साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जामैजाम, हाम्रो काम ?

ट्राफिक जाम लेनले सगाउँछ कि प्लानले सघाउँछ था’छैन हजूर । थाहा छ त ट्राफिक जाम घैंँटोमा घाम नलागेपछि हुन्छ बुद्धि जाम, स्वमुखी नभइ परमुखीको तामझाम बढेपछि हुन्छ

Nepal Telecom ad

कामको तामझाम आफ्नै गामठाममा नमिल्नुको नाम हो ‘जाम’ । तासमा टाइम पास । लेघ्रोको कसरत गानाको ताना, जाम छल्ने मनोकामना । यो कामनाले पनि वाक्कदिक्क रहेको बेला लाहुरसाहुर गएर बिदाछुट्टीमा जहाँ गुटमुटिएको हो त्यहीँको बोलीचाली, भेषभूषा मिक्सफिक्स हुँदै यस्तैउस्तै जमातमा बसेर त्यहाँको बयानसयान गर्दा मिलेको हुन्छ पोषिलो काम । यो काममा गरिलिन्छ मनोरञ्जनले झल्लरझाला सहितको तामझाम । यो तामझाममा रमाइलो पनि गरिन्छ जब तिनको मुखभन्दा दाँत बढी टाढा निक्लेको हुन्छ, त्यति बेला सोझा-सीधा गामठामका जवान तिनको कुरामा पक्क पर्दछन् र भित्रभित्रै सपना बटुल्छन् । यो पनि हो एउटा फुर्सदिलो हृष्टपुष्टकारी चोरीचकारी जाम । एक त झिल्के मिल्केले जो छन् त्योभन्दा चौबर उडन्ते गफ हानेको, त्यै हनाइमा सुन्ने खुल्ला आँखामै हुन्छ वायुपंखी घोडा चढेको नहुनु पनि किन जाममा परेकाहरूका सपनासंसार लम्बेतान ? अनि त छातिभरि उकुसमुकुस भएर उनीहरूको मुखबाट अनायसै निस्कन थाल्छन्-
“दाइ ! हाम्लाई लैजाउन लाहुर
भिराइ दिम्ला शिरैमा माहुर
दिउँला हात्मा दामपैसा पाहुर
दाइ हाम्लाई लैजाऊ है लाहुर !!”

अनि के चाहियो र ? भाइपाटीको गर्धभसङ्घारी गानाले ठुटे नाक घिरौँँला पार्दै नाङ्लेपारामा छाती फुलाउँदै दोहोरी खेल्न पुग्छ झिल्के दाइ पनि । ए रात्तै ऊ पो के कम ?
“जाम भने जाम तो नि
दुई चार महिना घुमेर आम तो नि ।”
जाममा परेर जमेको हातको फुरौलो फुत्काउँदै यो लर्कोले जामेहरूका बुद्धि नै हुनपुग्छ पूरापूर जाम । त्यही लर्को लाम लागेर रेल चढ्न पुग्दा या प्लेनमा उड्न थच्चिँदा घरबारी जिन्सी नगदी सवै हुन्छ स्वाहा परमधाम । अनि यहाँ बस्ने जेष्ठ-कनिष्ठ जतिले यसैलाई नवजागरण मान्नुपर्छ त हिजोआज सुनसान भेटिन्छ बेँसी गाम । केटाकेटी र वृद्धवृद्धाको खुल्ला आश्रम । जानेहरूमा कति त पठाइनेबाट छक्किएर गर्न पुगेको सुनिन्छ सासैसम्म जाम । अनि लासचाहिँ बाक्सामा आएर ऋण पनि झ्वाम । बचेकाहरू पनि भन्न थालेका हुन्छन् सँगै जान पाए हुन्थ्यो परमधाम । जामबाट फुत्किनेबाट फुत्किँदैन यो अपकथाको बुद्धिजाम ।

