साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सरकारको सय दिन : आरोपको अचार, सुशासनको हुङ्कार !

ममाथि भरोसा राख्नुहोस्, यो देश बदलिनेछ, र त्यो पनि हाम्रै पालामा ! हँसाउनेहरू हाँस्दै गरुन्, देश बनाउनेहरू बनाउँदै जाउन् !

Nepal Telecom ad

नन्दलाल आचार्य :

आदरणीय देशबासी दिदीबहिनी तथा दाजुभाइहरू,
नमस्कार एवं जय नेपाल, जय सुशासन !

आज मेरो नेतृत्वको सरकारले सिंहदरबारको कुर्सीमा बसेर देशको ऐना हेरेको ठीक १०० दिन पुगेको छ । यो १०० दिनको अवधिमा मैले यति धैरे प्रेम, सद्भाव र त्योभन्दा बढी ‘आरोपका सुन्दर उपहारहरू’ पाएको छु कि मलाई लाग्दैछ– म देशको प्रधानमन्त्री होइन, कुनै अनलाइन ट्रोल पेजको मुख्य एड्मिन हुँ ! हाम्रो देशमा एउटा गजबको संस्कृति छ– बच्चा जन्मिएको छैटौँ दिनमा ‘छैटी’ मनाइन्छ र उसको भाग्य लेखिन्छ । तर सरकारको हकमा भने विपक्षी मित्रहरूले पहिलो दिनमै ‘भाग्य विधाता’ बनेर असफलताको कुण्डली लेखिदिन्छन् । १०० दिन पुग्दा नपुग्दै विपक्षी क्याम्पबाट एउटा यति लामो ‘आरोपपत्र’ बजारमा आएको छ, जसलाई पढ्दा मलाई लाग्यो– कतै म प्रधानमन्त्री नभएर कुनै हलिउड फिल्मको ‘भिलेन’ त भइनँ ? आउनुहोस्, आज यो ऐतिहासिक १०० दिनको अवसरमा चियाको सुरुर्कीसँगै ती मीठा, टर्रा र अलिकति अमिला आरोपहरूको चिरफार गरौँ, यथार्थको ऐना हेरौँ र आगामी दिनको उज्यालो रणनीतिको गफगाफ गरौँ ।

विपक्षी मित्रहरूले पहिलो कडा प्रहार मेरो शासनशैलीमाथि गर्नुभएछ । कानुनले नचिनेका मान्छेहरूले समानान्तर सत्ता चलाए रे ! म सोध्न चाहन्छु, कानुनले चिनेकाहरूले मात्रै सत्ता चलाउँदा देश कहाँ पुगेको थियो, त्यो त जगजाहेर नै छ । हामीले त केवल काम छिटो होस् भनेर केही ऊर्जावान् हातहरूलाई अघि सारेका हौँ । ट्रेड युनियनमाथिको प्रतिबन्धलाई लोकतान्त्रिक अधिकारको हनन भनिएछ । कार्यकक्षमा बसेर जनताको फाइल अड्काउने अनि ट्रेड युनियनको झण्डा हल्लाएर ‘माग पूरा गर’ भन्दै हाजिर गरेर टाप कस्ने प्रवृत्तिलाई अलिकति साइजमा ल्याउनु के लोकतन्त्रविरोधी काम हो र ? जनताले तिरेको करबाट तलब खानेले पहिले जनताको काम गर्नुपर्छ, झण्डा त शनिबार बिदाको दिन हल्लाउँदा पनि भइहाल्छ नि !

सबैभन्दा रोमान्टिक आरोप त पूर्वप्रधानमन्त्रीज्यूलाई ‘पूर्वाग्रही ढङ्गले पक्राउ गरेको’ र १३ दिनसम्म कानुनी आधार नदेखाएको भन्ने लागेछ । अहो ! १३ दिनसम्म त मान्छेहरू प्रेमिकासँग रिसाएर बोल्दैनन्, हामी त कानुनी प्रक्रिया पूरा गर्दै थियौँ । कानुनको नजरमा पूर्वप्रधानमन्त्री होस् या वर्तमान, सबै बराबर हुन् । त्यसमा पनि ती प्रमजीको बसाइ त कति आरामदायी थियो होला, उहाँले त्यहाँ पनि नयाँ–नयाँ उखानटुक्काको पाण्डुलिपि तयार पार्नुभयो होला भन्ने मेरो विश्वास छ । यसलाई प्रतिशोध होइन, ‘कानुनी आतिथ्यता’ भनिन्छ मित्रहरू ! अहिले उपप्रधानमन्त्रीमाथिको कुरा पनि त्यस्तै हो, फाइल खोतल्दा नाम निस्कियो त हामीले के गर्ने ? फाइलको केरकार गर्नु प्रतिशोध हो भने, सुशासनको भजन मात्रै गाएर बस्ने त ?

