साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘कृष हराएको सूचना !’

‘चम्चे विद्या’ सिक्नु ‘चम्चा तालिम महाविद्यालय’मा सुटुक्कै भर्ना भएको हुनाले म खासमा निँखोज भएको हुँ । यो विद्या हासिल गरेर फेरि यहाँहरूसमक्ष हाजिर भएको छु ।

Nepal Telecom ad

झण्डै बियालिस दिन जति भो क्यारे फित्कौलीमा देखा नपरेको । एकातिर नरनाथ लुइँटेलजी मुट्ठीभाषमा गनगन गर्‍या छन् गर्‍या छन्, कृष्ण सर, कहाँ हराउनुभो हिजोआज ? तपाईं यसरी हराएकामा प्रहरी चौकीमा निखोजको डायरी पो दर्ता गरूँ भन्दैछु है । मैले प्याच्चै जवाब दिइहालेँ, नरनाथ सर, प्रहरी चौकीमा दुइटा आँखा भाका, दुइवटै कान भाका, एउटा नाक भाका एकजना ढेँढ़े बालक निखोज भनी मसिङ् रिपोर्ट गर्नु न । नरनाथजी बाहेक अन्य धेरैले ‘कृष्णजी कहाँ हराउनु भो ?’ प्रश्न गर्दा मात्र आफू यतिका दिनसम्म निंखोज भएको अनुभव गरेँ । यसरी म अचानक निँखोज भएकोमा मेरा शुभचिन्तकरू जति निराश र हतास थिए त्यसभन्दा धेर खुशीहरू पनि थिए । पाउँ न है..भनी म्यासेञ्जरमा लेख्या लेख्यै छन् । कहिले काहीँ ता तीन सातासम्म कुनै सूचना नपाएर फिल्कौलीमा ‘ढेँढ़े बालक हराएको सूचना’ फोटासहित पोष्ट गर्ने घुर्की लाइरहेका छन् कि लाइरहेका छन् । म चाहिँ मौन । चरोलाई ढुङ्गा हान्या जस्तै भएको छु । कारण विभिन्न अनलाइन पत्रिकामा यो ‘कृष’-लाई देख्दा डाहा र आह्रिसले मरिचजस्तै चाउरिनेहरू थुप्रै छन् भने यो ‘कृष’-लाई नदेख्दा निराश हुनेहरू कति छन् कति । खासमा म निँखोज भएको थिइऩँ । एक ठाउँबाट निखोज भए पनि म अन्त कतै थिएँ, छु अनि रहनेछु । यसैकारण यो ‘कृष’ किन यतिका दिनसम्म निँखोज भए त सोबारे सूचना वा स्पष्टीकरण दिने प्रयास गरेको छु ।

मेरा शुभेच्छुक गण ! म मान्छे साह्रै खतम छु । भनुँ नै भने, मभित्र कुनै प्रतिभा छैन । फेरि म मान्छे साह्रै आह्रिसे र डाहवाल पनि छु । मेरा सहकर्मीहरू कति प्रतिभाशाली छन् । आफ्नू प्रतिभाको बल बुताले मेरा सहकर्मीहरू कहाँ पुगिसकेका छन् । प्रतिद्वन्द्वीको बजारमा उनीहरूकै जगजगी छ । म भने बिजुलीको खाँबोजस्तै जहीँको त्यहीँ । कुनै हालतमा पनि मभित्रको प्रतिभा झाङिने र फस्टिने होइन । मभित्र प्रतिभा होस् न झाङियोस् ! प्रतिभा भन्ने कुरो ता जन्मजात लिएर आएको हुनुपर्छ । प्रतिभा बनाएर बनिने कुरो होइन । प्रतिभा नहुनेहरू चोरबाटो हिँड़्नुपर्छ । प्रतिभाशाली व्यक्तिहरूलाई चोरबाटो हिँड़िरहने आवश्यक नै पर्दैन । ‘चिनेका बाहुनले जनै देखाइरहनु पर्दैन’ भने झैं प्रतिभाशाली व्यक्तिहरूले पनि आफ्नो प्रतिभा यति उति छ भनेर ढोल ढ्याङ्ग्रो ठट्टाइरहनु पर्दैन । प्रतिभा ता स्वतः उदाङ्गो भइहाल्ने कुरा हुन् । कसैको प्रतिभालाई कसैले कुनै हालतमा पनि रोकेर, अँठ्याएर राख्न सक्दै सक्दैन ।

