संप्रस पाैडेलके विवाहितले प्रेमको कुरा गर्न हुन्न ?
अहिले त प्रेमका कुरा गर्न लाज मान्ने नेपाली समाज के गर्दै थियो होला उतिखेर ? धन्न विदेशीले बेलैमा ’आइ लभ यू’ वाक्य बनायो र हामीलाई बोल्न सजिलो भयो । त्यति नहुँदो हो त मेरो जुनी पनि खेरै जान्थ्यो ।

कुरोको चुरो शुरूमैँ भनौँ- नेपालमा पण्डित सेन्ट भ्यालेन्टाइन मारिएको थियो भने प्रणय दिवस होइन, शहीद दिवस मनाइन्थ्यो ।
तेस्रो शताब्दीतिर रोमका राजा क्लडिअसले एक क्रिश्चियन पादरी सेन्ट भ्यालेन्टाइनलाई मृत्युदण्ड दिए । कतै कतै रोमन देवताको पूजामा रोक लगाएकाले मृत्युदण्ड दिइएको पनि भनिन्छ । कतै यही नामका अन्य मानिसको प्रसङ्ग पनि पाइन्छन् । अढाई सय वर्षअघिका भीमसेन थापा र सतिकै कथा स्पष्ट नहुँदा अठार सय वर्षअघिको भ्यालेन्टाइनको घटना कसले स्पष्ट पार्नु ?
बल्लतल्ल बेलायतमा १४औँ शताब्दीपछि उनको नाममा यो दिवस मनाउन थालियो । मनाउँन मात्रै थालिएन, उपहार दिन पनि शुरू भयो । अनि पो यो दिन शोक नभएर उमङ्गको पर्वका रूपमा विकसित हुँदै गयो ।
विदेशतिर ‘भ्यालेन्टाइन डे’ प्रेमजोडी जम्मा गर्ने मात्रै होइन प्रेमी खोस्ने दिनका रूपमा पनि कुख्याति कमाएको पर्व हो । विदेशतिर यो दिनमा धेरैको सम्बन्ध टुङ्गिँदोरहेछ । मानिसहरू डिप्रेसनका शिकार हुँदारहेछन् ।
उनी नेपालमा जन्मेका भए फेब्रुअरी १४ मा सार्वजनिक विदा हुन्थ्यो । त्यसअघिका विभिन्न दिवस सोह्रश्राद्ध झैँ हुन्थ्यो । पछिल्ला पुस्ताले उनको श्राध्द गर्थे कि गर्दैनथे यकीन भन्न सकिन्न । त्यति नभए पनि १ मिनेट मौन धारण त हुन्थ्यो हुन्थ्यो । होइन भने भित्ते पात्रोदेखि पञ्चाङ्ग पात्रोसम्म उनको जयन्ती लेखिन्थ्यो । लोक सेवादेखि शिक्षक सेवासम्म यस्ता महापुरूषको ज्ञानलाई ‘समान्य ज्ञान’ भनेर प्रश्न सोधिन्थ्यो ।
नेपालमा भेलु बाजेको चर्चाजस्तो पण्डित भ्यालेन्टाइनको चर्चा हुन्थ्यो । एकाथरीले शालिक बनाउँथ्यो, अर्काथरीले धारे हात लाउँथ्यो होला । धन्य उनी विदेशमा जन्मिए, विदेशमैँ मारिए र त उनको मृत्युको दिनमा प्रेम र रोमान्सले सगरमाथा नाघ्दोरहेछ ।
नेपालमा जन्मेका भए शिलापत्रमा नाम भेटिन्थे र हामी पूजा गर्न थाल्थ्यौँ कि । पूजा पनि यति गर्ने कि अबिर धस्दा धस्दै कुँदेका अक्षरलाई अमूर्त चित्र बनाइदिन्थ्यौँ । सिक्काले हिर्काउँदा हिर्काउँदा कोर्रा लाएको भगौडा सिपाहीको ढाडजस्तो बनाइसक्थ्यौँ कि ।
अहिले त प्रेमका कुरा गर्न लाज मान्ने नेपाली समाज के गर्दै थियो होला उतिखेर ? धन्न विदेशीले बेलैमा ’आइ लभ यू’ वाक्य बनायो र हामीलाई बोल्न सजिलो भयो । त्यति नहुँदो हो त मेरो जुनी पनि खेरै जान्थ्यो ।
नेपालले राष्ट्रिय चाड मान्ने हो भने देशविदेशबाट भ्यालेन्टाइनका रूपमा प्रेमिल अनुहारमा फुस्रे बाबाको सट्टा चिल्ला युवाहरूको आगमन हुन्थ्यो होला । उनीहरू गाँजाको सट्टामा मायाप्रेम बाँड्दा हुन् । युवा-युवतीहरू टङ्ग ट्विस्ट, पाउट, डक फेस, स्पारो फेसमा सेल्फी लिँदा हुन् ।
यति सम्झेपछि मलाई पनि भ्यालेन्टाइन मन पर्न थाल्यो । उठ्नेबित्तिकै चिटिक्क परेर प्लास्टिकको फूल बोकेर पार्कमा जाउँ भन्ने सोच्दासोच्दै बुढीले भनी ‘मनमा लड्डु फुटाएर एक्लै मस्क्या छौ त बुढा ?’ अहो म त विवाहित पो हुँ त । छङ्गाछुर भएँ । आफैँलाई सम्हालेँ- के विवाहितले प्रेमको कुरा गर्न हुन्न ?
परिवारजनमा सुखशान्ति, समृद्धि, अमनचयन, मायाप्रेम, सद्भाव मिलोस् । प्रेम गर्न जान्नेहरूमा यस महान पर्व भ्यालेन्टाइन तिथीको हार्दिक मङ्गलमय शुभकामना ।
०००
हेटौँडा
Subscribe
Login
0 Comments
Oldest







































