साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जय फुर्तिनिधिसभा

जनबललाई फुर्तिवालहरू चाहिन्छन् र फुर्तिवाल पनि जनबललाई चाहिन्छन नै । तर जनबलको लगाममा बस्न नचाहने फुर्तिवालहरूको दाम्लो नै गतिलो वा भनौँ दह्रो नभएकोले छाडा भएका छन् ।

Nepal Telecom ad

आउनुस् हजुर आउनुस् छिटो आउनुस् । नेपालमा फुर्ति लाउनेहरू कतिपयलाई जनताले निर्वासनमा पठाएका छन् । अब बाँकी रहेकालाई पनि निर्वासनमा पठाउन आजैबाट हामी फुर्तिनिधिसभामा फुर्ति लाउन शुरु गरौँ । आखिरी खाली पेट फुर्ति लाउनु पर्ने होइन । सरकारले फुर्ति लाउनका लागि भत्ताको व्यवस्था गरेकै छ । राजधानीमा बस्न घरभाडा, गाडी चढ्न, खानेपानी, विजुली, टेलिफोन, घर मर्मत, इन्धन, स्वकीय सचिव, सहयोगी सुविधा दिएकै छ । यति पाएपछि फुर्ति लाउन कुनै आइतबार पर्खनु पर्दैन । आउनुस् हजुर आउनुस् छिटो गरे केही पाइन्छ, ढिलो गरे मौका सकिन्छ । त्यसैले रिक्त पदपूर्ति गर्न केही फुर्तिला जोशिला ल्वाँगे, तोरी लाहुरे, सुकुलगुुण्डा, पानी मरुवा गुण्डा, तेल झरुवा गुण्डा लगायतका सण्ड मुसण्ड सबै आउनुस् । जे जस्तो भए पनि फुर्तिनिधिसभामा फुर्तिमुख, उप फुर्तिमुखको दावेदार गर्न सक्ने वा देशको पति, मुख्य भुसमन्त्री, श्रेष्ठमन्त्री, मुख्य प्रधान प्रमुख श्रेष्ठ महामन्त्री, कन्याधीशमन्त्री बन्न आउनुस् ।

हामी गफले होइन फुर्तिले गरेर देखाउँछौ । काम नभए पनि चिन्ता नगर्नु होला । फुर्ति नै यो देशको पहिलो उपलब्धि भएकोले सबैभन्दा पहिले हामी फुर्तेश्वर महादेवको मन्दिर फुर्तिनिधिसभा भवन अगाडि स्थापना गरेर जनताका अगाडि ठुला ठुला फुर्ति लाएर फुर्तिको समुद्घाटन शिलान्यास नभए पनि अवश्य गर्नेछौँ । यो सुनौलौ मौकामा चौका दाउ छानेर प्रतिपक्षीलाई छक्का दाउको चेपुवामा पारेर फुर्ति लाउन पछि पर्ने छैनौँ । हामी पुराना राजनीतिमा विश्वास गर्ने भएकोले नयाँ राजनीतिको ढोका खोलेर झ्यालबाट फुर्तिनिधिसभामा छिर्नेहरूलाई छिर्के हानेर फिर्केले घोलेर नुन खोर्सानी दलेर दलित बनाउन पछि पर्ने छैनौँ ।

जनताले नपत्याउने कुरामा हामी सधै अघि बढ्ने भएकोले जनताको अन्धविश्वासलाई हामी जोगाउन सफल हुनेछौ । यो कुरामा हामी मात्र होइन भुरा पनि विश्वस्त हुन सक्ने छैनन् ।

नेपालको राजनीतिमा चिनी घोलेर बाँड्न नसकिए पनि कहिले तिते करेला, कहिले सिस्नो त कहिले अकबरे खोर्सानी बाँड्न सकिएकै छ । कहिले अँगार त कहिले रोगब्याध नलागोस् भनेर निमको पात पनि घोलेर, लेप लगाएर, पोतेर, सुँघाएर, केही नलागे खुवाएर भए पनि थामथुम पार्ने प्रयास गर्न पछि परिने छैन । नेपाली राजनीतिको परम्परागत इतिहासलाई नियाल्ने हाम्रो संस्कारमा इँटा थप्ने काममा हाम्रो फुर्तिनिधिसभाले सत्ताको मातमा खातका खात जनताका समस्यालाई कुहाएर राख्नेछ । नेताका स्वार्थका लागि जे पनि गर्न तयार हुने नेपालको फुर्तिनिधिसभामा गफाडीले स्थान पाउने छैनन् । इमान जमानले काम नगर्ने भएकोले बेइमानी, तारजालीलाई सधैँ सम्मान जनक तरिकाले अपमान गरेर कुर्सीको व्यवस्थापन गरिने छ । यसरी भित्रिएका फुर्तिलाहरूका लागि केही दिनमा प्रशिक्षणको व्यवस्था समेत गरिने व्यहोरा नभएकालाई जानकारी गराइन्छ ।

