पिँडालु पण्डितसहिद सम्मेलन
सम्मेलनको सफलताको समाचार भने सहिदहरूले गौरवसाथ अपलोड गरेको उनीहरूकै वेवसाइटमा अहिले पनि सजिलैसँग हेर्न र पढ्न पाइन्छ तर डाउनलोड गर्ने सुविधा भने त्यहाँ उपलब्ध छैन ।

‘सहिद सम्मेलन !’ कसरी हुन सक्छ ? भन्ने जिज्ञासा जो कोहीमा पनि हुन्छ । ‘सहिदहरूको सम्मेलन हुन सक्छ’ भन्ने र ‘सहिदहरूको सम्मेलन हुन सत्तैmन’ भन्ने दुई प्रश्नमा जनमत सङ्ग्रह गर्ने/गराउने हो भने ‘सहिदहरूको सम्मेलन हुन सत्तैmन’ भन्ने प्रश्न नै सच्चिएर ‘सहिदहरूको सम्मेलन असम्भव छ’ भन्ने निष्कर्षसहित जनमत व्यक्त गर्नेहरूको लर्को अत्यधिक लामो देखिन सक्छ । यसरी जनमत व्यक्तिनु कुनै अनौठो कुरो होइन । तथापि, यति हुँदा हुँदै पनि सहिदहरूको सम्मेलन भइनै सक्यो । सहिदहरूको सम्मेलन असम्भवबाट सम्भवमा परिणत भइसक्यो । त्यसैले त सहिदहरूको यस सम्मेलनले यतिखेर खुबै चर्चा बटुलिरहेको छ । नबटुलोस् पनि किन ! जुन कुरो असम्भव छ त्यही कुरो हुनु अचम्म हो । यस्तो अचम्मको कुराले चर्चा नपाएर ‘कृषिको पहिलो आधार सिँचाई’, ‘उद्योग राम्रोसँग फस्टाउन सक्यो भने मुलुकको आर्थिक अवस्था समृद्ध हुन्छ’ भन्ने जस्ता मन्त्रीको भाषणले पाउँछ र ? पाउँदैन नि । कृषिको लागि सिँचाई आवश्यक छ भन्ने कुरा त मन्त्रीले भाषण नगरे पनि थाहा छ नि ! छैन र ? राम्रोसँग उद्योग फस्टाउन सक्यो भने मुलुकको आर्थिक अवस्था समृद्ध हुन्छ’ भन्ने कुरा मन्त्रीले भाषणमा भनिरहनु पर्छ र ? पर्दैन नि । गरेर देखाउन सके पो ए है ! साँच्चै हो र’छ भनेर जिभ्रो काढ्नु । होइन भने सुन्नैका लागि यस्ता कुरा कति सुनियो ? कति सुनियो ? सुन्दा सुन्दा वाक्क । त्यसैले असम्भव मानिदै आएको सहिदहरूको सम्मेलन सम्पन्न भएकाले यस विषयले यतिखेर निकै चर्चा पाइरहेको छ । त्यो पनि नेपालको राजधानी काठमाडौँको मुटुमा बल्लतल्ल सास फेरिरहेको ‘सहिदमञ्च’ कै खाली भूभागमा ।
फेरि अर्को अचम्मको कुरो- ‘सहिदमञ्चमा सहिदहरूको सम्मेलन’ ? कसरी ठाउँ पाए तिनले मान्छेको त्यत्रो भिडभाड हुने व्यस्त ठाउँमा ? त्यसमाथि जुन बेला जतिखेर पनि जिउँदाहरूको जगजगी भएका ठाउँमा सहिदहरूको सम्मेलन ? यो अर्को अपत्यारिलो कुरो तर पत्याउन करै लाग्ने सत्य साँचो यथार्थ ।
