर्यो । लौ भन्नुहोस्, वर्षौँदेखि लाइन बस्ने बानी परेका नेपालीहरूलाई एकैपटक डिजिटल बनाउँदा कतै उहाँहरूको ‘मर्निङ वाक’ र लाइनमा बसेर गरिने गफगाफको संस्कृति हराउने त होइन भन्ने चिन्ता मलाई थियो । तर जोक एकातिर राखौँ, सर्भर डाउन हुने पुरानो रोगलाई हामीले ‘अक्सिजन’ दिएर बचाउने प्रयास गरिरहेका छौँ । सुधार एकै रातमा चामत्कारिक रूपमा हुँदैन, तर अब लाइनमा बस्ने समय घटेको छ ।
सुकुम्बासीको घर भत्काएर बर्षायाममा सेल्टरबाट निकालेको आरोप निकै भावुक छ । तर कानुन मिचेर, नदी किनार मिचेर, सडक मिचेर बनाइएका संरचना हटाउनु र सहरलाई सास फेर्न दिने वातावरण बनाउनु कसरी अधिनायकवाद भयो ? निष्कर्षमा त मलाई ‘बालेनले आफूलाई महाराज बनाएर अधिनायकवाद लादेको’ सम्म भन्न भ्याइयो । म देशको प्रधानमन्त्री हुँ, मलाई काठमाडौँको मेयरसँग तुलना गरेर मेरो कद सानो बनाउन खोजेको कि मेयरसाबको कद ठुलो ? जे होस्, यदि सहर सफा हुनु, कानुनको पालना हुनु र शासकीय अनुशासन कायम हुनुलाई ‘अधिनायकवाद’ भनिन्छ भने, मलाई यस्तो अधिनायकवाद मन पर्छ !
उद्योगी व्यवसायीलाई दबाब दिएर मनोबल गिराएको रे ! यहाँ त कर नतिर्ने, बैंकको लोन लिएर घिउका डल्लाजस्ता मलहरूमा लगानी गर्ने तर देशको अर्थतन्त्र टाट पल्टिँदा हाँसेर बस्नेहरूलाई अलिकति कान समातेर ’लौ न कर तिरौँ’ भन्दा मनोबल गिर्ने ? उद्योगीहरूको मनोबल यति कमजोर त हुनु नपर्ने हो । पुँजीगत लाभकरको नीतिले सेयर बजार प्रभावित भयो भनिएको छ । सेयर बजार भनेको त मुटुको धड्कन जस्तै हो– कहिले माथि, कहिले तल । जब बजार हरियो हुन्छ, श्रेय लगानीकर्ताको; जब रातो हुन्छ, दोष प्रधानमन्त्रीको ? यो त अलि न्यायसंगत भएन नि मित्रहरू ।
दूध र उखु किसानको बक्यौताको कुरा साँच्चै संवेदनशील छ । वर्षौँदेखिको विकृतिको भारी यो १०० दिनको सरकारले बोक्नु परिरहेको छ । हामीले भुक्तानीको प्रक्रिया सुरु गरिसकेका छौँ । धान रोप्ने बेला मलको अभाव त नेपालको राष्ट्रिय पर्व जस्तै भइसकेको थियो, तर यसपालि हामीले विगतका वर्षहरूभन्दा धेरै गुणा बढी मल आयात गरेर गाउँ–गाउँ पुर्याएका छौँ । तर विपक्षी साथीहरूलाई मल खेतमा होइन, केवल भाषणमा चाहिने भएकाले उहाँहरूले अभाव मात्रै देख्नुभयो । बजारको महँगीको कुरा गर्दा, व्यापारीहरूले चाडबाडको मौका छोपेर बढाएको मूल्यको भारी पनि सरकारकै थाप्लोमा हालिदिने चलन पुरानै हो । हामीले बजार अनुगमनलाई तीब्र बनाएका छौँ, छिट्टै महँगीको पारो ओरालो लाग्नेछ ।
सय दिनमा बजेट कार्यान्वयन भएन, पुँजीगत खर्च न्यून भयो भनेर रोइलो गरिएको छ । साउनमा बजेट स्वीकृत भएर भदौ–असोजमा चाडबाड मनाउँदैमा समय जान्छ, अनि १०० दिनमै मेलम्चीको पानी सररर बगी हालोस्, निजगढ विमानस्थलमा प्लेन उडिहालोस् भन्ने अपेक्षा गर्नु त अलि बढी नै रोमान्टिक भएन र ? हाम्रो अधिकांश समय प्रचार र प्रतिपक्षप्रति आक्रामकतामै बित्यो भन्ने आरोप पनि कम्तीको छैन । सत्य त यो हो कि हामी काम गरिरहेका थियौँ, तर प्रतिपक्षले यति ठूलो माइक लिएर कराइदियो कि हाम्रो कामको मधुर धुन उहाँहरूको कोलाहलमा अलि दब्न पुग्यो ।
