होम सुवेदीउप्कुल्पतिको पदमा निवेदन
मैले फेरि कुरामा रमाइलो होस् भनेर थपेँ- “हैन बा कुल्पतिलाई ता किताबका साथ पाटीको टिकिस पनि चाहिने कुरा सुन्या थिएँ ।”

उज्यालो उज्यालै थियो हस्याङ्फस्याङ् गर्दै ठेडी बा लौरो टेक्तै आइपुगे । बा कान नसुन्ने भएर कानमा ठेडी ठोक्ने हुनाले सुन्नका लागि कानमा ध्वनियन्त्र लगाउँछन् । यसैले हामी उनलाई ठेडी बा भन्छौँ । मैले नमस्कार पहिले गरुँला भनेर परैबाट हात जोडेर आउँछन् ठेडी बा । आज पनि त्यसै गरेर आए । अनि हकारेझैँ गरेर भने- “खबर सुन्यौ सर ?”
“सुनिनँ त बा !”
“लु गरिखानेलक्षण देखिनँ है मैले । उहाँ अस्तिदेखि नै खाली भइसकेको रैछ । यस्तो चानस कहिले आउँछ ?”
“मैले कुरा बुझिनँ न बा !”
“कुरा बुझ्ने भए ता पहिलेकै पालामा भइहाल्थ्यौ नि । ह्वाँ कुल्पतिको पद रित्तो भइसकेछ । तिमी यहाँ के भद्रो हेरेर बसेका ! कि निवेदन पेसिसक्यौ ? यसबाजि कुल्पति नभए पनि उप्कुल्पति हुनै पर्छ । मेरो पनि छोरो सिडियो काज्र्यालयमा सिक्सन अफिसर छ उसको पनि सोस लाउनु पर्छ । उसकी जोई यसो थाङ्का साङ्का डाली फैजलहरू केकेजाति लेख्छे । गजल लेखेर ता नाम कमाइसकेकै छे । फेसबुकाँ खुब लाइक पाउँछे अरे । त्यसलाई पनि हुल्नुपर्छ । सके तिमीले त्यसलाई सिक्रीटेरी बनाउनु । तपाइँले जसरी पनि योबाजि कुनै पदमा बस्ने हो । छिटो निवेदन हाल ।”
“निबेदन हालेर कहाँ हुन्छ र बा ! पुस्तक मागेर मूल्याङ्कन पो गर्छन् अरे त बा कुल्पति हुनलाई त । कसको गतिलो पुस्तक छ उसलाई पो दिन्छन् अरे ।” मैले उनलाई यत्तिकै भनेँ ।
“निवेदनले के हुन्न । उहिले पर्धानमन्त्री पाऊँ भनेर हाम्रो कउरेटले पनि निवेदन हालेका थिए । के चानस र कुतौजो परेर पाएनन् । लौ हालिहाल हुन्छ निबेदनले जे पनि ।”
“हस हाल्छु । बरु कुन पदमा बस्ता राम्रो पर्ला बा ?” मैले पनि रमाइलै होस् भनेर अझ प्रश्न गरेँ ।
“पाएसम्म त कुल्पति नै खाने नि । लेख्या छौ क्यारे नि कुल्पति हुन पुग्ने जति त, लु छिटो पेस गरिहाल लगेर काज्र्यालय समयमै ।”
“लेख्न ता लेख्या छु तर कुल्पतिकै लागि काम लाग्ने भने छ छैन यसो बिचार गर्नु पर्छ ।”
“देख्याथेँ त ’टाहारको आहाल’ भन्ने पोस्तक । अर्को पनि छ क्यारे ’घोडाको सिङ’ । ‘फर्सीको मुन्टो’ पनि छ त । त्यति भेसि पुगिगो नि । जाँचकी को छ किताब जाँच्ने ? मेरो कान्छोले भनिदिइहाल्छ नि । यता नेपालको सोस लाग्दैन भने उता अउरिकामा छ मेरो माइलो छोरो, उसलाई उताबाट सोस लाइदेउ भन्ने काम मेरो भो ।”
“अब अम्रिकाको सोस कता लाग्ला र ?”
“लौ हेर त यी सर पनि । मेरो माइलाको ता अउरिकाका राष्टपतिसँग पनि राम्रो नाता छ । उताबाट भनाउँला । निबेदनसाथ पुस्तक पेस गरिहाल ।”
“हँ कस्तो नाता रछ अमेरिका राष्टपतिसँग माइलाको ?” मैले सोधेँ ।
“राष्टपति काज्र्यालयेकी काज्र्यालय सहायककी छोरीसँग लभसभ परेको छ अरे । तेति भएसि पुगिगो नि ।”
“हैन बिहे गरेको हैन र माइलाले ?” मैले सोधेँ ।
“बिहे गरेर के भो ? उता अउरिकामा आज बे गरो भोलि छोडो । यसो मुखसम्म जोडो भैगो नि । यता जस्तो हो र ?”
“होला होला म अउरिका पुगेको छुइनँ यसैले जानिनँ उताको चलन ।”
“माइलो छँदैछ हुन्छ । हाल निवेदन ।”
“ए ए । उसो भए त होला कि त । हाल्नु परो ।”
“होला कि त हैन हुन्छ । बरु आजै गइहाल । किताब सँगै निवेदन पनि हाल र दर्ता लम्बर लिइहाल । लम्बर पठाइदिनु पर्छ अउरिकामा माइलालाई । यता सिड्यो कार्यालयमा पनि दिनुपर्छन् ।”
मैले फेरि कुरामा रमाइलो होस् भनेर थपेँ- “हैन बा कुल्पतिलाई ता किताबका साथ पाटीको टिकिस पनि चाहिने कुरा सुन्या थिएँ ।”
“अनि तो मुला कुरा के भो त ! म ल्याइदिउँला नि कुन पाटीको टिकिस चाहिन्छ भन्ने पत्ता लाएर आउनू । हुन त म काउँरेस हुँ । मेरो पाटीको टिकिस लिन सजिलो छ । अरु पाटीकै पनि म भिडेँ भने केही गरिहाल्छु नि । यसबाजिको कुल्पतिका लागि कुन पाटीको पालो रछ सो पनि पत्ता लगाउनू । टिकिस ल्याउने जिम्मा मेरो भो ।”
“हवस् बा ।”
“अनि ह्याँ सुन्नु त ।”
“हजुर बा !”
“त्यो मेरो घरमा काम गर्नेकी छोरी छे नि ।”
“हजुर बा !”
“हेर्दा पनि राम्री छ मोरी । बार पढ्दैछे । कवित्त लेखेर धुम छ । त्यसलाई पनि हाल्नुपर्छ है ।”
“ए ए । बाले भनेपछि नहाल्ने कुरै भएन नि । तेसै हालेर ता भएन के र । पहिले कुल्पति हुनु परो नि ।”
“हुन्छौ यसबाजि मैले ठोकुवा गरेँ । नेपालदेखि अउरिकाको सोस लाएर भए पनि कुल्पति बनाइनँछु भने ता मेरा मुखमा….।”
“भो भो बा । अब उता नभन्नू । म अब दर्खास्त हाल्ने भएँ ।”
यति भनेपछि बाको चित्त बुझ्यो । आफ्ना नातागोताका सबैलाई जागिरे बनाएको सपना देख्तै बा घरतिर लागे । मैले पनि बिहान रमाइलै भएको अनुभव गरेँ ।
०००
भद्रपुर, झापा
Subscribe
Login
0 Comments
Oldest







































