सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

म त ट्वाँ परेँ नि !

“यी गान्धीजीले गर्दा त हो नि ! यिनले आफ्नो बेडरूमको गज्याङ-गुजुङ कुरा आफ्नो बायोग्राफीमा नलेखको भए म पनि त आफ्नो बितेका कुरामा पँखेटा लगाएर विनासित्ति उडाउने थिइनँ होला नि !”

Nepal Telecom ad

दुनियाँ गए जाओस् भड्खालोमा । दिएर आफ्नो र खौरिएर मसिनु त कसले पो बनाउन सक्यो र आजसम्म ? सबैलाई खुसी पार्न भगवान्ले त नसकेको कुरा म किन आफ्नो टाउको दुखाऊँ ? भन्ने सोचको विकास हुँदाहुँदा मेरो मन एकाएक एकल भोगवादी सोचतर्फ उन्मुख हुनपुग्यो ।

‘खाइसारक लाइसार, मरेपछि लम्पसार’ यस प्रकारको सोच मेरा अन्तस्करणभित्र फुरेको दिनदेखि सबभन्दा पहिले त म आफू पो खुस हुनुपर्छ भन्दै आत्मरागमा रम्न थालेको थिएँ । दुःखी हुनको लागि त कसैले कसैलाई केही गर्नै पर्दैन । त्यसको लागि ऊ आफैँ पर्याप्त हुन्छ ।

त्यसो भन्दै पन्छिन खोजेर पनि नहुँदो रहेछ यथार्थमा । कहिलेकाहीँ उल्टो बाटो लागेको आफ्नो गह्रुङ्गो सोचलाई हलुङ्गो बनाएर सहज हुन र औपचारिकताको लागि मात्र भए पनि केही कुराको नाटक मञ्चन गर्न जरुरी हुँदोरहेछ । आफू सहज बन्नको लागि मैले पनि त्यसबखत नाटक मञ्चन गर्ने सोच बनाउनुपरेको थियो । त्यसो गर्नुको पछाडि कुनै ठूलो घटना घटेको भने अवश्य होइन ।

मैले एउटा सत्सङ्गमा सुनेको थिएँ- ‘आफूले आफूलाई सजाय दिनु छ भने अरू केही गर्नुपर्दैन, आफूभित्र रहेका द्वन्द्व र आशक्तिलाई प्रकाशनमा नल्याए पुग्छ ।’ त्यस्तो कुरा सुनेको दिनदेखि नै मलाई छटपटी भइराखेको थियो । मानिस न हो ! केही न केही कुरा त आफूभित्र लुकेर बसेकै हुन्छ । त्यस्ता कुराबाट कसरी सहज छुट्कारा होला ? भन्ने मनभित्र पसेको खुल्दुलीले हैरान पार्न थालेको पनि निकै दिन बितिसकेको थियो । कुनै उपाय नसुझेको मैले आफ्नो मनलाई अन्यत्रै घुमाउने सोच बनाएँ । तर मन भने पटक-पटक अतीततर्फ नै फर्किने र त्यसलाई खोतल्ने चेष्टामा नै लागिरह्यो ।

त्यसो त अतीतको कुरा खोतल्नु भनेको कोइलाखानीको अँध्यारो कुवाभित्र पस्नुजस्तो हो । जहाँबाट सेतो र सफा बनेर कोही निस्किँदैन । अतीतका आफ्ना त्यस्ता पोल आफैँले खोल्नु खतरामुक्त हुँदैन भन्ने पनि थाहा छ । यदाकदा आफैँलाई आफैँले गरेको प्रहारको रूपमा प्रत्युत्पादक सावित हुने गर्दछ । तथापि भित्रैदेखि उकुसमुकुस भएको कारण जे पर्ला पर्ला भन्दै मसक्क आँट गरी मैले त्यसमध्येका केही कुरा खुलस्त गर्ने निधो गरेँ ।

कुरा ‘अटोबायोग्राफी’को थियो । कहाँबाट सुरु गर्ने होला ! भन्ने अन्यौलको बीचमा एक दिन परिणामको ख्याल गर्न बिर्सिएको मेरो बुद्धिको बिर्को एकाएक ढ्वाक्कै खुल्यो । त्यो बेला कराहीमा उम्लिएको दूधलाई पानीको छिटा मारेर साम्य पार्नको साटो होहल्ला मच्चाउँदाको परिणाम के हुने हो ? भन्ने कुराको हेक्का नै रहेन । कुनै कुनै प्रसङ्गलाई भित्रभित्रै नमस्कार गरेर छोड्नुपर्छ भन्ने कुरा पनि बिर्सिन पुगेछु ।

