सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हस् हाकिमसाब !

मैले भोगेजस्ता हरेक जिल्ला हाकिमले भोग्नुपर्ने नियतिहरूको बारेमा कहीं कतै उल्लेख नगरेकाले पनि होला मलाई उसले लेखेको कुरा पटक्कै विश्वास लागेन ।

Nepal Telecom ad

लहलहाउँदो जवानीको २१ वर्षे उमेरमा सरकारी जागिरमा छिरेको थिएँ ५८ वर्षको उमेर पुगेकै दिन चङ्गाचेट भएजस्तै मेरो जागिर चट भयो हातमा पेन्सनरूपी लट्टाई थमाएर । जागिरबाट अवकाश भएपछि थाहा भयो यो उमेरसम्म पुग्दा जाँतोको भारी जति थपे पनि नाइ-नास्ती नगरी लुखुरलुखुर हिँड्ने धोवीको गधाजस्तो बनिसकेको रहेछु म । गुलामीबाट उन्मुक्ति पाउँदा एकातिर खुसी नहुने कुनै कारण थिएन भने अर्कोतर्फ नजानिँदो तबरले बेला-बेला मनमा चस्कने भविष्यको त्रासले भने अत्यास बनाउने रहेछ केही दिन । तथापि आफ्नो इच्छानुसारको जीवन जिउन पाउने सोचले आनन्दित बन्दै अवकाश पाएको त्यो दिनलाई मैले अद्यापि उन्मुक्ति तथा पुनर्ताजगी दिवसको रूपमा मनाउँदै आएको छु ।

५८ वर्ष पुगेकै दिन मानिस अशक्त हुन्छ भन्ने कुरा कुन्नि ! कुन डेढअक्कलीले प्रतिपादन गरेको सिद्धान्त हो ? भन्न गाह्रो छ । तथापि सरकारी जागिरबाट गलहत्ती लगाउने निश्चित तिथिमिति भने अहिले पनि त्यही सिद्धान्तको भरमा चलेको छ, किन त्यस्तो गरेको होला ? भन्ने जिज्ञासा भने मभित्र यथावत् छँदैछ उमेरको अधिकांश हिस्सा त्यही गुलामीमा बिताएका अनगिन्ती मन स्वस्थ मानिसहरू छन् जसले बाँकी बचेका आफ्ना दिनहरू बिताउन भौँतारिनुपर्छ यत्रतत्र चुप लागेर बस्न नसक्ने मेरो पटक-पटक फेरि रन्थनिन थाल्यो । कन्सल्ट्यान्ट र ठेकेदारसँग आफ्नो चाहनाअनुसारको काम गर्दै अर्को दस वर्षको अवधिमा मैले काठमाडौंदेखि संखुवासभा, गुल्मी, लमजुङ र मनाङका धेरै फाँट, खोल्सा र विकट पाखा चहारेँ । चाकरी र गुलामीको भारीविनाको स्वेच्छाअनुसारको काम गरेर पाइने स्वस्थ पारिश्रमिक हात पर्दाको मज्जै अर्कै !

६९ वर्षको हाराहारीमा दोस्रो पटक स्वैच्छिक अवकाश लिएको केही दिनपछि मलाई एकाएक लेखक बन्ने धुन सवार भयो मानिसको मनको धुन भनेको कुनै सङ्गीतको धुनजस्तो एकसुरमा बज्ने त होइन । त्यस्तो धुन न त वल्लो भित्तासँग प्रतिध्वनित् हुन्छ न त पल्लो पाखासँग बटारिँदो त्यस्तो बेसुरको धुन कता पुग्ने हो भन्न पनि सकिन्न तर पनि मनमा उब्जेका त्यस्ता रहर हत्तपत्त चुप लागेर बस्ने खालका हुँदैनन् । त्यस्तो इच्छाको पूर्तिस्थल किताब पसल पो बन्न सक्छ कि ! भन्ने विचार पलायो

गोरु बेचेको साइनो पर्ने मेरा आफ्नै मान्छेको एउटा किताब पसलमा गएर समस्याको समाधान खोज्न थालें । एक दिन पसलकी सेल्सगर्लले भनी- अङ्कल गजबको बायोग्राफी आएको छ, लिनुस् न । मैले सोधें- ’गज्जबको छ भन्ने कुरा तिमीले कसरी थाहा पायौ ? उसले जवाफ दिई- हेर्नुस् न । यति राम्रो फोटो भएको मान्छेले नराम्रो त लेख्नै सक्दैन । मलाई त्यो केटीको अनभिज्ञताप्रति दया लाग्यो तर प्रकटमा मुस्कुराएँ मात्र ।