आदरणीय देशबासीहरू, यो १०० दिन त केवल ‘वार्मअप’ मात्र थियो । पिच तयार भइसकेको छ, अब ब्याटिङ सुरु हुँदैछ । आगामी दिनका लागि हाम्रा स्पष्ट रणनीतिहरू तय भइसकेका छन् ।
पहिलो त सुशासनको महाअभियान हो, जसअन्तर्गत फाइलहरू खुल्ने क्रम रोकिने छैन, चाहे ती सिंहदरबारभित्रका हुन् वा बाहिरका । कसैको अनुहार हेरेर होइन, प्रमाण हेरेर कारबाही हुनेछ । दोस्रो, प्रशासनिक डिजिटल क्रान्ति गरिनेछ, जसले सरकारी कार्यालयमा धाउँदा–धाउँदा जुत्ताको तलवा खिइने दिनको अन्त्य गर्न ‘वान–स्टप डिजिटल सर्भिस’ पूर्ण रूपमा लागू गर्नेछ । तेस्रो, उत्पादन र किसान पहिलो प्राथमिकतामा पर्नेछन्, आगामी सिजनमा किसानले मलका लागि लाइन बस्नुपर्ने छैन भने दूध र उखु किसानको बाँकी बक्यौता भुक्तानीका लागि विशेष वित्तीय प्याकेजको व्यवस्था गरिँदैछ । चौथो, आर्थिक सहजताका लागि ब्याजदर नियन्त्रण र बजारमा तरलता बढाएर उद्योगी व्यवसायीहरूले ढुक्कसँग लगानी गर्ने वातावरण निर्माण गरिनेछ, तर कर छल्ने छुट कसैलाई हुने छैन ।
सय दिनको निष्कर्ष निकाल्दै विपक्षी मित्रहरूले मलाई ‘अधिनायकवादी’, ‘अक्षमताको प्रतीक’ र ‘प्रचारमुखी’ भन्नुभएछ । म उहाँहरूलाई धन्यवाद दिन चाहन्छु। किनकि निन्दक नियरे राखिए, आँगन कुटी छवाय अर्थात् आफ्नो निन्दा वा आलोचना गर्ने व्यक्तिलाई आफ्नै घरको आँगनमा कुटी (झुपडी) बनाएर भए पनि आफ्नो नजिकै राख्नुपर्छ । उहाँहरूले मेरो आलोचना नगरिदिएको भए मलाई लाग्ने थियो कि म कतै गलत बाटोमा त छैन ? उहाँहरूको छटपटीले नै प्रमाणित गर्छ कि सरकार सही दिशामा अघि बढिरहेको छ । हामीले नारालाई काममा रूपान्तरण गर्न समय अवश्य लिएका हौँ, किनकि हतारमा गरिएको काम लतारपतार हुन्छ । हामी प्रचारलाई होइन, परिणामलाई विश्वास गर्छौँ । आगामी दिनमा परिणाम आफैँ बोल्नेछ, म बोलिरहनु पर्ने छैन ।
त्यसैले, मेरा प्यारा देशबासीहरू, भ्रमको बजारमा नबिक्नुहोस् । सरकार तपाईंहरूकै सुख, समृद्धि र न्यायका लागि अहोरात्र खटिएको छ । यो १०० दिन त जग हाल्ने काम भयो, अब महल ठडिने क्रम सुरु हुनेछ । ममाथि भरोसा राख्नुहोस्, यो देश बदलिनेछ, र त्यो पनि हाम्रै पालामा ! हँसाउनेहरू हाँस्दै गरुन्, देश बनाउनेहरू बनाउँदै जाउन् ! धन्यवाद ।
तपाईंहरूकै भरपर्दो प्रधानमन्त्री ।
(पुनश्चः यो लेख नितान्त साहित्यिक कर्मका लागि हो, कसैसँग मेल खाए वा कसैलाई घोच्न पुगे त्यस दर्दको हिसाबकिताबको क्षतिपूर्ति कोही भर्न बाध्य हुनेछैन । धन्यवाद !!!)
०००
२०८३ असार २० गते ।
बेलका–२, सिद्धार्थटोल, उदयपुर ।
सम्पर्क– ९८४२८२९२०६
Subscribe
Login
0 Comments
Oldest











































