पदम भण्डारीसारा देश खुसियालीमा हुँदा म भने दुःखी छु
टोल-टोलमा एयरपोर्ट, बादलमाथि च्याउ खेती, पैसा फल्ने रुख, टुँडिखेलमा तेलको कुवा, हरेक घरको छतमा हेलिप्याड, पढ्दै नपढि घर-घरमा सर्टिफिकेट, घरमै बसेर रिमोट थिच्दा सोझै अमेरिका.....।

सर्वोच्च अदालतले विघटित प्रनिनिधिसभाको पुनर्स्थापनासँगै नयाँ संविधानले परिकल्पना गरेको शासकीय प्रणाली कस्तो हो भनी परिभाषित समेत गरिदियो । त्यसपछि प्रतिगमन सच्चियो, देश दुर्घटना हुनबाट जोगियो । तिनै तहका सरकारहरूको निर्वाचन भयो । अब देश राजनीतिक स्थिरतातर्फ जान्छ र विकासले गति लिन्छ भन्ने एक किसिमको हर्ष र उल्लासमय वातावरण बनेको छ तर मलाई भने कागलाई बेल पाक्यो न हर्ष न विस्मात जस्तै भएको छ । सारा देश खुसियालीमा हुँदा म भने दुःखी छु । मलाई त्यसो हुनुमा मेरा आफ्नै तर्कहरू छन् ।
मलाई खरो कुरा गर्दा पनि हसाउँन नछोड्ने, हरेक मञ्चमा नयाँ नयाँ उखान र शब्दहरूको प्रयोग गर्ने मान्छे अब पाइन्न कि भन्ने चिन्ता लागेको छ । उखान टुक्का सुनाउन र भाषणमा मिठास भर्दै श्रोता तथा कार्यकर्तालाई हसाउँने मान्छे शायद अब पाईंदैन कि ! सरकारको हुण्डी खाएर नाँङ्गो नाच नाच्ने साईबर स्यालहरूको नाङ्गो नाच हेर्न नपाइन्न कि भन्ने चिन्ता लाग्न थालेको छ ।
नेपालले गरेको आर्थिक प्रगति देखेर विश्व समुदाय आश्चर्यचकित परेको छ । अहिले नेपाल भनेर विश्व समुदायका मानिसहरूलाई चिनाइरहनु नपर्ने भएको छ । दैलेखका शिरिस्थान, नाभिस्थान, पादुका, धुलेश्वर लगायत पञ्चकोशी क्षेत्रमा सयौँ वर्षदेखि ज्वालाका रुपमा पेट्रोलियम पदार्थ निकालेर बिदेश निर्यात गर्न धेरै दिन लाग्ने थिएन । घर घरमा खाना पकाउने ग्यासको पाइप आउनै लागेको थियो । अबको केहि दिनमा आई हाल्नेवाला थियो, अब कसले ल्याइदिन्छ ? प्रशान्त महासागरसम्मको निकास खोल्न तयारी चरणमा थियो । चिनियाँ रेल्वेसँग नेपालको काठमाडौँ-पोखरा हुँदै लुम्बिनीसम्म, उता पोखरा, कुश्मा हुँदै बेनीसम्म रेलको लिक बिच्छ्याउने काम तयारी अवस्थामा थियो । रेलको लिक बनाउने फलाम कारखाना आफ्नै देशमा खोल्न सबै तयारी पुरा हुनै लागेको थियो ।
ग्यासका सिलिन्डर काँधमा बोकेर, मोटसाइकलमा बोकेर हिँड्नु पर्ने वाध्यताको अन्त्य हुनै लागेको थियो, सिलिन्डरको युग समाप्त भएर घर-घरमा चुला-चुलामा पाइप पुग्नै लागेको थियो । भुरुरु धुवाँ छोड्ने डिजेलको बस होइन, इलेक्ट्रिक बस चलाउनको लागि स्ट्याण्डबाई थिए । हावाबाट बिजुली निकालेर राष्ट्रिय प्रशारण लाइनमा जोड्ने काम अन्तिम चरणमा थियो । एक वर्षभित्र बिजुली भारत चीन र बङ्गलादेशमा बेच्ने तयारी थियो । धेरेजसो नेताहरूलाई खुसी साथ काम गरुन् भनेर उपप्रधानमन्त्री, मन्त्री, पार्टीको केन्द्रिय सदस्य बनाइएको थियो । मन्त्रीहरू धेरै भएर केहि बिग्रिएको थिएन । मन्त्रीका अगाडि एउटा पगरी गुथाइदिएको त हो । सांसद्को भन्दा मन्त्रीको दुई हजार बढी तलब हुने त हो नि । पार्टीको केन्द्रिय सदस्य बनाएर सर्वमान्ने कसैले पनि नमान्ने बनाइएको थियो ।
भ्रष्टाचारै सहि ३३ किलो सुन, प्रिंटिङ प्रेस खरिदमा ७० करोड, हवाईजहाज खरिदमा ४ अर्ब कमिशन जस्ता आर्थिक कृयाकलापले देशमा ठूलो सम्पत्ति भित्रिएको थियो, आर्थिक कृयाकलापहरू बढेको थियो । कतिजनाले रोजगारी पाएका थिए । कतिजनाले पीए/सल्लाहकारमा जागिर पाएका थिए अब तिनीहरूले रोजगारी गुमाउने हुन कि भन्ने चिन्ता लाग्न थालेको छ ।