सोझो बोली बोल्ने गाउँले नेपालीको दिमागमा जामको ठेट अर्थ आउँछ जाने काम । तर खासै अंग्रेजी वा अरुअरुमा ढिक्का पर्नु, रोकिनु, कक्रिनु आदि इत्यादि हुन आउँछ क्यारे । जामैको बारेमा जान्न खोज्दा हुँदोरहेछ मुखमा वासनादार पानी आउने काम । पाउरोटीको खस्रो चाम्रोलाई घाँटीबाट सर्लक्क चिप्ल्याएर गरिदिनेरहेछ पेट भरिदिने असल कामको नाम । भन्छन् ब्यारे यो फलफूलाई झोल बनाइ तताएर पकाएर लेदो तुल्याइ थलथले थापिन्छ । सिसीमा कसिई बजारमा धस्काएपछि त्यो पाउरोटीमा चस्काइन्छ । अनि मुखमा अमिलो/गुलियो स्वादले चिप्लो घाँटीबाट सरर । वाह रे ! त्यो पनि जामको । यो पनि त रहेछ जामकै काम ।

उर्दू संसारमा जहाँ साम त्यहीसँग आउँछ जामको नाम । साम भन्नाले साँझ सम्झिँदो रहेछ अनि जाम भन्नाले हाम्रैमा पनि छ यसको थरिथरि नाम । कतै बासाः कतै झ्वाईंपानी, कतै ह्विस्कीरम । कतै आइराङ कतै एैला तर उर्दूको मलजलै रमाइलो साँझको बेला त्यसमा होस् जाम । जाम हाल्दिने होस् त ‘साकि’ रक्सी सुन्दरी त कल्पना गर्दा नै मनमा छाउँछ आनन्दी आराम । उताको आराम आनन्दबाट यतातिर कोल्टो फेरेपछि त निंद नै हराम । बाहनबाट तपाईं आफैं हुनुहुन्छ भने त ठिकै छ बाटो खुल्लै छ, बाहनमाथि अन हुनुहुन्छ भने तपाईं डन । हात्ती चोर पनि चोर मुला चोर पनि चोर भनेझैँ कताबाट कुन शब्दकोश कुनचाहिँ सोर्सबाट भेट्टाएछ प्रहरी दाइले, मापसे भूत उभ्याइ दिएको छ । यो भूतले गराइ दिएको छ भोज भतेरहरूमा दारुपानको जाम ।

भोज, भतेर, पिकनिक चिल्लो पिरो अमिलोको धिकधिक यसलाई गर्ने ठीक त्यो हो पेय पाचक । सडक व्यवस्थित पार्न ट्राफिक शरीरको चिल्लोपिरो पार्न चापक रस यौटा व्यवस्थापन विरुद्ध अर्को अव्यवस्थापन ग्राही हुनुको साटो डाह किन ? आयोग सायोग गठन गरेर छानबिनै गराउने हो कि ? खै ! दिमागमा के पसे के के पसे दिमागै जाम । यो दिमाग जाम पारेर बस्नु भएन भन्ने सोचेर एकजना डिउटीमा बसेकोसँग सोध्न पुगेको त आफैँ बोक्सी आफैँ धामी सब भन्नुभन्या वयान । यति पनि था’छैन नखानु भनेको कहाँ हो र नधोक्नु भनेको हो । खानलाई तैयार भएर जानु, पेट्रोलको पैसा रकमान्तर गर्नु भनेको नि … । त्यो दाइले शब्दको यति दाइजो दियो कि दिमाग त डबल लक । परेन फसाद ? पाचकलाई घोचक भनेर परिभाषा गरेको फेहरिस्त आफैँ रिकर्ड बनेर बज्दाबज्दै पर पुगेपछि फर्केर हेर्दा पो थाहा पाएँ सरोकारवाला भनेर सम्पर्क राखेको मानिस त कतातिरको असुरक्षागार्ड पो परेछ । किन बाघ गन्हाउँछ ड्युटीको मान्छे भनेर पछाडि फर्कदा पो दिव्यज्ञान आफैभित्र फर्केपछि यौटा आहान सम्झेर दुवै लक खुल्यो । मुखबाट अनायासै निस्क्यो गुडलक ।

