कृष्ण प्रधानसुँगुरको लभ लेटर नेतालाई
प्राणेश्वर ! घ्वाँतघ्वात... घ्वाँतघ्वाँत.... घ्वाँतघ्वाँत... घ्वाँक्क....घ्वाँक्क.... घ्वाँक्क् घ्यार्र...घ्यार्र... । अचम्म र उदेक लाग्छ । मलाई छुँदै नहुने र खाँदै नखानेले पनि अचेल जिब्रो पड़्काउँदै मेरो चोक्टाहरू हुसुर्न थालेका देख्छु ।

स्थान : खोरभित्र एकान्तमा
समय : मध्यान्ह
मेरो हृदयका नेता राजा,
घ्वाँतघ्वात…. घ्वाँतघ्वाँत…. घ्वाँतघ्वाँत, घ्वाँक्क… घ्वाँक्क… घ्वाँक्क, घ्यार्र…. घ्यार्र
यो आवाज सुनेर तिमी एकक्षण ता छक्कै पर्छौ होला नेताज्यू । यो हाम्रो सुँगुर जातिको बोली हो । तिमीहरू नारा फलाँकेर, मुण्टै छिनिने गरी भाषण दिएर नेता जातिको परिचय दिन्छौ भने हाम्रो सुँगुर जातिले पनि घ्वाँतघ्वात…. घ्वाँतघ्वाँत… घ्वाँतघ्वाँत… घ्वाँक्क…. घ्वाँक्क… घ्वाँक्क् घ्यार्र… घर्यार्र गरेर सुँगुर जातिको परिचय दिने गर्छ । तिमी जुलूसको भीड़मा, माथि मञ्चमा चढ़ी मुटु फुट्ने गरी माटोको लागि चिच्याउँछौं अनि म चाहिँ माटो उधिँदै घ्वाँतघ्वात…. घ्वाँतघ्वाँत…. घ्वाँक्क् घ्यार्र… गरेर विचरण गरिरहन्छु । मैले माटो उधिँदा मेरो खाद्य सामग्री पाउँछु । तिमी धेर माटो… माटो नभन है नेताजी… माटो खन्दा गड़्यौँला आउन सक्छ भने कहिलेकाहीँ साँप पनि भेटाउन सकिन्छ नि । लाखेस् । मेरो चिम्से आँखा र थ्याप्चो थुतुनो देखेर हजूरले मलाई कत्ति खिसी गर्नुहुन्छ…. ठिकै हो चिम्से आँखामा न ता गाजल लाउनु मिल्छ, न गगल्स न ता थ्याप्चो ओंठमा लिपिष्टिक दल्नु मिल्छ । तर यो थुतुनो थ्याप्चो नै भए पनि नाथ्री फुट्नेले पोलेर तीन-चार दिन लगातार खाए नाथ्री फुट्नु च्वाट्टै हुन्छ । हजूरले खिसी गरेर भो र अनि ! हजूरको त्यो सिङाने नाकजस्तो कहाँ हो ता मेरो थ्याप्चे नाक । घ्वाँतघ्वात… घ्वाँतघ्वाँत… घ्वाँतघ्वाँत… घ्वाँक्क… घ्वाँक्क…घ्वाँक्क् घ्यार्र… घर्यार्र… ।
म सुँगुर तिमी नेता । बँदेल जातको विष्टा खाने घरपाला जन्तु जातको हुँ म । मलाई धेरैले च्वाँचे र बुच्चा पनि भन्छन् । च्वाँचे र बुच्चे भनेको मेरो मुख चुच्चो र थ्याप्चो भएर होला । मेरो बङ्गुर पनि भनिन्छ । बँदेल र सुँगुर मिसिएर विकसित भएको मासुका निम्ति पालिने पशु पनि हुँ म । नेवारहरू सुँगुर खानु ता के छुनसम्म पनि छुँदैनन् तर बङ्गुर चाहिँ उड़ाउँछन् नि मोराहरूले । सुँगुर देशी र विदेशी गरी दुई प्रजातिका हुन्छन् । च्वाँचे, हुर्रा, बम्पुड़के, कालो पाख्रिबास, धराने कालो बङ्गुर देशी प्रजातिका हुन् भने ल्याण्डरेस, हेमश्यार, डुरोक, सेता सुँगुर (योकशिर) आदि विदेशी प्रजातिका सुँगुर हुन् । घ्वाँतघ्वात… घ्वाँतघ्वाँत… घ्वाँतघ्वाँत… घ्वाँक्क….घ्वाँक्क… घ्वाँक्क् घ्यार्र… घर्यार्र… ।
