साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धन्य कलि ! जय कलि !

धर्म र न्यायमा बल नै कारण हुन्छ । हुन पनि हो, विश्वमा आज महाबली देशहरूले निर्बलिया देशमाथि युद्ध थोपरेर बुद्धको अभिनय गर्नु कलि प्रताप हो ।

Nepal Telecom ad

जे जस्ता पात्र, समय, स्थान, घटना र रटना बेहोर्दा पनि निर्भयपूर्वक जय ! भन्ने नेपाली मानसिकता तय गर्ने मजस्ता दहीच्युरे जमातको तथ्याङ्क देशमा झनै तन्किँदो छ । अहिलेको युग ‘कलि’ अर्थात् कलह, झगडा र पाखुरा सुर्का सुर्की प्रतियोगिताको अराजक काल हो । जसलाई ‘कलियुग’ भनेर संबोधन गरिन्छ । कलि शब्दले- पाप, दुःख, क्लेष, युध्द, सङ्ग्राम र फक्रनुभन्दा पहिलेको फूल जस्ता बहु अर्थ दिन्छ । सानैमा हामी धेरैले सुनेको गीत- ‘आयो कलि धपक्कै बली, छोरीभन्दा आमा पो नक्कली’ थियो तर आजको युग लैङ्गिक समताको भएकोले मलाई अर्को हरप थप्न मन लाग्यो । ‘आयो कलि धपक्कै बली छोराभन्दा बाबु झन् नक्कली ।।’ यति भनेपछि महिलामाथि पक्षपात हुँदैन । पक्कै नारीका धारे हातका तारे पनि त बनिदैन भन्ने मेरो डेढ अक्कली बुद्धि पनि मजस्ता औसर छोपुवा विचौलियाहरूको बठ्याइँ हो । यसो विचार गरेर ल्याउँदा मेरो खुराफाती दिमागले उखानकारहरूले सत्य, त्रेता र द्वापरलाई भन्दा कलिलाई बढी झापड हान्न कसिएका हुन् कि जस्तो पनि लाग्यो ।

उखानका माला पक्कै काला ताला हैनन् । नत्र झापादेखि आएर ओलीले गोली पड्काएझैँ यसरी उखानहरू किन पटटट पड्काउँथे ? ‘कलिका बाहुन, वेद पुराण बेच्न जाऊन्’ भनेर कति घतिलो व्यञ्जना पस्किएछन् बा ! ऋषिकल्पहरूले । वास्तवमा बाहुन वा ब्राह्मण भनेको सर्जक, वैज्ञानिक, खोजक र शिक्षित जनशक्ति हो । पानानै छुटाएर लटरपटर गरी अशुद्ध लयमा छन्द बन्दै नमिलाई गुनगुन उच्चारणमार्फत एकाह सप्ताहका उत्सवहरूमा भागवत्, वेद, चण्डी पाठ गर्ने आफू बाहुनको दम्भ गर्नेहरू ब्राह्मणत्व नबुझीकनै कयौँ आँखा चिम्लीसके । कयौँ अझै अशुद्ध श्लोक भट्याएर दक्षिणा जम्मा गर्न कान टट्याउने गरी गडगडाइरहेका छन् । अर्का थरी बाहुन जो शिक्षित र दीक्षित हूँ भनी गर्व गर्छन् ती संभ्रान्त जमात शिक्षाको ब्यापार गरेर समाजमा जुका र ब्वाँसाको छनक दिइरहेका छन् । यसैले कलिकालमा कथित ब्राह्मणत्व छद्म भेषमा अर्काको शोषण आफ्नाको पोषण गर्नमै अभ्यस्त छ । जसले पढेलेखेर ब्रह्मतत्व आर्जन गर्छ त्यही ब्राह्मण हो अर्थात् ‘जन्मना जायते शूद्रः, कर्मणात् द्विज उच्यते’ भन्ने सूक्तिलाई मुक्ति दिएर भुक्तिको जुक्ति निकाल्ने जम्बुकगण भाले भएको युग नै कलियुग रहेछ क्या र ?

दिनभरि बाहुन रातभरि डाउन, भन्ने उखान अचेल ‘रातभरि’ फेरिएर अहोरात्र डाउन, भन्न पर्ने थिति आकडाले देखाको छ । पढेलेखेका भनेकै अधिकांश मांशाहार र मद्याहारले भट्टीमा कट्टी फुस्किने गरी छँटाएर ठाडो घाँटी लगाएको दृष्यले माथिको उखान फेरिएर ‘कलिका बाहुन, अहोरात्र डाउन’ भन्ने उक्ति संविधानझैँ संशोधन गर्न पर्ने भएको हो । वास्तवमा कलिकाल कृतज्ञभन्दा कृतघ्नहरूको दोतिहाइभन्दा बढी मतको बल भएको समय हो । त्यसै भएर दूरदृष्टि भएका उपाख्यानकारहरूले बोले- ‘कलिको उपकार गलाको फाँसी’ । निश्चयनै कलिकालका हामी अधिकांश बैगुनी मनुवा आफ्नो उपकार वा भलाइ गर्नेका विरुध्द अपकार गर्न कसिन्छौँ । यो नेपाली जीवनका हरेक क्षेत्रका उपकार-कर्ताहरूको तितो यथार्थ हो । ‘कलि युगमा जल्ले गर्छ पाप, उसैको हुन्छ फलिफाप’ हो पनि जो धूर्त, चङ्ख, दलाल, विचौलिया, तस्कर, खुराफाती, चरम पापीनै शिक्षा र स्वास्थ्यलाई उद्योग औ व्यवसाय बनाएर वातानुकूलित कार, प्रासाद, आवासमा स्वर्गको स्वाद मारेर मोजमजामा दिन काटिरहेका छन् ।