जामकै दौतरी हो लक पनि । जामका झैँ जात, जातका हुँदारहेछन् गुडलक, ब्याडलक, डेडलक, डबललक, सिंगललकदेखि सुरक्षाको लागि कंगारुको प्राकृतिक झोला जस्मा बच्चा राखिन्छ भने बैंकले राख्ने गरेको लकर पनि लक नै हो भने टलक पर्छ कि पर्दैन यो चैँ थाहा भएन है । जस्तै देउसीरेको जनआन्दोलन हाम्रो लागि अनुहारको झलक दिने टलक भैदिएको छ अहिले । यसको झलक हो सधैं सधैं घुमिरहने संक्रमणकाल । यो काल डबललक मात्र होइन डेडलक नै भैराख्या छ । फुत्कियो फुत्कियो भन्दाभन्दै झन् कस्सियो । बाहिर हेर्दा पहलमानी खेल भित्रभित्र अरु अरु नै चलखेल । यो पनि त जामै हो । अझ जाममात्र हैन महाजाम हो । यो महाजामभित्र हामी अभिमन्यू झैँ पसेका छौँ, फसेका छौँ । कसै कसैको लागि यो जामले पाउरोटीको सुसारेझैँ गरिरहेछ काम । धेरैको लागि चैँ घाँटी अँठ्याउने काम । काम गर्नेले गरिराख्या छ उनै र्‍याकीमा परिरहेछ । काम नगर्ने कुरा गर्ने चैं कुरैकुरामा जमजमाइ राख्या छ । कमाउनु कमाई राख्या छ, बनाउनु बनाइराख्या छ, गनाउनु गनाइराख्या छ, खै कसकसको मात्र खसी पारिनेमा आयो र नाम ? कसैको निम्ति जामले पुग्न दिँँदैन गन्तव्य ठाम । कसैले ढाक्या छ जिउ भरी भ्याउने ठामै ठाम । हो, यो जाम कसैको रमिता कसैको काल, यै हो बेमेलको ताल ।

“जाम” को भूमिकै जमेर दिइएन भने कहाँ बन्नु थलथले जाम । जाम पनि कति कति समय र ठाम अनुसार शरीरका विभिन्न अङ्ग जाम जस्तै मुख जाम, हात जाम, खुट्टा जाम आदि इत्यादिले गर्दछन् ठाम अनुसार काम । सामानमा विर्को जाम, सडकमा चक्का जाम, कारखानामा यन्त्र जाम, के के जाम के के जाम …. । यसरी अंग्रेजी, नेपाली, उर्दू आदि भुँडी आन्द्राको त्यान्द्रा बेरिएर रहेको नेपाली कोशमा ठोस बनेर जमिसकेको हलचलै गर्न नसकिने भैसकेका छन् कति कति जाम । अति अति नै जामको नामहरूमा अति नै लोकप्रिय नखरमाउली जाम हो ट्राफिक जाम । यो जामले कहिलेकाहीँ गर्दछ ठाममा काम । कार्यालयका कर्मचारी, प्रेमि प्रेमिका आदिको निम्ति दिमाग खोल्ने पनि गरेको देखिन्छ यो जामले अर्को काम । मोवाइलमा औँला चलायो सुनसान ठाउँमा, बसेरै पनि जाममा छु भन्दै गफ लतार्‍यो बस् अनि हुन्छ सद्दे बिसद्दे, काम नकाम सबथोकको इन्तजाम ।

अब ट्राफिक जामबारे कहीे भनिरहनु परोइन । बेफुर्सदीको लागि दिमागै जाम गराइदिने, फुर्सदी/लहडीको लागि गाडी/बाइकमा सिट्ठी बजाएर मन परेको गीत गुन्गुनाएर फेसबुक पल्टाएर विश्राम/मनोरञ्जनको क्षण जुराइदिने गर्दछ यो जाम ।