मायालु नेताज्यू ! हामी दुइ प्रजातिमा बाँड़िएजस्तै नेताहरूका पनि धेरै प्रजातिका हुन्छन् होइन ? जस्तो, विषालु नेता, चोर नेता, ढाँट नेता र इमान्दार नेता । विषालु, चोर र ढाँट नेताहरू बजारभरि पाइए तापनि इमान्दार नेताको प्रजाति अचेल हराउन थालिसकेको छ । पचास-साठी दशकतिर यस्ता इमान्दार नेताहरू भक्कुचूर पाइन्थ्यो । तर विस्तारै यिनीहरूमाझ लोभ बढ्दै गएकोले अनि मानवता हराउँदै गएकोले इमान्दार नेताहरूको सङ्ख्या दिन प्रतिदिन हराउँदै गएको हो । आफ्ना सुख र वैभवको निम्ति यी नेताहरू भ्रष्टाचार गर्न, जनता लुट्न खूब मनपराउँछन् । जस्तो, चारो भ्रष्टाचार, आदर्श भ्रष्टाचार, हण्ड्रेड डेड भ्रष्टाचार आदि आदि । हामी सुँगुरजाति हिलोको भाषा बुझ्छौं । नेता भने पैसाकै भाषा मात्र बुझ्दछन् । हामी सुँगरजाति मानवता भन्ने कुरो छ र नै हामी मान्छेहरू निम्ति मिठो पकवान भइदिन आफूलाई स्याक्रिफाइस गर्न जहिले पनि तयार हुन्छौं । तर मानवताको नामोनिशान हुँदैन नेतासित । नेताको विषालु भाषणले देशको एकता छताछुल्ल पार्ने प्रयास भइरहेको हुन्छ । हामी सुँगुरजातिले मान्छे जातिको बारी, घुरेन, आँगन उधिनेर सखाप पार्यौं होला । तर नेताले पनि ता ब्रिटिशहरूले भन्दा पनि धेर नेताहरूले आफ्नै मातृभूमि लुटेर सखाप पारिसकेका छन् । घ्वाँतघ्वात… घ्वाँतघ्वाँत…. घ्वाँतघ्वाँत… घ्वाँक्क….घ्वाँक्क…. घ्वाँक्क् घ्यार्र…घ्यार्र्र… ।
मेरो मुटुको धुकधुकी ! तिमी कति भाग्यमानी । नेतालाई देशान कहिल्यै लाग्दैन तर सुँगुरलाई देशान लाग्यो भने ठहरै । तर भोटमा हार्दा भने सुँगुरलाई देशान लागेको भन्दा पनि आगर देखिन्छ । नेता जति देशै खानलाई जन्मेको हो कि जस्तो लाग्छ अनि सुँगुर चाहिँ मान्छेकै जिब्राको स्वादको निम्ति जन्मेकोजस्तो लाग्छ । सुँगुरलाई घोंचेर मारिन्छ । अब नेताहरूलाई पनि घोंचेर मार्ने समय आइसकेको छ भन्ने मेरो सिक्स सेन्सले भनिरहुनछ । घ्वाँतघ्वात… घ्वाँतघ्वाँत…. घ्वाँतघ्वाँत… घ्वाँक्क….घ्वाँक्क…. घ्वाँक्क् घ्यार्र…घ्यार्र्र… ।
मेरी भुनी (सुँगुरको स्त्रीलिङ्गी शब्द) ले एकै खेपमा दश-बाह्रवटा बच्चा ब्याउन सक्छे । तर प्राणेश्वर ! सानो परिवार सुखी परिवारको बाटो अप्नाउने भएकाले तिम्री भुनी (स्वास्नी) बाट दुईभन्दा धेर बच्चाको आशा गर्दैनौ । तिम्री स्वास्नीले सुँगुरको भुनीजस्ती एकै खेपेमा दश-बार वटा बच्चा जन्माउन नसके पनि तिमीले भाषण दिने ठाउँ-ठाउँमा धेरैलाई मेरे भुनीलाई पनि उछिनेको कुरालाई अफ द रेकर्ड नै राखुँ क्यारे ! तर एउटा कुरा मायालु नेताज्यू ! म सुँगुर परेँ…. घ्वाँतघ्वात… घ्वाँतघ्वाँत…. घ्वाँतघ्वाँत… घ्वाँक्क….घ्वाँक्क…. घ्वाँक्क् घ्यार्र…घ्यार्र्र… ।
