माधव पोखरेल गोज्याङ्ग्रेसुत्ने उठ्नेसभा
अब फेरि पाँचवर्ष कानमा तेल हालेर सुत्ने उठ्ने सभामा मनमौजी सुत कुम्भकर्ण बनेर । सीमा मिचिदा नाँच गान गरेर बस । दुतावासको रक्षक बनेर भतेर खाउ र पुनः संसदमा गएर सुत्ने उठ्ने सभाको मेचमा आरामसँग सुत ।

आउनुस् हजुर आउनुस् आउँदो समयको सुत्ने उठ्नेसभामा संसदीय जात्रा मनाउन र जनताका कुरालाई फोहरको डङ्गुरमा मिल्काउन सहभागी बनौँ । सिट डङ्गुर भएकोले कोठे बङ्गुरले पनि यो सभाको लागि कनिके त्यागी बनेर मागी खान सक्छन् । पछि अन्य दलमा भागी नजाने सर्तमा सुत्ने उठ्नेसभामा अभाव टार्ने मेलो मेसो सबैलाई प्रभावमा पारेर दवावका साथ हात पार्न सकिन्छ ।
जुरुक्क उठेर सुत्ने उठ्नेसभामा जाने अनि बबाल गफ हाँकेर थाकेपछि त्यही सुत्ने । सुतेर निन्द्रा पुर्याएपछि फेरी डोका न डालाका गफ हाँकेर भाले बासे झैँ गरी बेला न कुबेला बास्ने । सुत्ने उठ्नेसभामा भाले बास्न कुनै समय चाहिँदैन । जनताले निदाएर बिकासको छलाङ मार्न पठाएकोले ब्युँझिएर बस्न सख्त मनाही गरिएको सुत्ने उठ्नेसभामा आफूलाई मन लागेको बेलामा मनपरी गर्न, गुटबन्दी गर्न छुट छ । अर्को कुरा झुठ बन्दीमा विज्ञ ठहरिएकाले यथासिघ्र फोहरको डङ्गुर चाहार्ने बङ्गुरहरूले लङ्गुरे पारामा सिट हत्याउन हारालुछ गर्न सक्नेछन् ।
अर्को तर्फ आफ्नै यात्राको जात्रा मनाउन पाइने यो फलामे अवसरको सुवणर् मौकामा एक्का हान्न एकल बन्धनमा समावेश हुन नेपाल ढाँटछल दलको बलले पसिना निकालेको छ । असिना परेको बेलामा ठेलामा बसेर बजार घुम्दै प्रचार गर्न नसक्नेले यो फलामे अवसरको दुरुपयोग गर्न पाउने छन् । सपनाको पोको बोकेर भोको पेटमा आन्दोलन गरिरहेका आन्द्रा चुँडाल्न नसक्ने हुतिहाराले बिपनामा गरिबको सपनाको पोको खोसेर गन्धे बोको बन्दै पछि लाग्न रोकटोक छैन ।
सुत्ने उठ्नेसभामा निदाउन नसक्ने नजान्नेले व्यर्थको कष्ट नगरे पनि हुन्छ । यदि कष्ट गरेमा जनताको मन छुन्छ र रुन्छ । बेसारे मतिका, बेसोमति स्वभावले परिपूणर्, घरमा मुसा रुने सम्पति भएको, व्यहोरा सकिएको मगन्त नारायणको मान पदवीले सुशोभित भएकाले बेलैमा सुत्न सक्नेले बिटाका बिटा हात्ती बाघ र गैंडाका मुठा सहित उपस्थित हुन अनुरोध छ । चुल्ठे, मुन्द्रे, झ्याप्ले, भित्ती पाल्न नसक्नेले सुत्ने उठ्नेसभाको निर्वाचनमा सुतेर नै मतदाताका सामु लम्पसार पर्न सक्नेछन् ।