मान्छेको खाने बानीले पनि गरिलिन्छ पेटको जाम । खान नपाउनाले पनि पेट जाम । सडक जाम भन्ने कुरा मान्छेकै काम । सहरको खबर राख्नु पनि मान्छे कै काम । सडक र सहरमा लोभीपापी बढ्नाले हुन्छ सडक जाम । तथ्याङ्कको मिथ्याङ्क मिटर हो सडक जाम । बढी खाने खञ्चुवा मान्छे अटाउने भन्दा बढी सवारी भित्र्याउने व्यापारी/सरकारीको हो यो काम । चाणक्यले भनेका थिए रे व्यापारी सरकारीमा घुस्यो भने फुट्छ भकारी । त्यसको विस्फोटले जनताले भोग्नुपर्छ लाचारी । यसैले त्यस्तो देशबाट फुत्त उपियाँ झैँ पखेटा लाग्नु जाति । यो उहिलेको कुरा भयो । अहिले त विश्वमा कुनचाहिँ सरकार बनेको छैन व्यापारी ? हुँदैछ खेती लगाउने बस्ती बसाउने चन्द्रमाको तैयारी । यो तैयारीमा पनि चम्किसके व्यापारी । अब त यो भूमण्डलमा पाइन्न कुनै ठाउँ होस् त वारि न पारि । जामले आधिपत्य नजमाएको कुनै मुलुक छ भने त्यो खोज्नै पर्ला । जामको जात्राको मात्रा मिलाउन अन्त त अन्त हाम्रै छिमेकी मुलुकमा जमीनमुनि, जमीनमाथि अनि माथिको माथि आन्द्रे मान्द्रे जस्तो बाटो बनाएर पनि छैन समाधान । साधन सुरक्षाको मुख भयो सडक खाना । यो कुरा धेरै टाढाको भनिरहेको होइन, बाटोले नजिक, नातोले नजिक मात्र हैन अन्त त अन्त जो सँग चल्दछ हाम्रो विहेवारी जन्त । लामो समयदेखि अहिले त झन् परत्र होइन नागरिकताकै वरत्र बनाइसकेका छौँ ।

यसै त हाम्रो देश अगाडि समाज दुई कोश पछाडि । जति दौडाउ जति अड्याउ दूरीको दूरी नै । मानौँ बीचमा कुनै अदृश्य तरवारले समा र धानको दूरीका काम गरिरहेको छ । हुन पनि हिजो त कुन्नि आज यो अदृश्य तरवार हावामा चलेझैँ चलेको देखिन थालेको छ । चलाउने को ? सबैले थाहा पाउन थालेका छन् । के के हुनुपथ्र्यो, बन्नुपथ्र्यो बनेन, हुनुपर्ने भएन । नबन्दा नहुँदा समाधान अन्तध्र्यान खरायोको सिङजस्तै । हराउनु पर्ने खोजि खोजि साँचिन थाल्यो । साँचिनु पर्ने मानिस थालेको थाल्यै अनि त बनाइएका तित्राचार आकारको पुल । त्यो पनि मान्छे हिंड्ने तीन तीन महिनामा वर्षाको सूर्य झैँ हराउने गर्दछ भने … भन्दै पुछारमा च्पाप्प समाउनु (कुम्ल्याउनु पूर्व) अनि पश्चिम धान खनजोत आदि मेलो जारी पाहार लगाउनुबाट । मकै फल्ने बोटमा खोया । धान फल्ने बालामा चोया अनि त हामी देख कविरा रोया ।

कुरा अलि बहकिएछ । झिना मसिनाले खाए रक्सी हुन्छ, ठूला बढाले खाए सोमरस बन्छ । कलम अनि दिमाग कहिलेकाहीं यसै चिप्लने पनि गर्दछ । यो पनि एक प्रकारको जाम नै हो । सोमरसको जाम कहिलेकाहीं आप्mनै घ्याम्पो भरिए पनि हुनपुग्छ बेकाम ।