म बोलेको तिमी बुझ्दैनौ । तर तिमीहरू बोलेको हामी सबै बुझ्छौं । हामी सुँगुर जातिलाई सम्भोग गर्न न ता नाताले नै छेक्छ न ता कसैको डर र लाजले नै छेक्छ । एउटै शब्दमा भनुँ भने, हामी चारखुट्टे प्राणी जति सबैलाई यौन स्वतन्त्रता छ । तर आजसम्म सुँगुरले बलात्कार गऱ्यौ भन्ने कतै सुनेका छौ ? नेताको तुजुक देखाएर तिमीले आफ्नै चेली-बेटीहरूलाई सम्भोग गरेजस्तो अनि दाउ पर्यो भने एबोर्सन पनि गराउनेजस्तो चाहिँ म हुँदै होइन है हजूर । मेरो कामुकता खुल्लम खुल्ला प्रदर्शन हुन्छ तर तिम्रो नेताज्यू ! तिम्रो कामुकता पर्दा पछाीड़ मात्र छचल्किन्छ । एउटा कुरा के मा ढुक्क मात्र होइन गर्व पनि लागेको छ भने, तिमीलाई नहोला मेरो प्राणेश्वर ! तर तिमीहरूका दुइखुट्टे जातिका धेरै जन्तुहरूले झैं हामी चारखुट्टे प्रजातिले एड्स बोकेर हिँड़्नु परेको छैन । यसैकारण मेरा श्रद्धेय मायालु नेताज्यू, म मेरो थुतुनो उज्याउँदै अनि घ्वाँतघ्वात… घ्वाँतघ्वाँत…. घ्वाँतघ्वाँत… घ्वाँक्क….घ्वाँक्क…. घ्वाँक्क् घ्यार्र…घ्यार्र्र… गर्दै घोषणा गर्छु, यौन तिर्सनामा मभन्दा तिमी कता हो कता घटिया छौ । तिम्रो विरूद्धमा कसैले मुख खोल्न सक्ने होइन अनि यौन उत्पीड़न हुनेले मुख खोल्ने कुरै आएऩ । हामीले सामान्य उपद्रो गर्यो कि भोलिपल्टै खोरबाट तानेर भाला वा कुनै सुइराले मुटुमै छेँड़ेर भतेर चल्छ । यस्तै छ हाम्रो जिन्दगी । घ्वाँतघ्वात… घ्वाँतघ्वाँत…. घ्वाँतघ्वाँत… घ्वाँक्क….घ्वाँक्क…. घ्वाँक्क् घ्यार्र…घ्यार्र्र… ।
दिन प्रतिदिन नेताज्यू ! तिमीहरूको विचरण श्रेत्र बढ़्दैछ तर हामी सुँगरको भने विचरण क्षेत्र साँघुरिँदैछ । पहिले हामी खुल्ला मैदानमा स्वतन्त्र रूपले निष्फिक्री विचरण गथ्र्यौं । हिलामा चोबलिन्थ्यौं । खुल्ला मैदानको भूइँ उधिनेर मोज लुट्थ्यौ । तर हिजो आज हाम्रो विचरण गर्ने ठाउँतिर फ्ल्याट निर्माण गरेर, लभ पोइण्ट बनाएर घ्वाँतघ्वात… घ्वाँतघ्वाँत…. घ्वाँतघ्वाँत… घ्वाँक्क….घ्वाँक्क…. घ्वाँक्क् घ्यार्र…घ्यार्र्र… । के अब हामीलाई आजीवन खोरभित्रै कँज्याएर राख्ने विचार छ कि क्या हो ? नेताज्यू ! हामी सुँगुरलाई नै उठिवास लाउने विचार छ कि क्यो हो ? तर तिमीहरू सुँगुर नभईकन पनि उठिवास लाग्ने आँटेको थाहा छ प्रणयेश्वर हजूरलाई ! तँलाई खाने बाघले मलाई पनि खान्छ है हजूर मलाई पनि खान्छ । घ्वाँतघ्वात… घ्वाँतघ्वाँत…. घ्वाँतघ्वाँत… घ्वाँक्क….घ्वाँक्क…. घ्वाँक्क् घ्यार्र…घ्यार्र्र… ।
