‘गोरु महापुराण’ महाकाव्यमा प्रहार गरिएकाे व्यङ्ग्य
कृतिले नेपाली राजनीतिको चरित्रलाई चिरफार गर्न सकेको छ । विभिन्न समयका शासकीय स्वभाव र तिनका कर्मको परिणामलाई पनि देखाउन सकेको छ । यो यसको सबल पक्ष हो ।
देवराज तिवारी :
गणेशकुमार पौडेल (२०१०) नेपाली साहित्यमा कविताका विभिन्न आयाम हास्यव्यङ्ग्य, यात्रा संस्मरण, व्यङ्ग्यसूक्ति, गीति काव्य, स्वास्थ्यसम्बन्धी लेखलगायत विभिन्न विधामा कलम चलाउने स्रष्टा हुन् । यस छोटो आलेखमा लामो समयदेखि नेपाली साहित्यमा क्रियाशील पौडेलको हास्यव्यङ्ग्य मिश्रित गद्य महाकाव्य ‘गोर महापुराण’माथि केही पाठकीय धारणा राख्ने प्रयास गरिएको छ ।
कथावस्तुको काव्यात्मक संयोजनका निम्ति विस्तारित आकार हेदी मझौला खालको महाकाव्य भन्न सकिने यसमा सतहत्तर पृष्ठमा मूल विषय, एक पृष्ठ खाली र साना ठुला दुई सय अठहत्तर वटा कवितात्मक अनुच्छेदहरू रहेका छन् । विषयवस्तु बाहेकका छ पृष्ठ गरी जम्मा चौरासी पृष्ठ अनि कभर पाना गरी जम्मा अठासी पृष्ठमा संरचित यस महाकाव्यलाई हास्यव्यङ्ग्य नाम दिइएको छ ।
महापुराणहरू धार्मिक आचरणका ग्रन्थ हुन् । पुराण वा महापुराण भन्नेबित्तिकै हाम्रो सोचाइले धार्मिक जगत्को आलोकमा लैजान्छ । गोरु महापुराण शीर्षकको कृति हात परेपछि मलाई पनि त्यस्तै नलागेको होइन । तर जब यसभित्र आँखा डुलाउन थालेँ तब मात्रै यो कविताको कृति हो भन्ने ज्ञात भो । यसले कल्पना गरेको लोक र व्याख्या गरेको समाज त कुनै अलौकिक वा पारलौकिक रहेनछ भन्ने लाग्यो । काव्यात्मक अभिव्यक्तिमा नेपाली इतिहासको तथ्यलाई भावनात्मक कलेबरबाट हेर्ने प्रयास गरिएको व्यङ्ग्यधर्मी रचनाका रूपमा यो महापुराण उभिएको देखियो । कविता त्यति सहज विधा होइन जति हो भन्ने सोचिन्छ । अझ त्यसमा कविताको बृहत्तम् रूप महाकाव्य र गद्य कवित्वको शैलीगत ओजका कारण पनि यसले प्रस्तुत गर्ने विषयको गाम्भीर्यका साक्ष्यमा यसलाई नियाल्नु आफैमा चुनौतीको काम हो भन्ने ठान्दछु ।
नेपाल भन्ने देशलाई एउटा अचम्मको गाउँको बिम्बका रूपमा प्रस्तुत गरी दुई सय चालिस वर्षदेखि रजाई गरी बसेको राजतन्त्रात्मक शासन व्यवस्थामा जङ्गलका सिंह, बाघ वा स्याल प्रवृत्तिका सिकारी मनोवृत्ति र गोरुका रूपमा जोधाहा वा मिचाहा स्वाभावको जनावरको आक्रमण भइराख्ने र मानवबस्ती प्रताडित बनिराख्नुपर्ने विषय सन्दर्भबाट काव्यको विषय चयन गरिएको यस काव्यले लामो समयदेखि नेपाल एकात्मक राज्यव्यस्थाको कोपभाजनमा परेकामा चासो र चिन्ता व्यक्त गरेको छ । त्यही चिन्ताको उपजका रूपमा यस काव्यभित्र गोरुका कुकृत्यलाई महापुराणका रूपमा प्रस्तुत गरेको देखिन्छ भने नरभक्षी बाघकै दाँजोमा राजतन्त्र रहेकोमा त्यसका सबै खाले कुकृत्यको भण्डाफोर गर्ने काम यसले गरेको छ । शासन सत्तामा जोसुकै गए पनि आम जनताले सधैंभरि दुःख नै पाएको सन्दर्भ कविताको कथनी बनेको छ । भ्रष्टाचारको विरोध गरेर आएको राज्यसत्ता पनि भ्रष्टाचारमै लिप्त भएको गुनासो गर्दै कवि भन्छन्-
तिम्रै नामबाट जहाज खाएँ
मेलम्चीको पानी पनि पिएँ
सारा सिमेन्ट हसुरेको छ
बाँसबारी छालाजुत्तालाई पचाएको छु ॥४८॥