विश्वमै प्रख्यात नेपालको फुर्तिनिधिसभामा कानूनको कान खाएर, आँखामा नून दलेर जनतालाई कानु बनाउने चलनले बढावा पाएको अवस्था छ । यस्तो राम्रो अवसरबाट उम्किन नहुने भएकोले बम्केर भए पनि, लम्केर भए पनि फुर्तिनिधिसभाको उचाईलाई भुइँमा पछार्न सक्दो प्रयास गरिनेछ । यो अवसरमा हाम्रा मनमनमा बसेका मतदाताले हामी कतिपयलाई भर्खरै सम्पन्न निर्वाचनको माध्यमबाट निर्वासनमा पठाउनु भयो । कतिपयलाई निर्वासनमा पठाउने प्रयास गर्नु भयो । यो कार्यका लागि मागि खाने समेतलाई धारे हातको सलाम छ । जनताले निर्वासनमा पठाएका धेरै नेता होनहार थिए त्यसैले हार खाए । चेलाहरू चिनी भए गुरुहरू गुण मै टाँसिए । त्यसैले गुण मै उपर खुट्टी लाएर आफ्नै घरपरिवारका सदस्यहरूसँग फुर्ति लाउदै फुर्तिनिधिसभाको बयानमा बयेली खेल्न तम्सिनु देशका लागि फाइदा जनक हुनेछ । किनकि कानूनले कान र आँखा खाएको मान्छे अशक्त हुने भएकोले सशक्त रूपले फुर्तिलाउन नसक्नेले फुर्तिनिधिसभामा पाइला नराखे पनि हुन्छ ।

फुर्ति गर्ने भनेकै समस्या पूर्ति गर्न नसक्नेले हो । समस्यापूर्ति गर्न नसक्नेका लागि यो फुर्तिनिधिसभाको गठन भएको हो । फुर्ति लाउन बानी परेकाहरू सधैँ आफूलाई दूधले नुहाएको ठान्छन । तर खाने बेलामा सडे गलेको, भुइँमा फालेको, अरुले जुठो हालेको खान्छन । जसका कारण उनीहरू शुद्ध काममा पछि परेका छन् । फुर्ति लाउनेहरू यही कारणले सधैँ फुर्तिला देखिएका हुन जस्तो लाग्छ । शुद्ध आफ्नो चोखो खानेले यसरी फुर्ति लाउन सक्छ जस्तो लाग्दैन मलाई । किनभने जनतासँग माया लाउन जुठोको ठूलो भर हुन्छ । ‘जुठो खानु मीठोको लोभले’ भन्ने उखान त्यसै हाम्रा पुर्खाहरूले चलाएको होइन रहेछ भन्ने कुरोको चुरो र भेउ अहिले आएर पाइदैछ ।

पाँच वर्षे जागिरेका रूपमा फुर्तिनिधिसभामा फुरुङ परेर फुर्कदै फुर्तिवालहरूको फुर्तिले केही लछार पाटो नलाए पनि हिस्स बूढी हरिया दाँत भन्ने उखानको बखान चाहिँ सबैले बुझ्नेछन् । २०४७ सालदेखि हालसम्मको समयमा फुर्ति लाउँदै फुर्सद नहुनेले काममा भर्ति हुन्छन भनेर विश्वास गर्ने आधार नै केही देखिदैन । जनबलले फुर्किएका भए पनि पछि गएर तिनै जनबलले निर्वासनमा पठाउने आलो घाउ ठाउँको ठाउँ देखेर भोगेकै छन् । देखाई र भोगाईबाट चेत नखुल्ने हो भने भोलिका दिनमा जनबलसँग भेट हुन्छ भनेर किटानी गर्न सकिदैन । जनबलको महत्व नबुझेर हेलचेक्य्राई गर्दा निर्वासित हुनु परेको आलो घाउमा नुनचुक दली माग्न आफैँ तम्सेर अघि बढ्ने र फुर्तिनिधिसभामा पुग्न खोज्दा कति चहर्‍यायो होला ?