मनमा केवल ज्ञान र विवेकको भण्डार मात्र हुँदैन । यो मोरोमा बेपत्ता उत्पाती पनि त युक्त हुन्छ नि ! उसले आफ्नो अनुकूलताबाहेक कहिल्यै केही सोच्न जानेकै हुँदैन । त्यसैले बेलाबेला हुने नहुने बेपत्ताका उत्पाती कुरामा गएर टक्क अड्किन्छ । यसपटक ऊ, जीउमा निस्केको लुतो कन्याएर सञ्चो मानेजस्तो गरी टक्क अडिएको थियो उत्पातीको पछाडि ।

किन होला ? भन्ने कुराले क्षणभरको लागि त अल्मलिएँ पनि । तर यसपटकको मेरो लेखाइ बुढीमाउतिर तेर्सियोस् र उनकै प्रशस्ति गायन गाउँन म अग्रसर हूँ भन्ने मेरो मनको चाहना मैले नबुझ्ने कुरै भएन । त्यस्तो गायनबाट दुइटा फाइदा थिए । एक त बुढीमाउ दङ्ग पर्ने, अर्को थियो प्रशस्ति गाएमा मिठो मिठो खान पनि पाइने । यो मौका छोडनुहुँदैन भन्ने लागेर शब्दको छनोटको चिन्तनमननमा लामै समय खर्चिएर ‘बायोग्राफी सँगै बुढीमाउको प्रशस्ति गायन सुरु गर्ने सोचलाई यथार्थमा परिणत गर्ने निधो गरेको थिएँ, तर हुन पुग्यो अर्कै थोक ।

अघिल्लो पटक पल्लाघरे दाइले “मेरो बारेमा गज्याङगुजुङ कुरा लेखिस् भने तेरा बत्तिसी सत्तिसी भुइँमा झारिदिन्छु नि केटा ।” भन्दै थर्काएर गएको दिनदेखि म चिन्तित थिएँ । दिनमा तीन पटक ब्रुस गरेर चम्काएर साँचेका आफ्ना बत्तिसी झारीमाग्ने कसलाई पो रहर हुन्छ र ? त्यो बेलादेखि नरम भाषा मात्र प्रयोग गरेर हाँसले पानी छाडेर दूधमात्र छानेझैँ राम्रा शब्द, राम्रा कुरा मात्र रैछ भन्ने कुराको चेत खुलिसकेको थियो ।

यस पटकको लेखाइमा अघिल्लो पटककोजस्तो कुनै गड्बड् नहुने कुरामा म ढुक्कै थिएँ । हौसला र हिम्मतको कमी हुने कुरै थिएन, किनकि महात्मागान्धीजीको ‘अटोबायोग्राफी’ मेरैअगाडि थियो । जीवनगाथा लेख्दा सत्य र तथ्य कुरा लुकाउनुहुँदैन र महत्त्वपूणर् पक्षलाई छुटाउनुहुन्न भन्ने मान्यतामा म दृढ सङ्कल्पित थिएँ । सत्यलाई छोड्नुहुँदैन भन्ने गान्धीवादी सोच भए पनि प्रेमपूणर् भाषाको छनौट गर्दा बडो होस पुर्‍याउनुपर्छ भन्ने कुरामा मेरो राम्रैसँग ध्यान पुगेको छ झैँ लागेको थियो ।

दिनभरि चरेको घाँस फुर्सदको बेला पुनः मुखमा फिर्ता ल्याएर उग्राउने गाई-गोरुको बानी र तन्नेरी-तरुनीले आफ्नो मुखको पार्किङ लटमा घुसारेको चकलेटको रस सम्झिएको बेला मन्द-मन्द गतिमा अनुपान गर्ने प्रक्रिया मलाई उस्तै-उस्तै लाग्छ । जीवन भोगाइको क्रममा फेला परेका मिठा अनुभूतिहरू जब मानसपटलमा शब्द बनेर सल्बलाउँदै स्मृतिमा उग्राउन थाल्दछन् त्यस्ता घटनाहरूले पनि मानिसलाई गोप्य रूपमा त्यही किसिमले आनन्दविभोर बनाइराखेका हुन्छन् ।