प्राणेश्वर ! घ्वाँतघ्वात… घ्वाँतघ्वाँत…. घ्वाँतघ्वाँत… घ्वाँक्क….घ्वाँक्क…. घ्वाँक्क् घ्यार्र…घ्यार्र… । अचम्म र उदेक लाग्छ । मलाई छुँदै नहुने र खाँदै नखानेले पनि अचेल जिब्रो पड़्काउँदै मेरो चोक्टाहरू हुसुर्न थालेका देख्छु । बङ्गालीहरू ता सुँगुरको नाम सुन्ने बित्तिकै वाक्-वाक् गरेर उल्टी गरुँला-गरुँलाजस्तो गर्छन् । तिनै बङ्गाली मोसायले आधा केजी खसीको मासु किनेर मलाई बेचिने दोकानमा गई मेरो मासु-मासु आधा किलो थपी लान्छन् । एउटा कथाको स्मरण भयो, एक दिन एकजना कट्टर बाहुन बाजेले सुँगुर होइन फाक्साको मासु खाएछन् । हल्ला गाउँभरि फिँजियो । गाउँलेहरूले बाजेलाई अठ्याङ पारे । बाजेलाई प्रचण्डै रिस उठेछ र पाखुरा सुर्काउँदै उल्टो हाँक लाएछन्, “मैले फाक्सा कहाँ खाएँ । तपाईहरू भ्रममा पर्नुभएको छ । एकदम असत्य ।”
गाउँ मुखियाको गर्जाइ, “अरे ! शास्त्र पढ़्ने भएर तिमी ढाँट्छौ बाजे । तिमीले फाक्सा किन खायौ यसको स्पष्टीकरण चाहिन्छ हामीलाई ।”
प्याच्चै जवाब बाजेको, “ए रात्तै ! मैले कहाँ खाएँ र फाक्सा….नारायण ! नारायण !”
समवेत स्वर, “तिमीले नखाएर कसले खायो ता अनि ?”
ठूलो स्वरमा बाजेको स्पष्टीकरण, “मेरा जिब्राले खाको । मैले होइन ।”
मेरो हजूर ! देख्नुभो मेरो चमत्कार ? हाम्रो फकफक परेको मासु देखेर घुटुक घुटुक थुक निल्नेहरूको थुक शान्त पार्न हामी कतिको दिलदार छौं, हेर्नू ता ! यो मेरो अभिमान होइन हजूर स्वाभिमान । आफ्नो दमाहा आफै बजायो भन्ने नठान्नुहोला । त्यसो होइन । तर हामी तपाईं नेताहरूजस्तो आफ्नो ढ्याङरो आफै बजाउँदै आफै झाँक्री आफै धामी हुने खाल्को जन्तु पटक्कै हुँदै होइनौं । घ्वाँतघ्वात… घ्वाँतघ्वाँत…. घ्वाँतघ्वाँत… घ्वाँक्क….घ्वाँक्क…. घ्वाँक्क् घ्यार्र…घ्यार्र्र… ।
मेरा राजा नेताज्यू ! तिमीहरू सबैको नजरमा हामी विष्टा खाने । विष्टा खान्छ भनेर तिमीहरूका मान्छे जातिले छिः छिः दूर-दूर गर्ने विरलाकोटि पाइएला । हामी विष्टा खान्छौं तिमीहरू हामीलाई । जिब्रो पड़्काई पड्काई हाम्रो चोक्टा-चोक्टा खाँदा त्यो विष्टा खाने जनावर कति स्वादिलो, टेसिलो हुन्छ होइन र ! त्यसबेला कता जान्छ हामीले खाएको विष्टा ? नेताज्यू खै के भनुँ ! हामीले मिठ्टो मान्दै खाएका विष्टा थुप्रिएको ठाउँ (आन्द्रा-भुँड़ी) धोइ-पखाली पकाइवरी बेलुकी चिरिपसित खाँदा स्वर्गीय आनन्द उपभोग गर्नुहुन्छ कि बिष्टाको अखड़ा सम्झेर ह्वाल-ह्वाल गर्नुहुन्छ नेताज्यू ? घ्वाँतघ्वात… घ्वाँतघ्वाँत…. घ्वाँतघ्वाँत… घ्वाँक्क….घ्वाँक्क…. घ्वाँक्क् घ्यार्र…घ्यार्र्र… ।.