चारैतिर ढोका खुला भएको मुलुक सात दिनका लागि बन्द घोषित थियो । मान्छे र मान्छे चढ्ने गाडीको त के कुरा चरो, मुसो, न्याउरी, बाघ, भालु कसैका लागि पनि आवागमन खुला थिएन । आवागमन पूणर्तः निषेध थियो । कतैतिर ढोका नभएर पनि मुलुक बन्द थियो । बन्दको सूक्ष्म अनुगमन गर्न बन्द आयोजककै तर्पmबाट खटिएका केही कुकुर बिरालाहरूका लागि भने बन्दको वातावरण केही खुकुलो रहेको कुरा बन्द घोषणाकै समयमा जानकारी गराइएको थियो । यति हुँदा पनि तिनको उपस्थिति सडकमा त्यतिविधि देखिदैनथ्यो । बन्दको त्रासले नै बन्दलाई बचाइरहेको थियो । त्यसैले पनि कुकुर बिरालाको खटाइ सडक बजारमा त्यति आवश्यक देखिदैनथ्यो ।
यही मौकामा सहिदहरूले आफ्नै भूमिमा सम्मेलन गर्ने, सम्मेलनका अवसरमा आपसी चिनापर्ची गर्ने, मनका कुरा साटासाट गर्ने, कुनै पीडा गुनासा भए त्यसलाई व्यक्त गरेर मन हलुङ्गो बनाउने र सहिदहरूका कुनै सुझाव भए त्यसलाई पनि सङ्गृहित गर्ने योजना बनाए । अर्को कुरा सहिदहरूले सम्मेलनको समय मध्यरात उपयुक्त हुने ठहर गरेका थिए । यही योजना मुताबिक बढी हल्ला र सार्वजनिक प्रचार प्रसार नगरी आ-आपूmबिच मात्र सूचना प्रवाह गरेर सहिदहरूले सम्मेलनलाई सफल पार्ने योजना बुनेका थिए । यसैले पनि पूर्व योजना मुताबिक उनीहरूको सम्मेलन सम्पन्न भयो र चर्चाको शिखरमा चढ्न सफल भयो । हिम्मतका साथ सम्पन्न सहिदहरूको यस्तो औपचारिक सम्मेलन सम्भवतः विश्वमै पहिलो र उत्तिकै ऐतिहासिक पनि थियो ।
रातको ठीक बाह्र बजेको छ । उज्यालोले घुम्टो ओढेकाले लोडसेडिङले निर्धक्कसँग टाउको उठाएको छ । उसलाई कसैको कुनै डर छैन । दिउसै त मान्छे र गाडीको आवागमन ठप्प भएको यस्तो अवस्थामा सहिदहरूले रातको समयमा आफ्नै तरिकाले सम्मेलन सुरु गरे । सम्मेलनको सभापतित्व गर्ने सुनौलो अवसर सुकुमबासी सहिदले पाए । प्रमुख अतिथिको आसनमा उपस्थित केही मोटा शहीदहरूलाई राखियो । पातला सहिदहरूलाई सहभागी दिर्घाको अग्रासनमा ठाउँ छुट्ट्याइयो भने पश्चासनमा पेट चिरिएका षहिदहरू बिराजमान हुने व्यवस्था मिलाइयो । सम्मेलनमा पर्यवेक्षकका रूपमा उपस्थित केही महानुभाव सम्मेलन स्थलको दायाँ बायाँ बसे । कार्यक्रमको सुरुआत कहिल्यै नसुनिएको यस्तो अनौठो सामूहिक असन्तुष्टि गायनबाट भयो-
“स्वार्थी सलाम चाहिँदैन, चाहिँदैन मान
फूलमाला चाहिँदैन, चाहिँदैन गान ॥
इज्जतको काम गर नाम राख राम्रो
मुलुकलाई चोट पुग्दा मुटु दुख्छ हाम्रो ॥१॥
स्वार्थी सलाम चाहिँदैन, चाहिँदैन मान
फूलमाला चाहिँदैन, चाहिँदैन गान ॥
पद पाए हाँस्दै आउँछौ फूल माला लिई
अघिपछि सेना पुलिस गाडीमा सजिई ॥
रबाफ के हाम्रा सामु ! हामी के गर्छौँ र ?