झुठ भन्ने हो भने संक्षेपमा भन्नु पर्दा यो सभालाई कुम्भकणर् सभा भन्दा पनि फरक नपर्ने भएको छ । किनकि जनताले सुतेर गरिखाओ भनेर मत दिएर पठाएका कारण यसलाई कुम्भकणर्सभा भनेर आउँदो सुत्ने उठ्नेसभाको पहिलो बैठकमा खलबले समयको निणर्य हुन सक्ने छ । अनावश्यक अत्तो थापेर रडाको मच्चाउन सक्ने योग्यता भएका, प्रतिपक्षीलाई धसाउन, फसाउन, हँसाउन, मन्साउन सक्ने बौद्धिकतामा खिया लागेका भालुभुत्ते, भुसतिघ्रे, हरिलठ्ठक, बज्रस्वाँठहरूले छिटोभन्दा पनि चाँडो देशका लागि घाँडो हुनकालागि सूचिकृत भै दिन अनुरोध छ । नपाउनेले केरा खाएर आफू हिड्ने बाटोमा बोक्रा मिल्काउन नजान्नेले सूचिकृत हुन नतम्सिए हुन्छ ।
जनताले गाग्राको कुरा गर्दा आग्राको कुरा गर्न नजान्ने, ऊ ले भन्दा गु ल्याउन नसक्ने, भतुवा लागेर विगौती खान नसक्ने, सित्तै पाएको अलकत्रा खान नसक्ने मनोरोगीले यो अभियानमा बिटुलिएर बस्न सक्दैन भने त्यो पाजीमा पनि दरिन सक्दैन । त्यसैले गाउँघरमा जाँदा हनुमानले झैँ पुच्छर हल्लाउँदै, चमर डोलाउँदै भक्तराम सुदामा बनेर इज्जत गुमाउन नसक्नेले यो फलामे चिउरा चपाउने मौकामा कुम्भाकणर्ासनमा आसन जमाउन पाउने छैन् । कुम्भकर्णासनमा देखेका सपनालाई सधैँ ब्यँझिरहने जनताका सामुन्ने तेस्र्याएर पाँच वर्षसम्म बेपत्ताको सूचिमा सूचीकृत हुन सक्नेले बेलैमा जोस निकालेर बोस बन्न मत खोसाखोसमा अग्रगामी छलाङ मार्नु पर्दछ । बुढो गोरुले थारो गाई ओगटे झैँ सुत्ने उठ्नेसभा ओगटेर युवालाई गलहत्याउन सक्ने भए अझ राम्रो ।
घरमा सुतेर नअघाउने बैठकमा सुतेर घुर्ने संसदको बैठक एजेण्डाका बारेमा जानकार तर जवाफ दिन इनकार गर्ने सुतासद् ज्युहरूलाई आउँदो निर्वाचनमा निर्वासनतिर नपठाए भोलिका दिनमा हामी नयाँ बाटो समातेर पुरानो ठाउँमा पुग्न सक्दैनौ । नयाँ ठाउँमा पुग्न त सुतेकै भरमा भत्ता खान पाएपछि किन दुःख बेसाउनु । जीवनभर सुख बेसाउन सक्ने दुःखका नाममा साँझ बिहान भतुवा नलागि नहुने सुतुवा हुन आवश्यक ठानिएको छ । किसानलाई खेतीमा दिइएको अनुदानबाट आफैँ दान लिन सक्ने नामर्दले पनि सुत्ने उठ्ने सभाको निर्वाचनमा घर, गोठ मचान, दैलो कार्यक्रम नगरी निर्वासित भएर चुनावमा सुत्न सक्ने गरी ओछ्यानको व्यवस्था गरिएको छ । जुन ओछ्यानमा निर्वासित व्यक्ति बाहेक अरुले पल्टन, ढल्कन, सुत्न पाउने छैनन् ।
विश्वकै नमूना जनप्रतिनिधि मुलक संस्थाका रूपमा रहेको नेपालको सुत्ने उठ्नेसभामा ओल्टो कोल्टो फेर्न पनि पाइन्छ । तर ओल्टो कोल्टो फेर्दा वा दाँया वाँया हेर्दा आँखालाई जथाभावी घुमाउन पाइदैन । किनभने आँखाले आफ्नो भाषा बोल्यो भने अर्को भेद खुल्न सक्छ । भेद खुल्यो भने चेत हराउँछ । चेत हरायो भने चुनावमा घरखेत नै जान्छ । घरखेत नै गयो भने त्यसै पनि निर्वासनमा जानु पर्ने हुन्छ । त्यसैले बूढो गोरुलाई गाई ओगट्न दियो भने त्यो गाई थारोको थारो नै बस्ने भएकोले बूढो गोरु उत्पादनशील हुँदैन भन्ने बुझेर सुत्ने उठ्नेसभामा पठाउनु भन्दा निर्वासनमा पठाउनु उपयुक्त हुने सुझाव सल्लाह हल्ला नगरिकन दिन चाहन्छु । जे जसरी हुन्छ यो पटकको भिडन्तमा अनुत्पादक बूढो गोरुलाई निर्वासनमा पठाएर उत्पादकत्व बढाउने युवा गोरुलार्ई धुरीमा चुरीफुरी गर्न चढाउने निणर्य गर्नेछ भन्ने सुत्ने उठ्नेसभासँग अपेक्षा गरिएको छ ।