कुरा हुँदै थियो जोरजोर जामको । वल्लो हेर पल्लो हेर, पहिले आफ्नै अनुहार हेर । देशको राजधानी काठमाडौं यहींको सडक गल्ली दौडौँ । गल्ली त नाम मात्रको न हो कुन गल्ली छ र यहाँ अब । सब गल्ली सडक भैसके तँछाड मछाडमा लछारपछारमै समाहित भैसके । मान्छेलाई अप्ठ्यारामा खुम्च्याउँदै गल्ली भनाउँदा अब गाडी हिंड्ने भैसके, वाटूका मुटु थर्काउँदै हुँइकिने ठाउँ भैसके । नब्बे सालमा हनुमान ढोका दरबार क्षेत्रको भण्डारखाल भत्काएर बनेको न्यूरोड अहिले त दुब्लै देखिन्छ नि । दुब्लाएर पो के गर्नु मोटर अनि बाइकको पार्किङ भ्याएकै छ । मखन गल्ली होस् वा रञ्जना गल्ली । यसले पनि पार्किङ कल्ली लाउन पाएकै छ । पेटी पेटीमा चाट मम भटाभट पाक्दै पनि छ । हो कहिलेकाहिँ चिप्लिएर झण्डै मःमः खान आउने मान्छेलाई ममको उम्ल्या पानीले खानै लाग्या पनि छँदैछ । मुर्दा लाने बाटो होस् वा देउता हिँड्ने गल्ली कुनचाहिं पेंट्रोल खाएर जाम भैसके, त्यस जाममा कतै पसल कतै पाहुना बास बनिसके । अर्थात् बहाल आउने रोगजार बनिसके ।

हिजोका पाकाले नब्बे सालमा बाटो बनाउँदा लाटो भनेका थिए- दुई चार बग्गी साइकल गुड्नलाई पनि यति फराकिला बाटा ? भन्दै मुख बाउनेहरू अहिले हेर्दाहेदै झन् कोग्ल्याँटा भए । मोटर गुड्न थालेपछि त्यतिबेलासम्म बाटालाई फेसनै देख्थे । अहिले पनि ती भन्ने देख्ने कोही कोही छन् आफ्नो कुरा छाती फुलाएर घाँटीको नसा नसा तन्काएर सुनाउँछन् । सुनेकै भरमा पो आयो कुरा नत्र त उहिलेको कुरा खुइलिए झै भैहाल्थ्यो होला । यै हो राजधानी । यसले पैंचो लिएर भए पनि भरिसक्या छ ज्ञानीगुनी बेमानी । ती ज्ञानीगुनीको कुराकानीमा जति साधन भित्रियो उत्ति नै ढुकुटीको फेर लत्रियो र थापियो चन्दा भीख । थपाथप वातावरण सन्तुलन पुक्यायो पकापक ।

जाम विरुद्धको भुँडे योजना सुँढे तर्कनाको प्रतिफल पशुपतिनाथ अगाडिको साँढेको फल झर्लाको तर्कना हो । कुरा निकाल्दा कुहिरै मण्डल । कचौरा खाले मायो नेपाल मण्डल (उपत्यका) थोत्रा गाडी, ठेला गाडा, रिक्सा, ध्वनिशान बाइक, आन बाइक, थोत्रे बस पत्रे सडक सब कोच्चिया छ । धुलो फाल्ने कन्टेनर जस्तै अनि किन नबन्नु यो उपत्यका जाम । यहाँ कुरैले कुरा काटिन्छ र मात्र दिमाग चाटिन्छ, मापदण्डका कुरा निस्कन्छ, बण्डलले हो कि बिटाले केले मुखै टालिन्छ, उठेको कुरै फालिन्छ हेर्दा हेर्दै दिमागको नसा नसा कट्कटिन्छ । दाल भातको मात् टेन्सनको रेस्पोन्सको बेला किन गर्नु दिमागको खेला गर्दै मोरा दिमागै जाम । जाम फिल्टर गर्दा गर्दै कुरा उम्लन्छ तर पानी जाम पार्न सकिंदैन । फोक्सा धमनी धुँवा धुलाले जाम हुँदै जान्छ बरु दिमाग जाम सायद ध्वनि प्रदूषण धुवाँ प्रदूषणले गराउँदैन । जाम नै जमजमाउँछ जाम झमझमाउँछ, जाम खुल्दछ तर इन्द्रियको काम तमाम हुन थाल्छ । अनि आँखा चिम्लेर भन्न मन लाग्छ बन्द जिन्दावाद, बन्द पनि जामै हो । यो दिन पाउँछ सडकले समेत आराम ।