यसरी जनताले लामो सास्ती बेहोरेपछि फ्याँकेर ल्याएको शासन व्यवस्थामा पनि जनता सधैभरि भारी मन लिएर बाच्नुपर्ने र देशका उद्योगधन्धाहरू धराशयी हुने स्थितिप्रति पनि कविताले गम्भीर व्यङ्ग्य प्रहार गरेको छ । हुन त मानव समाज शक्तिको पुजारी हो । शक्तिको फेरो समाएर वैतणर्ी तर्न खोज्ने मानवीय प्रवृत्ति पनि निकै फस्टाएको छ । हरेक शासन व्यवस्थामा यस्तै धुपौरे प्रवृत्ति बढ्दो छ । काव्यले चिन्ता प्रकट गरेको छ । सधैं सपनाको खेती गरेर राज्यशक्तिको उपयोग गरी राज्यस्रोतको दोहन गर्ने मनोवृत्ति घिनलाग्दो गरी फस्टाएकोमा चिन्ता छ । काम नगर्ने र केवल भाषण मात्रै गर्ने प्रवृत्तिप्रति आक्रोश पोख्दै सहिदका सपनाहरू खेर राइरहेकोमा चिन्ता व्यक्त गर्दै भन्छन्-
शहिदको कुरा गर्दैमा शान्ति प्राप्त हुने भए
माल्यार्पण गर्दैमा सपना पूरा हुने भए
किन सहिदले निजी स्वार्थलाई छोड्नुपर्यो
मिठो भाषण गर्दैमा आत्मा सन्तुष्ट हुने भए ॥१८९ ॥
एकातिर निरकुश राज्यसत्ताको दबदबा अर्कोतिर आन्दोलनमार्फत् अधिकारको लडाई चलिरहँदा आन्दोलन दबाउन नजिकका चाटुकार एवम् सल्लाहकारहरूको भूमिकाप्रति असन्तुष्ट हुँदै जनताको अधिकारको लडाईंमा ऐक्यबद्धता जाहेर गर्म पुगेको देखिन्छ । सर्पलाई दुध ख्वाई ख्वाई पाले पनि उसले त मौकामा डस्ने नै हो । केही क्षणको लाइप्यारले सिकारी वृत्तिका प्राणीको व्यवहार परिवर्तन हुन सक्दैन । राज्यसत्ता त्यस्तै प्रकृतिको हुन्छ । शासकका चरित्रमा डस्ने, दबाउने, मिच्ने थिच्ने प्रवृत्ति हुन्छ त्यस्ता अत्याचारी प्रवृत्तिका शासकहरूले जनताको कठघरामा उभिने पर्छ भन्दै अपराधीलाई सजाय दिन र जनताले अधिकार लिन छोड्नुहुँदैन भन्ने भाव कविताको गर्भमा रहेको छ । पटक पटक शासन परिवर्तन त भएका छन् तर जिम्मेवार बन्न सकिरहेका छैनन् भन्दै प्रजातन्त्रमा पनि जिम्मेवारी बिर्सने र जनतालाई दुख दिने शासक नहोउन् भन्दै कवि यसरी सचेत गराउन चाहन्छन्-
त्यसैले शासन प्रणालीको
परिणाम र अर्थ बुझेस् गोरु
प्रजातन्त्रको गरिमा अब
राम्ररी थाहा पाएस है गोरु
जनताका लागि
जनताले गर्ने शासन हो भनी बुझेर
अब आइन्दा फेरि पनि
ज्यादति र कष्ट नथपेस् है गोरु ॥ २०६ ॥
शासन व्यवस्था फेरिइरहन्छन् । शासकहरू आउनेजाने भइरहन्छन् । आन्दोलनका बलमा स्थापित शासकहरूले वंशानुगत अधिकारका रूपमा प्राप्त शासकीय गुण नअँगालुन् र आफ्नै वंश मात्रै सक्षम अनि आफ्नै कुरा मात्रै ठिक भनेर उसका कुरा सुन्दै नसुनी एकलौटी निणर्य गर्ने गुणको अनुशरण पनि नगरुन् भन्दै एउटा गरो जोत्न नारिएको कर्मठ गोरुकै रूपमा रहेर काम गर्न अनुरोध गर्दै भन्छन्-
आफ्नै नीति मात्र सबै ठिक भनी
अब त कहिल्यै नसम्झेस् है गोरु
फेरि अरुको नीति जति सबै बेठिक
नसोचेस् है गोरु
आफूले जे गरे पनि हुन्छ
भन्ने भावना छोडी अब
शक्तिको लागि एकता चाहिन्छ
भन्ने कुरा राम्ररी जानेस् है गोरु ॥२१२॥