यही दृश्य कलिकालमा देखिन्छ भनेर ‘कलि युगमा मानिसभन्दा बुद्धि छोटो, बुद्धिभन्दा लुगा छोटो’ भनेर दिव्य भविष्यवाणी गरेका रहेछन् उखानकारहरूले । यो समयका मानिस प्रायः शारीरिक उचाइ कम भएका छन्, त्यसमा पनि बुद्धितत्व अत्यन्त बाउन्ने छ । अर्थात् ‘म खाऊँ मै लाऊँ सुखसयल वा मोज म गरुँ’ जस्ता नीच भावनाका दुर्वीज छरेको छर्‍यै पो छौँ त ? अनि विशेष गरेर महिलाका पहिरन पनि पारदर्शी छोटा र अङ्ग प्रदर्शन गर्ने खालका हुँदा परिवारमै धेरै समस्या र विकृति आइसक्यो । पचासतिर चिरेका र पछाडि ह्वाँङ्ग अगाडि छ्याङ्ग भएका परिधानले मानव सभ्यतामा ठूलै व्यवधान निम्त्याउँदै छ । उता छोरा र नाति पुस्ताका मोराहरू चुल्ठे, मुन्द्रे शिरको दाँयाबायाँ जता मन लाग्यो त्यतै जुरो ठड्याएर घुँडादेखि फिलासम्म यत्रतत्र फाटेका प्यान्ट लगार पप र हिपहपमा गर्धवराग तानिरहेका छन् ।

यसै गरी कलियुगमा हुने विसङ्गतिलाई झड्का हानेर हाम्रा पुर्खाहरूले आख्यानमार्फत यसरी बोले- ‘कलियुगको भलाइ ब्रह्महत्या, कलिका बाहुन जेसुकै खाउन्, कलियुगको बाहुन जतासुकै जाऊन्, कलिमा जहाँ पाप उहीँ फलीफाप, ‘आयो कलि धपक्क बली, सज्जनको छोरो दुर्जनको हली’, कलिको मान घिच्रो तान, कलिको सम्मान धूमपान र मद्यपान यी सबै उखानलाई विश्लेषण गर्दा विशेष गरी पढेर लेखेर ब्राह्मणत्व पाएका बुद्धिजीवीहरूलाई शुद्धिजीवी बनाउन गहकिला सूत्रहरू भव्य उखान बन्दै मडारिएका छन् ।

एउटै मुखले ब्रह्माको तलतल मेटाउन सक्ने, दुई हात भएर पनि चारहाते विष्णु बिर्साइदिने, दुई आँखा भएर पनि त्रिलोचन शम्भुझैँ प्रतीति हुने साक्षात् भगवानका अवतार वेदव्यासले श्रीमद्भागवतको बाह्रौँ स्कन्धको दोश्रो अध्यायमा कलियुगको भविष्यवाणी सटिक ढङ्गले गरेका छन् । जुन अहिलेको हाम्रो हर क्षेत्रलाई चित्रण गर्न सफल छ । ज्ञानमा खली खाएका शुकदेवले राजा परीक्षितलाई कलिको उद्दण्ड ढलीमली बताउँदै भने- धर्म, सत्य, पवित्रता, क्षमा, दया, आयु, बल र स्मरण शक्ति मानवमा हरण हुँदै जान्छ । जो धनी छ त्यही कुलीन, सदाचारी र सद्गुणीमा दरिन्छ । धर्म र न्यायमा बल नै कारण हुन्छ । हुन पनि हो, विश्वमा आज महाबली देशहरूले निर्बलिया देशमाथि युद्ध थोपरेर बुद्धको अभिनय गर्नु कलि प्रताप हो । साना देशहरूमा आन्तरिक झगडालाई तगडासित उरालेर आफ्ना उत्पादित हर उपकरण बिक्री गर्ने बजार बनाइरहेका छन् टाठाबाठा बनियाँहरूले । सद्भाव र सहयोगको नाममा विभिन्न खाले नवनव उपनिवेशका बाघपञ्जा फिँजाइरहेका छन् महाशक्ति भनाउँदाहरू । बलिया मानिसहरूले दरिद्र, अपाङ्ग र असक मानिसमा सेवाको नाममा उनीहरूका अस्मिता बलात् लुटिरहेको दारुण दृष्य छन् । कलिकालमा विवाह गर्दा कुल,शील र शास्त्रविधान नहेरी तन्नेरी र तरुनीको आवेगी यौन उत्कण्ठा निणर्ायक बन्न पुग्छ । दम्भ र पाखण्ड आकण्ठसम्म भएकाहरू साधु र सन्त ठहरिने, टाढाको तलाउ तीर्थ बन्ने, मातापिता र गाई उपेक्षित रहने दुर्दशा कलियुगको विशेषता भनेर बताइएको छ । कपालको जुरो चुल्ठो, सजाएर रङविरङ दलेर सौँन्दर्य गर्ने जमात हुन्छन् । पुरुषार्थ भनेकै पेटभरि जिब्रो छाडा बनाएर भक्ष्याभक्ष्य विचारै नगरी भकुर्नु हुनेछ । धर्मको सेवन आफ्नो कीर्ति बढाउन गरिनेछ । नेताहरू जनताका पूँजी र राम्रा छन् भने श्रीमतीसमेत हरण गर्ने हुन्छन् ।

