कृष्ण शर्मा सुमुएकको साथ एक फ्री
झोलाबाट पेन्ट झिकेर हेरेँ । फेरि चित्त बुझ्नेगरि लगाएर हेर्छु भनेको त पेन्टको मोरी त दुइवटाको लामो छोटो पो रहेछ । ऐनामा हेरेँ आफैलाई सर्कसमा खेल्ने मान्छे जस्तै लाग्यो । रीसले आँखा देखिनँ ।

कृष्ण शर्मा सुमु :
फ्रीमा पाए त अलकत्र पनि खाने हो भनेको सुनेकै होला । खान पल्केकाहरूले जसरी पनि खान्छन् । खानु ठुलो कुरा होइन । खाइसकेपछि अलकत्र पनि पचाउन सक्नुपर्छ । खान पनि निकै ठुलो मुटु चाहिन्छ । स-साना कुखुरे मुटु बोकेर खाने वा पचाउने सपना बोकेर हिँड्नु भनेको बाघको मुखबाट शिकार खोसेर ल्याउनु जस्तै हो । मुटु नि थरथर काम्नेले यसले खायो, उसले खायो भनेर हल्ला गर्नु जति मूर्ख कुरा केही होइन । मौका पाए छेउमा गएर आफ्नो हिस्सासम्म खोजेर खाए भइगयो नि ! किन हल्ला गर्नु अरुले खाएको ? आह्रिस गर्नुभन्दा कसरी खाने हो बुद्धि लगाउनु होस् । दूधले धुएको को पो छ र ?
कता नखानु भन्नुपर्नेमा म चैँ खानु कि खानु भन्दै तर्क पो दिँदैरहेछु । अँ साँची जसलाई पुगिसरी छ उसले नखानू । जसकोमा छैन उसले खानू भनेर यदि आफ्नो बिचार राखे समाजप्रति मैले न्याय गरिनँ कि जस्तो लाग्छ ? मन मिलाएर खानू भन्दा उचित होला । मिलेर खानू, हकको कुरा खानू, अधिकार खोसेर खानू, मेहनत गरेर खानू, पसिना बगाएर खानू, शान-मान राखेर खानू, गरिबलाई दिएर खानू । यहाँ मैले खानू भनेर भ्रष्टाचार गरेर खानू, चोरेर खानू, ठगेर खानू, लुटेर खानू, भुटेर खानू भन्दिनँ । इमान, इज्जत अनि सम्मानको साथ खानू भनेर हल्ला गर्न र गलत बाटो कहिले देखाउन सक्दिनँ म चैं ।
उसले पच गरेछ नि भन्दा कान ठाडो पारेर हेर्ने हामी । कसरी पच गरेको त्यसको पछि कति मेहनत होला पच गर्नेको भनेर कहिले नसोच्ने पनि हामी । हामीलाई अरुले गरेको काममा साह्रो चासो लाग्छ । कसैले मेहनत गरेर कमाएको धनमा हामी धन मात्र देख्छौँ उसको वर्षभरि झरेको पसिना अनि उसले लगन गरेको समय कहिले फर्केर हेरेको हुँदैनौँ । जे होस् मानिस जन्मजात नै स्वार्थी हो भनेर हामीले आत्मस्वीकार गर्नुपरेको छ ।
यो फ्री खानु पनि भाग्यमा लेखेर आउनुपर्छ । फ्री खान पाउँछु भनेर घाराको पानी डोकोमा थापेर हुँदैन । थाप्न पनि जान्नुपर्छ । फ्रीमा रोपेको खेती पनि सही ठाउँमा छरेको हुनुपर्छ । यदि गलत ठाउँमा छरे चरा-चुरुङ्गी, गाई-बाख्रा, सुँगुर आदि इत्यादिले खाइदिन्छन् । भाग्यमानी हुन पनि सही काम सही समयमा गरेको हुनुपर्छ । बर्खे बाली हिँउदोमा लगाएर फल्छ भन्ने सपना देख्नुहुँदैन । विज्ञानले जति नै तरक्की गरे पनि ढुङ्गामा बिज फालेर उम्रिन्छ भन्ने सपना देख्नुभएन ।
अँ साँची, फ्रीमा खान पाउँछु भनेर सपना नदेख्नु भनेर भन्न पनि कति लामो गन्थन गरेको होला मैले पनि आज । फ्रीमा खान कसलाई पो मन पर्दैन र ! सबले नै गोजी टाइट राख्न खोज्छन् । अरुको खाली होस् कि चुने होस् मतलब पनि हुँदैन, तर फ्रीमा खान पाउनु पनि भाग्यमा नै लिएर आउनुपर्छ जस्तो लाग्छ ।
कोरोना कालभन्दा अघि मार्केट खुल्ला । दशैँको छेका पारेर “एक के साथ एक फ्री” भएको ठाउँमा मेरो नजर ठ्याक्कै अडियो । मैले माथि तल केही पढ्न खोजिनँ । मेरो नजर सिधै दाममा गयो । एउटा पेन्टको दाम सात सय रहेछ । मैले फर्काइ फर्काइ हेरेँ । छेउमा उभिएको भाइलाई सोधें “एक के साथ एक फ्री है ना ?” उसले टाउको हल्लायो । मैले हिसाब लगाएँ दुइवटा लाँदा साँढेतीन सय पर्नेरहेछ । राम्रो राम्रो कलर छानेर म सिधै काउन्टरमा पुगेँ । बिल दिइराखेर म सिधै रूममा पुगेँ । झोलाबाट पेन्ट जिकेर हेरेँ । फेरि चित्त बुझ्नेगरि लगाएर हेर्छु भनेको त पेन्टको मोरी त दुइवटाको लामो छोटो पो रहेछ । ऐनामा हेरेँ आफैलाई सर्कसमा खेल्ने मान्छे जस्तै लाग्यो । रीसले आँखा देखिनँ । म सिधै दोकानमा पुगेँ । मैले पहिला पेन्ट उठाएको छेउमा पुगेर हेरेँ “बिक्री हुआ समान वापस नही होगा ।” मनमनै आफैलाई थुकेँ । रास्ताको माल सस्ता पर, भने जस्तै आफैलाई दुनियाँको चतुर सोच्ने यो मनले आज आफैसित ठगिएको अनुभव गरेँ । छेउमा टेलर दोकानमा पेन्ट देखाएँ, उसले कति मिलाउन खोज्दा पनि नसकेर अन्तमा माफ मागेर मलाई पेन्ट फर्काइदियो ।
दुनियाँमा फ्री खानु पनि भाग्यमा लिएर आउनुपर्छ भनेर सोचेँ । कसैलाई यसरी ठगिएको कुरा गरे आफ्नै ठूलो बदनाम हुने डर, परिवारतिर सुनाउन खोजेँ खुब पढालिखा छु भन्छस् त भन्छन् । आफ्नै गाला आफ्नै लबटा भने जस्तै भाग्यलाई दोष दिएर बसेको छु । यसरी एकमा एक फ्री वाला माल देख्दा पनि आजकल त रीस उठेर आउँछ । कसैलाई सुनाउन सकिनँ मेरो यत्रो ठूलो पीर व्यथा, आज हजुरलाई भूमिका बाँधेर सुनाएँ हल्ला नगरिदिनु है ल ।
०००
सिलिगुडी, (भारत)
Subscribe
Login
0 Comments
Oldest







