सात सालको ऐतिहासिक प्रजातान्त्रिक लडार्इंको आन्दोलन र त्यसले स्थापित गरेको प्रजातन्त्र पनि बाल्यकालमै निमोठिएर स्थापित भएको एकछत्र तानाशाही पञ्चायत कालमा जनताका अधिकारहरू कुण्ठित हुन पुगे । बहुदल प्राप्तिको आन्दोलनका बलमा स्थापित बहुदलीय व्यवस्थामा पनि दलहरूका खिचातानीका कारणले सहिदका सपना र जनताका आशाभरोसामा शासकहरू खासै खरो उत्रिन सकेनन् । त्यसै समय जनताको अधिकारकै लागि भनेर देश गृहयुद्धतर्फ धकेलियो । करिब दस बर्से सशस्त्र युद्धको अवस्था र प्रजातान्त्रिक सरकारलाई अपदस्त गरी राज्यसत्ता हत्याउने दरबारिया षड्यन्त्र हुन पुग्यो । जनताको शान्तिको चाहना र पूणर् स्वतन्त्रताको खोजीका लागि भएको संयुक्त ऐतिहासिक जनआन्दोलनका बलमा प्राप्त लोकतान्त्रिक गणतान्त्रिक सरकारले पनि आम जनजीविकाका प्रश्नमा खरो उत्रिन नसक्ने हो कि भन्ने चिन्ता लाग्न थाल्यो । प्रेस स्वतन्त्रतामा बन्देज लगाउने स्थिति आउने त हैन भन्दै चासो लाग्न थाल्यो । अर्थतन्त्र बारम्बार ओरालो लाग्ने चिन्ता हुन थाल्यो । संविधानसभा मार्फत् आफ्नो संविधान आफैँ लेख्ने र जनताको न्यायमा पहुँच स्थापित हुन सकोस् भन्ने चिन्ता र चासोका कारणले नै कविलाई झकझकाएको र सचेत गराएको देखिन्छ ।
राजतन्त्रलाई एउटा बाघका रूपमा र त्यसका आसेपासे भरौटेहरूलाई धूर्त स्यालका रूपमा चित्रण गर्दै तिनीहरूको राज्यसत्ताका विरुद्ध धावा बोल्ने जनता अनि तिनका बलमा काम गर्ने इमान्दार मिहिनेती नेतृत्वलाई गोरुका रूपमा उभ्याएको देखिन्छ । गोरुलाई बारम्बार कर्तव्यमा ध्यान दिन सचेत पनि गराइएको छ । झन्डै अढाइ शताब्दीसम्म जरा गाडेको रुख त जनताको बलमा ढल्यो । बाघका नदा त भाँचिए । दाह्रा त उखेलिए । घर त फेरियो भर्खर जोत्न सुरु गरेको गोरुका सिङ भाँचिन र खुर उक्किन कत्ति पनि बेर लाग्दैन भन्दै जनताको पक्षमा काम होस् भन्ने चाहनामा काव्यले सचेत गराउदै आवाज उठाएको देखिन्छ ।
कविताले उठाएका कतिपय विषय सन्दर्भहरू रोचक देखिन्छन् । नेपाली राजनीतिको दुर्गन्धलाई चित्रण गर्न सफल देखिन्छ । निरङ्कुशता र अत्याचारको विरोधमा उभिनु र न्यायको वकालत गर्नु कृतिको सफलता हो । अचम्मको गाउँका रूपमा नेपाललाई चित्रण गरी यहाँ सोच्दै नसोचेका राजनीतिक घटना परिघटनाहरू जे पनि हुन सक्ने भन्दै अचम्मको गाउँ भनी चिनाएको रमाइलो लाग्यो । बाघ सिकार गर्दागर्दै खोरमा थुनिएर बस्नु परेको अवस्थालाई राजतन्त्रको अन्त्यका घटनाको साक्ष्यका रूपमा प्रस्तुत गरेको पनि रोचक लाग्यो । गोरुलाई बाघ स्यालबाट बच्दै जनताको खेतबारी जोते जस्तै अहङ्कारबाट बचेर जनताको अधिकार र न्यायका लागि काम गर्न सुझाव दिँदै सत्ता सम्हाल्ने लोकतान्त्रिक सरकारलाई गोरुको काँधले हलोजुवाको भार बोके जस्तै जनताको चाहनाको भार बहन गर्ने क्षमता राख्ने नेतृत्व बन्न सकोस् भन्ने चाहना व्यक्त गरिएको पक्ष पनि कम रोचक छैन । तथापि कृति दोषमुक्त छैन नै । कतिपय भनाइ एउटै कुरा पटक पटक दोहोरिएर आउनु र लामो व्याख्यात्मक स्वरूपमा भनिराख्ने अवस्था कृतिमा प्रशस्तै देखिन्छ । पढ्दा उही कुरा निरन्तर आइरहनु, उही भावले ठाउँ लिइरहनु पाठकीय मन भड्काउने तत्त्व बन्न पुगेको छ तापनि कृतिले नेपाली राजनीतिको चरित्रलाई चिरफार गर्न सकेको छ । विभिन्न समयका शासकीय स्वभाव र तिनका कर्मको परिणामलाई पनि देखाउन सकेको छ । यो यसको सबल पक्ष हो ।
०००
हेटौडा
‘सिर्जना र सम्झनामा डा. गणेशकुमार पौडेल’- (२०८० जेठ)