यतिबेला फुर्तिनिधिसभामा नयाँ फुर्तिवालहरू पनि पुगेका छन् । पुराना त विशेष अनुभवि भैहाले । खास गरी नयाँ फुर्तिवालले लाउने फुर्तिको प्रस्ताव के के होलान त ? कि पुराना फुर्तिवालकै पछि लागेर मानो पचाउने काममा तल्लिन हुने हुन त्यो हेर्न बाँकी छ । चुरिफुरी हेर्दा त पुरानालाई पछि पार्ने जस्ता देखिए पनि फुर्तिनिधिसभामा कस्तो खाले फुर्ति लिएर उभिन्छन् अनि थाहा हुन्छ ! सुर्ति खाएर लाएको फुर्ति र नखाइकन लाएको फुर्तिको स्वभाव नै फरक हुन्छ । वा कनिका पाएपछि फुर्ति फुत्त फुर्तिनिधिसभाको शरीरबाट बाहिर निस्केर भाग्ने हो कि वा भित्रै बस्ने हो त्यो भविष्यले देखाउने छ ।

फुर्तिनिधिसभामा पुग्नेहरू मध्ये कतिपयलाई सडाएको छ, कतिपयलाई गलाएको छ, कतिपयलाई सभाबाटै भगाएको छ र कतिपय त गन्हाएर आफैँ साइड लागेका छन् । साँच्चै भन्ने हो भने फुर्तिनिधिसभाले आफ्ना सदस्यहरूलाई छाडा साँढेको संज्ञा दिएर सम्मान गरेको कुरा विर्सन सकिन्न । यस्ता कुरा बिर्सिनु पनि हुन्न । विर्सिए पनि जनबलले सम्झाइदिन्छन् । जनबललाई फुर्तिवालहरू चाहिन्छन् र फुर्तिवाल पनि जनबललाई चाहिन्छन नै । तर जनबलको लगाममा बस्न नचाहने फुर्तिवालहरूको दाम्लो नै गतिलो वा भनौँ दह्रो नभएकोले छाडा भएका छन् । नफुस्कने गाँठो भएको नयाँ दाम्लोले बाँधेर राख्ने व्यवस्था नभएसम्म फुर्तिनिधिसभाका फुर्तिनीय सदस्यहरूले जनबललाई टेर्दैनन् । जसका कारण निर्वाचनबाट निर्वासनमा जान बाध्य भएका छन् ।

वास्तवमा भन्ने हो भने यो फुर्तिनिधिसभामा पुगेपछि मरेको बिरालो पनि कुर्सीमा बसेर फुर्ति लाउँदै निदाउँछ । चङ्खे स्याल, भालु, चितुवा, बाघ, सिंह, कुखुरा चोर्ने ढाँडे बिरालो वा बन ढाँडे, काग, कोइली, लाटो कोसेरो सबै खाले फुर्तिनिधिसभाका सदस्यहरू राज्यले दिएको मानो पचाउन फुर्ति लाउँछन् । फुर्ति नलगाइकन लाटो कोसेरो र मरेको स्याल भएर पनि कतिपय बसेका छन् । कोही बाघ, भालु र सिंह झै झम्टन्छन् । कोही हात्ती झै लमक लमक गर्दै फुर्ति लाउँछन त कोही घोडा झैँ दौडदै हिनहिनाउँछन । जे होस् यी सबै खाले फुर्तिनिधिसभाका फुर्तिनीय सदस्य घ्यूहरूलाई आउँदो फुर्तिनिधिसभाको बैठकमा जोडतोडका साथ मुख मिठ्याउने काम गर्नु होला भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु । र अन्त्यमा बढी कुरा के भनौँ जनता भक्कानो परेर रोइरहुन तपाई फुर्तिनीय घ्युहरू फुर्तिनिधिसभामा नयाँ नयाँ खाले फुर्तिको पोको बोकेर भोको पेटमा उभिण्डो पारेर कुभिण्डो कोच्याउन नबिर्सनु होला । जय व्यङ्ग्य ।

०००
उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
नेपाल कछुवा दल

नेपाल कछुवा दल

माधव पोखरेल गोज्याङ्ग्रे
जालझेल

जालझेल

माधव पोखरेल गोज्याङ्ग्रे
व्यशासन भित्रको कुशासन

व्यशासन भित्रको कुशासन

माधव पोखरेल गोज्याङ्ग्रे
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x