यस्तो उग्राइमा आनन्द दिने कतिपय कुराहरू बाहिर निस्केपछि लथालिङ्ग हुँदै गलत सन्देश प्रवाहका साधनसम्म हुन सक्छन् भन्ने कुरो पनि मैले नबुझेको होइन । तर र्‍याल चुहाउने बानी परेको यो मोरो मनले कता पुर्‍याएछ, पुर्‍याएछ । बितेका त्यस्ता कुरा सम्झिँदा कम मज्जा आउँछ र ? तात्तातो राबडी खाएजस्तो ।

यसरी स्वादिलो मानेर जिब्रो पड्काउँदै आकाश-पाताल जोडेर फूलबुट्टा भर्दै लेख्न थालेँ म अतीतका पानाहरू । लेख्ने क्रममा धरानमा पढ्दा माथिल्लो छाताचोककी मैयाँको हात समातेर अनगिन्ती पटक विजयपुर डाँडा हुँदै भताभुङ्गे राजाको दरबार र साँगुरी भन्ज्याङ घुम्न गएको कुरा, बङ्गालमा पढ्दै गरेको बेलामा नागाल्याण्डकी रूपसीसँग कोहिमा र मोकोक्चुङ्ग शहरको शयर-सपाटा गरेको, सिनेमा हेरेको र होटेल गएको सबै कुरा अन्तस्करण भित्र उघ्राउँदै उघ्राउँदै लेखेछु ।

रूपसी मेरी गर्लफ्रेन्डसँगका कुराहरू बेलीबिस्तार लगाएर लेखिसकेपछि मैले आफूलाई वचनबद्धताका प्रतीक राजा हरिश्चन्द्र बनेको ठानेको थिएँ । तर मेरा सत्यवचनले खडा गरेको ठूलो भुमरी मेरै वरिपरि घुमिराखेको छ भन्ने कुरा मलाई के थाहा ! त्यसो त मैले ती घटनाहरू कसैको मन दुखाउन लेखेको थिइनँ । आफूले बिर्सिन नसकेका कुरालाई शब्दमा बदलेर आत्मरतिमा रमाउने प्रयास मात्र गरेको थिएँ । मेरो लेखाइ मेरी बुढीले कहिले हेरिन् त्यसको सुइँकोसम्म मलाई भएन । मनको कतै कुनामा उनले हेरिदिए पनि हुन्थ्यो भन्ने भाव भने आइरहेकै थियो । सायद भित्रभित्रै म उनको प्रतिक्रिया बुझ्न चाहन्थेँ ।

अनयाशै मेरी बुढीमाउको भाका बदलिन थालेको दुई/चार दिन त मैले मेसो पाइनँ । त्यसपछि कताकता कोकिलकण्ठले गर्दभ राग अलापेको आभास हुन थाल्यो । व्यवहार बदलिन थाल्यो । बेलामौकामा हान्ने राँगोजस्तो फूँ- फूँ- गर्न थालेपछि के उल्का हुन लाग्यो भनेर ठम्याउन खोज्दै थिएँ । उनको मुख ता कपाल खुइल्याउन उध्याएको धारिलो छुराजस्तो पो हुँदै गयो ।

ठुस्किएकी बुढीमाउको थुतुनो छुरा चलेजस्तो चल्न थालेसँगै मेरो तालुखुइले टाउकोमा बाँकी रहेका टुप्पीका रौं ठाडा हुन थाले । तथापि बोलेमा आफ्नै दुर्गति अवश्यंभावी हुने ठानेर मैले मौनव्रतमै बस्ने निधो गरेँ । त्यति गर्दा साम्य होलाकि भन्ने लागेको थियो । तर केको साम्य हुनु नि । हत्तपत्त माइत नै नजाने मेरी बुढीमाउ केही नबोली, कति दिनको लागि हो, त्यो पनि नभनी, रन्थनिँदै लुइँ-लुइँ- माइततिर चलान भइन् । उनको अप्रत्यासित माइती गमनले साँझ बिहानको जोहो कसले गरिदेला ? भन्ने पिरलाेले दाँतमा ढुड्गा लागेजस्तो भएको म उनी गएको बाटोतिर ट्वाँ परेर हेरिरहें ।