यसरी हाम्रो समाजका हर पहलुलाई व्यासले नाङ्गो बनाएका छन् । आज कलियुग बितेको ५१२३ वर्षमात्र हुँदा धेरै कुरा मिल्न थालिसकेको छ भने अझ कलियुगको समय ४२६८७७ वर्ष बाँकी छ । त्यति बेलाको हाम्रो मानव समाज के कस्तो होला ? नारन शिव ! एक मनले भन्छ- मरिसकेपछि डुमै राजा !

भागवत् महात्म्यको पहिलो अध्यायको छत्तीसौँ श्लोकले त गाउँवस्तीका उत्पादन किसानहरूका मुखमा नपरी अन्यत्रै जान्छन् । पढेलेखेका व्यक्तित्वहरू वेद अर्थात् ज्ञान बेच्न मरेर लाग्छन्, कामिनीहरू देह ब्यापारमा लिप्त हुन्छन् भनेर कलियुगको भयावह तस्बीर खिचेको छ । श्रृङ्गारका साधनले मुख कुरुप बनाउने लुगाहरू छोटिला र कामोद्दीपक लगाउने, प्राकृतिक श्रृङ्गार साधनलाई बेवास्ता गरी कृत्रिम तेल क्रिमहरूको प्रयोगमा महिलाहरू लाग्दछन् । आज हामी बहुराष्ट्रिय कम्पनीका जडौरी घसेर भिरेर शरीरलाई नै पराईका उत्पादनको प्रयोगशाला बनाइरहेका छौँ र यही कुरा अनिवार्य मानिरहेका छौँ । शरीर स्लीम बनाउने, स्तनको आकार घटाउने, कस्मेटिक सर्जरी गरेर आफ्नो मौलिक रुप फेर्ने, यौन शक्ति बढाउनेजस्ता नक्कली तमासालाई बहादुरी ठम्याइरहेका छौँ । हरे दैव ! हाम्रो बुद्धू चेतना ?

यसैले यो कलह, विकृति, विसङ्गति, युद्ध, झगडा, हत्या-हिंसाको कलियुगलाई शान्तियुग बनाउन आध्यात्मिक दर्शनका कार्यदिशा राजनीति गर्नेहरूले बोक्नै पर्छ र कार्य रुपमा लैजान मानवतावादी रणनीति अगाडि सार्नु जरुरी छ जुुन तथ्य हाम्रो सनातन धर्मले गजबसित सिकाएको छ । त्यसैले त हाम्रा शास्त्रहरू युुगौँदेखि भनिरहेका छन्- जुन फल योग, तपस्या, समाधि, यज्ञबाट पाउन सकिन्न त्यस्तो फल कलिमा केशव वा हरि कीर्तन गर्नाले पाइन्छ भनेर त्यतिखेरका ब्रह्मज्ञानी वरिष्ठ पत्रकार नारदले भक्तिलाई बताएका छन् । हरि भनेको विवेक हो । विवेकशीलता नै कलिकालको महौषधि भएकैले हाम्रा आचार, व्यवहार, आविष्कार, सिर्जना, ज्ञानविज्ञान र शिक्षाले मानवलगायतका प्राणी जगतलाई सुखी र सम्पन्नता दिलाएर खुसीको सञ्चार गर्नसक्नु कलिको कस्मल निर्मल बनाउनु हो । यसैले सबै मिलेर एक हुँदै भनौँ ‘भय कलि हैन, जय कलि !’ अशान्ति हैन जय शान्ति, जय सम्पन्न र सुखी जीवन ! जय नैतिक र खुसी जीवन ! जिन्दावाद कलियुग !
अस्तु

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
आम्दानी महात्म्य

आम्दानी महात्म्य

डा. सुमनराज ताम्राकार
पिउन साप

पिउन साप

डा. खगेन्द्र लुइटेल
अनलाइन ठगहरू

अनलाइन ठगहरू

प्रा. कपिल अज्ञात
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x