यौन मानव जीवनको अभिन्न अङ्ग हो । त्यसैले यौनेच्छा हुनु, यौनका कुरा सुन्दा उत्तेजित हुनु एकदम स्वाभाविक हो । मानव जीवनका लागि भोक, प्यास र निद्रा जस्तै प्रकृतिले दिएको यौन पनि आवश्यक कुरा हो । यो प्रकृतिले मानवजातीलाई दिएको बरदान हो । तर हाम्रो देशमा यौन सम्बन्धी कुरा गर्न लाज मानिन्छ । खास कुरा यो हो कि नियमित सेक्स स्वास्थ्यको लागि एकदम राम्रो हो । स्वास्थ्यका लागि राम्रो चिज गर्न एक किसिमले छुटजस्तै थियो । नमान्नेहरूलाई मात्र बलत्कार र हत्या गरेको हो । माने भैहाल्थ्यो नि त कसले बलत्कार र हत्या गर्थ्याे त ? कञ्चनपुरकी निर्मला पन्त, बझाङकी सम्झना बिक, बैतडीकी भागिरथी भट्टलाई भनेको नमानेपछि जबर्जस्ति गरेर मार्नु परेन त ? अब यो पेशा मौलाउन नपाउने हो कि भन्ने चिन्ता लागिरहेको छ ।
नेपालका पार्टीहरूमा रहेको गुट, उपगुट, सहगुट र झुन्ड संस्कृतिको कत्रो ठूलो बजार थियो त्यो बजार अब फस्टाउन पाउँदैन कि भन्ने चिन्ता लागेको छ । मानवसाङ्लोलाई माखेसाङ्लो देख्ने दुरदृष्टि भएको मान्छे फेरि भेटिंदैन कि ? एउटा झोला किन्दे भन्यो भने झोला किनिदिने मान्छे थिए । त्यतिले पुगेन, एउटा हात्ती पनि किनिदे भन्यो भने हात्ति किनिदिने मान्छे पनि थिए । लौ अब त्यो हात्ती यो झोलामा हालिदे भनेर निहुँ खोज्नेहरूलाई पनि हात्तिलाई झोलामा हालेर हेरेको हेर्यै पारिदिने मान्छेहरू पनि थिए । अब ती फेरि देख्न पाईंदैन कि भन्ने चिन्ताले पिरोलेको छ ।
गाउँघरका खेत पाखा बाँझो भएर के भो त कौसीमा गमला खेती जस्तो लोकप्रिय कार्यक्रम फेरि नीति तथा कार्यक्रममा समेटिने हो कि होइन चिन्ता लाग्न थालेको छ । बयलगाडा संस्कृति भित्र्याएर अहिलेको युवा पुस्तालाई बयलगाडा भनेको के हो भनेर चिनाउने विद्वानहरू फेरि शक्तिमा देखिन पाइने हो कि हैन चिन्ताको विषय बनेको छ । गधालाई धोएर गाई बनाउने भनेर कति धेरै साबुनको डल्लाहरू सिध्याउने गधाहरूको ब्यापार बढेको थियो । अब त्यो ब्यापार सुस्ताउँछ कि भन्ने चिन्ता थपिएको छ । झुम्रा, कागज र अरु सामग्रीहरू जोडेर पुतली बनाएर आकाशमा उडाउन ठीक्क थियो । पुतली पनि उड्न ठिक्क परेको थियो । टोल-टोलमा एयरपोर्ट, बादलमाथि च्याउ खेती, पैसा फल्ने रुख, टुँडिखेलमा तेलको कुवा, हरेक घरको छतमा हेलिप्याड, पढ्दै नपढि घर-घरमा सर्टिफिकेट, घरमै बसेर रिमोट थिच्दा सोझै अमेरिका, भोक लाग्ने वित्तिकै आँफै पेट भरिने जस्ता राष्ट्रिय गौरवका आयोजना ल्याउनै आँटेको बेला आफ्नै पार्टीका मान्छे भनाउँदा माका फुँईहरूले देखि सहेनन् । तर बाँदरले रुखका हाँगा हल्लाउँदैमा रुख त ढल्दैन नि । यस्तो ढुक्क हुने मान्छेको सुशासन हेर्न र भोग्न पाइन्न कि भन्ने चिन्ता लागेको छ ।
एउटा सानो सपना देख्ने अनि त्यो सानो सपना पूरा गर्न ठूलो सपना देख्ने मान्छे पाउन मुश्किल हुने त होइन भन्ने चिन्ता लागेको छ । २१औं शताब्दीमा चार्ली च्याप्लिनको झल्को दिने गरि यो धर्तिमा नयाँ मान्छे उदाउँदैनन् कि भन्ने चिन्ताले पिरोलेको छ । अरुहरू बेलुका भयो कि रक्सी खाएर चिन्ता मेटाउँछन् तर अरु रक्सीको नशामा लठ्ठ भइरहेको बेला देश बिकासमै तल्लिन हुने मान्छे भेटाईंदैन कि र यो मुलुकको विकास अवरुद्ध हुन्छ कि भन्ने चिन्ताले सारा देश खुसियालीमा हुँदा पनि म भने दुःखी छु । अब क्यार्नी तो ? दुःखी भएर आफ्नै थुतुनो कालो पार्नु बाहेक अरु केहि छैन ।
०००
लमजुङ
Subscribe
Login
0 Comments
Oldest






