मेरा एकजना सहकर्मी यति प्रतिभाशाली छन् उनको प्रतिभालाई उछिन्ने मेरो बल-बुता केही नभए पनि उनको प्रतिभालाई नचल्ने दुअऩ्नीजस्तो बनाउन मैले लाख प्रयास नगरेको होइन । तर उनको जन्मजात प्रतिभा सामु कार्यालयमा मेरो जाल-झेल, छक्का-पञ्जा, षड़यन्त्र केही काम लागेन, लागेको छैन् । तर हिजोआज जमाना अर्कै छ । नमच्चिने पिङको सय झट्का भने झैं प्रतिभाहीन व्यक्तिहरूकै धेर जगजगी, बिगबिगी देखिन्छ । कुनै पनि कार्यालयमा यस्ता प्रतिभाहीन व्यक्तित्वले नै आफ्नो खुट्टा घुमाइरहेका हुन्छन् । थाहै नपाउने गरी आफ्नो दुनो सोझ्याइरहेका हुन्छन् । मेरा सहकर्मीहरूमध्ये कति प्रतिभाशाली छन् भने कति चाहिँ प्रतिभाहिन पनि छन् । ती प्रतिभाहीनले कार्यालयमा सही-सही बिसही-बिसही गरेर आफ्नो दुनो सोझ्याइरहेका छन् ।

यिनीहरूलाई झट्टै हेर्दा सोझा-सिधा, सरल देखिए तापनि मलाई चाहिँ यस्ता टपर्टुइँयाँहरूलाई कुखुरा चोर्ने स्यालजस्तै नै लाग्न थालेको छ । यस्ता प्रतिभाहीन मेरा यी सहकर्मी गड़्यौला स्वाभावका छन् । यता पनि ठिकै; उता पनि ठिकै । जता मल्खु, उतै ढल्कु भनेजस्तो । यता पनि ट्याप्पै; उता पनि ट्याप्पै । कार्यालयमा बड़ो शान्त मिजासका देखिए तापनि यिनको मस्तिष्कमा जहिले पनि अरुलाई बिगार्ने, भड़्खालोमा हाल्ने जल्पना-कल्पनामा अहर्निश छटपटिरहेका हुन्छन् । आफ्नै सहकर्मीको एक-एकवटा पोल आफ्ना हामिकसमक्ष खोल्न मात्र होइन त्यसमा मनगढ़न्ते नानाभाँतीका कुराहरू थपेर हाकिमका नियरेष्ट र डियरेष्ट पात्र हुन चाहन्छन् । यिनको प्रवृत्तिबारे कार्यालयमा अन्य तमाम् सहकर्मीलाई नालीबेली थाहा भए पनि यिनलाई कसैले लछारपाटो लाउन सक्दैनन् । यिनको चन्द्रमा दाहिनु भएर पनि होइन । ग्रह-दशा बलियो भएर पनि होइन । यिनको चम्चा गराइले नै यिनलाई बलियो इन्द्रेका बाबु चन्द्रे नै आए पनि हिस्रिक्कै हुनुपर्छ ।

