व्यवसायीकरण
महान क्रान्तिकारी नेता घोरिएर सोच्न थाल्यो । उसको मुखमा एक गीतको लय गुन्जन थाल्यो । - “फूलको आँखामा काँढै संसार, काँढाको आँखामा फूलै संसार !”
– “न पैरो जाने डर, न कसैको भर ! ठुल्ठुलो गफ हाँक्दिएपछि व्यवसाय र रोजगारी चलिहाल्थ्यो ।”
एकदिन सडक छाप अल्लारेले भोक लागेको रिसको झोकमा प्वाक्क भीडमा ढुङ्गा हानेर उतापट्टि सर्यो । समातियो । सबैले उसलाई नेताको पगरी गुताएर प्रशंसा गर्न लागे ।
-“क्या खतरा मान्छे । नेता भनेको त त्यस्तो पो हुनुपर्छ !”
– “जेलमै मर्ने भो !”
जेलमा उसलाई पुलिसले ससम्मान मासुभात खुवायो । उसको मन एकाएक बदलियो । भोक मेटियो । जडसूत्र भेटियो ।
– “गरिबहरूको जीवनको व्यावसायिक उपाय !”
त्यसपछि सडक छाप आफूलाई जेलरले खुवाएको मासुभात सम्झन थाल्यो । समाजका गरिबहरूलाई मासुभातको अतृप्त कथा बनाएर गाउन थाल्यो ।
– “अब वर्गीय समाज परिवर्तन गर्नुपर्छ !”
भोका, नाङ्गा, दुखी, गरिब र हेपिनेहरू सडक छापले दिएको आश्वासनले नारा लगाउन थाले ।
– “हामीलाई एकपेट खान दे !”
सडक छापको प्रशंसाको उचाइ अकासियो । उसलाई सम्पर्क, भेटघाट, सहयोग र साथ दिनेहरू उसको नजिक ओइरिए । उसको एक ढुङ्गाको मूल्य बढ्दैगयो । जताततै उसको प्रशस्ती गाउँन गालियो । उसको व्यवसाय, विना पैसा फष्टाउन थाल्यो । नाफा पनि निकै कमाउन र जमाउन थाल्यो । धनाढ्य स्तरमा उम्लिएको उसले आफ्नो श्रीमतीलाई धाक छोडेर भन्यो ।
– “बुझ्यौ ! मेरो व्यवसायको फल कति मिठो लाग्छ ?”
ओठ सुकेकी, मुहार दोब्रिएकी र भोकाएकी उसकी श्रीमतीले हातमा लिएको एक कागज तेर्स्याएर भनिन् ।
– “लौ अब यो छल छोड्नू, पारपाचुके गरेर मलाई मुक्तिदिनु !”
महान क्रान्तिकारी नेता घोरिएर सोच्न थाल्यो । उसको मुखमा एक गीतको लय गुन्जन थाल्यो ।
– “फूलको आँखामा काँढै संसार, काँढाको आँखामा फूलै संसार !”
श्रीमती पारपाचुकेको कागज टिपेर भाग्दै कराउन थालिन् ।
– “विना ढेउवा के व्यवसाय !”
०००
काठमाडौं