भनौँ बूढो गोरुले युवा गोरुसँग जोरी खोजेर पौठेजोरी खेल्ने काम नगरे पनि हुन्छ । गाँस, बास, कपासको व्यवस्था भएका भेडाभेडीहरूको गाँस, बास, कपास खोसेर बेघरबार बनाउन सक्ने, बाढी पहिरो तथा दैवी प्रकोपकालागि प्राप्त बजेट कुम्ल्याउन सक्ने, कार्यकर्ता इँटा भट्ठामा पोल्न सक्नेले यो मौकामा अघि सरेका खण्डमा सुत्ने उठ्नेसभामा सबैले स्वागत गर्ने छन् । नेपालका भेडाभेडीहरूले खोजेको पनि यस्तै योग्य उमेद्वार हो । उल्लेखित योग्यता नपुगेका इमान्दार, कर्तव्यनिष्ठ, झुठ बोल्न, छक्कापञ्जा गर्न नजान्नेलाई मतका भकारी भेडाभेडीहरूले धकेलेर खाल्डोमा जाक्ने बढी सम्भावना भएकोले यिनीहरूले पनि अब निर्वासित जीवनलाई रोजेर कुम्लो कुटुरो बोकेर बसाइँ सरेका खण्डमा दण्ड जरिवाना केही पनि तिर्नु पर्दैन । यदि दण्ड जरिवाना तिर्ने हैसियतको धन छ भने धोखा दिए पनि कसैले केही भन्दैनन् ।
जनताका समस्या जब आउँछ वा सभामा जुन बेला जनताका समस्याका बारेमा चर्चा हुन्छ अनि सभाका सठहरूलाई निन्द्रा लाग्न थाल्छ र मेच मै मस्ताराम हुन्छन् । आफ्नो स्वार्थको कुरा उठेको खण्डमा तीन हात माथि उफ्रिएर बोल्छन् । जनताका समस्याको कुरा उठेमा मरेको बिरालो भएर सदनमै दिउसोलाई रात पार्छन । खास तरिका भनेको त यो हो नि । यसरी नै आउँदा दिनहरूमा पनि जनताकालागि योगदान दिएका खण्डमा पाँच वर्षपछिको निर्वाचनमा अहिले सुत्ने उठ्नेसभामा पुगेका महाशयहरू पुनः निर्वाचित होइन जीवनभरिका लागि निर्वासित भएर बस्नु पर्ने अवस्था आउँदैन भन्न सकिन्न ।
जनताले पाँच वर्ष कानमा तेल हालेर सुत भनेर पठाएकै हुन् । रोग, भोक, शोकमा रक्सी, मासुमा डुबेर मस्ती गर भनेर जिताएकै हुन् । जनताबाट मत लिएर गए पनि पाँचवर्ष गाउँबाट निर्वासित हुनु भनेर भनेका त थिएनन् र छैनन् पनि । तर ‘आश गर्नु भर नपर्नु’ भन्ने बुढ्यौली उखानको मर्ममाथि चढेर शिखर छोएका छन् । अब फेरि पाँचवर्ष कानमा तेल हालेर सुत्ने उठ्ने सभामा मनमौजी सुत कुम्भकर्णर बनेर । सीमा मिचिदा नाँच गान गरेर बस । दुतावासको रक्षक बनेर भतेर खाउ र पुनः संसदमा गएर सुत्ने उठ्ने सभाको मेचमा आरामसँग सुत । आउँदो निवाृचनमा जनमनबाट निर्वासित हुने सौभाग्य मिलोस् सुत्ने उठ्ने सभामा पुगेका सबैलाई शुभकामना । जय व्यङ्ग्य, जय साहित्य ।
०००
उदयपुर
Subscribe
Login
0 Comments
Oldest







