स्वार्थ छैन हाम्रो केही हामी के गर्छौँ र ? ॥२॥
स्वार्थी सलाम चाहिँदैन, चाहिँदैन मान
फूलमाला चाहिँदैन, चाहिँदैन गान ॥
किन ठोक्यौ गोली बारुद सास सुकाएर
अघि पार्यौ हाम्लाई किन स्वार्थ लुकाएर ॥
आफू पछि पछि हट्यौ हाम्लाई अघि सार्यौ
बल्ल बुझ्यौँ यतिखेर देह ढुटो पार्यौ ॥३॥
स्वार्थी सलाम चाहिँदैन, चाहिँदैन मान
फूलमाला चाहिँदैन, चाहिँदैन गान ॥”
कार्यक्रम सञ्चालनको तौर तरिका गैरसहिदहरूको भन्दा भिन्न प्रकारको थियो । उद्घोषकले सबैभन्दा पहिला सम्मेलनको सभापतित्व गरिरहेका सुकुमबासी सहिदलाई आफ्नो मन्तव्यका लागि आग्रह गरे । मन्तव्यको सुरुमै उनले प्रमुख अतिथिका आसनमा विराजमान मोटा शहिदहरूसँग क्षमायाचना गर्दै भने- “पछिल्ला पुस्ताका हामी सहिदहरूलाई एकसाथ तपाईंहरूका साथमा बस्न बाध्य गराइएकोमा हामीलाई सङ्कोच लागिरहेको छ । आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका लागि बलिदान भएर लोकहितमा अमरत्व प्राप्त गर्नु भएका तपाईं मोटा शहीदहरूका सामु अनेकौँ राजनीतिक दाउपेच, आर्थिक प्रलोभन, नितान्त व्यक्तिगत स्वार्थ, लहै लहै र भवितव्यले सहिद/षहिद घोषित हामी सबै तपाईंहरूका सामु सर्वप्रथम क्षमायाचना गर्दछौँ ।”
“अरूका कुरा म किन गरूँ ? म आफैँ आफू सहिद भएको यथार्थ तपाईंहरू सामु राख्छु । पिता पुर्खाको कमाइको आफ्नो घर जग्गा कुनै रूपमा सुरक्षित राखेर सहर पसेँ । सहर छेउको सरकारी पर्ती जग्गामा चिटिक्क परेको घर बनाएँ । सबैका आँखा लाग्यो । सुकुमबासी बस्ती उठाउनु पर्छ भन्नेहरू फाट्टफुट्ट देखिन थाले । भित्र भित्र बस बस भन्ने, बाहिर बाहिर उठ उठ भन्ने शक्तिहरूका आडमा अरूझैँ ढुक्कसँग बसिरहेको थिएँ । एक दिन एकाबिहानै कालगतिले म मरेँ । त्यसको केही समयपछि नै सुकुमबासी बस्ती हटाउनु पर्छ भन्ने र हटाउनु हुन्न भन्ने पक्षबिच आन्दोलन चर्कियो । घर परिवार, टोल छिमेक सबै आन्दोलनमा लागे । गोली बारुदका घटना पनि भए । मेरै घर पनि गोलीको निसानामा पर्यो । यता मेरो गति यस्तो भइसकेको थियो । कसैले चाल पाएका थिएनन् । राज्य पक्ष गल्यो । आन्दोलन स्थगित भयो । मरेकै साँझपख म सहिद घोषित भएँ । साँचो कुरा सम्झेर धुरुधुरु रुन मन लाग्यो । बोल्न वाक्य थिएन, न रुनका लागि आँसु नै थियो । बाध्य भएर म सहिद भएँ । सहिद हुनुको विकल्प मसँग रहेन । त्यसैले म र म जस्ता अरू सहिदहरूका तर्फबाट तपाईं मोटा शहीदहरू सामु पुनः क्षमायाचना गर्दै हाम्रो बाध्यता बुझिदिन विशेष आग्रह गर्दछु ।”
सभापतिको मन्तव्यपछि बोल्ने पालो सहभागी दिर्घामा सर्यो । यस्तै रोचक प्रसङ्ग सुनाए सम्मेलनका सहभागी अर्का सहिदले । उनले आफ्नो भनाइ राख्दै भने- “बिदाको दिन थियो । तास खेल्नेहरूले तास च्यातेर चपाउनु पर्ने ती दिनमा पनि केही साथी मिलेर पारिलो घाममा जिउ सेकाउँदै म्यारिज (तासको कुनै एउटा खेल प्रकार) खेल्ने योजना बनायौँ । म लगायत हामीले यो आँट किन पनि गर्यौँ भने अदालतले नै म्यारिज खेललाई अन्य जुवा तास जस्तो खेलको रूपमा लिन नहुने पैmसला केही दिनअघि मात्र गरेको थियो । अदालतको आदेशलाई सबैले सकारात्मक रूपमा लिऊन् भनेर पनि हामीले सार्वजनिक स्थलमै म्यारिज खेल्ने यस्तो निणर्य लिएका थियौँ । हाम्रो अभीष्ट अन्ततोगत्वा राज्यको काममा सघाउ पुगोस् भन्ने नै थियो । अदालतको आदेश पनि अक्षरशः पालन होस् भन्ने नै थियो ।”
