उत्तम विचारबुढेसकाल
आउन्न बेला अब फर्किएर आउन्न त्यो जोबन लर्किएर बलो हुँ ठान्थेँ घरको निदाल आयो कहाँबाट बुढेसकाल ।

राम्रा थिए पुष्ट बलिष्ठ गाला
सडेर थोत्रो अब हुन्छ छाला
छुट्टै थियो रौनक नै हरायो
भेटिन्न खोजेर कता हरायो ।।१।
हेर्दै थिएँ जब्बर बाघजस्तो
डस्ने स्वयम् तक्षक नागजस्तो
लुला भए हात समाउँदैनन्
हिँडौँ भने पाउ रमाउँदैनन् ।।२।
आउन्न बेला अब फर्किएर
आउन्न त्यो जोबन लर्किएर
बलो हुँ ठान्थेँ घरको निदाल
आयो कहाँबाट बुढेसकाल ।।३।
दह्रा थिए दाँत भए निकम्मा
थिए मिलेका भरिपूर्ण टम्म
बन्दै गएछन् कमजोर आँखा
थिए तिनै बैँस छँदा चनाखा ।।४।
चोला उही हुन्न बदल्नुपर्छ
मनुष्य जन्मेर अवश्य मर्छ ।
भुलेर माया अनि मोहजाल
अवश्य लाग्नेछ बुढेसकाल ।।५।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































