कृष्ण प्रधानपोको एक : हात अनेक !
(पुलिस भ्यान साइरन बजाउँदै आएको सुनिन्छ । राहत सामग्री लिन थुप्रेका लकडाउन पीड़ितहरूसितै मूर्ख अखड़ा सेवा समितिका सदस्यहरू सुइँकुच्चा ठोक्छन् ।)

कृष्ण प्रधान :
पात्रहरू : रमेश (अध्यक्ष), श्याम (सचिव)
लकडाउन पीडी़तहरू : टेके, राजेन, याङ्जी, तुलसी ।
(दृश्य विवरण- समय ! लमय : दिउँसो । सुनसान सड़क बीचमा मूर्ख अखड़ा सेवासमितिका सदस्यगण लकडाउऩमा अवर परेकाहरूलाई राहत सामग्री वितरण गर्न थुप्रेका छन् ।)
रमेश : (अभिवादन गर्दै) भेरी गुड मर्निङ । आज हामी मूर्ख अखड़ासेवा समिति (एणएएससी)का सदस्यहरू तपाईहरूलाई हाम्रो बल र बुताले भ्याइञ्जेल केही राहत सामग्री प्रदान गर्न आएका छौं । (सबै मौन)
श्याम : खै तपाईहरू बोल्नुहुन्न ता !
टेके : कसरी बोल्नु ? देख्नुभएन यहाँ आतङ्कवादीजस्तो मुखमा मास्क लगाएको ?
सचिव : अनि थपड़ी मार्दा चैं के हुन्छ ?
राजेन : हन तपाईंहरू थप़ड़ी लिनुआको कि राहत सामग्री दिनुआको?
रमेश : देखेनौ यत्रो पोका ? (रमेश बोल्दै गरेको बेलामा एक दुइ जना गफ गरेको देखिन्छ)
टेके : अरे ओ भाइ ! तिमीहरू हाम्रा अध्यक्षको कुरा नसुनेर गफिँदैछौ ता !
राजेन : होइन सर राहत सामग्रीमा यसो चिरिप पनि दिए राम्रो हुनेत्यो भन्ने कुरा गरेको नि ।
रमेस : कसलाई के को धन्दा के को धन्दा घर ज्वाइँलाई खानुकै धन्दा भनेको यही हो । मान्छेलाई मुखमा माड़ जोगाउनु गाह्रो परिसक्यो तिमीहरूलाई चैं चिरिप चाहिएको ?
राजेन : लकडाउन भएदेखि यता मुखमा एक थोपा चिरिप परेको छैन । तलतल लागेर फिटिफिटि परिसक्यौं । हजूर मेरो मुखमा भुकभुके उज्यालोमै परेन भने ता दिनभरि जीउ थथर्किएर भाइब्रेशनमा राखेको मोबाइलजस्तै हुन्छ…अन्त ।
श्याम : आफू ता महादेव उत्तानु कसलाई दिनु वर । चिरिप नपाएर भाइ यहां हामीलाई कस्तो चैं भइराको छ अचानुको पीर खुकुरीलाई के थाहा ? एक पाउच पाए भने पनि लकडाउन साङ्गे नभइञ्जेल सुँघेर मात्रै राख्ने थिएँ जस्तो लाग्छ । पहिला शुद्धि नै आएऩ ।
रमेश : अन्त उ त्यो भाइले कता हेरेको उतै मात्र ? कि मनपरेन मेरो भाषण हँ ?
श्याम : पुलिस भ्यान हेरेको नि । सड़कमा यसरी उभिएको देख्यो भने मोराहरूले केही नहेरी सोर्क्याउँछ अन्त ।
रमेस : अरे हामी सोसियल वर्करहरू हुँदा पुलिसले कसरी हात लाउँदोरहेछ हेरुँला नि ।
राजेन : सर ! सासियल वर्कर भनेर पुलिसले तपाईलाई पो चिन्छ ता सर । तर पुलिसको लट्ठीले ता सोसियल वर्कर भनेर चिन्दै नि ।
श्याम : लट्ठीले ता हाम्रो पिठ्यूँ, पाँशुला अनि चाक मात्रै चिन्छ ।
राजेन : हन मैले एउटा कुरा बुझिनँ सर ।
रमेश : कस्तो कुरा फेरि ?
श्याम : हामीलाई चैं बातै पिच्छे हात धुनुपर्छ । खै यी पुलिस मोराहरूले लट्ठी नधोईकनै दस दुनियाँलाई सोर्क्याउँछ ता अऩ्त । एकजनालाई सोर्क्याएपछि त्यो लट्ठी जूठो हुँदैन र !