“म एकनासले तास खेल्दै थिएँ । जिन्दगीमा पहिलो बाँडमै दुई वटा म्यारिज परेर गेम सो गर्नका लागि आफ्नो पालो पर्खँदै थिएँ । हाम्रो खेल मैदान नजिकै सशस्त्र विद्रोही पक्ष र राज्य पक्ष बिच भिडन्त सुरु भएछ । कताबाट छुस्स एउटा गोली आएर म पुक्लुक्क ढलेँ । सासले मेरो साथ छोड्यो र गोलीको पछि पछि लाग्यो । जिन्दगीमा पहिलो पटक बाँडमै आएको डबल म्यारिज देखाउन पाइन । असाध्यै पछुतो लाग्यो । दुई चार घण्टापछि भिडन्त रोकियो । जिउँदाहरू कता भागे कता । म त्यहीँ ढलेको ढल्यै भएँ । रातभर खेल मैदानमै पसारिएँ । दिउसोको डड्याङ डुडुङले हो वा किन हो राति स्यालहरू पनि आएनन् । भोलिपल्ट बिहानै म सहिद घोषित भएँ । परिवारले लाखौँ रूपैयाँ प्राप्त गरे तर मलाई भने अहिलेसम्म आफ्नो प्राण गएकोमा भन्दा पहिलो बाँडमै आएको डबल म्यारिज देखाएर गेम गर्न नपाएकोमा बढी बिस्मात लागिरहेछ ।”
उसले आफ्नो भनाइ पूरा गर्न नपाउँदै अर्को कुर्लिन थाल्यो- “सडकमा कुखुरा किचेको निहुँमा बेकारमा मलाई … … ।” यस वक्ताले आफ्नो भनाइ पूरा गर्नै पाएन । अनुमति नलिईकन बोलेकाले उद्घोषकले उनलाई बोल्नबाट बिचैमा रोके र बोल्न चाहने अरूलाई हात उठाउन आग्रह गरे ।
सहभागी दिर्घामा बोल्न चाहनेहरूको हात थुपै्र उठिरहेको थियो । उद्घोषकले सहभागी दिर्घाबाट उठेको हातलाई पालो नदिई पर्यवेक्षक दिर्घाका सहभागीलाई बोल्ने अवसर दिए । सम्मेलनको समय निकै साँघुरिइसकेको थियो । पर्यवेक्षक दिर्घाका सहभागीले कुनै भूमिका नबाँधिकनै आफ्नो कुरा सुरु गरे- “पूर्व वक्ताहरूको भन्दा बढी पीडादायी इतिहास छ मेरो । देशको विद्यमान शासन सत्ता परिवर्तन गरेर देशको मुहार फेर्छौँ भन्ने राजनीतिक दलको लहै लहैमा लागेर म एक दिन सहिद सम्मेलन भइरहेको यही मैदानमा विशाल जुलुसका साथ नारा घन्काउँदै आएको थिएँ । मान्छेको खचाखच भिड थियो । कताबाट कसले के होहल्ला मच्चाइदियो थाहा छैन, जुलुसका सहभागी सबै आँखा चिम्लेर यताउति कुदाकुद गर्न थाले । भिडका बिचमा म लडेँ । मलाई कसैले उठाउने अवस्था नै रहेन । म त्यतिखेर आमसभा र अहिले यो सम्मेलन भइरहेको यही मैदानमा खाँदिएँ । दुई चार दिनदेखि पानी परेको मौसम थियो । सबैको कुल्चाइले म यहीँ दबिएँ । म सबैले कुल्चेर थिल्थिलो बनाएको मेरो शरीर यहीँ गाडिएको अवस्थामा छाडेर कता कताबाट तपाईंहरूका बस्तीमा आइपुगेँ । म मरेको न कसैले अहिलेसम्म चाल पाएको छ, न के । न म सहिद बन्न सकेँ, न सार्वजनिक भएर बोल्न नै सकिरहेको छु । मेरो पक्षमा कसले आवाज उठाइदिन्छ ? ल भन्नुस् त तपाईंहरूको जत्ति पनि हैसियत छैन मेरो । मलाई बाँचेको भन्नु हुन्छ कि मरेको ? सहिद भन्नु हुन्छ कि गैरसहिद ? मेरा घर परिवार मेरो मृत्युका विषयमा बेखबर छन् । म आफैँ म मरिसकेँ भन्न सक्तिन । न पत्र लेखेर वा फोन गरेरै कसैलाई खबर गर्न सक्छु ? जुन पार्टीको समर्थनमा जाँदा मेरो यस्तो हबिगत भएको थियो, त्यो पार्टीले मेरो मृत्युपछि नै पनि कत्ति पटक सत्तारोहण गरिसक्यो, शासन सत्ता सञ्चालन गरिसक्यो तर पनि ऊ मेरा विषयमा बेखबर छ । म के गरूँ ?”
