डा. छायादत्त न्यौपाने ‘बगर’भुँडीको मालिक
हो, कुरामा पाइन्छ आदर्श । इमान जमान, नैतिकता, अनुशासन, दया माया, सद्भाव राखेर स्नेहको लेपन मुखले गरिन्छ । मानवता र आस्था मुखमा लतपतिएको छ । स्वच्छ सफा मनमस्तिष्क शब्दमा बाँकी छ कर्ममा भेटिँदैन ।
मदारीले नचाउने मर्कटशैलीको बोली बदल्ने होड चलेको छ । खेलाडीले सकेजति उफ्रन पाउँछ । कुनै बारबन्देज र अनुशासन मान्नुपर्ने छैन । उसले मदारीको डमरू के भन्छ ? हेक्का राखे पुग्छ । उसलाई घर बनाउनु छैन बरु चतुर्याइँ गरी बनेको घर भत्काउने दाउपेचमा अगुवाइ गर्नुछ ।
अचेल दाउपेचकै खेतीपाती गरिन्छ । गोडमेल गर्नै नपर्ने कुटोकोदालो विना मल्कने गजबको खेती सुरु भाछ । यसको उन्नत जातको बिउ व्यक्ति स्वार्थ हो । ढाँट,छल, लुट र फुटको मलजलले यसको उत्पादनमा दोब्बर वृद्धि हुँदैछ । यही सजिलो विकल्प मौलाएको छ आज ।
आजको समृद्ध समाजमा छलछाम गरेर रमाउने युरिया बोराका बोरा भेट्न सकिन्छ । कसैलाई यो सर्वसुलभ छैन भन्ने लाग्न सक्छ । लाग्न पाउँछ तर यो विद्यालय, महाविद्यालय, विश्वविद्यालयको ढोका ढोकामा व्याप्त छ । यसको सबैभन्दा मलिलो क्षेत्र राजनीति हो । यसो भनिरहँदा अरुतिर छैन भन्ने होइन । यसरी बुझ्न पटक्कै मिल्दैन ।
सत्य के हो भने आज शिक्षा, स्वास्थ्य, संस्कृति, मठमन्दिर, धर्मशाला, मस्जिद, चर्च, गुम्बा जहाँ गयो त्यहीँ छुल्याइँ छ प्रशस्त छ । उद्योग व्यवसायमा त छैन कि भनेर आशङ्का त गर्दै नगरे हुन्छ । बढी छिनाझम्टी यहीँ भइरहेको छ । यतिविघ्न छ कि पैसाबाहेक यहाँ अरु केही देखिँदैन । पैसा पाउने भए त मान्छे आची खान पनि घिनाउँदैन कि कुन्नि यसै भन्न गाह्रो छ !
खेल पैसाको । बोलीपिच्छे पैसा पाउने भएपछि इमान,जमान,नैतिकता, नियम कानुन, मानवीय संवेदना सबै, सबै एकै गाँस झ्वाम पार्न सक्छ मान्छेले, अझ नढाँटी भन्ने हो भने आफन्तले ।
इमानको गाँस आफन्तले खाइदिन्छ । नैतिकताको नी. राजनीतिज्ञले चपाइदिन्छ । विवेकको वि. विद्वान्ले घुर्लुक्क निलिदिन्छ । मानवताको मा. स्वास्थ्यकर्मीले हत्याउँछ । विधानको वि. व्यापारीको बिलो लाग्छ ।
आजको मान्छे नपुगेको ठाउँ र इमानको आग्लो भेट्नु भनेको मरुभूमिमा दुबो उमार्नु जत्तिकै पसिना काढ्नु हो । मान्छेसँग इमानदारी बस्न मान्दैन । कर्मचारीकहाँ कर्तव्य बस्दैन । शिक्षकलाई नैतिकताले पत्याउँदैन । स्वास्थ्यकर्मीकहाँ संवेदनशीलता पाइँदैन । व्यापारी नाफाले अघाउँदैन । निर्बाध लुट्न पाउनुपर्छ भनेर चक्काजाम गर्छ उसले ।
आज मान्छे काम गरेर खाँदैन खाएर गर्छ । हो नि नखाई लत्र्यान खाई सत्र्यान ! हेरौं त आज मान्छे भोक भोकै छ । यो त जति हुले पनि नभरिने चुहुने भुँडीको मालिक हो । जहाँ जाऊ जता हेर खान नपाएकाको भीड छ । तँछाडमछाड गरी लुटपाटमा रमाएको देखिन्छ । शालीन र सहिष्णु मान्छेको अनिकाल छ आज, महाअनिकाल । कानुन व्यावसायी र पत्रकार जगत त यति फोहोरियो कि धुनका लागि साबुनपानीले पुग्दैन । यसका लागि सिङ्गै मलखात चाहिन्छ ।
हो, कुरामा पाइन्छ आदर्श । इमान जमान, नैतिकता, अनुशासन, दया माया, सद्भाव राखेर स्नेहको लेपन मुखले गरिन्छ । मानवता र आस्था मुखमा लतपतिएको छ । स्वच्छ सफा मनमस्तिष्क शब्दमा बाँकी छ कर्ममा भेटिँदैन । विधिव्यवहारका सन्दर्भ बिर्सने अभ्यास छ । यसैमा बहादुरी देख्ने मोतियाविन्दुको विकास भएको छ । मान्छेले उधुम गरेको आजको रमिता यही हो । यसमै हराइरहेर खुसी छ आज मान्छे । अस्तु
०००
पर्वत, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