टेके : त्यो चैं पुलिसलाई नै गएर सोध्नु नि ।
राजेन : पुलिसले सोर्क्याउँदा ज्यान जोगाउनु नै हम्मे हम्मे पर्छ । सोध्नु कि भाग्नु ?
टेके : अब कामको कुरा गरौं । हेर्नोस् ! यो राहत सामग्री वितरण पछि हामी एउटा फोटो सेशन गर्नेछौं । बुझ्नुभो ?
टेके : ग्रुप फोटो ।
श्याम : फोटो चैं के को लागि हजूर ।
टेके : (झनक्क रिसाएर) फोटो के को लागि खिँच्छ त्यति पनि थाहा छैन ?
राजेन : थाहा हुने भा किन पो सोधिन्थ्यो होला ।
रमेश : फेस बुकमा अपलोड गर्नुलाई नि ।
श्याम : मूर्ख अखड़ा समितिका सदस्यहरू हामी लकडाउऩ पीड़ितहरूलाई सहयोग गर्न आउनुभएको कि सहयोगको बहानामा फोटो खिँचेर फेसबुकमा पोष्ट गर्नु आउऩुभएको ?
रमेश : (अत्तालिँदै) कुरो के हो भने नि यसो सम्झना रहिरहोस् भनेर नि…..
राजेन :फोटो खिँच्दा कसरी खिच्नुहुन्छ सर !
टेके : फोटो पनि कसरी खिँच्छ हौ । ग्रुपमा नि ।
श्याम : अऩ्त सर अहिले ता कोई पनि छेउछेउमा नबस्नु भन्छ होइन ? ग्रुपमा ता टाँसिएकै बराबर हुँदैन र ?
राजेन : हो ता सर ! अन्त सोसियल डिस्टेन्सिङ….
रमेश : ओ माई गड ! एक सेकेण्ड पनि लाग्दैन हौ ।
टेके : ख्याच्याक्कै पार्नु ता हो ।
श्याम : राइट सर । तर यो सोसियल डिस्टेन्सिङ भन्ने रहन्छ र ग्रुप फोटो खिँच्दा ?
रमेश : अरे यार ! हामी सोसियल वर्कर हौं ।
राजेन : (जिज्ञासु भावमा) सर सोसियल वर्करहरूलाई चैं सोसियल डिस्टेन्स लागु हुँदैन ? हामी गरिब-गुर्बाहरूलाई पनि लकडाउन, सोसियल डिस्टेन्सिङ लागु हुन्छ ?
श्याम : सर लु हामीलाई रहात सामग्री वितरण गरेर यहाँ विदा दिनोस् ।
राजेन : अर्को ठाउँमा पनि राहत सामग्री लिन बोलाको छ हामीलाई ।
रमेश : अरे भाइ के को हतार ?
याङ्जी : एई तुलसी ! तेरो लिपिष्टिक ले..ले…मैले हतारमा ल्याउऩु नै भुलेछु ।
तुलसी : लिपिष्टिक किन लाउनू ? अहिले फेरि मास्क लाउँदा मास्कमा लाग्छ ।
याङ्जी : त्त्यति डिप दल्दिनँ हौ । लाको जस्तो मात्रै गर्छु…फोटि खिँचसकेर बरु पुछिदिन्छु ।
तुलसी : (ब्यागबाट लिपिष्टिक निकालेर दिँदै ) यो लकडाउनले फेसियल गर्न नपाएर हेर् न याङ्जी अनुहार कस्तो घिनलाग्दो भाको छ ।
याङ्जी : अम्मुई भन् न जून दिनदेखि लकडाउन भयो नि म ता आफ्नो अनुहार हेरेको पनि छैन । मिष्टरले के भन्यो सुन्छस् ?
तुलसी : घिनलाग्दो देख्यो भने होलान् नि ।
याङ्जी : ठैट त्यसो चैं भनेनन् ल । हन तिमी याह्जी नै हो के ता पो अरे हौ । (मरिमरि हाँस्छन् )
तुलसी तँ त्यसो भन्छेस् ? अप्पर लिप रिमुभ गर्न नपाएकोले हेर्न जुङा उम्रेको । छोप्दा छोप्दा हुन्छ नि हौ ।
याङ्जी : धन्य मास्क लाउनु परेकोले कसैले देख्दैन ।
तुलसी : मास्क लाएर फोटो खिँचुँ ल एई । नत्र फोटोमा जुङा निस्केको देखिन्छ नि ।
याङ्जी : मास्कबिना पनि फोटो कसैले खिँच्यो ?