संविधानको डिग्रीमा साख बिग्रिए पनि आफूलाई कमल नै ठान्ने चामल नभएका धानहरूलाई धन्य धन्य भन्दै छौँ भनि रहने छौँ । आफूले नदेखे पनि खास खुसमा सुनेको कुरा यतिबेला टुँडिखेल आजको टुक्रामा बाँडिएको थिएन । कुरा चल्यो वेलायतकी महारानीको भर्मने टोली आउने भो । यसैको लागि यति भो । त्यसबेलामा पनि ट्राफिक यति भरीभराउ थिएन तैपनि सडक चौडा भो, टुंडिखेल काट्कुट भो । तर लेन मात्र बढेर के नापिने हो र अहिले घर घचेंटिदै छ, धूलोको सिन्दूरयात्रा बटुवा गर्दैछन् । भोलि सहमतिको हल्लामा सडक आफैँ उठ्दैन/बढ्दैन । यसले त भनिरहेछ यो भनिरहेछ पहिले आफ्नो बुद्धि सपार । बुद्धि जाम ट्राफिक जामभन्दा पनि खतरनाक छ । संविधान बनेर पनि कोमामा पुगेको बुद्धि जामले नै हो सहमतिय सर्प सोझै हिंड्न नसकेको बुद्धि जामले नै हो । बडो गजबको यो मन । गजब छ यो आँखा सानो पट्टि बाँधेपछि गान्धारी बनिदिन्छ । अनि गान्धारी आँखा मनतिर हेर्न खोज्छ । ट्राफिक जामभन्दा बुद्धि जामको पहिलो शिकार सवारी चालकभन्दा सरकारी चालक नै हुनपुग्या हो । हाइन भन्ने को ?

गाडी जाम, चक्का जाम त राम्रो लुब्रिकेण्टले कट गर्न सकिन्छ, तर बुद्धिजाम कुन कन्टेन्टले कट गर्न सकिन्छ, था’छैन हजूर । ट्राफिक जाम लेनले सगाउँछ कि प्लानले सघाउँछ था’छैन हजूर । थाहा छ त ट्राफिक जाम घैंँटोमा घाम नलागेपछि हुन्छ बुद्धि जाम, स्वमुखी नभइ परमुखीको तामझाम बढेपछि हुन्छ । अहिले त मै पनि जाम किन कि चुनावको सर्वनामले गर्दिएको छ काम तमाम । अरु के बोल्नु बुद्धिजाम ट्राफिकजाम । ट्राफिक जाम बुद्धिजाम । राम राम ! राम राम !!

०००
धुम्वाराही, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सिंहासन र अनुहार

सिंहासन र अनुहार

युवराज मैनाली
गर्जन

गर्जन

युवराज मैनाली
पतन

पतन

युवराज मैनाली
चक्रवर्ती सम्राट

चक्रवर्ती सम्राट

युवराज मैनाली
ब्वाँसोको राज्य

ब्वाँसोको राज्य

युवराज मैनाली
आम्दानी महात्म्य

आम्दानी महात्म्य

डा. सुमनराज ताम्राकार
पिउन साप

पिउन साप

डा. खगेन्द्र लुइटेल
अनलाइन ठगहरू

अनलाइन ठगहरू

प्रा. कपिल अज्ञात
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x