त्यसो त रूप र नाम, यी दुइटा कुरा हटाइदिने हो भने संसारको पहिचान भन्ने वस्तु नै रहँदैन । तर रूपलाई नै सबैखाले खुबीको स्रोत मान्ने अनगिन्ती मानिसहरू भड्खालामा परेको कुरा मैले धेरैपटक देखेको र आफैँले पनि खेपेको छु । त्यस्तो भ्रम पाल्ने त्यो केटी पनि कुनचाहिँ सुकुलगुण्डाको फेला पर्छे होला भन्ने कुरा मेरो मनमा निकै बेरसम्म खेल्यो तर केही बोल्नुपर्ने आवश्यकता ठानिनँ ।

चुच्चो नाक भएकी त्यो बिचरीको अनुहारमा एकपटक हेरेँ त्यो किताबको लेखकको नाम पनि पढ्न भ्याएँ । दिनभरि हिन्दी गीत सुन्नु र फेसबुक चलाएर बिताउनुभन्दा त किताब पढ्नु बेस होला कि ! भन्ने लाग्यो । लेखक बन्ने भूत सवार हुन थालेकै थियो त्यो धोको पूरा गर्नको लागि यस्ता किताबहरू सहयोगी बन्न सक्छन् भन्ने सद्बुद्धि पनि आयो मनमा उक्त दिवास्वप्न देख्दै गर्दा मैले त्यो किताब किनिसकेको थिएँ ।

सुरुमा त जति पढ्दै गएँ उति रोमाञ्चक लाग्यो त्यो किताबको प्रसङ्ग र प्रस्तुति । लेखन शैली उच्चस्तरको भएकाले सरकारी जागिरमा बसेर पनि साहित्यमा रुचि राख्ने प्रतिभाशाली व्यक्ति रहेछ लेखक भन्ने लाग्यो किताब पढ्दै जाँदा अन्ततः त्यसको लेखक अरू कोही नभएर हाम्रो केटाकेटी बेलाको साथी नाता पर्ने खत्रीको छोरा हो भन्ने कुरा घाम जस्तै छर्लङ्ग भयो मलाई त्यो बेलामा पनि छोरालाई उच्च शिक्षा दिलाउनुपर्छ र माथिल्लो ओहोदामा पुऱ्याउनुपर्छ भन्ने सोच भएको मानिस थियो खत्री एकपछि अर्को धानको खलो र पाखो बारीसमेत बेचेर भएपनि छोरालाई सरकारी अफिसकै हाकिम बनाउन सफल भएको थियो ऊ ।

साधन सम्पन्नताको कुरामा होस्कि बल बुद्धि वा शील स्वभावमा होस् कसैसँग हार नमान्ने बाबुआमा अन्ततः आफ्ना छोरा छोरीसँग भने हार्न सधैँ तयार रहेका हुन्छन् यो मनोवैज्ञानिक तथ्य आफ्ना अधुरा सपनाहरू पूरा हुने कुरामा उनीहरू ढुक्क भएर होला सायद । त्यस्तै भावना बोकेको बाबुको मन न हो । छोरो रमाएको हेर्ने कुन बाबुलाई रहर लाग्दैन र ! सम्पति हरण भइसकेको बिचरो खत्री ! छोरासँग सुखदुःखका कुरा साट्न एक दिन काठमाडौं पुगेको ।

छोराले मेरो बाबु भनेर परिचय गराउनुको साटो वहाँ मेरो गाउँले परिचित हुनुहुन्छ भन्दै साथीहरूलाई चिनारी गराएकै दिन खत्री अपमानित भएर घर फर्किएको थियो । आफ्नो घरको धुवाँ छिमेकीकोमा नजाओस् भन्दैमा त्यो कसरी रोकिन्छ र ? खत्रीको छोराको त्यो कर्तुत चैतको डढेलोसरी गाउँका कुनाकुनासम्म फैलियो बाबुको अपमान गर्ने खत्रीको छोरा ‘काम्लो ओढाएर दोक्च्याउनुपर्ने’ खालको रहेछ भन्दै उसकै साथीभाइले फिँजाए । पराईलाई प्रभावित पार्न खोज्ने । आफन्तलाई अपहेलना गर्ने । न पराई आफ्नो बन्यो, न आफन्त नै बाँकी रहे । उता खत्रीको छोरो नाङ्गिएर एक्लो बन्यो । यता, घर फर्केर आएको दिनदेखि भित्तातिर मुख फर्काएर ट्वाल्ल परेर बसेको खत्रीको एक महिना पनि नबित्दै इहलीला समाप्त भएको थियो ।