हामीमाथि दोहोरो मापदण्डको आरोप लाग्यो– आफ्नालाई चोख्याउने, अरूलाई ठोक्ने । म प्रष्ट पार्न चाहन्छु, हाम्रो यो सरकारको भान्सामा ‘आफ्नो’ र ‘पराई’ भन्ने दुईवटा चुल्हो छैन । अनुसन्धानका आफ्नै प्रक्रिया हुन्छन् । कतिपयको रोग चाँडो निको हुन्छ, कतिपयको डाइग्नोसिस गर्न समय लाग्छ । सबैभन्दा गम्भीर र अलिकति हाँसउठ्दो आरोप ‘नेपालले भारतको सीमा मिचेको’ भन्ने मेरो कथित गैरजिम्मेवार अभिव्यक्तिलाई लिएर लगाइएछ । राष्ट्रवादी चस्मा लगाउने बित्तिकै संसारका सबै कुरा ऐनाको उल्टो देखिन थाल्छ कि क्या हो ? नेपालको सिमाना मिचिएको कुरा उठाउनु राष्ट्रघात हो कि सिमाना मिचिँदा पनि ‘लम्पसार’ परेर बस्नु राष्ट्रघात हो ? राष्ट्रिय स्वाभिमान मन्तव्यमा होइन, नक्सा र धरातलमा जोगिनुपर्छ । हामी छिमेकीसँग आँखामा आँखा जुधाएर कुरा गर्दैछौँ, तर केही साथीहरूलाई पुलुक–पुलुक हेर्ने पुरानो बानी परेकाले हाम्रो यो सीधा हेराइ अलि अपाच्य भएको हुन सक्छ ।

भ्रष्टाचार नियन्त्रणमा ठोस उपलब्धि देखिएन र ठूला अनियमिततामा प्रभावकारी अनुसन्धान भएन भन्ने गुनासो पनि बडो बजारु शैलीमा आएको छ । अनुसन्धान भनेको जादुको छडी होइन, जसलाई घुमाउने बित्तिकै सबै प्रमाणहरू आफैँ प्रकट हुन् । हामीले फाइलहरू खोतल्न सुरु गरेका मात्र हौँ, र ज–जसको मुटुमा ढ्याङ्ग्रो ठोक्किन थालेको छ, उहाँहरू नै अहिले ठूला स्वरले अनुसन्धान भएन भन्दै कराइरहनुभएको छ । शान्त तलाउमा ढुङ्गा हान्दा तरङ्ग त आउँछ नै, अहिले भ्रष्टाचारीहरूको साम्राज्यमा आएको यो तरङ्ग नै हाम्रो सफलताको पहिलो पाइला हो ।

विपक्षीका पानाहरू पल्टाउँदै जाँदा डिजिटल नेपालका वाचा कागजमै सीमित भएको, पासपोर्ट र लाइसेन्सको लाइन उस्तै रहेको भन्ने आरोप पनि फेला पर्‍यो । लौ भन्नुहोस्, वर्षौँदेखि लाइन बस्ने बानी परेका नेपालीहरूलाई एकैपटक डिजिटल बनाउँदा कतै उहाँहरूको ‘मर्निङ वाक’ र लाइनमा बसेर गरिने गफगाफको संस्कृति हराउने त होइन भन्ने चिन्ता मलाई थियो । तर जोक एकातिर राखौँ, सर्भर डाउन हुने पुरानो रोगलाई हामीले ‘अक्सिजन’ दिएर बचाउने प्रयास गरिरहेका छौँ । सुधार एकै रातमा चामत्कारिक रूपमा हुँदैन, तर अब लाइनमा बस्ने समय घटेको छ ।