जात हाम्रो सुँगुर भए पनि, बिष्टा नै खाने भए पनि हामीमाझ कुनै वैमनस्यता, वैरभाव र एकार्कामाझ ईख-ईबी ठ्याम्मै छैन । तपाईँ मान्छे नामका जन्तुहरूजस्तो आपस्तमा काटामार पनि कहिल्यै गर्दैनौं हामी । किनभने हाम्रो जात एउटै छ सुँगुर । मान्छे नामक हिंस्रक जन्तुको हातबाट घोंचिमागी ज्यान गुमाउने फगत सुँगुर । न हाम्रो अरु कुनै जात छ न ता तिमीहरूको जस्तो कुनै बोर्ड नै । घ्वाँतघ्वात… घ्वाँतघ्वाँत…. घ्वाँतघ्वाँत… घ्वाँक्क….घ्वाँक्क…. घ्वाँक्क् घ्यार्र…घ्यार्र्र… ।
कस्तो हात हई मोराहरूको ? भाला वा सुइरा मुटुमै हानेपछि मिस जाँदैन अन्त । भालाले मुटुमा भेटेपछि दुःखेर “च्वाँ…च्वाँ” भनी कराउँदा हामीले “चेतेँ चेतेँ” भनेको भनेर यी मान्छेहरूले संसार पिटेका छन् । कति ढाँट बोल्नु पनि आको हो कि ! जस्तो तपाई नेता हजूर ढँटुवा त्यस्तै यहाँका मान्छेहरू पनि ढँटुवा । के को चेतेँ…चेतेँ….? घोंचाइमै ज्यान गुमाउनुछ… फेरि किन “चेतेँ…चेतेँ” भनेर तमाम् सुँगुर जातिको बदनाम गर्नु ? भालाले मुटुमा भेटेपछि जुन चित्कार गर्छौं हामी त्यो चाहिँ यी मान्छे भन्ने क्रुर जातिविरूद्ध हाम्रो हुङ्कार हो यो आर्तनाद… यो पीड़ा । खासमा हामीले यी दुइ खुट्टै जन्तुलाई “लाखेस्… लाखेस… तँहरूले अब चेत्छस्“ भनेर हुङ्कार गरेका हौं । र ता देख्नुभाको छैन मेरो हजूर ! भालाले घोंची घोंची सुँगुर खानेहरूको गिदीमा किरा चलेको ? घ्वाँतघ्वात… घ्वाँतघ्वाँत…. घ्वाँतघ्वाँत… घ्वाँक्क….घ्वाँक्क…. घ्वाँक्क् घ्यार्र…घ्यार्र्र… ।
धेर लेखेँ । हजूरलाई झिँझेट लागिसक्यो होला यो लभ लेटरले । अरु कसलाई लेख्नु ? तपाई नै ता हुनुहुन्छ मेरो आराध्य देव । महान् अनि ख्यातिप्राप्त नेता । तरै पनि तपाईंजस्ता व्यस्त मान्छेको समय खेरो फालेकोमा क्षमा चाहन्छु ।
पुछारमा मेरो हजूरलाई जम्ले हात गरी एउटै विन्ती गर्छु, हजूरले अब उसो विशाल जनसभामा भाषण दिँदा आफ्नै जातिको खोइरो नखनेर दया गरेर यति चैं भनिदिनोस् तपाईका जनताहरूलाई, “अबदेखि मेरा पार्टीका सबै मान्छेहरू मान्छे होइन सुँगुर हुनुपर्छ । किनभने सुँगुरको कुनै विरोधी हुँदैन, सुँगुरको कुनै बोर्ड हुँदैन… कुनै झण्डा हुँदैन । मान्छेलेजस्तो बातैपिच्छे सुँगुरले सुँगुरलाई खुकुरीले छप्काइ हिँड़्दैन । बिनाबिच्चामा निहुँ खोजेर हुल्दङ्गा मच्चाउँदैन । अब हामी सुँगुर भएर बाँचौं कतै हाम्रो दिन फर्केला कि ?” यति ता भन्न सक्नुहुन्छ होला नि…कि….। घ्वाँतघ्वात… घ्वाँतघ्वाँत…. घ्वाँतघ्वाँत… घ्वाँक्क….घ्वाँक्क…. घ्वाँक्क् घ्यार्र…घ्यार्र्र… ।
आज इति ।
हजूरको प्रणयाभिलाषी
०००
सिलीगुड़ी (भारत)
Subscribe
Login
0 Comments
Oldest








