बायोग्राफीमा हाकिम बनेको खत्रीको छोराले आफूलाई दूधले धोई पखाली प्रस्तुत गरेको थियो । त्यो पुस्तक पढिरहँदा एक क्षणको लागि त मलाई पनि गर्व लाग्यो । ’आखिर हो त मेरो साथी खत्रीको छोरा । मान्छे इमान्दार रहेछकि क्या हो ।’ भन्ने भाव पनि नआएको होइन । पढ्दै जाँदा त्यो सोच चरा उडेजस्तो उडेर गयो ।

आफूलाई स्वर्गको खजान्ची कुवेरको छोराको आभाष दिने गरी लेखिएको त्यो किताबमा तथ्यलाई कति विलोप गरिएको थियो भने केटाकेटी बेलामा न आफूले लाउने गरेको फाटेको भोटो र चाक देखिने कट्टुको कुरा न त खोलाखेतको उखु चोर्न जाँदा, उखुधनीले गोहोरो खेदाइ खेद्दा खोलामा हाम फालेर ज्यान बचाएको जिउँदो इतिहास नै लेखेको थियो । बरू, राजदरबारको प्रशस्ति, व्यापारी र नेताहरूको चाकरी, देश-विदेशको यात्रालगायत यावत बकम्फुसे कुराले प्रशस्त ठाउँ ओगटेको थियो त्यो किताबमा ।

कुनै बेला आफैँ जिल्लाको हाकिम भएर बसेको अनुभव थियो मसँग पनि अरू बेलाको खर्चबर्च टार्न र बेला-बेलामा ’टुच्च’ तान्ने कुरामा त मलाई कुनै समस्या थिएन । तर मन्त्रालय र विभागबाट आउने मन्त्री, टाउके हाकिम र उनका चम्चाहरूलाई रिझाउनको लागि भने म सधैँभरि फत्र्याक-फत्र्याक पर्ने गर्थे साँझ पर्न नपाउँदै काठमाडौंका गल्लीको भट्टीमा छिरेर ठर्रा दन्काउने माथिका भनिने हाकिमको जिल्लामा पुग्दाको फाइँफुट्टी सानो हुँदैन । जिल्ला टेक्ने बित्तिकैदेखि खुट्टा नबटारिउन्जेलसम्म तिनले तान्नुपर्ने महँगो रुकच र ८/१० परिकार मासुको व्यवस्था मिलाउनुपर्ने बाध्यताले जिल्लाको हाकिम बनेको मेरो मथिङ्गल र गलफुलो चर्किने गथ्यो त्यति व्यवस्था मिलाउन नसके फर्केर गएको हप्ता-पन्ध्र दिनभित्रै सख्वा नहोला भन्न सकिन्नथ्यो भाँती पुर्‍याउन नजानेकों कारण त्यो फन्दामा फसेर दुईपटक विकट दुर्गममा पुगेको तीतो अनुभव मसँग आलै थियो ।

एक दिन एउटा मन्त्रीको पीएले दन्दनाएर आदेश गयो- ‘भोलि बिहान नौ बजे मन्त्रीजी त्यहाँ आइपुग्नुहुन्छ उहाँको साथमा आठ-दसजना अरू पनि हुन्छन् । खानपिनको व्यवस्था त्यहाँ भएको सबभन्दा राम्रो होटेलमा मिलाउनुहोला । कुन मन्त्री कुन दिन आउँदैछ भन्ने कुराको अग्रीम जानकारी राख्न चालु थिए मेरा हाकिम त्यसो त उनका छोराछोरी थिएनन् तर कुन्नि कसरी हो ? उनका सम्धी-सम्धिनी भने थिए मन्त्री आउने अघिल्लो दिन प्रायः उनलाई सम्धी या सम्धिनी सिकिस्त बिरामी भएर अस्पताल राखेको खबर पुग्ने गन्थ्यो त्यस्तो बेला उनी मलाई निमित्त कार्यालय प्रमुख बनाएर तत्काल काठमाडौंतर्फ टाप कस्ने गर्थे सधैँ किन त्यस्तो हुन्छ होला भन्ने कुरा मैले पहिले-पहिले त बुझेको थिइनँ तर त्यो कुराको रहस्योद्घाटन भएर मैले बुझ्दासम्ममा मेरो खल्ती भने खँलास भइसकेको थियो