कार्यालयमा हामी कसैको पनि सानो गल्ती भयो कि हुँड़ीबिड़ी मच्चिन्छ । तर यिनको गल्ती गतिलै भयो भने कार्यालयमा यिनको गल्तीबारे चाइँचुइँ केही हुँदैन । किनभने चम्चा नामको टुना-मुनाले हाकिम नामका अन्धो ईश्वरलाई रिझाउनेको जस्तै गल्ती पनि माफै-माफ । एकदिन नागा बस्दैनन् यी मोरा । हक छुट्टी पनि लिन मान्दैनन् । सरकारी छुट्टी समेत उपभोग गर्न नाकनिक गर्छन् । सरकारी छुट्टी पनि नआइदिनु नै भनेजस्तो गर्छन् । हाकिमको नियरेष्ट र डियरेष्ट बनिनुलाई एकाबिहानै कार्यालयमा आएर झमक्क साँझ परिञ्जेल कार्यालयमा हाकिमलाई रुङिबस्छन् । एकदिन कार्यालयको छुट्टी हुँदा हामीलाई कस्तो खुसी लाग्छ । छुट्टीकै समयमा ता घरमा थाँती रहेका कामहरू गरिन्छ । यो मोराको ता घरमा काम पनि हुँदैन कि क्या हो को‘नि ! घरमा पनि के काम गर्थे होलान् र कार्यालयमा ता वरको सिन्का पर सार्दैनन् मोराले । हाकिमकै गुणगान गर्न समय फुर्मास गर्छन् । आफूभन्दा कनिष्ठ सहकर्मीलाई दलाउनुसम्म दलाउँछन् । वियाराहरू के गरोस् पनि के ! उनको कुरा सुनिदिएन भने हाकिमको कानमा च्याटिङ गरिहाल्छन् । च्याटिङले पनि काम नलागे हामीहरूलाई नै मन नपर्ने सहकर्मीको ब्याक-बाइटिङ गरेर-गरेर साटो फेर्छन् ।

चम्चागिरी गरेरै यिनी कार्यालयमा प्रभावशाली व्यक्तिमा बढ़ोत्तरी भएका छन् । हामीलाई सामान्य केही अप्ठ्यारो पर्‍यो भने उनलाई लुतो कनाइ केही हुँदैन । तर उनलाई अप्ठ्यारो पर्‍्यो कि हामीलाई गोहार मागी आफ्नो काम फत्ते गराउन खुट्टै समातुँला झैं गरी घस्नुसम्म चेप्रे घस्छन् । चेप्रे घस्ने समयमा ता यिनको मुखाँ एक किलो घिउ दले झैँ देखिन्छ… चिल्ला न चिल्ला । तर कुनै एकजनाको पछि लाग्नुपर्‍यो भने नारायण ! एनाकोण्डालाई पनि जिताउँछन् । फेरि आफ्ने काम बनिसकेपछि वाधा-विपत्तिबाट पन्छिएपछि आफ्ना सहर्मीहरूलाई खायो भाँड़ो अफाल् तेरो ठाँड़ो गर्छन् । मेरा अन्य सहकर्मीहरूले ता को’नि तर म चाहिँ यिनको चम्चागिरीको कदर मात्रै होइन श्रद्धा पनि गर्छु । यिनै चम्चे सहकर्मीको चम्चागिरी देखेर म के निर्क्याैलमा पुग्न सकेको छु भने. कार्यालयतिर प्रभाव जमाउनु हो भने र आफ्नो हुकूम चलाउनु हो भने चम्चागिरी गर्नैपर्ने रहेछ ।

मैले अघि नै भनिसकेको छु, म साह्रै आह्रिसे मान्छे । देखासिकी गर्नु होइन मलाई पनि यी प्रतिभाहीन टपर्टुइँयाँ चम्चे सहकर्मीको आह्रिस गर्न मल लागेको अहिलेदेखिको होइन । चम्तागिरी गरेर दसवटै औँली घिउमा गाड़्न पाइन्छ भने, किन मैले पनि ‘चम्चे विद्या’ नसिक्ने भन्ने प्रश्नले मलाई दिनरात कोपरिहेकोले मेरा आँतका सहकर्मीहरूलाई यसबारे कुरा गर्नु मन लागेको थियो तर उनीहरू ‘ए…तँ पनि त्यही ड्याङ्का मूला’ भनी खिसी वा गिल्ला गर्लान् वा मलाई बातैपिछे घोँच्नसम्म घोंच्लान् भन्ने डर र लाजले मेरो मनको कुरा मनैमां राखेँ । कुरीकुरी पनि लाग्यो । यी चम्चे सहकर्मीलाई सुनाऊँ भने घोड़ाले घाँससित मित्रता के गर्ला वा एउटै कार्यालयमा अर्का चम्चे प्रतिद्वन्द्वीले अवश्यै पनि सह्य नहोला भन्ठानी मुख फुस्काउने आँट गरिनँ । फेरि चम्चागिरी गर्नुथाल्यो भने ता यिनको बाटो मर्ला भन्ठानी मलाई बाधा हाल्छन् नै । सोचेँ, यो चम्चे बन्ने मेरो कुरा यिनलाई ता भन्ने वा सुनाउनै भएन ।