बोल्नका लागि करिब करिब सबै सहभागीले हात उठाएका थिए । सबैलाई बोल्न दिने हो त्यो रात मात्र होइन अर्को दुई तीन दिन लाग्ला जस्तो देखियो जुन कुरा उनीहरूका लागि कुनै पनि हालतमा सम्भव हुन सत्तैmनथ्यो । यसै बिच कसैको अनुमति नलिईकनै पेट चिरेको एउटा षहिद उफ्र्यो र सबैको ध्यानाकर्षण गरेर भन्न थाल्यो – “सबैका सबैको पोल यहाँ खोलिरहनु जरूरी छैन । सबैका सबैले आ-आफ्नो पोल खोलेर आफूले पाएको मान मर्यादा घटाउन उचित पनि हुन्न । बरु, यहाँ उपस्थित हामीलाई परेका पीर मर्का भविष्यमा दोहोरिन नदिन के गर्न सकिन्छ, त्यसतर्फ सम्मेलनको ध्यान जानु आवश्यक छ । अनावश्यक विवादले जिउँदै छौँ भन्नेहरूलाई हँसाउने र उनीहरूको शासन सत्ता अझ बलियो पार्नेभन्दा अरू केही गर्न सक्तैन । त्यसैले जुन वर्ग र हैसियतका भए पनि हामी बिच कुनै किसिमको ठूलो खाडल वा भेद बाँकी राखिनु हुन्न । सम्मेलनको समय घर्किन लागिसक्यो । बरु अब छिटो गरेर हामी निष्कर्षतिर पुग्नु पर्छ ।”
सम्मेलन स्थल तालीको गडगडाहटले गुञ्जायमान भयो । सबैले ‘हो’ ‘हो’ मा ‘हो’ ‘हो’ मिलाए । अन्तिममा हतार हतारमा उनीहरू बिच पाँच बुँदे लिखित सहमति भयो । ती बुँदा यस्ता थिए-
१. “आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका लागि बलिदान भएर लोकहितमा अमरत्व प्राप्त गर्नु भएका पहिलो पुस्ताका साथीहरूलाई ‘मोटो शहीद’ का नामले सम्बोधन गर्ने ।”
२.“मोटो शहीदकै प्रकृतिका काम गरेका तर त्यसभन्दा केही कम योगदान रहेका साथीहरूलाई ‘पातलो सहिद’ का नामले सम्बोधन गर्ने ।”
३.“राष्ट्रको हित र सम्बद्र्धनका क्षेत्रमा खासै ठूलो योगदान नभए पनि षडयन्त्रमूलक ढङ्गले वा विभिन्न परिवेशमा परेका साथीहरूलाई ‘पेट चिरेका षहिद’ का नामले सम्बोधन गर्ने ।”
४.“सम्मेलनमा उपस्थित साथीहरू मध्ये को कुन वर्गमा पर्ने हुन् भनी पहिचान गर्न उमेर, जात, भूगोल र लिङ्गको समेत अनुपात मिल्ने गरी ‘पहिचान निर्धारण समिति’ गठन गर्ने र समितिको सिफारिसलाई यसअघि आजै गठन गरिएको कार्य समितिले कार्यान्वयनमा ल्याउने ।”
५.पाँचौँ र अन्तिम बुँदामा भने सम्मेलनका सहभागीहरूले यस्तो निणर्य गरेका थिए – “सहिद घोषणाका विषयमा पोखेका गुनासा, दुखेसो वा पीडालाई सम्बोधन हुने, जिउँदाहरूलाई पनि पटक पटक सहिद घोषणाका विषयमा पटके आन्दोलन, जोरजबरजस्ती र निणर्य गरिरहनु नपर्ने कुरालाई दृष्टिगत गरी जो कोही मान्छे जन्मने बित्तिकै सहिद घोषणा गर्ने र मृत्युपश्चात् आर्थिक सुविधा उपलब्ध गराउने व्यवस्था तत्काल मिलाउन मत्र्यलोकमा लेखी पठाउने ।”
रातको छोटो समयको हतार हतारको यो सम्मेलन र सहमतिपछि सहभागीहरू सहिद एकताको नारा लगाउँदै केही बेरसम्म लगातार त्यहीँ कराइरहे । पछि ती त्यहीँ अलप भए वा कतै उडेर गए, त्यो कुरा भने कहीँ कतै केही उल्लेख गरिएको पाइएन । सम्मेलनको अरू घटना, परिघटनाको पूर्ण विवरण र सम्मेलनको सफलताको समाचार भने सहिदहरूले गौरवसाथ अपलोड गरेको उनीहरूकै वेवसाइटमा अहिले पनि सजिलैसँग हेर्न र पढ्न पाइन्छ तर डाउनलोड गर्ने सुविधा भने त्यहाँ उपलब्ध छैन ।
०००
‘रचना’, २०७४ मङ्सिर अङ्क
Subscribe
Login
0 Comments
Oldest






