भित्रभित्रै आफूले आफैँलाई उल्टो हातले लोप्पा खुवाएर ‘तैले त मलाई घड्खालामा पो हालिस् त मन’ भन्दा ‘यो मेरो गल्ती हुँदै होइन । यो त तेरो अरुको देखासिकी गर्ने बुद्धिले गर्दा भएको हो’ भन्दै मन बुरुक्क उफ्रिन थाल्यो । त्यसपछि मलाई मनको कुरा ठीकै पो हो कि क्याहो झैं पनि लाग्यो । आफूले आफैँलाई निकास दिने प्रयास गर्दै भने “यी गान्धीजीले गर्दा त हो नि ! यिनले आफ्नो बेडरूमको गज्याङ-गुजुङ कुरा आफ्नो बायोग्राफीमा नलेखको भए म पनि त आफ्नो बितेका कुरामा पँखेटा लगाएर विनासित्ति उडाउने थिइनँ होला नि !”

गान्धीजीलाई अचानु बनाएर पानीमाथिको ओभानु बन्न खोजेको त्यो बेला त राहत पाएझैं लागेको थियो मलाई । तर, भान्सा तयार भयो नभनुन्जेलसम्म आफ्ना जुँघा मुसार्दै उपरखुट्टी लगाएर बालिस्टमा अडेस लागेर बस्ने बानी परेको मलाई भान्सामा पसेर आफैँले टुप्पी हल्लाउँनु पर्दा भने नुनको भाँडो र मसलाको बट्टा कता छ ? भनेर खोज्नलाई नै आधी घण्टा लाग्यो । पकाउने कुरा त जसोतसो गरेँ पनि । भाँडासमेत आफैँले धस्काउनुपर्ने परिस्थिति आइलाग्दा भने मेरा नौनारी गलेर आए ।

बुढीमाउको घर फर्किने छेकछन्द नदेखेको म अर्को दिन बिहान उनलाई फकाइ फुल्याइ गर्ने निहुँमा ससुरालीको मेजमानी खान पुगेँ । आफ्नो माइतीघरभित्र पस्दै गरेको मलाई देख्नेबित्तिकै मतिर फर्किएका बुढीमाउका आँखामा ‘खुच्चिङ’को भाव देख्दा भने भाउन्न होलाजस्तो भयो । उल्टो खुट्टा फर्काएर तत्काल घर फर्किउँजस्तो नलागेको होइन । तर, दिन दशा बिग्रिएको बेला थुतुनु बन्द नगरेमा आफ्नै दुर्दशा अवश्यंभावी ठहरर्‍याएको मेरो मनले चुप लाग्नु नै उचित ठान्यो ।

‘लोग्ने-स्वास्नीको झगडा परालको आगो’ भन्छन्, के रिसाउनुपरेको नि ! भन्दै लामो समय खर्चिएर बुढीमाउलाई ललाइ-फकाइ गर्न सफल भएको म ससुरालीको दह्रो मेजमानी खाइवरी उनलाई अगाडि लगाएर लुखुरलुखुर घर फर्किएँ । तर, जुन कारणले यो घटना घट्न गयो, अर्को महिना प्रकाशित हुने मेरो किताबमा त्यही विषयवस्तु जस्ताको त्यस्तै प्रकाशित हुँदा भने मेरो हालत के होला ? र, त्यसको परिणाम के र कस्तो आउला ? भन्ने कुराको अन्दाज लगाउन भने सकेको छैन ।

०००
‘चिबे नकटो’ (२०७८)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
चिबे-नकटो

चिबे-नकटो

लेखनाथ पाेखरेल
नबल्झिएको च्याँखे

नबल्झिएको च्याँखे

लेखनाथ पाेखरेल
म बुढो भएँ अरे !

म बुढो भएँ अरे...

लेखनाथ पाेखरेल
भाउँतो पो आइलाग्यो !

भाउँतो पो आइलाग्यो !

लेखनाथ पाेखरेल
यो पनि झुटो हो !

यो पनि झुटो हो...

लेखनाथ पाेखरेल