‘म तपाईंको चम्चा हुनेछु’ वा ‘मलाई तपाईंको रेजर्भ चम्चा बनाउनुहोस्’ पनि कसरी भनुँ ? कसैले तपाईँ नबनी आफै मपाईँ हुनु पनि ता भएन । कसैले चम्चा बनाएर चम्चा बनिने हो र ! चम्चा बनाइँदैन आफै चम्चा बनिनुपर्छ । चम्चा बनिनुलाई सर्वप्रथम चम्चासित ‘खुसामदी रगत’ हुनुपर्छ । त्यो ‘खुसामदी रगत’ मसित छैन । ‘खुसामदी रगत’ भएर मात्र हुँदैन हाकिमको लात, घुस्सा, घोँचाइँ, पेलाइ, गोदाइ सबै सहने मुटु हुनुपर्छ । लाज सरम पचेको हुनुपर्छ । श्रीमतीले हपार्दा वा श्रीमतीसित सामान्य ठाटाक ठुटुक मन दुःखाएर रिसिएर डिनरै नगरी सुत्ने यो हुतिहार कृषसित हाकिमको कटाक्ष सुन्ने मुटु छँदै छैन । गर्ने के ? परेँ म फसादमा । मसित साँच्चै प्रतिभा हुँदो हो ता मेरो चम्चे सहक्रमीको आह्रिस गर्ने नै थिइऩँ । प्रतिभा छैन र ता चम्चे बन्नु मलाई हुट्हुटी लागेको हो । प्रतिभा हुनेले चम्चागिरी गरिरहनु आवश्यक छैन तर प्रतिभा नहुनेले चम्चागिरी गरेर आफ्नो प्रभाव बनाउनु नितान्तै आवश्यक रहेछ भन्ने कुरो यिनै महान् चम्चे बन्धुबाट सिकेको छु ।

मन मानेन । चम्चा बन्ने मेरो इच्छाबारे श्रीमतीलाई सुनाएँ । श्रीमती आरम्भमा बिच्किनुसम्म बिच्किइन् । तर मेरो ढीट मनोभाव सामु उनी झुक्न वाध्य भइऩ् । मैले उनलाई के भनेर आफ्नो झोलामा हालेँ सोबारे पनि बताइहालुँ क्यारे ! उनको केशरासी सल्बलाउँदै भनेँ, हेर प्रियतमा ! जीवनमा कहिल्यै कसै सामु नझुक्नु तर एकपल्ट झुकेपछि केही टिपेरै उठ्नुपर्छ । यसकारण म पनि अब हाम्रा अन्नदाता सामु झुक्दैछु । मलाई उऩको साँच्चै चम्चा बन्नु मन लागेको छ । उनको चम्चा बनेपछि ता कार्यालयमा मरो प्रभाव बढ्नु मात्र होइन तर तिमीलाई पनि सोह्रै आना नाफा र फायदा हुनेछ । तिमी सुत्केरी भएकी समयमा तिमी तङ्ग्रिनुलाई सधैँ एउटा कुखुराको सिरुवा चाहिन्छ, घिउ चाहियो । तर म हाकिमको चम्चा भएपछि उसो तिमी नर्सिङ होममा बसेकी जम्मै खर्च उनले नि तिरिदिन्छन् । दसै र तिहारको उपलक्ष्यमा गिफ्टको निहुँमा तिमीलाई दामी सलवार कुर्ता गरगहना जुर्नेछ । त्यतिमात्र होइन टूरमा जाने सम्पूणर् खर्च पानी उनै परमेश्वर हाकिम साहेबले वहन गरिदिन्छन् । यसबाहेक मैले नदेखी तिमीलाई अरु के-के किनिदिन्छन् नै । यो ता ‘अऩ्दर की बात’ हो नि प्रियतमा ।

मेरो कुरा सुनेर थाहा नपाउने गरी श्रीमती मुस्कुराउँदै नम्र स्वरमा बोलिन्- चम्चागिरी गर्नुलाई के के गर्नुपर्छ नि ?