सुकुम्बासीको घर भत्काएर बर्षायाममा सेल्टरबाट निकालेको आरोप निकै भावुक छ । तर कानुन मिचेर, नदी किनार मिचेर, सडक मिचेर बनाइएका संरचना हटाउनु र सहरलाई सास फेर्न दिने वातावरण बनाउनु कसरी अधिनायकवाद भयो ? निष्कर्षमा त मलाई ‘बालेनले आफूलाई महाराज बनाएर अधिनायकवाद लादेको’ सम्म भन्न भ्याइयो । म देशको प्रधानमन्त्री हुँ, मलाई काठमाडौँको मेयरसँग तुलना गरेर मेरो कद सानो बनाउन खोजेको कि मेयरसाबको कद ठुलो ? जे होस्, यदि सहर सफा हुनु, कानुनको पालना हुनु र शासकीय अनुशासन कायम हुनुलाई ‘अधिनायकवाद’ भनिन्छ भने, मलाई यस्तो अधिनायकवाद मन पर्छ !

उद्योगी व्यवसायीलाई दबाब दिएर मनोबल गिराएको रे ! यहाँ त कर नतिर्ने, बैंकको लोन लिएर घिउका डल्लाजस्ता मलहरूमा लगानी गर्ने तर देशको अर्थतन्त्र टाट पल्टिँदा हाँसेर बस्नेहरूलाई अलिकति कान समातेर ’लौ न कर तिरौँ’ भन्दा मनोबल गिर्ने ? उद्योगीहरूको मनोबल यति कमजोर त हुनु नपर्ने हो । पुँजीगत लाभकरको नीतिले सेयर बजार प्रभावित भयो भनिएको छ । सेयर बजार भनेको त मुटुको धड्कन जस्तै हो– कहिले माथि, कहिले तल । जब बजार हरियो हुन्छ, श्रेय लगानीकर्ताको; जब रातो हुन्छ, दोष प्रधानमन्त्रीको ? यो त अलि न्यायसंगत भएन नि मित्रहरू ।

दूध र उखु किसानको बक्यौताको कुरा साँच्चै संवेदनशील छ । वर्षौँदेखिको विकृतिको भारी यो १०० दिनको सरकारले बोक्नु परिरहेको छ । हामीले भुक्तानीको प्रक्रिया सुरु गरिसकेका छौँ । धान रोप्ने बेला मलको अभाव त नेपालको राष्ट्रिय पर्व जस्तै भइसकेको थियो, तर यसपालि हामीले विगतका वर्षहरूभन्दा धेरै गुणा बढी मल आयात गरेर गाउँ–गाउँ पुर्‍याएका छौँ । तर विपक्षी साथीहरूलाई मल खेतमा होइन, केवल भाषणमा चाहिने भएकाले उहाँहरूले अभाव मात्रै देख्नुभयो । बजारको महँगीको कुरा गर्दा, व्यापारीहरूले चाडबाडको मौका छोपेर बढाएको मूल्यको भारी पनि सरकारकै थाप्लोमा हालिदिने चलन पुरानै हो । हामीले बजार अनुगमनलाई तीब्र बनाएका छौँ, छिट्टै महँगीको पारो ओरालो लाग्नेछ ।

सय दिनमा बजेट कार्यान्वयन भएन, पुँजीगत खर्च न्यून भयो भनेर रोइलो गरिएको छ । साउनमा बजेट स्वीकृत भएर भदौ–असोजमा चाडबाड मनाउँदैमा समय जान्छ, अनि १०० दिनमै मेलम्चीको पानी सररर बगी हालोस्, निजगढ विमानस्थलमा प्लेन उडिहालोस् भन्ने अपेक्षा गर्नु त अलि बढी नै रोमान्टिक भएन र ? हाम्रो अधिकांश समय प्रचार र प्रतिपक्षप्रति आक्रामकतामै बित्यो भन्ने आरोप पनि कम्तीको छैन । सत्य त यो हो कि हामी काम गरिरहेका थियौँ, तर प्रतिपक्षले यति ठूलो माइक लिएर कराइदियो कि हाम्रो कामको मधुर धुन उहाँहरूको कोलाहलमा अलि दब्न पुग्यो ।
आदरणीय देशबासीहरू, यो १०० दिन त केवल ‘वार्मअप’ मात्र थियो । पिच तयार भइसकेको छ, अब ब्याटिङ सुरु हुँदैछ । आगामी दिनका लागि हाम्रा स्पष्ट रणनीतिहरू तय भइसकेका छन् ।