तुलसी : हो ता मास्क लाको पनि देखिने पलाउँदै गरेको जुङा पनि छोपिने (दुवै गललल हाँस्छन्)
टेके : पहिले तिमीहरूमध्ये कुनै एकजनाले यो पोको (छेउमा भएको पोको देखाउँदै) समातेको जस्तो गर । मूर्ख अखड़ा सेवा समितिका सबै सदस्यहरूले पोका समातेर दिएकोजस्तो गरी फोटो ता खिँचिहालुँ ।
श्याम : पहिले हामीलाई दिनु ल्याउनुभएको राहत सामग्री हामीलाई वितरण गरिहालेको ऱाम्रो होइन….
रमेश : (कुरा काट्दै) अरे कस्तो हुस्सु मान्छे ? लकडाउनले सबै गिदी लिदीजस्तो भइस्कोय कि क्या हो ?
टेके : (रन्केर) राहत साम्ग्री तिमीहरूलाई पहिले दिएर हामीले चैं फोटो खिँच्दा के समातेर खिँच्नु टाउको ?
राजेन : त्यो पनि कुरा ता ठिकै हो ।
रमेश : यसैकारण पोका समातेर हामी पहिले फोटो खिँचिहालुँ भनेको । लु..लु..कम अन…फोटो खिँच्नलाई पहिले । (अध्यक्ष र टेकेले पोका आफ्ना हातमा समाउँछन्…नभेट्ने अन्य समाजसेवकहरू पोकोदेखि टाढ़ा भएकाले पोकोतर्फ हात फैलाउँछन् ।)
सचिव : (गजक्कै भएर) लु एकजनाले ख्याच्याक्कै पारौं ता । (ड्राइभरले फोटो खिँच्छन् ख्याच्याक्कै)
श्याम : पोको एक, हात अनेक ।
रमेश : करेक्ट । अच्छा…हामीले एटा ब्यानर लेखेर ल्य़ाएका छौं । (ब्यानर देखाउँदै) यो ब्यानर देखाएर राहत सामग्री पाउनेले फोटो खिँच्नुपर्छ ।
हर्के : यो ब्यानरमा के लेखिएको छ म पढ़ेर सुनाउँछु (पढ़्छ) हामी गैरी गाउँका लकडाउनले थुना परेका पचास घरलाई राहत सामग्री प्रदान गरेकामा मूर्ख अखड़ा सेवासमितिका सदस्यगण हार्दिक धन्यवाद प्रदान गर्दछौं । यहाँ तल लेखिएको छ राम्ररी सुन्न्होस् – लकडाउन थुना परेका गैरी गाउँवासी ।
रमेश : ठिक छ होइन? लु सबैजना उभिऔँ । (सबैजना उभिन्छन्) लु..लु गेट रेडी । (सबै राहत सामग्रीको पछिल्तिर पङक्तिबद्ध भएर उभिन्छन्) ।
श्याम : सर यो ब्यानर अघि हाम्रो फोटो खिँचिनुको कारण चैँ ?
रमेश : भोलि पेपरमा तिमीहरूको फोटो आउँछ ।
राजेन : यस्ता राहत सामग्री प्रदान गर्न कति सङ्घ-संस्थाहरू होलान् सबैका फोटाहरू पेपरमा छापिन्छ के ता ?
टेके : अरुको आवोस् नआवोस् तर हाम्रो संस्थाको जस्तो पनि खबर पेपरमा छापिन्छ…छापिन्छ ।
श्याम : हो र सर ? कति राम्रो हई सर ।
रमेश : पेपरमा हाम्रो जस्तै खबर पनि छापिन्छ । थाहा छ किन ?
राजेन : किन सर ?
रमेश : हाम्रा सचिव महोदयको प्रेससित लाइन फिट छ नि ।
श्याम : (अज्ञान भएर) ए…पेपरमा खबर र फोटो छापिनुलाई लाइन फिट पनि हुनुपर्दोरहेछ हई सर । कति राम्रो ।
(पुलिस भ्यान साइरन बजाउँदै आएको सुनिन्छ । राहत सामग्री लिन थुप्रेका लकडाउन पीड़ितहरूसितै मूर्ख अखड़ा सेवा समितिका सदस्यहरू सुइँकुच्चा ठोक्छन् ।)
पर्दाले मन नपरी नपरी आँखा चिम्लन्छ ।
०००
सिलगडी, भारत
Subscribe
Login
0 Comments
Oldest








