नानीहरूले थाहा पाउँछन् कि भनेर सुस्तरी बोलेँ म- केही पनि गर्न पर्दैन प्रियतमा ! यति हो सहकर्मीहरूका भए नभएका पोलहरू हाल्नुपर्छ । हाकिले भनेका कुरोमा होमा हो मिलाउनुपर्छ । बस, काम फत्ते भइहाल्छ । मलाई कतै टूरमा पठाएर हाम्रा अन्नदाता हाकिम साहेब तिमीलाई भेट्न सुटुक्कै आउँनेछन् तिमीलाई भेट्न घरैमा । त्यसबेला तिमीले ज्यान दिएर उनको खातिर गर्नुपर्छ । उनको हरेक कुरालाई राम्ररी रेसपोन्स दिनुपर्छ । साँप पनि मर्ने लट्ठी पनि नभाँचिने । तर प्रियतमा लाखेस् ! साँप मार्नु पाय़ो भन्दैमा लट्ठी चाहिँ दुइ ठुन्का पार्नु भएन नि !

ठूल्ठूला आँखा नचाउँदै श्रीमती बोलिन्- अन्त मलाई महिनैपिछे ब्यूटी पार्लर जाने पैसा पनि दिन्छन् के ता नि हाम्रा अऩ्नदाताले ?

मैले थपेँ- चम्चेको पाएपछि ता तिमीलाई स्याहार्ने, सिँगार्ने ड्यूटी उनको नै हुन्छ नि ।

श्रीमतीले स्वीकृति दिइन् । श्रीमतीको स्वीकृति पाएपछि कसैलाई नभनी ‘चम्चे विद्या’ सिक्नु ‘चम्चा तालिम महाविद्यालय’मा सुटुक्कै भर्ना भएको हुनाले म खासमा निँखोज भएको हुँ । यो विद्या हासिल गरेर फेरि यहाँहरूसमक्ष हाजिर भएको छु । यसकारण मेरा फित्कौलीका प्रिय पाठकवर्गलाई म यसरी बियालिस-बियालिस दिनसम्म निँखोज भएको गूढ़ अर्थ खुलस्त भयो होला भन्ने मलाई विश्वास छ । यो कृष त्यसै ता कहाँ निँखोज हुने मान्छे हो र गाँठे ? सागरभित्र पस्दै पस्दिनँ, तर एकपल्ट पसेपछि मोती नटिपी नफर्किने यो कृषलाई तपाईहरूले के ठान्नु भएको छ कोनि ?

यसै प्रसङ्गमा यहाँहरूलाई के जानकारी गराउन चाहन्छु भने, तपाईहरूले सातैपछि भेटिरहने यो ‘कृष’-को एउटा डिग्री थपिएको छ । यो चम्चे डिग्री हासिल गर्नु मलाई एकदनै आवश्यक थियो किनभने मैले श्रीमती, लालाबाला पाल्नु परेन र ! तर म अहिले रङ्गरुट चम्चे नै छु । समयले मलाई साथ दिए एक न एकदिन खप्पीस चम्चे बनौँँला नि होइन र ! भविष्यमा फेरि अर्को चम्चे विद्या हासिल गर्न निँखोज हुनुपर्ला कि ! कथङ्कल म यसरी निँखोज भइहालेको खण्डमा कृपया ‘कृष’ निँखोज भनेर प्रहरी चौकीमा मिसिङ केस लज नगरिदिनुहोला । यति भए यो ‘कृष’ ढुक्कैले निँखोज हुनेछ ।

०००
सिलिगुड़ी, भारत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नबोल्ने वरदान

नबोल्ने वरदान

कृष्ण प्रधान
खोचे थाप्नु

खोचे थाप्नु

कृष्ण प्रधान
…छँदैछु नि !

…छँदैछु नि !

कृष्ण प्रधान
माथि…

माथि…

कृष्ण प्रधान
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x