पहिलो त सुशासनको महाअभियान हो, जसअन्तर्गत फाइलहरू खुल्ने क्रम रोकिने छैन, चाहे ती सिंहदरबारभित्रका हुन् वा बाहिरका । कसैको अनुहार हेरेर होइन, प्रमाण हेरेर कारबाही हुनेछ । दोस्रो, प्रशासनिक डिजिटल क्रान्ति गरिनेछ, जसले सरकारी कार्यालयमा धाउँदा–धाउँदा जुत्ताको तलवा खिइने दिनको अन्त्य गर्न ‘वान–स्टप डिजिटल सर्भिस’ पूर्ण रूपमा लागू गर्नेछ । तेस्रो, उत्पादन र किसान पहिलो प्राथमिकतामा पर्नेछन्, आगामी सिजनमा किसानले मलका लागि लाइन बस्नुपर्ने छैन भने दूध र उखु किसानको बाँकी बक्यौता भुक्तानीका लागि विशेष वित्तीय प्याकेजको व्यवस्था गरिँदैछ । चौथो, आर्थिक सहजताका लागि ब्याजदर नियन्त्रण र बजारमा तरलता बढाएर उद्योगी व्यवसायीहरूले ढुक्कसँग लगानी गर्ने वातावरण निर्माण गरिनेछ, तर कर छल्ने छुट कसैलाई हुने छैन ।

सय दिनको निष्कर्ष निकाल्दै विपक्षी मित्रहरूले मलाई ‘अधिनायकवादी’, ‘अक्षमताको प्रतीक’ र ‘प्रचारमुखी’ भन्नुभएछ । म उहाँहरूलाई धन्यवाद दिन चाहन्छु। किनकि निन्दक नियरे राखिए, आँगन कुटी छवाय अर्थात् आफ्नो निन्दा वा आलोचना गर्ने व्यक्तिलाई आफ्नै घरको आँगनमा कुटी (झुपडी) बनाएर भए पनि आफ्नो नजिकै राख्नुपर्छ । उहाँहरूले मेरो आलोचना नगरिदिएको भए मलाई लाग्ने थियो कि म कतै गलत बाटोमा त छैन ? उहाँहरूको छटपटीले नै प्रमाणित गर्छ कि सरकार सही दिशामा अघि बढिरहेको छ । हामीले नारालाई काममा रूपान्तरण गर्न समय अवश्य लिएका हौँ, किनकि हतारमा गरिएको काम लतारपतार हुन्छ । हामी प्रचारलाई होइन, परिणामलाई विश्वास गर्छौँ । आगामी दिनमा परिणाम आफैँ बोल्नेछ, म बोलिरहनु पर्ने छैन ।

त्यसैले, मेरा प्यारा देशबासीहरू, भ्रमको बजारमा नबिक्नुहोस् । सरकार तपाईंहरूकै सुख, समृद्धि र न्यायका लागि अहोरात्र खटिएको छ । यो १०० दिन त जग हाल्ने काम भयो, अब महल ठडिने क्रम सुरु हुनेछ । ममाथि भरोसा राख्नुहोस्, यो देश बदलिनेछ, र त्यो पनि हाम्रै पालामा ! हँसाउनेहरू हाँस्दै गरुन्, देश बनाउनेहरू बनाउँदै जाउन् ! धन्यवाद ।

तपाईंहरूकै भरपर्दो प्रधानमन्त्री ।

(पुनश्चः यो लेख नितान्त साहित्यिक कर्मका लागि हो, कसैसँग मेल खाए वा कसैलाई घोच्न पुगे त्यस दर्दको हिसाबकिताबको क्षतिपूर्ति कोही भर्न बाध्य हुनेछैन । धन्यवाद !!!)

०००
२०८३ असार २० गते ।
बेलका–२, सिद्धार्थटोल, उदयपुर ।
सम्पर्क– ९८४२८२९२०६

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झाँसीका भँगेरा जोडी

झाँसीका भँगेरा जोडी

डा. सुमनराज ताम्राकार
राजनीतिक पीडित

राजनीतिक पीडित

सीताराम नेपाल
सेकेण्ड ह्याण्ड

सेकेण्ड ह्याण्ड

भोजराज रेग्मी ‘मुखाले’
श्राद्ध

श्राद्ध

त्रिलोचन ढकाल
बानीले रानी हुन्छ, बानी बिग्रे खरानी हुन्छ

बानीले रानी हुन्छ, बानी...

नगिता लेप्चा राई
0
Would love your thoughts, please comment.x
()
x