मन्त्री आउने कुराको जानकारी मैले माथि केन्द्रका बडाहाकिमलाई गराएको थिएँ उनले पनि दन्दनाएर तत्काल अर्को आदेश गरे- ‘मलगायत अरू चारजना पनि आउँदैछौं । राम्रो व्यवस्था मिलाएर राख्नुहोला पेमेन्टको फिक्री गर्नुपर्दैन आएर गरौँला ।’ हाकिमको आदेश पाएको मैले ढुक्क भएर सबै व्यवस्था तीनतारे होटेलमा मिलाएको थिएँ । सबैजना आइपुग्दा बिहानीको दस बज्दै थियो होटेलमा जम्मा भएका बीसजना धतुङ्गाहरूको हुलले दिउँसो दुई बज्दासम्म मासु र ड्राइफ्रुटसँग स्कच हिवस्की र बियर त कति धोके कति । हिसाब नै भएन । यति धोकेपछि मन्त्रीदेखि कार्यकर्ता र हाकिमसम्म सबैको खुट्टा र जिब्रो लड्खडाउनु, लर्बराउनु स्वाभाविक थियो । त्यस्तै भयो ।

दुई बजे खाना खाने तयारी गर्दासम्म मन्त्रीजीलाई बोकेर गाडीमा हाल्नुपर्ने अवस्था आइलाग्यो लर्‍याङ् र बर्‍याङ् गर्ने हाकिमलाई डोर्‍याएर गाडीसम्म पुर्‍्याउन तीनजनाले तीनतिरबाट टेको लगाएझैँ थाम्नुपरेको थियो । हल्लिँदै गाडी चढेका हाकिमसँग बिल तिर्ने पहिलेको कुरा सम्झाउँदा उपर्ताली होलाजस्तो गरी खल्ती छामेझैँ गरे बिल तिर्ने रैछन् क्यारे भनेर मख्ख पर्दै छेउमा उभिइरहेँ के को बिल तिर्नु । उल्टै बाटो खर्चबापत रुपैयाँ पो दिनुपर्यो बिल तिर्ने जिम्मा पनि आफ्नै टाउकोमा आइलाग्यो

यस्तै-यस्तै कारणले गर्दा होला, मन्त्रालय र विभागका हाकिम आउने कुरा सुनेपछि भाउन्न भएर चाकमा मट्टीतेल दलेको कुकुर कुदेझैँ कतैतिर भागौँजस्तो लाग्दोरहेछ जिल्लाका हाकिमलाई त्यस्तो बेलामा ठेकेदारको सहयोग लिनेबाहेक अरू कुनै विकल्प हुन्नथ्यो त्यसो त ठेकेदार नै हो बेला मौकामा स्वेच्छाले सुका- मोहोर मेरो खल्तीमा पनि हालिदिने । तर त्यो खत्री हाकिमको किताब पढ्दा आफूले गरेका प्रशंसनीय काम मात्र उल्लेख गरेको, पर्दापछाडिका मैले भोगेजस्ता हरेक जिल्ला हाकिमले भोग्नुपर्ने नियतिहरूको बारेमा कहीं कतै उल्लेख नगरेकाले पनि होला मलाई उसले लेखेको कुरा पटक्कै विश्वास लागेन ।

मनभित्र लुकेकै कुरा त हो दबिएका भावना पोख्ने स्वच्छन्दता मलाई नभएको होइन क्यारे । मनमा लागेको कुरा लेख्न नपाइने भन्ने पनि कतै छैन । मलाई लागी त हाल्यो ‘यो खत्री अब्बल दर्जाको चोर बिरालो थियो होला अघिल्लो जन्ममा । त्यसको प्रतिमूर्तिका रूपमा यो जन्ममा आएछ यो संसारमा मानिसका रूपमा साधु बिरालो बन्न ।’

०००
‘चिबे नकटो’ २०७८

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
चिबे-नकटो

चिबे-नकटो

लेखनाथ पाेखरेल
नबल्झिएको च्याँखे

नबल्झिएको च्याँखे

लेखनाथ पाेखरेल
म बुढो भएँ अरे !

म बुढो भएँ अरे...

लेखनाथ पाेखरेल
भाउँतो पो आइलाग्यो !

भाउँतो पो आइलाग्यो !

लेखनाथ पाेखरेल
यो पनि झुटो हो !

यो पनि झुटो हो...

लेखनाथ पाेखरेल